फेसबुक छोड्ने किन बढ्दै छन्?

writer

कवि आचार्य

सोमबार, ०६ असोज २०७६


सामाजिक सञ्जाल र समग्रमा इन्टरनेट प्रयोगको खास ध्येय मनोरञ्जन हो। इरास्मस युनिभर्सिटीकी प्राध्यापक पायल अरोरा भन्छिन्, ‘इन्टरनेट संसारका गरिबहरूको फुर्सदको अर्थतन्त्र हो। अनलाइनमा कामलाई खेलले जित्छ, श्रमलाई फुर्सदले पछि पार्छ।’


आइरिस लेखक लाउसियाच नी चोइस्टिलभाले फेसबुक छोड्दाको अनुभव यसरी बाँडेकी छन्ः   
 

‘सन् २०१८ मा मैले फेसबुक छोड्ने घोषणा गरेर स्ट्याटस लेखेँ। म एकदमै धेरै फेसबुक चलाउँथेँ। साथीहरूका पोस्टमा लाइक, सेयर र कमेन्ट गर्थें। यो आधुनिक सम्बन्धलाई प्रभावकारी राख्न कुनै कसर छोडेकी थिइनँ। साथीहरू पनि मेरो पोस्टमा उसै गरी प्रतिक्रिया जनाउँथे।’ 

चोइस्टिलभा थप्छिन्, ‘फेसबुकमा मेरा एक हजार साथी थिए। तर, मैले फेसबुक छोड्दै छु भनेर स्ट्याटस लेख्दा कसैले वास्ता गरेनन्। करिब १० जनाले मात्र मसँग वैकल्पिक सम्पर्कका लागि इमेल वा फोन नम्बर मागे। ती सबै मेरा निकट मित्र र परिवारका सदस्य थिए। मैले फेसबुक छोड्दै गर्दा कसैले चासो नदेखाउनु मेरा लागि दुःखको विषय थियो। दुःख लाग्नुको कारण के हो भने मैले फेसबुकका साथीहरूमाझ आफ्नो उपस्थिति देखाउन घण्टौँ खर्च गरेकी थिएँ। आफूले राख्न लागेको प्रोफाइल पिक्चर तिनलाई मन पर्ला कि नपर्ला भनेर लामो समय सोचेकी थिएँ। साथै, मलाई वास्ता गर्ने कोही नहुँदा सजिलो पनि भएको थियो।’

‘फेसबुक डिलिट गर्ने अनेकौँ चरण पार गरिसकेपछि यसले मलाई इमोसनल ब्ल्याकमेल गर्न थाल्यो। म सबैभन्दा बढी इन्गेज भएका व्यक्तिको अनुहार अगाडि ल्यायो। जसमा मेरी आमा, दाजु र मेरा पार्टनर पनि थिए। फेसबुकले सोध्यो, ‘के तपाईं यी मान्छेसँग सम्पर्क टुटाउन चाहनुहुन्छ?’ म दुःखी भएँ। आफ्नो निर्णयबाट विचलित हुँलाजस्तो लाग्यो। तर, फेरि आफ्ना साथीमध्ये एक प्रतिशतलाई मात्र मेरो चासो छ भन्ने सोचेपछि मैले डिलिट बटन क्लिक गरेँ।’ 

लेखक चोइस्टिलभा लेख्छिन्– ‘फेसबुकको फेरोबाट निस्केपछि अन्य सामाजिक सञ्जाल छोड्न सजिलो हुँदै गयो। अप्रिल २०१९ सम्ममा मैले इन्स्टाग्राम, स्न्यापच्याट र ट्वीटर पनि डिलिट गरेँ। परिणाम के भयो भने मेरा दिन लामा हुन थाले। काम पूरा हुन थाले। जीवन ठीक मार्गमा अघि बढ्न थाल्यो। साथीहरू पनि वास्तविक लाग्न थाले। त्यसपछि सामाजिक सञ्जालमा बिताएका हजारौँ घण्टाप्रति मलाई पछुतो महसुस भयो। मैले कविता लेखेँ। योग सिकेँ र करिब १९ किलो तौल घटाएँ।’

सञ्जालको युग कि जञ्जालको? 

