‘ध्वनि घट्यो धुलो बढ्यो’

writer

आशक्ति फुयाल

शुक्रबार, १० असोज २०७६


मदनराज उपाध्याय, ट्राफिक प्रहरी, महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, काठमाडौँ।

ड्युटीमा कामको चाप कत्तिको हुन्छ, सर?

सडकमा सवारी साधनको संख्या नघटेसम्म कामको चाप भइरहनेछ। 

ट्राफिक प्रहरीमा आउनुभएको कति भयो?

एक वर्ष। 

यसअघि केमा काम गरिन्थ्यो?

सिभिल प्रहरीमा। 

सिभिल प्रहरीमा कति काम गरियो?

दुई वर्ष। 

कहाँसम्म पढियो?

१२ कक्षासम्म। 

अहिलेसम्म कुन–कुन ठाउँमा ड्युटी गर्नुभयो?

पहिला जनसेवामा गरेँ, अहिले गौशाला एरियामा छु। 

हर्न नबजाउने नियम लागू भएपछि स्थिति के कस्तो छ?

ध्वनि प्रदूषण पहिलाभन्दा धेरै घटेको छ। तर, जाम भयो भने एउटाले बजाएपछि सबैले बजाउन थाल्छन्। कोही–कोही त ट्राफिकलाई जिस्काउने नियतले पनि जाम खुलेपछि लामो हर्न बजाउँदै हिँड्ने गर्छन्। 

ट्राफिक प्रहरीको काम कत्तिको गाह्रो छ?

ध्वनि घटेर के गर्नु, धुलो बढेको छ।  काम त गाह्रै हो। धुवाँधुलोले हैरान पार्छ। बिहान सफा डे«स लगाएर हिँड्यो, बेलुकासम्म फोहोर भइहाल्छ। बेलुका ड्युटीबाट फर्किंदा आफ्नै अनुहार नचिनिने भइसक्छ। चालकले त्यस्तै हेप्छन्। ठाकठुक परिरहन्छ। 

ठाकठुक एकदमै धेरै हुन्छ कि?

त्यति धेरै त हुँदैन। उनीहरूले नियम मिच्दा हल्काफुल्का विवाद पर्छ। उनीहरू जानी–जानी गल्ती गर्छन्। एक पटक माफ गर्‍यो, फेरि दोहोर्‍याउँछन्। कारबाही गर्दा उल्टै हामीलाई हप्काउँछन्। 

घर कता पर्‍यो सरको?

धनगढी। 

घर कत्तिको गइन्छ?

काम गर्न थालेपछि घर गएको छैन। यो वर्ष बिदा पाइयो भने जाने सोच छ। 

चाडपर्वमा घर जान नपाउँदा कत्तिको दुःख लाग्छ?

हाम्रो दशैँ, तिहार, चाडपर्व भनेकै बाटोको ड्युटी हो। पहिला नमज्जा लाग्थ्यो। अहिले लाग्दैन।

यो पेशामा चित्त नबुझ्दो केही कुरा छ कि?

सडकको बीचमा उभिएर सवारी साधनको आवतजावतलाई ट्राफिक प्रहरीले सजिलो बनाइरहेको हुन्छ। सवारी चालकलाई रोक्नु, कारबाही गर्नु हाम्रो चाहना होइन। तर, उनीहरूले गल्ती गर्दा मात्र हामीले रोक्ने हो, कारबाही गर्ने हो। चालकले यो कुरा बुझ्दैनन्। उल्टै हामीले अपशब्द सुन्नुपर्छ। यस्तै कुरा चित्त बुझ्दैन।

सवारी मोडिफाइड गर्नु ट्राफिक नियमविपरीत हो?

हो नि ! 

यस्तो गर्नेलाई के कस्तो कारबाही गरिन्छ?

यातायातको दफाअनुसार कारबाही हुन्छ। 

अरू ठाउँभन्दा गौशालामा ड्युटी गर्न गाह्रो-सजिलो के छ? 

यो एरियामा सवारीसाधनको चाप बढी छ। बाटो पनि राम्रो छैन। धुवाँधुलोको कुरै नगरौँ। धेरै सास्ती छ। 

ट्राफिक व्यवस्थापनमा के कुराले दुःख दिन्छ?

सडकको खाल्डाखुल्डी, साँघुरो र कच्ची बाटो, फुटपाथ पसल, छोडिएका गाईबस्तु आदि ट्राफिक व्यवस्थापनमा बाधा बन्छन्। 

ट्राफिक प्रहरी बन्न घरपरिवारको साथ कत्तिको पाइयो?

मेरो आमाबालाई प्रहरी भनेपछि मनै नपर्ने। घरमा झगडा गरेर प्रहरी बनेँ। कसैले साथ दिएनन्। प्रहरीका लागि आवेदन दिन त ‘साथीको घर जाँदै छु’ भनेर झूटो बोलेको थिएँ। नाम निस्किएपछि मात्र भनेँ। तालिममा पनि जान दिनुभएन। झगडा गरेर गएको थिएँ।

अहिले के भन्नुहुन्छ आमाबुबाले?

अहिले पनि घर फर्किएर आऊ भन्नुहुन्छ। 

प्रस्तुतिः  आशक्ति फुयाल 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट