दशैँमै किन बढी खस्छ बस ?

writer

सृजना खड्का

शुक्रबार, १० असोज २०७६


नेपालीको महत्त्वपूर्ण चाड दशैँ नजिकिँदै छ। चाडपर्व नजिकिएसँगै प्रत्येक वर्ष सवारी दुर्घटनाको भय पनि नजिकिने गर्छ। रमाइलो गर्ने चाडको मुखमा सालैपिच्छे दुःखद सवारी दुर्घटना भइरहन्छन्। 

नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष घटस्थापनादेखि पूर्णिमासम्म तीन सयदेखि पाँच सय हाराहारीमा सवारी दुर्घटना हुन्छन्। जसमा प्रत्येक वर्ष सय जनाभन्दा बढीले ज्यान गुमाउँछन्। 

२०७१ साल असोज २० गते (विजया दशमीको दुई दिनपछि)  

डडेलधुरा–डोटीको जोरायलबाट धनगढीतर्फ जा“दै गरेको यात्रुवाहक बस छतिवन गाविसको कठपतेमा दुर्घटना हुँदा २९ जनाको ज्यान गयो। ४० जनाभन्दा बढी घाइते भए। क्षमताभन्दा बढी यात्रु बोकेको ना ३ ख ५७०७ नम्बरको बस सडकबाट २ सय ५० मिटर तल खसेको थियो। डोटी सदरमुकामदेखि १ सय ५० किलो मिटर दूरीमा उक्त दुर्घटना भएको थियो। बसको क्षमताभन्दा तीन गुणा अर्थात् ३५ सिट क्षमताको बसमा करिव सय जनाले यात्रा गरेको कारण दुर्घटना भएको थियो। 

२०७३ साल असोज १५ गते (घटस्थापनाको दिन)  

मकवानपुर, हेटौँडाको हाँडीखोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु र ५० जनाभन्दा बढी यात्रु घाइते भए। हेटौँडाका लागि छुटेको ना ४ ख ४३०७ नम्बरको बस हाँडीखोला मोडमा उकालो उक्लन नसकेर दुर्घटनाग्रस्त भएको थियो। बसमा हाँडीखोलाका स्थानीय बासिन्दा धेरै थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बसमा १ सय ४० भन्दा बढी यात्रु रहेको जनाएको थियो। दुर्घटनामा सामान्य घाइते ५८ वर्षका काजीबाबु उप्रेतीका अनुसार बसमा भित्र र छटमा अटाई–नअटाई यात्रु चढेका थिए।

२०७४ साल असोज ६ गते (घटस्थापनाको भोलिपल्ट) 

रामेछाप–८, बितिटारस्थित सडकको घुम्तीमा मोडिन नभ्याउँदा एक यात्रुवाहक बस दुर्घटनामा पर्‍यो। तीव्र गतिमा रहेका कारण ओरालोको घुम्तीमा मोडिन नभ्याएकाले बस सडकबाट तल खसेको थियो। दुर्घटनामा तीन जना यात्रुको मृत्यु भएको थियो। १८ जना घाइते भएका थिए। रामेछाप नगरपालिकाको च्यास्कुबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायात समितिको बस बितिटार नजिकैको मोडमा सडकबाट करिब ३० मिटर तल खसेको थियो। घटनास्थलमै दुई जनाको र अस्पताल ल्याउँदै गर्दा एक जनाको मृत्यु भएको थियो। 

२०७५ कात्तिक २ गते (विजया दशमीको दिन) 

चितवन, इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भयो। तीन जनाको घटनास्थलमै मृत्यु भयो। २३ जना घाइते भए। काँकडभिट्टाबाट पोखरा जाँदै गरेको बस पुलबाट झण्डै ५० मिटर तल खसेको थियो।

यही साल दशैँताका चितवनको कुरिनटारमा भ्यान र दूध बोक्ने ट्यांकर ठोक्किँदा तीन जनाले ज्यान गुमाएका थिए। 
०००

महानगरीय ट्राफिक प्रहरी महाशाखा र प्रहरी प्रधान कार्यालयका अनुसार दशैँको घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा धेरै सवारी दुर्घटना हुने गरेका छन्। यस अवधिमा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दो छ।

