‘झलकमानको स्वरमा नेपाली माटोको बास्ना आउँछ’

writer

युवराज भट्टराई

शुक्रबार, १० असोज २०७६


भारतीय गायक अर्को मुखर्जी आफूलाई ‘शहरिया लोकगायक’ भन्न रुचाउँछन्। कलकत्ता निवासी उनी पछिल्लो समयमा नेपाली स्रोतामाझ लोकप्रिय छन्। आन्ध्र प्रदेशमा भएको ‘ओरेन्ज फेस्टिभल’मा उनले गाएको ‘रेशम फिरिरी’ निकै चर्चित बन्यो। त्यसपछि उनले गाएका झलकमान गन्धर्वका गीतहरूले पनि नेपाली स्रोताको मन जितिरहेका छन्। ‘तिम्रो नै माया लाग्दछ साइँली’ देखि ‘अल्लारे नानी केसी’ दुवै गीत पुनः एक पटक चर्चामा आए, मुखर्जीकै कारण। उनी विभिन्न देशका भाषामा लोकगीत गाउँदै संसारभरि घुम्छन्, लोकगीत संकलन गर्दै त्यसको पृष्ठभूमि खोतलन्छन्। उनले नेपाली, स्पेनी, पोर्चुगालीलगायत २०-२१ भाषामा गीत गाएका छन्। उनीसँग ‘अन्नपूर्ण सम्पूर्ण’का लागि युवराज भट्टराईले कुराकानी गरेका छन्। 


तपाईं आफूलाई गायक भन्नुहुन्छ कि संगीतको अनुसन्धाता ? 

म संगीतको अनुसन्धाता होइन। यो शब्द बढी प्राज्ञिक शब्द हो। म यो क्षेत्रमा पर्छुजस्तो लाग्दैन। मलाई संसारमा जिन्दगीभन्दा बढी महŒवपूर्ण केही छजस्तो लाग्दैन। तर, जब कुनै पनि कलालाई प्राज्ञिक रूप दिइन्छ, त्यो जिन्दगीमाथि नै हाबी हुन खोज्छ। संगीत महŒवपूर्ण हो, तर जीवनभन्दा होइन। भिन्न–भिन्न भाषामा गीत गाउनु मेरो संगीतप्रतिको प्रेम हो, न कि गाउन सक्छु भनेर प्रमाणित गर्नु। वास्तवमा म एउटा फिरन्ते हुँ, जसलाई गायनमा पनि रुचि छ। त्यसैले म आफूलाई रिसर्चर होइन, म्युजिसियन, अझ ट्राभेलिङ म्युजिसियन भन्न रुचाउँछु। 

तपाईंका आमाबाबु शास्त्रीय संगीतका साधक हुनुहुन्थ्यो। तपाईंको बाल्यकाल पनि त्यही वातावरणमा बित्यो। कसरी तपाईं लोकसंगीतमा ढल्किनुभयो ? 

कुनै पनि शास्त्रीय संगीत लोकसंगीतबिना हुन सक्दैन। संसारमा कुनै पनि त्यस्तो संगीत छैन, जसमा लोकसंगीत नहोस्। मेरा आमाबुबा शास्त्रीय गायक हुनुहुन्छ, तर शास्त्रीय मात्रै पनि हुनुहुन्न। मेरो बुबा मजदुर वर्गका गीत गाउनुहुन्थ्यो। आमा बंगलादेशबाट आउनुभएको शरणार्थी हुनुहुन्थ्यो। उहाँ पनि आफ्नो ठाउँका थुप्रै लोकगीत गाउनुहुन्थ्यो। म तिनै गीत सुन्दै हुर्किएको थिएँ। यसरी लोकगीतमा मेरो लगाव बढ्यो। बाल्यकालबाटै हरेक ठाउँको गीतलाई प्रेम गर्नुपर्छ भन्ने भावना जागृत हुँदै गयो। लोकगीत त्यस्तो गीत हो, जुन संसारमा माटो अनुसारको हुन्छ। शास्त्रीय संगीत भनेको लोक गीतसंगीतका आधारमा बनेका हुन्छन्। जस्तो कि, अधिकांश नेपाली पश्चिमी गीतहरूमा कल्याण राग हुन्छ। तर, यी नेपाली लोकगीतको शास्त्रीय संगीतसँग कुनै लेनादेना हुँदैन। यस्ता गीतलाई आफ्नै माटोसँग सरोकार हुन्छ। 

लोकगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ? 

लोकगीत भनेको सधैँ उत्पत्ति भइरहेको संगीतको एक किसिम हो, जुन कहिल्यै  हराउँदैन। लोक शब्द आफैँले निश्चित ठाउँको मान्छेलाई जनाउँछ। जस्तो कि, एउटा नेवार लोकगीतलाई नेवार समुदायको गीत भन्न सकिन्छ। त्यो गीतले नेवार समुदाय र उनीहरूसँग जोडिएका धेरै कुरालाई जनाएको हुन्छ। तर, नेवार गीत कसैले लेखेको गीत होइन। त्यो त समुदायसँगै उत्पत्ति भएको गीत हो। त्यसो त ‘लोकगीत’ अर्थात् फोक सङ भन्नु पनि बजारिया परिभाषाको कुरा हो, अमेरिकी शब्द हो। तर, लोकगीत (कुनै भेगको गीत) सँगको सम्बन्धमा भने यो शब्द भनेको मान्छेको शब्द हो। लोकगीत भनेको मान्छेको गीत हो। मान्छे एक ठाउँबाट अर्को ठाउँमा नियमित सरिरहँदा संगीत पनि सरिरहेको हुन्छ। सँगै, नयाँ उत्पत्ति पनि भइरहेको हुन्छ। त्यही नै गीत लोकगीत हो। सजिलोमा भन्दा यो बसाइँसराइ गर्ने संगीत हो, जुन एउटा माटोको कथा बोकेर अर्को माटोमा मिसिन्छ।

दक्षिण एसियाली लोकगीतलाई तपाईंले संसारका विभिन्न ठाउँमा पुगेर प्रस्तुत गर्नुभएको छ। यसलाई विश्वस्तरमा पुर्‍याउन हो वा अन्य कुनै कारण छ ?

ठाउँठाउँमा गएर लोकगीत प्रस्तुत गरेर यसलाई मैले ग्लोबलाइज गर्न खोजेको होइन। मात्र, यी गीत नसुनेकालाई सुनाउन चाहेको हुँ। कुनै पनि कुरालाई विश्वस्तरमा पुर्‍याउनुपर्छ भन्ने नै लाग्दैन मलाई। त्यसमाथि गीत–संगीतलाई विश्वमाझ पुग्न मान्छेलाई जस्तो पासपोर्ट चाँहिदैन, भिसा चाहिँदैन।

 कति भाषामा गीत गाउनुभएको छ ? 

२०-२१ वटा भाषामा गाइसकेँ। अफ्रिकी पाँच वटा भाषामा गाएको छु। स्पेनिस, पोर्चुगिज र दक्षिण एसियाली भाषामा गाउँछु। 

तपाईं अरूले गाएका गीत गाउनुहुन्छ। तपाईंका आफ्ना गीत छँदै छैनन् भने पनि हुन्छ। अरूको गति गाएर परिचय बनाउन कठिन हुँदैन ?

यो एकदमै हाँसउठ्दो कुरा हो। पिट सिगर लोकसंगीतका पिताका रूपमा चिनिन्छन्। उनले आफ्नो जीवनकालमा १२ हजारभन्दा बढी गीत रेकर्ड गराएका छन्। तर, तीमध्ये ९८ प्रतिशत अरूका गीत छन्। तर, ती अरू भनेका को हुन् ? ती सबै लोकका गीत हुन्। यी गीत वास्तवमा कसका हुन्, कसैलाई थाहा छैन। मलाई कसैले ‘झलकमान गन्धर्वको गीत गाउँछौ’ भन्छ भने त्यो सत्य होइन। मैले उहाँको गीत गाएको होइन। मैले त लोकगीत गाएको हुँ, जुन झलकमान गन्धर्वले सुन्दर तरिकाले रेकर्ड गराउनुभयो। यो गीत मैले सुनेँ र गाएँ। 

पहिलो ब्यान्ड बनाउँदा तपाईं ११ वर्षको हुनुहुन्थ्यो। त्यसपछि पनि थुप्रै ब्यान्डसँग सहकार्य गर्नुभयो। अहिले कुनै ब्यान्डसँग आबद्ध हुनुहुन्छ ?

अहिले म एक्लै हिँडिरहेको छु। आफूलाई मन लागेको बाटोमा आफ्नो रुचिअनुसार काम गरिरहेको छु। ‘अर्को मुखर्जी कलेक्टिभ’ नाममा एउटा समूह छ, तर त्यो ब्यान्ड होइन। 

नेपाली लोकसंगीतसँग कहिलेदेखि परिचित हुनुभयो ?

नौ–दश वर्षको हुँदा म पहिलो चोटि सन्दकपुर पुगेको थिएँ। नेपालको इलाम र वेस्ट बंगालको सिमानामा पर्ने यो शहरमा मैले अर्जुन शेर्पा नाम गरेको मान्छे भेटेको थिएँ। उनले नै मलाई रेशम फिरिरी सिकाएका थिए। त्यसपछि हरेक वर्ष म नेपाल घुम्न थालेँ। काठमाडौँका एक जना साथी विनय मोक्तानले मलाई थुप्रै नेपाली गीतसँग परिचित गराए। ‘मोहनी लाग्ला है’, ‘फूल हौ भने बसाइदेउ’, ‘तुलसी आँगनमा रोपौँला’ जस्ता गीत दार्जिलिङतिर पनि चर्चित थिए। मैले यस्ता गीत सिकेँ। तर, मेरो लगाव नेपाली लोकगीतमा थियो। 

झलकमान गन्धर्वको गीत पहिलो पटक कहिले सुन्नुभएको थियो ? 

सन् २०१६ मा काठमाडौँमा थिएँ। त्यहाँ एक दिन कतै घुम्न जाँदा ट्याक्सीमा एउटा गीत सुनेँ। यस्तो राम्रो गीत गाउने लोककलाकार को होला भन्ने लाग्यो। चालकलाई सोध्दा ‘पुरानो कलाकार हो, नाम थाहा छैन’ भने। भाग्यवश मैले दुई शब्द याद गरेको थिएँ। ‘तिम्रो’ र ‘माया’। पछि धेरै जनासँग सोधेँ। अनि, थाहा पाएँ– त्यो गीत ‘तिम्रो नै माया लाग्दछ साइँली’ रहेछ। खोज्दै जाँदा झलकमान गन्धर्वका गीतहरूको एउटा एल्बम पाएँ। त्यसलाई मैले दुई सयभन्दा बढी पटक सुनेँ होला। झलकमानको स्वरमा नेपाली माटोको बास्ना आउँछ। 

तपाईंले गाउनुभएको ‘रेशम फिरिरी’ युट्युबमा ३२ लाखभन्दा बढी पटक हेरिएको छ। ‘तिम्रो नै माया’ युट्युबमा २३ लाखभन्दा बढी पटक हेरिएको छ। यस्तो होला भन्ने सोच्नुभएको थियो ? 

मैले आफूले बाल्यकालमा सुनेका गीतहरू सम्झिएर यी गीत गाएँ। तर, कहिल्यै लागेको थिएन, यति धेरै नेपालीले यसलाई सुन्नेछन्। मैले त्यो चाहेको पनि थिइनँ। खुशी छु। 

अहिले कस्ता नेपाली गीतमा काम गरिरहनुभएको छ ?

गन्धर्व समुदायका केही गीतमा काम गरिरहेको छु। नेवार गीत ‘राजमती कुमती’ चार सय वर्ष पुरानो गीत रहेछ। मैले यो गीत पछाडिको कथा पनि सुनेँ र यो गीतसँग जोडिएको ठाउँ पनि पुगेँ। त्यहाँ सुन्दर चित्रकला पनि देखेँ। अब यो गीतलाई आफ्नै शैलीमा गाउने सोचिरहेको छु। त्यसबाहेक तामाङ र मैथिली गीत  सिक्ने सोचिरहेको छु। 

नेपाली संगीतकार हरि महर्जनसँग सहकार्य गर्नुभयो। कसरी चिनजान भयो ? 

दुईतीन वर्षअघि काठमाडौँ, वसन्तपुरमा आफ्नै सुरमा गीत गाएर बसेको थिएँ। हरि महर्जनसँग मैले त्यहीँ भेटेको थिएँ। उनी निकै राम्रो संगीतकार हुन्। संगीत बुझ्छन्। हामीले नेपालका विभिन्न ठाउँमा गएर प्रस्तुति दियौँ। हाम्रो दह्रो मित्रता छ। उनी कहिलेकाहीँ मलाई ‘तिमी अर्काे महर्जन, म हरि मुखर्जी’ भन्छन्। 

हाल केमा व्यस्त हुनुहुन्छ ? 

मेरो एल्बम ‘बोन्धुर बारी’ भर्खरै रिलिज भएको छु। यसकै काममा व्यस्त छु। एल्बमको अर्थ ‘साथीको घर’ हो। यसमा तीन बंगाली लोकगीत, एउटा मेरो आफ्नै सिर्जना र एउटा नेपाली गीत छन्। झलकमान गन्धर्वले गाएको ‘बाला जोबन’ बोलको गीत छ। म यी गीतको भिडियो बनाउने काममा व्यस्त छु। अस्ट्रेलिया, जर्मनीलगायत देशमा भएका नेपालीहरूले कन्सर्टका लागि कुरा गरिरहेका छन्। त्यतातिर पनि जानु छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि