फेसबुकलाई दिनको कति घण्टा?

सम्पूर्ण
सोमबार, ०६ असोज २०७६
दीपेश कुइँकेल (२२), सुन्ताखान, काठमाडौँ
मैले फेसबुक चलाएको सात वर्ष भयो। फेसबुक नचलाएको दिनै हुँदैन। एक दिन खोलेन भने के छुट्यो–छुट्यो जस्तो लाग्छ। दिनको छसात घण्टा फेसबुकमा बिताइन्छ। कसले कस्तो फोटो हाल्यो? को कहाँ गयो? कसले के खायो? यो सबै फेसबुकले भन्छ। जीवनको अंग नै भइसक्यो फेसबुक।
सोनिका पाण्डे (२३), बल्खु, काठमाडौं
आठ वर्षदेखि फेसबुक चलाउँदै आएको छु। फेसबुक मेरो एक्लोपनको साथी हो। दिनमा दुईदेखि तीनघण्टा चलाइन्छ। फेसबुकले जीवन सहज बनाइदिएको छ। कहाँ के भइरहेको छ सबै फेसबुकबाटै थाहा पाइन्छ। फेसबुक नचलाई बस्न त सकिएला तर यो बिनाको जीवन कष्टकर हुन्छ होला।
चिरायु सिंखडा (१७), सुन्दरीजल, काठमाडौँ
मलाई फेसबुकमा फोटो हालेर लाइक आएन भने साह्रै टेन्सन हुन्छ। दिनमा पाँचदेखि सात घण्टा त्यही लाइक हेर्न भए पनि फेसबुक चलाउँछु। विदेशमा रहेका आफन्तसँग कुरा गर्न निकै सजिलो भएको छ। फेसकुकबिनाको जीवन साह्रै गाह्रो हुन्छ होला।
सुस्मिता नगरकोटी (२३), कीर्तिपुर, काठमाडौँ
फेसबुक खोलेको नौ वर्ष भयो। हप्तामा एक÷दुई चोटि मात्रै चलाउँछु। खासै चासो लाग्दैन। फेसबुकबिना जीवन पहिले पनि चलेकै थियो, अहिले पनि आरामले चल्छ। फेसबुकले समय बर्बाद मात्र गराउँछ।
समीक्षा श्रेष्ठ (१९), दधिकोट, भक्तपुर
फुर्सदमा फेसबुक चलाउँछु। विदेशमा भएका आफन्तसँग कुरा गर्छु । फेसबुकले हाम्रो जीवनशैलीलाई सहज बनाइदिएको छ। तर, फेसबुक नचलाई बस्ने नियम आयो भने नचलाई बस्न सकिन्छ होला। सुरु सुरुमा गाह्रो होला, बिस्तारै बानी परिहाल्छ नि।
सुस्मिता पाण्डे (२३), बल्खु, काठमाडौँ
फेसबुक चलाएपछि म फ्रेस फिल गर्छु। १० वर्ष भयो, फेसबुक चलाउन थालेको। केही तनाव भयो भने स्ट्याटस हालेर दुःख पोख्न पाइन्छ। आजभोलि त फेसबुकबिना दिन काट्दै मुश्किल भइसक्यो। दिनको चारपाँच घण्टा पत्तै नपाई फेसबुकमा जान्छ।
रोशन पुडासैनी (२६), भद्रवास, काठमाडौँ
पढ्दा–पढ्दा बोर लाग्यो भने फेसबुक चलाउँछु। आफूसँग सम्बन्धित केही कुरा आयो भने खोल्छु। नत्र खासै मतलब गर्दिनँ। कहिलेकाहीँ आधा घण्टा चलाउँछु। खासै नचलाउने भएकाले फेसबुक बन्दै भयो भने पनि मलाई केही फरक पर्दैन।
सोयसा पराजुली (२३), थली, काठमाडौँ
फुर्सदमा म चौबीसै घण्टा फेसबुकमा झुण्डिहेको हुन्छु। फेसबुकबिनाको जिन्दगी चिनी नहालेको चियाजस्तै हुन्छ होला। म त कल्पनै गर्न सक्दिनँ। एक दिन चलाएन भने छटपटी हुन्छ। फेसबुक मेरो बेस्ट फ्रेन्ड हो।
कबिर खड्का (२०), गागलफेदी, काठमाडौँ
म चौबीसै घण्टा अनलाइन हुन्छु। सोसल मिडियाका हरेक कुरा मलाई मन पर्छन्। नयाँ–नयाँ साथी बनाउन मन पर्छ। आजभोलि त फेसबुक नचलाउने मानिस समाजभित्रै पर्दैनजस्तो लाग्छ।
सुसन श्रेष्ठ (२३), साँखु, काठमाडौँ
फेसबुक मेरो सच्चा साथी हो। फेसबुक भएन भने मेरो साथी पनि हुँदैन। सूचना र जानकारी पाउने, नयाँ साथी बनाउने र आफ्ना दुःखसुख पोख्ने उपयुक्त प्लेटफर्म फेसबुक हो। यसमा समय कटेको पत्तै हुँदैन।
रिया पाण्डे (१८), स्वयम्भू, काठमाडाँै
सुरुमा फेसबुक एकदमै चलाउँथेँ। अहिले खासै मतलब लाग्दैन। अहिले इन्स्टाग्राम बढी चलाउँछु। फेसबुकमा नचिनेको मान्छेले म्यासेज गरेर हैरान भएकाले चलाउनै छाडँे। फेसबुकबिना बाँच्न सकिन्छ, तर वाइफाईबिना सकिँदैन।
सृष्टि तामाङ (१८), टोखा, काठमाडौँ
फेसबुकभन्दा मलाई इन्स्टाग्रामको लत लागेको छ। फेसबुक खासै चलाउँदिनँ। फेसबुकबिना मज्जाले बस्न सक्छु। जो पायो त्यही साथी बन्न खोज्छन्। त्यसैले मलाई फेसबुकबाट टाढै बस्न मन लाग्छ।
मनीष मानन्धर (२२), सीतापाइला, काठमाडौँ
एकताका फेसबुक धेरै चलाएको भएर घरबाट गाली नै खाइयो। बिस्तारै कम चलाउन थालेँ। अहिले विभिन्न अनलाइन गेममा व्यस्त भइन्छ। गेम खेलेर पनि दिनको तीनचार घण्टा फेसबुक चलाउँछु। म त फेसबुकबिना बाँच्न सक्दिनँ। फेसबुकले जमानादेखिका साथीसँग भेट गराएको छ। टाढिएका आफन्तलाई नजिक बनाएको छ।
अनिस मर्हजन (२०), गुर्जुधारा, काठमाडौँ
उहिले फोटो हालेपछि १०–१० मिनेटमा कति लाइक आयो भनेर हेर्थें। अहिले त फेसबुक चलाउन निकै कम गरिसकेँ। अरूले गरेको पोस्ट देखेरै दिक्क लाग्छ। तैपनि, कलेजको सबै जानकारी फेसबुकमा आउने भएकाले नचलाई पनि भएन।
निरज विश्वकर्मा (२२), कपन, काठमाडौँ
पाँच वर्ष भयो, फेसबुक चलाउन थालेको। फेसबुकमा फोटो हालेपछि कसले लभ रियाक्ट गर्यो, कसले लाइक गर्यो, कसले कमेन्ट गर्यो, हेरिरहन मन लाग्छ। २४ घण्टामा कहिलेकाहीँ १२ घण्टा नै फेसबुक चलाइन्छ। फोनमा चार्ज नसकिने बेलासम्म मोबाइल छाडिँदैन। म त फेसबुकबिना बस्न सक्छुजस्तो लाग्दैन।
कसुनराज पुलामी मगर (२६), गल्कोपाखा, काठमाडौँ
मैले फेसबुक चलाउन थालेको सात वर्ष बितिसक्यो। सुरुसुरुमा दिनभरि फेसबुक हेरेर बस्थेँ। साथीहरूको फोटो हेर्न साह्रै रमाइलो लाग्थ्यो। जसको फ्रेन्ड रिक्वेस्ट आए पनि एसेप्ट गर्थेँ। आजभोलि चिनेकालाई मात्र साथी बनाउँछु। फेसबुकको बानी लागिसक्यो। नचलाई बस्नै सक्दिनँ।
रोशन कार्की (२०), स्वयम्भू, काठमाडौँ
मैले फेसबुक चलाउन थालेको चार वर्ष भयो। फेसबुकमा मज्जाले टाइमपास हुन्छ। साथीहरूसँग फेसबुकमा राति अबेरसम्म च्याट गरेर बसिन्छ। फेसबुक चलाउँदाचलाउँदै रात बितेको थाहा हुँदैन।
अमृत मगर (२१), म्हेपी, काठमाडौँ
फेसबुकमा मलाई लाइक र कमेन्टको आश लाग्छ। आफूले सोचेजस्तो लाइक आएन भने दुःख लाग्छ। फेसबुक नचलाई बस्नै सक्दिनँ।
सीताराम पौडेल (३८), क्षेत्रपाटी, काठमाडौँ
