भूपाल राईका केही गीत

writer

सम्पूर्ण

बिहिबार, ०९ असोज २०७६


यूके कम्पनी

भिर पाखा यतै रहोस् उता लाउरे शहर
हजारौँको गन्ती नाघ्यो विदेशिने रहर 
ए, यूके कम्पनी 
अझै कति देख्छौ तिमी सुनको सपनी ! 

बिर्सियौ कि पितृ पुर्खा आफ्नो थलो किलो 
कहाँ लगी टक्टक्यायौ जन्म ठाउँको धुलो ?
ए, यूके कम्पनी
अझै कति देख्छौ तिमी सुनको सपनी !

सुनै सुनले पुरिएलान् तिम्रा छोरा नाति 
जदौरिको देशभन्दा प्यारो आफ्नै छाती 
ए, यूके कम्पनी
अझै कति देख्छौ तिमी सुनको सपनी ! 


सुनबालुवामा सुन छैन 

सुनबालुवामा सुन छैन 
हुम्लामा हजुर नुन छैन 
दुनियाँको खबर यस्तै छ दाजै 
हरिबर्खे कमाइ निस्तै छ दाजै 

पूर्वको पानी पिएर पश्चिममा हन्डर खाएको 
कुर्कुच्चा खाने हिउँदेखि दाजै मधेशको गर्मी खेपेको 
भिर पाखा चल्ने रेल छैन 
डोल्पामा रासन तेल छैन 
दुनियाँको खबर...

साबरको जुत्ता खाँचै छ सोलुको चौँरी खर्कमा 
अहिलेको गाँसले के धान्ला बरै आघुँको मध्य बर्खामा 
अँधेरी घाटमा पुल छैन 
मार्ताङमा पिउने मूल छैन 
दुनियाँको खबर...। 


दरबार बनायौ

दरबार बनायौ धरहरा ठड्यायौ 
याम्बु  शहरको सडक बनायौ 
पुस्तौँ पुस्ताको गर्धन झुकिन्जेल 
राजा महाराजाको सवारी चलायौ 
ओ ताम्बा  नायक, भन तिमीले के पायौ ? 

उघाऊ एक मुठी याबेङ को पानी  
त्यहाँ बगेको आँशु छ फगत 
जहाँ दुश्मनले तरबार खुँडामा 
पखाली गएथ्यो पुर्खाको रगत 
गोडा बजार्‍यौ सलामी चढायौ 
खोपीको भित्ता पलङ सजायौ
पुस्तौँ पुस्ताको गर्धन झुकिन्जेल 
राजा महाराजाको सवारी चलायौ 
ओ ताम्बा नायक, भन तिमीले के पायौ ? 

उस्तै छ आकाश तिमालको फेदी 
वर्षौं दुखेको ताम्सालिङ छाती 
खुनी अक्षरले दोहोरी परेड 
खेल्दै छ तिम्रो इतिहासमाथि 
डोली उठायौ सपना बिसायौ 
अन्जान यसरी शताब्दी बितायौ 
पुस्तौँ पुस्ताको गर्धन झुकिन्जेल 
राजा महाराजाको सवारी चलायौ 
ओ ताम्बा नायक, भन तिमीले के पायौ ? 


ख्यालठट्टा धेरै भो

आकाशको तारा झार्ने कुरा 
हात हातै मुटु बाँड्ने कुरा 
सुनेको धेरै भो– यो कुरा धेरै भो 

भन्नेले जोड्ला फूलबुट्टा
सुन्नेले काँडा टेक्नै छ 
अहिलेको आगो साँचेर 
भरेको चुल्हा सेक्नै छ 
यो रूखो सुखो दुनियाँमा– फूलबुट्टा धेरै भो 

पर्दैन पोख्नु पसिना 
हावाको महल उठाउन 
दिन रात यहाँ जोडे नि 
गाह्रो छ जीवन जुटाउन 
यो अन्नपानीको जिन्दगीमा– ख्यालठट्टा धेरै भो । 


देब्रे बिर्सिनुभो  

बाटो भुल्यौ कि यात्री 
आफैँ बद्ल्यौ कि !
दाइने बाटो सहज बन्दा 
देब्रे बिस्र्यौ कि ! 

आफ्नै सामु ढल्थे साथी 
तिमी थाप्थ्यौ छाती 
टेक्दै आहाल रगतको 
चढ्थ्यौ मोर्चामाथि 
जुत्ता फेर्‍यौ कि यात्री 
अत्तर छर्क्यौं कि 
सेतो भेलमा रगतको 
रङ्गै बिर्स्यौं कि ! 

देब्रे बाटो अप्ठ्यारो छ 
भिर खोप्नु पर्ने 
आधी बाटो बाँकी नै छ 
अझै हिँड्नु पर्ने 
जगमै फुट्यौ कि यात्री 
गजुर ढल्यौ कि 
पानीमाथि आफ्नो पाइला 
आफैँ मेट्यौ कि ! 


तोला औँठी त्यस्तै हो 

तोला औँठी त्यस्तै हो 
मोहोर माला त्यस्तै हो 
तर काँडे कल्ली हजुर 
पाउको बन्धन जस्तै भो 

बन्धनभित्र खुल्छ हाम्रो आधा आकाश नभन 
पूरा आकाश छिचोल्नलाई उड्नु पर्ने जमाना 
फुर्के धागो त्यस्तै हो 
नाके फुली त्यस्तै हो
तर सुनको चुरा हजुर 
हातको कडी जस्तै भो 

हिरा मोती सुनको भारी बोकाएर जीउभरि 
नयाँ नयाँ चुनौतीलाई जित्ने होला कसरी 
गुन्यू चोली त्यस्तै हो 
छाते घाँगर त्यस्तै हो 
तर धार्नी फरिया त 
ज्यानको भारी जस्तै भो ।   


भेलको सिरानी 

यो थलोमा एक्लै छाडी एलम्बरको झण्डा 
धाउँछन् खालि उँधै मात्र उमेरदारी खम्बा 
ए, भेलको सिरानी 
सबैतिर उस्तै छ है गाउँको कहानी 

रित्तै रह्यो गाउँघर भन्छिन् आमा एकपाखे 
बुढेसकालमा टेक्नुपर्ने छैनन् छोरा लाठे 
ए, भेलको सिरानी 
सबैतिर उस्तै छ है गाउँको कहानी 

अन्तै कति चढाइराख्छौ बल्दो उमेर जति
मर्दा पर्दा छैनन् यहाँ मलामी र जन्ती 
ए, भेलको सिरानी 
सबैतिर उस्तै छ है गाउँको कहानी । 


झण्डा लैजाऊ 

झण्डा लैजाऊ एक धरो नाना देऊ 
जून घाम लैजाऊ एक टाँगो छाना देऊ 
जूनको चित्र खाली पेट 
रोटी देख्छु म 
साथी ! भोको नाङ्गो म 

जन्मेदेखि त्यो रङ्गिन झण्डाको 
गीत गाउँदै बाँचेको तीन पुस्ता 
झुप्रो घरले खेपेको युगौँ भो 
महलबाट तर्केको बाछिटा 
सुन्दर हिमाल नाङ्गो आङ 
थर्थर काँप्छु म 
साथी ! भोको नाङ्गो म 

पर लैजाऊ त्यो महान् इतिहास 
आज यही जीवनको मूल्य देऊ 
अत्तर हैन पसिना बुझ्नेलाई 
आश्वासनको सट्टामा आवाज देऊ 
रातो गुलाफ तस्बिरमा 
रगत देख्छु म 
साथी ! भोको नाङ्गो म । 

तपाईको कमेन्ट

मुख्य समाचार