निर्मलाको सुर यात्रा जनवादीदेखि सेलोसम्म

writer

उर्मिला स्याङ्तान

बिहिबार, ०९ असोज २०७६


निर्मला घिसिङ जनवादी र तामाङ सेलो गायिका हुन्। जनयुद्धमा छ वर्ष बिताएकी उनी तत्कालीन माओवादी पार्टीको सांस्कृतिक परिवारमा थिइन्। कार्यक्रमका लागि जिल्ला–जिल्ला पुग्ने गर्थिन्। 


तामाङ सेलो र जनवादी गीतमा परिचित नाम हो, निर्मला घिसिङ। २७ वर्षीया उनी बाल्यकालमै माओवादी जनयुद्धमा होमिएकी थिइन्। जनयुद्धमा लागेसँगै सुरु भएको उनको सांगीतिक यात्राले पनि लामो बाटो पार गरिसकेको छ। अहिलेसम्म उनको आवाजमा दुई सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। 

मकवानपुर, फापरबारीमा जन्मिएकी हुन्, निर्मला। उनको गाउँ माओवादी आउजाउ गर्ने थलो थियो। त्यही कारण गाउँमा नेपाली सेना पनि धेरै आउँथ्यो। ‘माओवादी कोही मध्यरातमा आएर झिसमिसेमा गाउँ छाडेर जान्थे,’ उनले सम्झिइन्, ‘कोही बिहानै आएर दिनभरि गाउँमा गस्ती गर्थे।’ संकटकालका कारण उनको पढाइ एकै ठाउँमा हुन सकेन। कहिले काठमाडौँ, कहिले मकवानपुरमा भयो। द्वन्द्वका बीच  हुर्किरहेकी निर्मलालाई माओवादीले चालेको कदम ठीकजस्तो लाग्यो। ‘द्वन्द्व आफ्नै लागि भइरहेको महसुस गरेँ,’ उनले भनिन्, ‘मलाई विद्रोही पक्ष आफ्नोजस्तो लाग्यो। घरमा आउँदा पनि उनीहरूले माया गर्थें। जनताको अधिकारका लागि लडिरहेका थिए।’

उनलाई सानैदेखि गीत गाउन मन पथ्र्यो। माओवादी गाउँमा बन्दुक मात्रै नभई बाजागाजा पनि बोकेर आउने गर्थे। माओवादीप्रति झुकाव भएकी उनलाई गीत–संगीतले पनि बेस्सरी तान्यो। जनवादी गीतमा देश बनाउने, हकअधिकार र समानताका कुरा हुन्थे। ‘यी कुराबाट निकै प्रभावित भएँ,’ उनले भनिन्, ‘मलाई पनि उनीहरूसँग जाऊँ–जाऊँ लाग्न थाल्यो।’ 

जनयुद्धमा हिँड्दा 

आठ कक्षासम्म मात्र पढिन्। त्यसपछि पढाइमा बिट मारिन्। देश बनाउने संकल्प लिई जनयुद्धमा प्रवेश गरिन्। ‘११ वर्षको उमेर घरबाट ‘देश बनाउँछु’ भन्दै जनयुद्धमा हिँडँे,’ उनले सुनाइन्, ‘त्यतिबेला न त परिवारबारे सोचेँ, न आफ्नोबारे। देशको चिन्ताले पिरोल्यो।’ गीत गाउने भएकाले उनलाई सांस्कृतिक परिवारमा राखियो। ‘मेरो देश बदल्ने यात्राको सुरुवात श्रद्धाञ्जली सभाबाट भयो,’ उनले सम्झिइन्। उनी त्यहाँ जाँदा श्रद्धाञ्जली कार्यक्रम भइरहेको थियो। ‘देशका लागि शहीद भएकाहरूलाई श्रद्धाञ्जली दिएँ,’ उनले भनिन्, ‘उनीहरूका सपना पूरा होऊन् भनी कामना गरेँ। तर, शहीदका सपना अझै पनि अधुरा छन्।’ 

माओवादी कलकार हुँदाताका कहिले जंगलमा बास बसिन्, कहिले गरिबको झुपडीमा। बास बस्दा कैयौँकी छोरी बनिन्, सयौँकी दिदीबहिनी बनिन्। ‘कहिलेकाहीँ मध्यरातमा पनि झुपडीमा बास माग्न पुग्थेँ,’ उनले भनिन्, ‘कहिले झिसमिसेमा पनि जान्थँे। झुपडीका मानिसले असाध्यै माया गर्थे। उनीहरूको मायाले घरको याद आउँथ्यो। घर खासै जान पाइँदैनथ्यो। झुपडीमै घरको माया मेट्थेँ।’ सांस्कृतिक कार्यक्रमका लागि विभिन्न जिल्ला पुग्थिन्। ‘कार्यक्रमका लागि जिल्ला जिल्ला पुग्नुपथ्र्यो,’ उनले सुनाइन्, ‘आफ्नो जिल्लामा आउँदा मात्र घर पस्न पाउँथेँ। सेनाको डरले चाँडै फर्किहाल्नुपथ्र्यो।’