पाँच वर्षमा पाँच सयभन्दा बढीको मृत्यु

गत पाँच वर्षको तथ्यांक केलाउँदा दशैँको बेला भएका सवारी दुर्घटनामा ५ सय ६८ जनाले ज्यान गुमाएका छन्। २०७१ सालको दशैँताका मुलुकभर ४ सय १४ सडक दुर्घटना भए। त्यस वर्ष १ सय ४२ जनाले ज्यान गुमाए भने २ सय ८९ जना गम्भीर घाइते भए। २०७२ सालको दशैँमा ३ सय २२ सवारी दुर्घटनामा परी ९२ जनाले ज्यान गुमाए भने १ सय ९२ जना गम्भीर घाइते भए। २०७३ सालको दशैँमा ३ सय ५५ सवारी दुर्घटना भए। दुर्घटनामा परी १ सय १ जनाको मृत्यु भयो भने २ सय २१ जना गम्भीर घाइते भए। त्यसै गरी, ०७४ को दशैँताका ३ सय ८० सवारी दुर्घटना हुँदा १ सय ४ जनाले ज्यान गुमाए र  २ सय ६ जना गम्भीर घाइते भए। 

गत वर्ष दशैँताका ५ सय ६८ सवारी दुर्घटना भए। जसमा १ सय २९ जनाले ज्यान गुमाए भने २ सय ७१ जना गम्भीर घाइते भए। गत वर्षको असोज र कात्तिकको तथ्यांक हेर्ने हो दुई महिनामा २ हजार २ सय ५१ सवारी दुर्घटना भएका छन्। जसमा ४ सय ६८ जनाले ज्यान गुमाए। दुर्घटनामा ८ सय १६ जना गम्भीर घाइते भएका छन्।

विसं २०७१ देखि २०७५ सम्मको तथ्यांक हेर्ने हो भने यो पाँच वर्षभरिमा ५३ हजार ६ सय ६७ सवारी दुर्घटनामा परेका छन्। जसमा ११ हजार ७ सय २४ जनाले ज्यान गुमाएका छन्। 

चाडपर्वमा उपत्यकाबाट बाहिरिने यात्रुहरूको भारवहन क्षमतालाई थेग्न सक्ने सवारी छैन। सबैलाई एकसाथ चाड लाग्दा उनीहरू झुण्डिएर, कोचिएर, छतमा बसेर यात्रा गर्छन् र दुर्घटनाको शिकार हुन्छन्। प्रहरीको तथ्यांकले यस्तै भन्छ। प्रहरीले यी दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई मानेको छ। 

काठमाडौँ उपत्यकाको अवस्था 

काठमाडौँ उपत्यका बाहिरका कच्ची र साँघुरा सडकमा मात्र होइन, उपत्यकाभित्रैका चिल्ला र फराकिला सडकमा चाडपर्वको बेला हुने सडक दुर्घटनाको तथ्यांक पनि डरलाग्दो छ। सवारी दुर्घटनाको संख्या बाहिरी जिल्लामा मात्रै नभएर उपत्यकामा पनि बढ्दो क्रममा छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार २०७० देखि २०७५ सालमा घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकामा १ हजार ४३ वटा सवारी दुर्घटना भएका थिए। जसमा ४५ जनाको मृत्यु भएको छ भने ४८ जना गम्भीर घाइते भएका छन्। गत वर्ष दशैँताका भएको दुर्घटनामा मात्रै ३ सय २९ सवारी दुर्घटना भए। ती दुर्घटनामा १४ जनाले ज्यान गुमाए।

असोजमा अत्यधिक दुर्घटना 

वर्षभरिमा सबैभन्दा बढी दुर्घटना हुने महिना असोज रहेको प्रहरीको तथ्यांकले देखाउँछ। गत वर्षको महिनागत सवारी दुर्घटनाको विवरणमा असोजमा मात्रै १ हजार १ सय ९६ सवारी दुर्घटना भएका छन्। जसमा २ सय ६ जनाले ज्यान गुमाएका छन्। ३ सय ८६ गम्भीर र ९ सय १२ जना सामान्य घाइते भएका छन्।

डरलाग्दो तथ्यांक 

आर्थिक वर्ष २०७१-०७२ देखि २०७५-०७६ सम्मको सवारी दुर्घटनाको विवरण हेर्ने हो भने यी पाँच आर्थिक वर्षमा देशभरि ५३ हजार ६ सय ६७ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ११ हजार ७ सय २४ जनाले ज्यान गुमाएका थिए भने २१ हजार ५ जना गम्भीर घाइते भएका थिए। 

