दशैँको दक्षिणा

writer

आशक्ति फुयाल

आइतबार, १९ असोज २०७६


सुशील श्रेष्ठ, अभिनेता 
सानोमा मामाघरमा पाएको सय रुपैयाँ मेरो लागि सबैभन्दा धेरै दक्षिणा हो। सानो हुँदाताका हाम्रो गाउँतिर पैसाभन्दा खानेकुरालाई बढी महŒव दिइन्थ्यो। मामाघरमा त्यति धेरै पैसा पाइन्छ भनेर सोचेको पनि थिइनँ। सयको नोट हातमा पर्दा छक्क परेको थिएँ। 

अर्पण थापा, अभिनेता
म १८ वर्षको हुँदा दशैँमा हजुरबुबाले सय रुपैयाँ दिनुभएको थियो। त्योबेला सय रुपैयाँ निकै ठूलो रकम मानिन्थ्यो। दुई, पाँच धेरैमा १० रुपैयाँ पाइने बेला सय रुपैयाँ त ठूलो दक्षिणा थियो। कसैले खाममा हालेर दक्षिणा दिँदा मलाई खाम खोल्न निकै हतार हुन्थ्यो। टीका लगाएर कसैले दक्षिणा दिएपछि ‘खामभित्र कति छ’ भनेर हेर्न ट्वाइलेट कुदिहाल्थेँ । 

ज्योत्सना योगी, अभिनेत्री
११ वर्षकी हुँदा दशैँमा बाबाले टीका लगाएर सात सय रुपैयाँ दिनुभएको थियो। त्यति पैसा पाउँदा एकदमै खुशी भएकी थिएँ। त्यस पैसाले के–के किन्ने भनेर योजनासमेत त्यही बेला बनाएकी थिएँ। आफन्तले दिएको पाँच रुपैयाँ सबैभन्दा थोरै दक्षिणा हो। थोरै दक्षिणा पाउँदा साह्रै नरमाइलो लाग्थ्यो। 

विपिन कार्की, अभिनेता 
सानोमा सबैभन्दा धेरै दक्षिणा भनेकै ५० रुपैयाँ हो। मामाघरमा हजुरबुबाले दिनुभएको थियो। त्यतिबेला केटाहरूलाई पैसा दिनु हुन्न भन्ने चलन थियो। त्यसैले पनि मलाई दक्षिणाको खूब महत्त्व लाग्थ्यो। सानोमा पाएको पाँच रुपैयाँ मेरो जीवनको थोरै दक्षिणा हो। 

मलिना जोशी, अभिनेत्री
बुबाले दिनुभएको सात सय रुपैयाँ सानोमा पाएको सबैभन्दा धेरै दक्षिणा हो। त्योबेला मेरो खुशीको सीमा रहेन। त्यतिखेर यति पैसाको ठूलो महŒव थियो। सबैभन्दा थोरै दक्षिण भनेको दुई रुपैयाँ हो। अहिले त पैसाको खासै मतलब लाग्दैन। पैसाभन्दा ठूलो आशीर्वाद लाग्छ। 

कबीर खड्का, अभिनेता 
सानो बेलामा मामाघरको हजुरबुबाले दिनुभएको ५० रुपैयाँ सबैभन्दा बढी र बुबाले दिएको दुई रुपैयाँ सबैभन्दा थोरै दक्षिणा हो। सानोमा कसैले खाम दिए खोल्न एकदमै हतार हुन्थ्यो। दौडिँदै ट्वाटलेटमा जान्थेँ र खाम खोलेर हेर्थें।

सागर लम्साल, हास्य कलाकार
सानोमा धेरै पाएको दक्षिणा भनेको २० रुपैयाँ हो। बाल्यकालमा यो रकम पनि ठूलो लाग्थ्यो। थोरै दक्षिणा भनेको ५० पैसा हो। सानोमा जस्तै अहिले पनि कसैले खाम दिए खोल्न हतार हुन्छ।

सन्ध्या केसी, अभिनेत्री
अहिलेसम्म दशैँमा पाएको धेरै दक्षिणा भनेको पाँच हजार रुपैयाँ हो। जुन मलाई ममीले दिनुभएको थियो। पाँच हजार रुपैयाँ पाउँदा एकदमै खुशी भएकी थिएँ। सबैभन्दा कम दक्षिणा भनेको पाँच रुपैयाँ हो। बच्चा बेलामा त्यति पाउँदा पनि खुशी नै लाग्थ्यो।

सुप्रिया कटुवाल, अभिनेत्री
मामाघरमा पाएको तीन सय रुपैयाँ सबैभन्दा बढी दक्षिणा हो। त्यति पैसा पाउँदा के–के पाएजस्तो लाग्यो। यो पैसाले संसारको सबै सामान किन्न सक्छु भन्ने लागेको थियो। हजुरबुबाले दिएको १० रुपैयाँ मैले पाएको सबैभन्दा कम दक्षिणा हो। 

नम्रता श्रेष्ठ, अभिनेत्री
दशैँमा सबैभन्दा धेरै दक्षिणा ममीबाबाले दिनुभएको पाँच सय रुपैयाँ हो। कक्षा सात÷आठ कक्षामा पढ्दा त्यति पैसा पाउँदा उफ्रिँदै साथीभाइलाई देखाउँदै हिँडेकी थिएँ। दुई रुपैयाँ सबैभन्दा थोरै दक्षिणा हो। एकचोटि दशैँमा एक जना आफन्तले १० रुपैयाँको सिक्का दिँदा सबैलाई सुनाएकी थिएँ। त्यो सिक्का मलाई चाँदीको पैसाजस्तो लाग्थ्यो। पसलमा गएर यो पैसाले जति सामान आउँछ, सबै दिनू भनेकी थिएँ।

सुनीता दुलाल, गायिका
दशैँमा सबैभन्दा धेरै दक्षिणा बुबाले दिनुभएको थियो। उहँले पाँच सय रुपैयाँ दिनुभएको थियो। तर, त्यो पैसा उहाँले आफैँ दिएको होइन, मैले झगडा गरेर मागेकी थिएँ। दिदीहरूलाई पाँच सय रुपैयाँ दिएर मलाई थोरै दिएका कारण रोएर, झगडा गरेर मागेकी थिएँ। सबैभन्दा थोरै दुई रुपैैयाँ पाएकी छु। 

राधिका हमाल, गायिका 
सानोमा मलाई कसैले एउटा मात्र नोट दियो भने लिँदै लिन्नथेँ। एक पटक बुबाले दशैँमा सय रुपैयाँको नोट दिनुभयो। एउटा मात्र पैसा दिनुभयो भनेर मैले उहाँसँग झगडा गरेकी थिएँ। त्यसपछि उहाँले १०–१० रुपैयाँका पाँच नोट दिनुभयो। धेरै पैसा पाएर भनेर खुशी भएकी थिएँ। सयको एउटा नोटभन्दा १०–१० का पाँच नोट धेरै लाग्थ्यो।

तपाईको कमेन्ट