आजको युगलाई सामाजिक सञ्जालको युग भनिन्छ। यस्ता अनेकौँ प्लेटफर्म अस्तित्वमा छन्। तीमध्ये फेसबुक संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल हो। करिब सात करोड कम्पनीले फेसबुक पेज प्रयोग गरेका छन् भने छ करोडभन्दा बढी विज्ञापनदाताले फेसबुकमार्फत विज्ञापन गरिरहेका छन्।

त्यस्तै, हरेक महिना झण्डै दुई अर्बले युट्युब चलाउँछन्। युट्युबको भिडियो हरेक दिन एक अर्ब घण्टा हेरिन्छ। मेसेजिङ एप ह्वाट्सएप संसारका १ सय ८० भन्दा बढी मुलुकमा चलाइन्छ। यसका मासिक प्रयोगकर्ता डेढ अर्ब छन्। त्यस्तै, फेसबुकअन्तर्गतकै मेसेन्जर १.३ अर्ब, विच्याट १.०६ अर्ब, इन्स्टाग्राम एक अर्ब, क्यूक्यू ८० करोड ७० लाख, टम्बलर ७० करोड, क्युजोन ६० करोड र टिकटक ५० करोडले चलाउँछन्। 

ट्वीटर, स्न्यापच्याट, भाइबर, भीके, वेइबो, रेडिट, लिंक्डइनजस्ता अन्य दर्जनौँ सामाजिक सञ्जाल छन् र करोडौँले हरेक दिन केही न केही समय यस्ता सञ्जालमा बिताउने गर्छन्। यस्तो लाग्छ, आजको युगलाई डोर्‍याउने मुख्य मार्गदर्शक यिनै सामाजिक सञ्जाल हुन्। यिनको प्रभाव र विस्तारबाट उम्किन सम्भव छैन। मानव जीवनको हरेक आयाममा यिनको व्यापक प्रभाव महसुस गर्न सकिन्छ। 

सामाजिक सञ्जालको माध्यमले मानिसको व्यापार–व्यवसाय र जीविकोपार्जनमा पनि सघाएको छ। तर, सामाजिक सञ्जाल र समग्रमा इन्टरनेट प्रयोगको खास ध्येय भने मनोरञ्जन हो। इरास्मस युनिभर्सिटीकी प्राध्यापक पायल अरोरा भन्छिन्, ‘इन्टरनेट संसारका गरिबहरूको फुर्सदको अर्थतन्त्र हो। अनलाइनको कुरा गर्दा कामलाई खेलले जित्छ, श्रमलाई फुर्सदले पछि पार्छ।’ उनका अनुसार जहाँ बसे पनि र कमाइ जति भए पनि मानिसहरू एकअर्काको सम्पर्कमा रहन चाहन्छन्, मनोरञ्जन लिन र अभिव्यक्ति दिन मन पराउँछन्। यद्यपि, सीमित धनीहरू यसलाई पैसा कमाउन प्रयोग गरिरहेका छन् भने गरिबहरू सामाजिक सञ्जाल प्रयोगका लागि पैसा तिरिरहेका छन्। 

यद्यपि, पछिल्लो केही समय सामाजिक सञ्जालको प्रयोग त्याग्ने मानिसको संख्या पनि बढिरहेको छ। गत वर्ष ह्यासट्याग डिलिट फेसबुक अभियानले चर्चा पायो। सेलेब्रिटीसहित हजारौँले आफ्नो अकाउन्ट बन्द गरे। यसका विभिन्न कारण छन्। कतिपयले अत्यधिक सामाजिक सञ्जाल प्रयोगका कारण मानसिक स्वास्थ्यमा जोखिम बढेको तर्क गरेका छन्। खास गरी, बालबालिकाको वृद्धिमा यसले नकारात्मक असर गरेको अनेकौँ अध्ययनहरूले पुष्टि गरिसकेका छन्। तर, फेसबुकप्रति आम धारणा नकारात्मक हुनुको सबैभन्दा प्रमुख कारण भने राजनीतिक हो। सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा फेसबुकको भूमिका विवादित बन्यो। क्याम्ब्रिज एनालाइटिका नामक कम्पनीलाई फेसबुकले आफ्ना प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक दिएको पुष्टि भएपछि गोपनीयता र तथ्यांक सुरक्षाको विषयमा बहस सुरु भएको छ। 

फेसबुकबिना जीवन कस्तो होला?

करिब सवा दुई अर्ब अर्थात् संसारको जनसंख्याको ३० प्रतिशत मानिस फेसबुक चलाउँछन्। इतिहासमै एकैठाउँमा यति धेरै मानिसको जमघट कहिल्यै भएको थिएन। प्रयोगकर्ताका लागि फेसबुकको मूल्य अर्बौं डलर रहने अर्थशास्त्रीहरू स्विकार्छन्। सँगसँगै कुलत, बुलिङदेखि लिएर तथ्यमा आधारित राजनीतिको क्षयीकरण र नरसंहारसम्मलाई पनि यसले बढावा दिएको आरोप लाग्दै आएको छ। अनेकौँ अध्ययनहरूले यी आरोप आधारहीन होइनन् भन्ने पुष्टि गर्छन्। 

यस्तो अवस्थामा फेसबुक आफ्ना साथी र परिवारसँग सम्पर्क कायम गर्ने सहज माध्यम त हुन सक्ला। तर, यो त्यसको एक मात्र माध्यम भने होइन। 

फेसबुकबिना जीवन कस्तो होला भनेर अनेकौँ अनुसन्धाताले यसबारे विभिन्न अध्ययन गरिरहेका छन्। गत जनवरीमा स्ट्यानफोर्ड युनिभर्सिटीमा यससम्बन्धी सबैभन्दा ठूलो अध्ययन गरिएको थियो। अनुसन्धाताले हजारौँ फेसबुक प्रयोगकर्ता छनोट गरेर तिनलाई विभिन्न समूहमा विभाजन गरेका थिए। त्यस्ता समूहका सदस्यलाई सन् २०१८ को अन्त्यमा एक महिनाका लागि फेसबुक प्रोफाइल डिएक्टिभेट गर्न लगाइएको थियो। फेसबुकबिना तिनको जीवनमा कस्तो प्रभाव परेको थियो भनेर अध्ययन गरिएको थियो। 

फेसबुक छोडेकाहरूले औसतमा एक घण्टा खाली समय उपभोग गर्न पाए। त्यो समय उनीहरूले अन्य सामाजिक सञ्जाल वा वेबसाइटमा खर्चिएनन्। बरु साथी र परिवारको साथमा बिताए र टेलिभिजन हेर्नमा केही समय खर्चिए। तिनले समाचार पनि निकै कम पढे। जसका कारण भइरहेका घटनाप्रति कम जानकारी हुनुका साथै फेसबुक चलाइरहेकाभन्दा विचारमा पनि कम ध्रुवीकृत देखिए। फेसबुक छोडेपछि तिनले आफ्नो खुशीको मात्रा बढेको र डिप्रेसन र एन्जाइटी घटेको बताए।

कतिपयलाई यसले फेसबुकको लत छुटाउन पनि सहयोग गर्‍यो। फेसबुक डिएक्टिभेट गरेकाहरू हप्तौँपछि सञ्जालमा फर्किंदा उनीहरूले पहिलेको भन्दा २३ प्रतिशत कम समय यसमा बिताउन थाले। पाँच प्रतिशत त अझैसम्म फेसबुकमा फर्केका छैनन्। तसर्थ फेसबुकबिना यो दुनियाँ अझ राम्रो हुनेछ। 

सामाजिक सञ्जाल त्याग्नेहरूले यसबाट नोक्सानभन्दा फाइदा बढी हुने सुझाएका छन्। फोनको ब्याट्री धेरै टिक्नेदेखि लिएर सम्बन्धको आयामसम्ममा सुधार हुने उनीहरूको दाबी छ। सबैभन्दा बढी चाहिँ सामाजिक सञ्जाल नहुँदा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र समयको सदुपयोग हुने उनीहरूको भनाइ छ। 

फेसबुक छोड्दैमा टुट्दैन सम्पर्क 

ब्रायन एक्स चेनले गत वर्ष फेसबुक डिलिट गरे। त्यसपछि पनि परिवार र साथीभाइसँग सम्पर्क कम भएको उनलाई लाग्दैन।

‘मैले १४ वर्षभन्दा बढी फेसबुक चलाएँ,’ ब्रायन भन्छन्, ‘पाँच सय साथी बनाएँ। तीमध्ये धेरैजसो मेरा पूर्वसहपाठी थिए, जोसँग मेरो सम्पर्क टुटिसकेको थियो। वास्तविक जीवनमा मेरा २० जनाजति साथी छन्, जोसँग म नियमित कुराकानी गर्छु। मैले फेसबुक छोडेपछि पनि खासै फरक परेन। म आइमेसेज, सिग्नल वा इमेलको माध्यमबाट तिनै साथीहरूसँग सम्पर्क गर्छु। फेसबुक मेसेन्जर मात्रै प्रयोग गर्ने एक जना साथीसँग भने म अहिले इमेलमा कुराकानी गर्छु। हाम्रो सम्पर्क घटेको छ।’ 

ब्रायन थप्छन्, ‘मलाई फेसबुकको याद पनि आउँदैन। फेसबुकमा मेरा साथीहरू बारम्बार क्विज, राजनीतिक समाचार र वर्तमान घटनामा आफ्नो विचार पोस्ट गर्थे। कहिलेकाहीँ रमाइलो र रोचक पोस्ट पनि देखिन्थ्यो। तर, यो अन्ततः टाइमपासको माध्यम मात्र थियो। आजभोलि म पुस्तक बढी पढ्न थालेको छु। किनभने, मेरो ऊर्जा फेसबुक पोस्ट पढ्नमा खर्च भइरहेको छैन।’ 

उनी विज्ञापनदाताहरूले पिछा गर्न छोडेका बताउँछन्। भन्छन्, ‘ब्रान्डहरूले फेसबुकको सहारामा आफ्नो निसाना पत्ता लगाउने गर्छन्। तपाईंले ब्राउज गरेका सम्पूर्ण गतिविधि फेसबुकले हेरेर सोही अनुसारको विज्ञापन तपाईंलाई पठाउने गर्छ। त्यसैले फेसबुक डिलिट गरिसकेपछि मैले ब्राउजरमा ट्र्याकर ब्लकर पनि इन्स्टल गरेँ। यसले काम गर्‍यो। लक्षित अनलाइन विज्ञापन बन्द भयो। यसको नतिजा के भयो थाहा छ? वर्षौँसम्म मेरो इन्स्टाग्राममा पुरुषको जुत्ता, ब्रिफकेस र भिडियो गेमको विज्ञापन आउँथ्यो। अहिले म महिलाका लागि उत्पादित सामग्रीको विज्ञापन देखिरहेको छु। कारण, फेसबुक डिलिट गरिसकेपछि उसले मेरो ट्र्याक गरेर सही जानकारी पाउन सकिरहेको छैन। जसका कारण इन्स्टाग्रामले अहिले मलाई महिला ठानेको हुन सक्छ। यसका साथै मेरो खर्च पनि कम भएको छ। फेसबुक बन्द गरेपछि मेरो अनलाइन किनमेल कम भएको छ।’ 

एजेन्सीको सहयोगमा

तपाईको कमेन्ट