आर्थिक वर्ष २०७१-०७२ मा ९ हजार १ सय ४५ सवारी दुर्घटना भए र २ हजार ४ जनाले ज्यान गुमाए। त्यसै गरी, आर्थिक वर्ष २०७२-०७३ मा १० हजार १३ सवारी दुर्घटनामा परेर २ हजार ६ जनाको ज्यान गयो। अनि, आर्थिक वर्ष २०७३-०७४ मा १० हजार १ सय ७८ सवारी दुर्घटनामा परेर २ हजार ३ सय ८४ जनाको मृत्यु भयो। त्यसै गरी, आर्थिक वर्ष २०७४-०७५ मा १० हजार ९ सय ६५ सवारी दुर्घटनामा परेर २ हजार ५ सय ४१ जनाले ज्यान गुमाए। 

गत आर्थिक वर्षमा १३ हजार ३ सय ६६ सवारी दुर्घटना भए। जसमा २ हजार ७ सय ८९ जनाको मृत्यु भयो। यसरी प्रत्येक वर्ष सवारी दुर्घटनाको संख्या डरलाग्दो गरी बढेको छ। बर्सेनि दुर्घटना बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्ने नै भयो। 

ट्राफिक कम, सवारी साधन बढी

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-०७६ फागुन मसान्तसम्म नेपालभरि दर्ता भएका सवारी साधनको संख्या ३५ लाख ३९ हजार ५ सय १९ रहेका छन्। आर्थिक वर्ष २०७४-७५ असार मसान्तसम्ममा वाग्मती अञ्चलमा मात्र ११ लाख ७२ हजार ४ सय १३ सवारी साधन दर्ता भएका छन्। उपत्यकामा हाल ४० ट्राफिक प्रहरी इकाई कार्यरत छन्। एउटा इकाईले २९ हजार ३ सय ११ सवारी साधन व्यवस्थापन गर्नुपर्छ। उपत्यकाको हाल स्वीकृत ट्राफिक प्रहरी जनशक्ति १ हजार ८४ हो। जसमा एक जना ट्राफिक प्रहरीको भागमा १ हजार ७१ सवारी साधनको जिम्मेवारी पर्छ। 

दशैँलाई दशा मान्ने यात्रु

चितवनकी रमिला पाठक लामो समयपछि दशैँमा परिवारसँग भेट्न पाइने भएकाले खुशी छिन्। तर, प्रत्येक वर्षजसो दशैँताका हुने सवारी दुर्घटनाको कारण उनी त्रस्त पनि छिन्। ‘हरेक वर्ष घर जाँदा ‘सडक दुर्घटना भएर प्रहरीको तथ्यांकमा परिन्छ कि’ भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘नडराउनु पनि कसरी, बर्सेनि दशैँका मुखमा धेरै दुर्घटना हुने गरेका छन्।’ यात्रुको भीड जति नै बढे पनि गाडीको संख्या नबढ्दा हरेक वर्ष कोचाकोच गरेर यात्रा गर्न बाध्य भएको उनले बताइन्। ‘चाडपर्वमा ड्राइभरहरू मौकामा चौका हान्ने दाउ कसेर बसेका हुन्छन्,’ उनले भनिन्, ‘वर्षभरिलाई पुग्ने कमाइ दशैँमै गर्न खोज्छन्। ‘पैसा कमाउने बेला यही हो’ भन्दै तँछाडमछाड गर्दै गाडी चलाउनाले पनि धेरै दुर्घटना हुन्छ।’ रमिला दशैँलाई दशा मान्छिन्। ‘उपत्यकाबाहिर घर हुनेलाई दशैँ, दशैँ होइन, दशा हो,’ उनले भनिन्, ‘कति बेला कहाँ गएर के हुन्छ, अत्तोपत्तो हुँदैन। वर्षैपिच्छे ‘सडक दुर्घटनामा यति मानिसको मृत्यु, उति मानिसको मृत्यु’ भनेको समाचार सुन्दा मुटु काम्छ।’

मेची यातायात प्रालिका दुर्घटना निरीक्षक केपी शर्मा चाडपर्वको बेला यात्रुलाई मात्र नभएर चालकलाई पनि दशैँ लाग्ने बताउँछन्। ‘चालकहरूलाई पनि चाडपर्वमा रमाइलो गर्न मन लाग्छ,’ उनले भने, ‘कुनै चालकको साउदीबाट वर्षौंपछि छोरा दशैँ मनाउन आएको हुन सक्छ। यस्तो अवस्थामा उनीहरू मन नलागी–नलागी पनि काम गरिरहेका हुन्छन्।’ चाडपर्वमा सवारीधनीको दबाबले पनि दुर्घटना हुने उनले बताए। ‘सवारी चालकलाई टीका लगाउन घर पुग्नुपर्ने प्रेसर हुन्छ,’ उनले भने, ‘सवारीधनीले ‘मौकामा कमाउने हो’ भन्दै जबर्जस्ती गाडी कुदाउन पठाउँछ। एक साल नवमीको दिन यस्तै कारणले एउटा दुर्घटना भएको थियो।’

चालक दोषी कि सडक ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल भन्छन्, ‘सडक दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही हो।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने एसएसपी ढकालसँग विमति राख्छन्। ‘सडक दुर्घटनामा चालक होइन, सडक दोषी छ,’ सिटौला भन्छन्। 

यता, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल आत्मविश्वासपूर्वक भन्छन्, ‘यो दशैँमा दुर्घटना हुँदैन।’ 

विगत लामो समयदेखि सडक दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही रहको एसएसपी ढकाल बताउँछन्। ‘चाडपर्वमा एउटै ड्राइभर लामो समयसम्म निरन्तर गाडी हाँकिरहेको हुन्छ,’ उनी भन्छन्, ‘थकान र तनावका कारण गाडी दुर्घटनामा पर्छ। यसका लागि हामीले लामो दूरीका गाडीहरूमा चालक ‘चेन्ज’ गर्नैपर्ने भन्ने नियम लगाएका छौँ।’ एक जनाको लापरबाहीले ५०-६० जनाको ज्यान जान सक्ने भएकाले चालकले यस्ता कुरालाई गम्भीरताका साथ लिनुपर्ने एसएसपी ढकाल बताउँछन्। ‘चालकले सावधानी अपनाएर गम्भीरताका साथ सवारी हाँक्नुपर्छ,’ उनी भन्छन्, ‘यात्रुहरूले पनि खचाखच भीड भएको सवारी साधनमा ज्यानको माया मारेर यात्रा गर्नु हुँदैन। यात्रुले चालकलाई गाली गर्ने र सवारी साधन गुड्नै नसक्ने सडकमा पनि जबर्जस्ती गुडाउन लगाउनु हुँदैन।’ 

हरेक वर्ष ट्राफिक प्रहरीको तथ्यांकले सडक दुर्घटनाको प्रमुख कारण ‘चालकको लापरबाही’ देखाए पनि सडकको अवस्था दुर्घटनाको प्रमुख कारण भएको महासचिव सिटौला बताउँछन्। ‘मुग्लिन–नारायगढको ३६ किलोमिटर बाटो पार गर्न हिजोका दिनमा पाँच घण्टा लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यही बाटो आजभोलि ४५ मिनेटमा पार गरिन्छ। सडक बनेपछि दुर्घटना कम हुन थालेको छ। हिजोका दिनमा त्यही बाटोमा कतिले ज्यान गुमाए, कति गम्भीर घाइते भए।’ सिटौला १० प्रतिशत सडक दुर्घटनाको कारण मात्रै चालकको लापरबाही हुने बताउँछन्। भन्छन्, ‘९० प्रतिशत सडक दुर्घटना सडकको दुरावस्थाको कारण हुन्छ। हाम्रा सडकहरू नाम मात्रका सडक छन्। दुर्घटना हुने सम्भावित ठाउँहरूमा चिन्ह र ट्राफिक लाइट राखिएका छैनन्। वर्षाले भत्किएको हिलाम्मे सडकमा गाडी गुडाउनुपर्ने बाध्यता छ।’ ती सडक राम्रोसँग निर्माण गर्नेबित्तिकै दुर्घटना कम हुने उनी बताउँछन्। ‘हामीले सबै सडक पिचै गर्नुपर्छ पनि भनेका छैनौँ,’ सिटौला भन्छन्, ‘चालकलाई सजिलो हुने गरी खाल्डा पुर्ने मात्रै काम भयो भने पनि यातायात व्यवसायीलाई निकै राहत हुन्थ्यो।’

यस वर्ष सम्बन्धित निकायको सहकार्यमा उपत्यकाका मुख्य बसपार्कहरूबाट छुट्ने गाडीको प्राविधिक परीक्षण हुने महानिर्देशक हमाल बताउँछन्। ‘बसपार्कमा सम्बन्धित निकायका इन्जिनियरले गाडीको लाइट, ब्रेक, क्लच र स्टियरिङ सबै कुरा ठीक भए-नभएको हेर्छन्,’ उनी भन्छन्, ‘परीक्षणमा फेल भएका गाडी चल्न दिँदैनौँ। खराब भएको पार्ट बनाएको बिल पेश नगरेसम्म गाडी यात्रामा निस्कन पाउँदैन।’ सडक निर्माण र अनुगमनको काम पनि चुस्त हिसाबले अगाडि बढिरहेकाले यस वर्ष दशैँमा सडक दुर्घटना नहुनेमा आफू विश्वस्त रहेको उनी बताउँछन्। ‘सबैले ढुक्क भए हुन्छ,’ महानिर्देशक हमाल भन्छन्, ‘यो सालको दशैँमा सडक दुर्घटना हुँदैन।’ 


 ‘यो दशैँमा दुर्घटना हुँदैन’ 

गोगनबहादुर हमाल, महानिर्देशक, यातायात व्यवस्था विभाग 

अरू बेलाभन्दा चाडपर्वको बेला सडक दुर्घटना धेरै हुन्छ। यो साँचो हो। तर, हामीले व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिइरहेका हुन्छाँै। यस वर्ष स्थानीयदेखि प्रदेश स्तरसम्म सबैतिरका यातायात अनुगमन गरिरहेका छाँै। अग्रिम टिकट बुकिङ खुलेसँगै यातायात अनुगमनले तीव्रता लिएको छ।

लामो दूरीको हकमा ‘डबल ड्राइभर’ राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यहीअनुसार ट्राफिकले एउटा एप बनाएको छ। एपबाट चालक चेन्ज भए-नभएको हेर्न मिल्ने व्यवस्था गरिएको छ। उपत्यकाबाट बाहिर जाने सवारी साधनलाई प्राविधिक चेकजाँच गर्ने काम पनि सुरु भएको छ। यसले सवारीधनी वा चालकमा चेकजाँच गरेर मात्रै गाडी चलाउनुपर्छ भन्ने सन्देश गएको छ। 

चाडपर्वमा ‘कमाउने बेलामा कमाउनुपर्छ’ भन्दै सवारीमा देखिएका प्राविधिक गडबडीलाई समेत पछि मर्मत गरौँला भनेर यात्रु ओसारपसार गरिरहेका हुन्छन्। यस वर्ष भेहिकल फिटनेस टेस्ट सेन्टर, यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभाग र सिप्रदी टे«डिङ प्रालिको सहकार्यमा उपत्यकाका मुख्य बसपार्कहरूबाट छुट्ने गाडीको प्राविधिक परीक्षण हुनेछ। बसपार्कमा सम्बन्धित निकायका इन्जिनियरले गाडीको लाइट, ब्रेक, क्लच र स्टियरिङ सबै कुरा ठीक भए-नभएको हेर्छन्। परीक्षणमा फेल भएको गाडी चल्न पाउँदैन। खराब भएको पार्ट बनाएको बिल पेश नगरेसम्म गाडी यात्रामा निस्कन पाउँदैन। यति गरेपछि यो वर्ष दशैँमा सडक दुर्घटना हुँदैन भन्नेमा विश्वस्त छाँै।

चालकले मदिरा सेवन गरी सवारी नचलाउने, सवारीको अवस्थाबारे ध्यान दिने, सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, तीव्र गतिमा सवारी नहाँक्नेजस्ता कुरालाई हामीले विशेष ध्यान दिएका छौँ। सडकका खाल्डाखुल्डी पुर्ने काम सडक विभागले गरिरहेको छ। गाउँघरतिरका पहिरोले अवरोध गरेका सडकलाई तत्काल डोजर लगाएर अवरोध खुला गर्ने काम पनि भएको छ। स्थानीय, प्रदेश र संघीय सरकारका सम्पूर्ण सडकहरू सडक विभागले तदारुकताका साथ चेकजाँच गरिरहेको छ। केही दिनअगाडि लगातार भएको वर्षाले सडक मर्मतमा केही अप्ठ्यारो परेको थियो। अहिले मौसममा सुधार आएकाले मर्मतका कामहरू भइरहेका छन्। सबैले ढुक्क भए हुन्छ, यो दशैँमा दुर्घटना हुँदैन।  


‘चालकको लापरबाही प्रमुख कारण’

एसएसपी भीमप्रसाद ढकाल, प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा 

हिजो पनि सडक दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही थियो, आज पनि यसको प्रमुख कारण चालकको लापरबाही नै हो। चाडपर्वको बेला एउटै ड्राइभर लामो समयसम्म गाडी हाँकिरहेको हुन्छ। थकान र तनावका कारणले गाडी दुर्घटनामा पर्छ। यसका लागि हामीले लामो दूरीका गाडीहरूमा चालक ‘चेन्ज’ गर्नैपर्ने नियम लगाएका छौँ। त्यसका लागि हामीले एउटा एप बनाएका छाँै। त्यही एपको माध्यमबाट उपत्यकाबाट गाडी छुट्ने बेला ड्राइभरको फोटो लिन्छौँ। त्यो फोटो उनीहरू जाने ठाउँको बीचतिरको चेकिङ प्वाइन्टमा एपको सिस्टमबाटै पठाउँछौँ। त्यहाँ ड्राइभर परिवर्तन भयो-भएन भनेर उनीहरूको निगरानी गर्छाैं। 

सवारी चालकले लापरबाही गरे कारबाही गर्छाें। एक जनाको लापरबाहीले ५०-६० जनाको ज्यान जान सक्छ। चालकले यस्ता कुरालाई गम्भीरताका साथ लिनुपर्छ। कुनै मानसिक तनाव वा अन्य केही समस्या भए गाडी चलाउनु हुँदैन। सावधानी अपनाएर गम्भीरताका साथ सवारी हाँक्नुपर्छ। त्यस्तै, यात्रुहरू पनि चाडवाडको हतारोमा सकी–नसकी जस्तो पायो त्यस्तै सवारी साधन चढ्नु हुँदैन। खचाखच भीड भएको सवारी साधनमा ज्यानको माया मारेर यात्रा गर्नु हुँदैन। चालकलाई गाली गर्ने र सवारी साधन गुड्नै नसक्ने सडकमा जबर्जस्ती सवारी गुडाउन लगाउनु हुँदैन। चालकले केही लापरबाही गर्‍यो वा ट्राफिक नियम उल्लंघन गर्‍यो भने प्रहरीलाई तुरुन्तै खबर गर्नुपर्छ। 

चाडपर्वमा मादक पदार्थ सेवनका कारण पनि धेरै दुर्घटना हुने गरेका छन्। त्यसैले हामी मापसे चेकमा गम्भीर छौँ। चाडपर्वमा विशेष गरी लामो दूरीका गाडीमा बढी ध्यान दिन्छौँ। उपत्यकामा पनि बिहान, दिउँसो, साँझ र राति चार समय ३५ देखि ४० ठाउँमा मापसे चेकिङ गर्ने व्यवस्था गरेका छौँ।

दशैँमा सुरक्षालाई ध्यानमा राखेर हामीले १४ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेका छौँ। विशेष गरी, उपत्यकाका बसपार्कहरूमा ती कक्ष रहनेछन्। कक्षमा ट्राफिक प्रहरी, सडक विभाग र यातायात व्यवस्था विभागका प्रतिनिधि हुनेछन्। यात्रुहरूलाई गाडी चढ्न कुनै बाधा नहोस्, टिकेटिङमा कुनै समस्या नहोस्, टिकेटमा कसैले ठग्न नपाओस्, चोरी लुटपाट नहोस्, कसैले दुव्र्यवहार नगरोस्, र उनीहरूको यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरेका हाँै। 

बसपार्कहरूमा टिकेट बेच्नेले अनिवार्य रूपमा ड्रेस लगाउनुपर्ने र कार्ड झुन्ड्याउनुपर्ने नियम बनाएका छाँै। दशैँका बेला टिकट बेच्ने दलालहरूको बिगबिगी हुन्छ। यात्रुहरूलाई कोबाट टिकट लिने भन्नेबारे थाहा नहुन सक्छ। त्यस्ता दलाल र बिचौलियालाई निरुत्साहित गर्न हामीले यो नियम ल्याएका हौँ। 

हतारमा हुइँकिने गाडीहरूबाट ‘हिट एन्ड रन’ अर्थात् कसैलाई हानेर फरार हुने खालका घटना पनि हुन सक्छन्। त्यो नहोस् भन्नका लागि हामीले थप १ सय २५ ठाउँमा चेक प्वाइन्ट राखेका छौँ। त्यस्तै, ट्राफिक सचेतनाको अडियो जिंगल हजार वटा गाडीलाई वितरण गर्दै छौँ। अडियो जिंगलमा ट्राफिक नियमदेखि चालक र यात्रुले पालना गर्नुपर्ने नियम गाडीले यात्रामा बजाइरहनुपर्नेछ। 

काठमाडौँ उपत्यकामा ३ सय ६८ ठाउँमा दैनिक ६ सय ५० ट्राफिक प्रहरी खटिन्थे। चाडपर्वलाई लक्ष्य गरेर हामीले थप ४ सय ३० जना ट्राफिक परिचालन गरेका छौँ। आइतरबारदेखि उपत्यकामा पाँच सय ट्राफिक स्वयंसेवक युवा परिचालन गरेका छौँ। उपत्यकाका २५ ठाउँमा उनीहरूले सेवा दिनेछन्। उनीहरूले मानिसहरूलाई फुटपाथ र आकाशेपुलबाट हिँडाउने, जेब्रा क्रसिङलाई व्यवस्थित गर्ने, लेन मेनटेन गर्ने, ‘पिक एन्ड ड्रप’लाई व्यवस्थित गर्नेदेखि यात्रु सहायता कक्षमा ट्राफिकलाई सहयोग गर्नेसम्मका काम गर्नेछन्। 


‘चालक होइन, सडक दोषी’  

सरोज सिटौला,महासचिव, यातायात व्यवसायी राष्ट्रिय महासंघ

हरेक वर्ष ट्राफिक प्रहरीको तथ्यांकले सडक दुर्घटनाको प्रमुख कारण ‘चालकको लापरबाही’ भनेर देखाउँछ। यो एकदमै गलत निष्कर्ष हो। सडक दुर्घटनामा चालकको लापरबाहीभन्दा बढी सडकको अवस्था दोषी छ। मुग्लिन–नारायगढको ३६ किलोमिटर बाटो पार गर्न हिजोका दिनमा पाँच घण्टा लाग्थ्यो। त्यही बाटो आजभोलि ४५ मिनेटमा पार गरिन्छ। त्यही बाटोका कारण धेरै मानिस सडक दुर्घटनामा परी घाइते भएका छन्। कतिले त ज्यानसमेत गुमाए। पहिलेको तुलनामा अहिले यो सडकखण्डमा दुर्घटनाको संख्या ह्वात्तै घटेको छ। केही प्रतिशत चालकको लापरबाही होला। तर, ९० प्रतिशत सडक दुर्घटना सडकको दुरावस्थाको कारण हुने गरेको छ। 

सधैँ गाडी चलाइरहनेलाई कहाँ खाल्डो र अप्ठ्यारो छ भन्ने कुराको हेक्का भए पनि नयाँ रुटमा गाडी चलाउने चालकलाई त्यो कुरा थाहा नहुन सक्छ। हामीले सधैँ चालकहरूलाई पनि बाटो र परिस्थिति हेरेर गाडी हाँक्न सुझाएका छौँ। पहिला–पहिला सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरिन्थ्यो। अहिले कसैले पनि क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउँदैनन्। पोहोरबाट हामीले पनि यसमा कडाइ गरेका छौं। छतमा यात्रु राख्ने काम पूरै बन्द भइसक्यो।

दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल पर्छन्। निजी र सरकारी गाडीहरू पनि उत्तिकै दुर्घटनामा परेका हुन्छन्। तर, सवारी दुर्घटना भन्नेबित्तिकै सार्वजनिक यातायातको नाम मात्रै अगाडि आउँछ। त्यसमा कहिल्यै सरकारी गाडी, प्राइभेट गाडी, मोटरसाइकल र स्कुटर भनेर छुट्याएको तथ्यांक आउँदैन। 

हाम्रा सडकहरू वैज्ञानिक ढंगबाट निर्माण भएका छैनन्। नाम मात्रका सडक छन्। दुर्घटना हुने सम्भावित ठाउँमा चिन्ह र ट्राफिक लाइट राखिएका छैनन्। वर्षाले भत्किएको हिलाम्मे सडकमा गाडी गुडाउनुपर्ने बाध्यता छ। पहाडी बाटोमा निकै साँघुरा सडक छन्। देशभरिका सडक अस्तव्यस्त छन्। ती सडक राम्रोसँग निर्माण गर्नेबित्तिकै दुर्घटना पनि कम हुन्छ। हामीले सबै सडक पिचै गर्नुपर्छ पनि भनेका छैनौँ। चालकलाई सजिलो हुने गरी खाल्डा पुर्ने मात्रै काम भयो भने पनि हामीलाई निकै राहत हुने थियो।

चालक चेन्ज गर्नुपर्छ भनिएको छ। तर, हामीसँग पर्याप्त चालक छैनन्। चालक उत्पादन गर्ने काम सरकारको हो। तैपनि, लामो दूरीको यातायातमा डबल ड्राइभर राख्नुपर्छ भनेर चाडपर्व अवधिभर अधिकतम चालकको व्यवस्था गर्न देशभरिका यातायात व्यवसायीलाई आह्वान गरेका छौं। 