दिनको आठनौ घण्टा फेसबुकमा बिताउँछु। आफूले हालेको फोटोमा लाइक र कमेन्ट आएन भने ‘नराम्रो फोटो हालेछु कि क्या हो’ भनेर १० पटक खोलेर हेर्छु। कहिलेकाहीँ त साथीहरूलाई ‘मेरो फोटो लाइक गर, कमेन्ट गर’ भन्दै म्यासेज पठाउँछु। फेसबुक भएन भने त जिन्दगी अधुरो हुन्छ।
सरोज भण्डारी (२४), नुवाकोट, काठमाडौँ
मलाई फेसबुकको बानी परिसक्यो। त्यहाँ नयाँ–नयाँ साथी बनाउन पाइन्छ। फेसबुकबिनाको जीवन अधुरो लाग्छ। म अरू पनि सामाजिक सञ्जाल चलाउँछु। तर, फेसबुक भनेको फेसबुकै हो।
सन्दिप कोइराला (१८), सिनामंगल, काठमाडौँ
फेसबुकले मलाई टाढा भएका साथीहरूसँग नजिक बनाएको छ। दिनको धेरैजसो समय फेसबुक चलाएरै बित्छ। फेसबुकमा फोटोहरू हालिरहन मन लाग्छ। हालेको फोटोमा लाइक र कमेन्ट आएन भने फोटो नै डिलिट गरिदिन्छु।
सिकिना मगर (१९), बानेश्वर, काठमाडौँ
फेसबुक चलाउन नपाएको दिन नुनबिनाको तरकारीझैँ खल्लो लाग्छ। कहिलेकाहीँ नचाहिने फ्रेन्ड रिक्वेस्ट आएर हैरान हुन्छ। तैपनि, चलाऊ– चलाऊँ लाग्छ। अहिलेको जमानामा फेसबुक नचलाई कोही पनि बस्न सक्दैन।
बेनिशा कोइराला (१८), चितवन
फेसबुक चलाउन नपाउँदा एक्लो महसुस हुन्छ। स्कुलमा हुँदा खासै चलाउन पाइँदैनथ्यो। कलेज पढ्न थालेपछि दिनको छसात घण्टा चलाउन थालेको छु। फेसबुकमा धेरै लाइक र कमेन्ट आउँदा आफू सेलिब्रिटी भएजस्तो लाग्छ।
सविना राई (२०), साँखु, काठमाडौँ
पढाइले गर्दा धेरै समय फेसबुक चलाउन पाउँदिनँ। प्रायः रमाइला ट्रोलहरू पढ्न फेसबुक चलाउँछु। मलाई लाइक र कमेन्टको खासै वास्ता लाग्दैन। फेसबुकमा बनेका साथीहरू कसैको पनि विश्वास लाग्दैन।
सुजन ढुंगाना (१८), डाँछी, काठमाडौँँ
म फेसबुकभन्दा बढी म्यासेन्जर चलाउँछु। दिनको पाँचछ घण्टा त्यसैमा बित्छ। अरूको फोटोमा लाइक र कमेन्ट गर्दैमा दिन जान्छ। अब त फेसबुकबिना बस्न सकिएलाजस्तो लाग्दैन।
कविराज घिमिरे (२२), माकलबारी, काठमाडौँ
फेसबुक चलाउन मन लाग्छ, तर नचलाई पनि बस्न सकिन्छ। मैले फेसबुक चलाउन थालेको सात वर्ष भयो। धेरै कुरा थाहा पाइने भएकाले फेसबुकले मलाई फाइदै गरेको छ।
जगदीश ढकाल (२०), सिन्धुली
फेसबुक नचलाएर पनि बस्न सकिन्छ। तर, नचलाएको दिन ‘फेसबुकमा के भयो होला?’ भनेर खुलदुली भइरहन्छ। फेसबुक सूचना आदानप्रदान गर्न राम्रो माध्यम हो।
दीपा शिवाकोटी (१९), सातदोबाटो, ललितपुर
सुरुमा फेसबुक नचलाउँदा यसमा के होलाजस्तो लाग्थ्यो। चलाउन थालेपछि यसको नशा बेग्लै हुने रहेछ। अहिले फेसबुक नचलाई बस्नै नसक्ने भएकी छु। फेसबुकले टाढा भएका साथीहरूलाई भेटाइदिएको छ। कहिलेकाहीँ चाहिँ धेरै चलाएर समय बर्बाद भयो कि जस्तो पनि लाग्छ।
प्रस्तुतिः आशक्ति-मेनुका
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७