यौन दुर्व्यवहारको आरोपपछि सभामुखको राजीनामा

writer

सम्पूर्ण

बुधबार, १५ असोज २०७६


जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले मंगलबार पदबाट राजीनामा दिएका छन्। संसद् सचिवालयमा काम गर्ने एक जना महिलालेमहराले उनको डेरामा गएर जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। पीडित महिलाको बयानअनुसार उनीमाथि महराले आइतबार साँझ दुव्र्यवहार गरेका थिए। एउटा अनलाइनले पीडितको भिडियोसहित समाचार लेखेपछि घटना क्षणभरमा ‘भाइरल’ भएको थियो। 

सोमबार साँझ सार्वजनिक भएको घटनाले देशैभरि तरंग ल्याएको थियो। महराले आफूमाथि लागेको आरोप सरासर नकारेका थिए। उनले घटना आफूलाई बदनाम गर्ने र फसाउने नियतले बाहिर आएको जिकिर गरेका थिए। उनका प्रेस सल्लाहकारडिल्ली मल्लले सोमबार साँझ नै विज्ञप्ति जारी गर्दै महिलाको आरोपलाई कल्पनै गर्न नसकिने घटनाका रूपमा उल्लेख गरेका थिए।‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ,’ विज्ञप्तिमा मल्लले लेखेका छन्, ‘यो निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु। सभामुख महरा आइतबार घटना भएको समयमा आफ्नै निवासमा रहेको पनि विज्ञप्तिमा दाबी गरिएको थियो।  सल्लाहकार मल्लद्वारा जारी गरिएको विज्ञप्तिमा कर्मचारी समायोजनको विषयलाई लिएर असन्तुष्ट रहेकी महिलाले त्यसको रिस महरामाथि पोखेको पनि उल्लेख गरिएको थियो। 

तर, महराको दाबी र प्रेस विज्ञप्तिसमेत एकापसमा बाझिएपछि सामाजिक सञ्जालमा महरालाई राजीनामा दिएर अनुसन्धानलाई सघाउन चर्को दबाब परेको थियो। अझ मंगलबार बिहानै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जबर्जस्ती करणीको आरोप लागेकासभामुख महरालाई नैतिकताका आधारमा राजीनामा दिन निर्देशन दिएपछि उनले राजीनामा दिएका थिए। 

राजीनामा पत्रमा महराले ‘सञ्चारमाध्यममा आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सजिलो होस्’भनेर राजीनामा दिएको उल्लेख गरेका छन्। 

पीडित महिलाले आइतबार राति ८ बजे महरा रक्सीसहित आफ्नो कोठामै आएर दुव्र्यवहार गरेको आरोप लगाएकी छन्। रक्सीले मातिएका महराले चश्माको एउटा ग्लास र जुत्ताको भित्री तलुवा आफ्नो कोठामै छाडेको उनको दाबी छ। 

प्रेस सल्लाहकार मल्लले जारी गरेको विज्ञप्तिमाभने महरा दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यालय पुगेर दिउँसो २ बजे बालुवाटार निवासबाट फर्किएपछि त्यस दिन अन्यत्र कहीँ नगएको दाबी गरेका छन्। समाचारमा आएको जस्तो चश्मा र जुत्ताको कुरा पूरै निराधार भएको, सभामुखको चश्मा आफैसँग रहेको र उनले त्यसप्रकारको जुत्ता प्रयोग नगर्नेसमेत विज्ञप्तिमा दाबी गरिएको थियो।

संसद् सचिवालमा काजमा काम गरिरहेकी महिला नर्स हुन्। उनका श्रीमान् पनि स्वास्थ्य सेवाकै कर्मचारी हुन्। यी महिला कर्मचारीसँगको सभामुखको चिनजान उनकैश्रीमान्मार्फत भएको स्रोतहरूको दाबी छ। तर, घटनासँगै आएका समाचारमा पीडितले केही महिनाअघि विष सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ। पीडित भनिएकी महिला ‘डिप्रेसन’ को बिरामी रहेको पनि उल्लेख छ।  सोमबार साँझ पीडित महिलाले केही अनलाइनसँग कुरा गर्दै आफूलाई सुरक्षा ‘थ्रेट’रहेको बताएकी थिइन्। ‘सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई थप पीडा दिने हुन् कि भन्ने डर लागेको छ,’ उनले भनेकी थिइन्, ’कानुन बनाउने थलोको नेतृत्व गर्ने व्यक्तिबाटै यतिसम्म प्रहार हुन्छ भने हामी कोही पनि सुरक्षित छैनौँ। सुरक्षाको थ्रेट पनि आएको छ। तर, सभामुख महराबाट होइन। बाहिरबाट सुरक्षा थ्रेट आएको हो।’

यो आरोपका विषयमा महराले भने कुनै सत्यता नभएको र आफूलाई फसाउन खोजिएको मात्र बताएका छन्। एक अनलाइनसँग कुरा गर्दैउनले भनेका छन्, ‘यो विषयमा कुनै सत्यता छैन। मलाई फसाउन खोजिएको मात्र हो।’

यो समाचार तयार पार्दासम्म घटनामा प्रहरीले के गरिरहेको छ, जानकारी आएको छैन। तर, पीडित महिलाले घटनालगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलबाट महराको भनिएको चश्मा र जुत्ताको तलुवा आदिको फोटो खिचेर गएको थियो। मंगलबार दिउँसोसम्म पनि प्रहरीले औपचारिक उजुरी नआएको प्रतिक्रिया दिएको थियो। 

तपाईको कमेन्ट

मुख्य समाचार