‘चालकलाई पनि चाडपर्व लाग्छ’

केपी शर्मा, दुर्घटना निरीक्षक, मेची यातायात प्रालि 

दुर्घटना जुनसुकै अवस्थामा भए पनि त्यसको मुख्य दोष चालकलाई जान्छ। गाडीलाई कसरी चलाउने भन्ने जिम्मा चालकको हो। उसको हातमै सबथोक हुन्छ। यसको जिम्मा ट्राफिक प्रहरीले लिन सक्दैन। 

दुर्घटना हुने प्रमुख तीन कारण छन्। पहिलो चालक, दोस्रो सडक र तेस्रो सवारीको अवस्था। चालकको हकमा कति वर्ष सानो गाडी चलाएपछि ठूलो गाडी चलाउने भन्ने खालको नियम छैन। एकैचोटि ठूलो गाडीको लाइसेन्स लिएर सानो उमेरका युवा ठूलो गाडी हाँकिरहेका छन्। दुर्घटना हुने कारणमध्ये ‘ओभरकन्फिडेन्स’, ‘ओभरस्पिड’ र ‘ओभरटेक’ पनि हुन्। 

ड्राइभरलाई सवारीधनीको दबाब हुन्छ। निश्चित समयमा निश्चित पैसा कमाउनुपर्ने प्रेसर उसलाई हुन्छ। त्यसैले यस्तो अवस्थामा ड्राइभरहरू हतारिन्छन्। जसले दुर्घटना निम्त्याउँछ। 

यात्रुसँगै चालकलाई पनि चाडपर्व लागेको हुन्छ। उनीहरूले पनि घरको याद गरिरहेका हुन्छन्। कुनै चालकले साउदीबाट वर्षौंपछि दशैँ मनाउन आएको छोरालाई सम्झिरहेको हुन सक्छ। उनीहरू काम गर्न मन नलाग्दा–नलाग्दै पनि काम गरिरहेका हुन सक्छन्। सवारीधनीले जबर्जस्ती पठाएको पनि हुन सक्छ। काम सकेर टीका लगाउन घर पुग्नुपर्ने प्रेसर पनि उनीहरूलाई हुन्छ।

हाम्रोमा कस्तो अवस्था रहुञ्जेल सवारी चलाउने भन्ने नियम छ। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। वर्षको एक चोटि सवारीको जाँच हुन्छ। त्यसकै आधारमा सवारीहरू गुडिरहेका हुन्छन्। सवारीमा यान्त्रिक गडबडी भएको चासो न चालकलाई हुन्छ, न सम्बन्धित निकायलाई। दुर्घटना निम्त्याउने अर्को कारण सडकको अवस्था पनि हो। मुुग्लिनको तीन घण्टा लाग्ने बाटो पहिरो आएर, भासिएर, भत्किएर १२ घण्टासम्म लाग्न सक्छ। 

चाडपर्वको बेला सवारीको चाप बढी हुने भएकाले दुर्घटना पनि बढी हुन्छ। यस्तो बेला सवारी साधन थप्नुपर्ने हुन्छ। एक महिना मात्र चलाउनका लागि सवारीधनीले नयाँ गाडी किन्दैन। पुरानै गाडीले काम चलाउनुपर्ने हुन्छ। त्यस्तै, चालक पनि कम छन्। चालक कम हुनेबित्तिकै सामान्य चालकले पनि चाडपर्वको बेलामा गाडी हाँक्न पाउँछ। लोकल रुटमा गाडी चलाइरहेकाहरूले पनि लामो रुटमा गाडी चलाउँछन्। चाडपर्वको बेला कहिल्यै नगएको रुटमा जानुपर्ने बाध्यता चालकमा हुन्छ। पोखरा रुटको गाडी बुटवल र बुटबलको गाडी पोखरा रुटमा जानुपर्ने हुन्छ। यस्तो बेला चालक सडकको अवस्थाबारे जानकार हुँदैन। 

चालकले जीवनमा एकचोटि मात्र सवारी कसरी हाँक्ने भन्ने ज्ञान लिन्छ। त्यो हो, लाइसेन्स निकाल्दा। त्यसबाहेक उसलाई सवारी, सडक र दुर्घटनाबारे ज्ञान दिने निकाय छैन। चिट काटेर कारबाहीमा परेपछि मात्रै चालकले केही ज्ञान पाउँछ। त्यसैले छ महिना-वर्षदिनमा उनीहरूलाई सजग बनाउने गरी विभिन्न तालिम दिनुपर्छ। 

तपाईको कमेन्ट