भूमिगत जीवनमा उनका थुप्रै साथी शहीद भए। कति अपांग छन्। ती साथीहरूलाई उनी अझै पनि सम्झिने गर्छिन्। ‘एक पटक राति साथीहरुलाई बाटो देखाउन गएकी थिएँ,’ उनले भनिन्, ‘फर्किंदा गोली चलेको आवाज सुनेँ। एकैछिनपछि नाइट भिजन हेलिकप्टरबाट गोलीको वर्षा भयो। म आत्तिएँ। बल्लतल्ल ज्यान जोगाइयो।’ 

‘कथा’जस्तो विगत

अहिले उनलाई आफ्नो विगत कथाजस्तै लाग्छ। ‘त्यो यात्रा, अठोट र संकल्प अहिले व्यर्थजस्तो लाग्छ,’ उनले भनिन्, ‘देशप्रति माया अझै पनि उत्तिकै छ, जति हिजो थियो। तर, देश र जनताका लागि बिताएको त्यो भूमिगत जीवन यत्तिकै खेर गएको छ।’ २०६३ सालदेखि शान्ति प्रक्रिया सुरु भयो। ‘जनताले शान्तिको अनुभूति गरे,’ निर्मलाले भनिन्, ‘तर, जनयुद्धमा परिवार छोडी देश र जनताको लागि हिँडेका, युद्धमै आधा जीवन बिताएका र बिचल्लीमा परेका शहीदका परिवारले शान्ति पाएनन्।’ लामो समय जनयुद्धमा बिताएका लडाकू ‘अयोग्य’ साबित हुँदा निर्मलाको मन दुख्यो। ‘युद्धमा साथ दिएका लडाकू नै अयोग्य ठहरिए,’ उनले भनिन्, ‘त्यसो हुँदा साह्रै दुःख लाग्यो।’ सेना समायोजनका बेला स्वेच्छिक अवकाश लिन चाहने पूर्वलडाकूलाई तत्कालीन सरकारले केही रकम दिएको थियो। तर, आफूजस्ता कलाकारले केही नपाएको निर्मलाले बताइन्। ‘मजस्ता थुप्रै जनयुद्धका कलाकारले न त केही राहत पायौँ, न सान्त्वना नै,’ उनले भनिन्। 

‘हामीले देश र जनताका लागि आफ्नो सर्वस्व गुमायौँ,’ उनले थपिन्, ‘तर, त्यसको वास्ता कसैले गरेको छैन।’ यति हुँदा पनि कोहीसँग केही गुनासो नरहेको उनले बताइन्। ‘तर, जनयुद्धमा शहीद भएका, अपांग भएका, बिचल्लीमा परेकालाई देख्दा नरमाइलो लाग्छ,’ उनले भनिन्, ‘त्यतिबेला सँगै काम गरेका कतिपय साथी कामका लागि खाडी मुलुक पसिसके। कोही आफ्नै गाउँमा फर्किएर खेतीपाती गरिरहेका छन्।’

माओवादी सेनामा हुँदा ज्यान हत्केलामा राखेर हिँडेको उनले सुनाइन्। ‘माओवादी सेनामा भएकाहरूले न घर भने, न परिवार, न पढाइको वास्ता गरे, न करिअरको,’ उनले भनिन्, ‘तर, अन्त्यमा उनीहरूका हातमा केही पनि आएन।’ निर्मलाले युद्धमा छ वर्ष बिताइन्। ‘त्यो मेरो जीवनको उर्वर समय थियो,’ उनले भनिन्, ‘त्यो समयले धेरै कुरा सिकायो। तर, अहिले जनयुद्धका योद्धा गुमनाम भएका छन्।’

निरन्तर संगीतमा

त्यसपछि उनले आफ्नो रोकिएको पढाइलाई निरन्तरता दिइन्। रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक पास गरिन्। उनको सांगीतिक यात्रा पनि रोकिएको छैन। ‘यो यात्रा अझै पनि रोकिनेछैन,’ उनले भनिन्। तामाङ सेलोकी गायिकाका रूपमा स्रोता–दर्शकमाझ लोकप्रिय भइसकेकी छिन्। ‘तामाङ सेलोले मलाई सांगीतिक क्षेत्रमा चिनाएको छ,’ उनले भनिन्, ‘मलाई जीवित राखेको छ।

यसकै कार्यक्रममा देश–विदेश घुम्ने मौका पाएकी छु।’ निर्मलाले नेपाली गीत पनि गाएकी छिन्। मंगोलियन हार्ट ब्यान्डका गायक राजु लामासँग उनले गीत गाएकी छिन्। त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’का गीत पनि उनले गाएकी छिन्।

अहिले उनी काठमाडौँमा परिवारसँगै बस्छिन्। स्टेज कार्यक्रमका लागि विदेश पनि पुग्ने गर्छिन्। संगीत कक्षा, रेकर्डिङ स्टुडियोमा उनको समय बित्ने गर्छ। ‘आफ्नो पहिचानको दायरा अझै फराकिलो बनाउन चाहन्छु,’ उनले भनिन्, ‘तामाङ सेलो, जनवादी गीत मात्र नभई मूलधारको संगीतमा पनि रुचि छ।’ आफ्नो इच्छा पूरा गर्न उनी सांगीतिक रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ मा पुगिन्। ब्लाइन्ड अडिसनमा छनोट भइसकेकी छिन्।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि