फेसबुकबिना बाँच्नै नसकिने हो ?

writer

सृजना खड्का

सोमबार, ०६ असोज २०७६


लेखक शीतल दाहाल शुद्ध शाकाहारी हुन्। तर, उनलाई फेसबुक मांसाहारी खानेकुराजस्तो लाग्छ। फेसबुकलाई उनी समयको बर्बादी ठान्छिन्। त्यसैले आजभोलि उनी फेसबुक चलाउँदिनन्। उनको ट्वीटर अकाउन्ट पनि छैन। ‘म शाकाहारीलाई फेसबुक मांसाहारजस्तो भयो,’ उनले भनिन्, ‘जसमा मेरो कुनै रुचि छैन। फेसबुक चलाउँदा थाहै नपाई मांसाहारी भएको जस्तो लागेपछि चलाउन छाडेँ।’  

उनले फेसबुक खोलेको ११ वर्ष भयो। यस बीचमा केही समय उनी फेसबुक डिएक्टिभेट गरेर पनि बसिन्। ‘फेसबुकबाट मैले नचाहिने कुराको बोझ लिएँजस्तो लाग्यो,’ शीतलले भनिन्, ‘जुन कुरा मलाई हेर्न जरुरी छैन, त्यही कुरा हेर्नुपरेको भान भयो।’ फेसबुक आफ्नो फाइदाको लागि प्रयोग गर्नुपर्छ भन्ने लाग्छ उनलाई। ‘फेसबुकलाई हामीले प्रयोग गर्ने हो,’ उनले भनिन्, ‘फेसबुकले हामीलाई प्रयोग गर्ने होइन।’ 

फेसबुक नचलाउँदा पनि सूचनाबाट अलग्गिनुनपरेको उनको अनुभव छ। ‘मलाई चाहिने कुरा डाइरेक्ट वेबसाइटमा गएर हेर्छु,’ उनले भनिन्, ‘त्यसैले केही छुटेको अनुभव हुँदैन। फेसबुक नचलाउँदा समयको बचत भएको छ। किताब पढ्न र आफूलाई समय दिन थालेको छु।’

विगतमा धेरै समय फेसबुकमा बिताउथिन्, शीतल। ‘फेसबुक धेरै चलाउन थालियो, अब कन्ट्रोल गर्नुपर्छ’ भन्ने उनलाई हरेक दिन लाग्थ्यो। एक साँझ ‘पाँच मिनेटका लागि चलाउँछु’ भन्दै उनले फेसबुक खोलिन्। ‘बन्द गर्छु भन्दाभन्दै ५५ मिनेट बितेछ,’ उनले भनिन्, ‘होशमै पाँच मिनेट चलाउँछु भन्दा ५५ मिनेट बित्यो भने बेहोशीमा त्यस्ता ५५ मिनेट कति गुमाइयो होला?’ त्यही दिनदेखि फेसबुकबाट आफू टाढिएको उनले बताइन्। ‘सुत्नुपर्ने समयमा पनि फेसबुकले सुत्न दिएन,’ उनले भनिन्, ‘बदलामा हाता लाग्यो शून्य। जुकरबर्गले उल्लू बनाए। अनि, म पैसा र समय तिरीतिरी उल्लु बनिरहेँ।’ यसको मतलब आफू फेसबुकविरोधी नभएको उनले बताइन्। ‘जिन्दगीभर फेसबुक चलाउँदिनँ पनि भन्दिनँ,’  उनले भनिन्, ‘तर, बेपर्बाह आफूलाई फेसबुकको दुव्र्यसनमा फसाउँदिनँ। किनभने, फेसबुकलाई मैले चलाउने हो, फेसबुकले मलाई चलाउने होइन।’ हेर्दा ठूलो नदेखिए पनि यस्ता कुराले मानिसलाई प्रभाव पार्ने उनले बताइन्। ‘हेर्दा यो समस्या सानो देखिए पनि हाम्रो जीवनसँग जोडिएको हुनाले यसलाई हेलचेक्रयाइँ गर्नु हुँदैन,’ उनले भनिन्, ‘फेसबुकको लतमा फस्नुभन्दा आफ्नो मनलाई सम्झाएर कन्ट्रोल गरेको बेस ! कसैले बच्चा पाएको, बिहे गरेको, घुमघाममा निस्कएको थाहा पाउन मैले आफ्नो अमूल्य समय छुट्याउनु जरुरी छैन।’

फेसबुकदेखि दिक्क 

चितवनका योगेश घिमिरे (२४) पेशाले शिक्षक हुन्। उनले छ वर्षसम्म फेसबुक चलाए। ‘१० कक्षा पढ्दादेखि नै फेसबुक चलाउँथेँ,’ उनले भने, ‘आजकाल दिक्क लागेर आयो। त्यसैले फेसबुक बन्द गरिदिएँ।’ उनले फेसबुक चलाउनन छाडेको एक वर्ष भयो। फेसबुकमा चाहिनेभन्दा नचाहिने कुरा बढी आउन थालेपछि चलाउन बन्द गरेको उनले बताए। ‘फेसबुकमा आएका पोस्टहरू हेर्दा मानवीय संवेदना नै हराएको जस्तो लाग्यो,’ उनले भने, ‘कोही मरेको मान्छेसँग सेल्फी खिचेर हाल्छन्, कोही दुर्घटनामा रगतले लतपतिएको सडक हाल्छन्। त्यसैले चलाउन छाडेँ।’ अनावश्यक भर्चुअल दुनियाँमा हराउनुभन्दा रियल दुनियाँमा बाँच्नु आफूलाई ठीक लागेको उनले बताए। ‘बेकारमा बिना अर्थका कुरा हेरेर के फाइदा?’ उनले भने, ‘फेसबुक चलाउन छोडेपछि साथीभाइ र आफन्तहरूसँग जोडिन म्यासेन्जर भने चलाउँछु।’

पोखराकी सुस्मिता न्यौपाने बीबीएस पढ्दै छिन्। उनले ११ कक्षा पढ्दादेखि फेसबुक चलाउन थालेकी हुन्। ‘पढाइमा भन्दा बढी ध्यान फेसबुकमा जान थालेपछि चलाउन छाडेकी हुँ,’ उनले भनिन्, ‘दुई वर्ष भयो मैले फेसबुक चलाउन छाडेको। फेसबुक चलाउन छाडेदेखि पढाइ पनि राम्रो भएको छ र समयको पनि बचत भएको छ।’

फेसबुकजस्ता सामाजिक सञ्जाललाई आफ्नो वशमा राख्न नसक्दा यस्ता समस्या आउने न्यू मिडियाविद् प्रवेश सुवेदीले बताए। ‘फेसबुकमा मात्र नभएर अरू भेटघाटमा पनि छोटो समयलाई भनेर गइन्छ, तर आफूलाई रमाइलो लाग्ने भेटघाट भयो भने त्यहीँ भुलिन्छ,’ उनले भने, ‘यी कुराहरू मानवीय स्वभावभन्दा बाहिरका कुरा होइनन्। यसको मुख्य समस्या समय व्यवस्थापनमा छ। सामाजिक सञ्जालमा मात्र होइन, हामी दैनिक जीवनमा पनि समय व्यवस्थापनमा कमजोर छौँ।’ त्यही दैनिक जीवनको बानी सामाजिक सञ्जालमा सरेकाले यस्तो समस्या आएको उनले बताए। ‘एउटा सुपरमार्केटमा चुरोट, रक्सीदेखि दाल, चामल, पूजाका सामग्री सबै राखिएका हुन्छन्,’ उनले भने, ‘तर, के छान्ने, त्यो आफूमा भर पर्ने कुरा हो। यस्तो अवस्थामा सुपरमार्केटलाई दोष दिने कि आफ्नो छनोटलाई?’

सोसल मिडियाबारे सेलिब्रिटी

पूर्व मिस नेपाल शृंखला खतिवडाले केही समयअगाडि एउटा अनलाइनसँग सोसल मिडियाबारे आफ्नो अनुभव साट्दै भनिन्, ‘सामाजिक सञ्जालले मलाई धुरुधुरु रुवायो।’ 

शृंखला राति अबेरसम्म सामाजिक सञ्जाल चलाउँछिन्। इन्स्टाग्राम र युट्युबमा उनको धेरै समय बित्छ। उनी फेसबुक पनि चलाउँछिन्। ‘कामका लागि जिमेल, ह्वाट्सएप र भाइबरमा समय बित्छ,’ उनले सो अन्तर्वार्तामा भनेकी छिन्, ‘अहिले सामाजिक सञ्जाल एउटा समुदायजस्तो भइसक्यो। ‘म को हुँ?’ भन्ने कुरा सामाजिक सञ्जालको प्रोफाइलले देखाउँछ।’

उनका सामाजिक सञ्जालमा थुप्रै फलोअर्स छन्। तीमध्ये केही नेगेटिभ फलोअर्स पनि हुने गरेको उनले बताएकी छिन्। आफूजस्तो ‘सेन्सेटिभ’ मानिसका लागि सामाजिक सञ्जाल डरलाग्दो ठाउँ बनेको उनको अनुभव छ। ‘केही समयअघि मिल्ने साथीको बिहे थियो,’ उनले भनेकी छिन्, ‘विवाहको माहोल रमाइलो थियो। तर, त्यसबीच फ्रान्स भ्रमणको फोटोमा आएका कमेन्टले मेरो जीउ काम्यो। बिहेको माहोलमा म रमाउनै सकिनँ। कोठाभित्र आएर धुरुधुरु रोएँ।’ 

सामाजिक सञ्जाललाई मानिसले फुर्सदिलो र कुरा काट्ने थलो बनाएको उनको गुनासो थियो। ‘कहिलेकाहीँ अबदेखि सामाजिक सञ्जाल चलाउँदिनँ भन्ने लाग्छ,’ उनले भनेकी छिन्, ‘तर, म कति कम्पनीको ब्रान्ड एम्बेसडर छु। उहाँहरूको पब्लिसिटीमा सहयोग गर्न भने पनि चलाउनैपर्छ।’

अभिनेता सौगात मल्ल फेसबुक कहिल्यै चलाउँदैनन्। न उनको ट्वीटर अकाउन्ट नै छ। ‘सबै जना बिहानदेखि बेलुकासम्म त्यसमै घोत्लिएको देखेर मलाई चलाउन मन लागेन,’ उनले भने, ‘फेसबुक चलाउन थालेपछि खान र सुत्नै बिर्सिनेहरू देखेको छु। आफू पनि त्यस्तै लतको शिकार भइएला भनेर सोसल मिडियाबाट भागेको हुँ।’ फेसबुकको साटो उनी भेटेरै वा फोनमा कुराकानी गर्न रुचाउँछन्। ‘भेटेर कुरा गरेको जस्तो आत्मीयता सोसल साइटमा भेटिँदैन,’ उनले भने, ‘विदेश गएको बेला घरमा कुरा गर्न अप्ठ्यारो होला भनेर एउटा भाइबर चाहिँ राखेको छु।’

‘फेसबुक चलाउनुपर्‍यो’ भनेर उनका फ्यान र साथीहरू बेलाबेला गुनासो गर्छन्। ‘कुनै–कुनै कुरामा सबैले भनेको मानेर साध्य हुँदैन,’ उनले भने, ‘इलेक्ट्रोनिक डिभाइसहरू धेरै बेर अगाडि राखेर बस्न सक्दिनँ। फेसबुक खोलेपछि कसले के गर्‍यो भनेर अरूतिर दिमाग लगाएर बस्छन् मानिसहरू, जबकि आफैँले चाहिँ के गर्ने भन्ने कुरा अत्तोपत्तो हुँदैन। त्यसैले त्यतातिर खर्चिने समय म आफू र आफ्नो काममा खर्चिन्छु।’ आफूसँग फेसबुक चलाउने समय नभएको सौगातले बताए। ‘चलाउन थालेपछि साथी बनाउनेदेखि च्याट गरेर लाइकदेखि कमेन्टसम्म गरेर बस्नुपर्छ,’ उनले भने, ‘त्यो क्षमता र समय मसँग छैन। राम्रोसँग चलाउन सकिएन भने उल्टै घाटा हुन्छ। त्यसैले नचलायो आनन्द !’ 

अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्का पनि फेसबुक चलाउँदैनन्। ‘पहिला एक पटक खोलेको थिएँ,’ आर्यनले भने, ‘भेटेजति सबैले साथी बनाउनुपर्‍यो भनेर हैरान लाएपछि चलाउनै छाडेँ। अहिले कसैसँग कुरा गर्नुपर्‍र्यो भने म्यासेन्जर चलाउँछु।’ प्रदीप भने फेसबुकमा आफू कहिल्यै रमाउन नसकेको बताउँछन्। ‘खासै नचलाउने भएकाले होला फेसबुकमा रमाउनै सक्दिनँ,’ उनले भने, ‘काम गर्नुपर्ने समय फेसबुकले खाइदेला भन्ने डरले चलाउन मन लाग्दैन।’ 

‘सिलेक्टिभ हुनुपर्छ’

पत्रकारिताका प्राध्यापक पी खरेल पनि फेसबुक चलाउँदैनन्। तर, उनी कुनै पनि सामाजिक घटना र परिवेशबाट टाढा छैनन्। ‘समाजमा के भइरहेको छ, म अपडेट भइरहेको हुन्छु,’ उनले भने, ‘त्यसका लागि फेसबुक चलाउनुपर्छ भन्ने छैन। साथीभाइहरूबाटै कहाँ के भइरहेको छ, बुझ्छु।’

मन लागे पनि, नलागे पनि मानिसहरूलाई प्रतिक्रिया दिनुपर्ने भएकाले प्राध्यापक खरेललाई फेसबुक चलाउन मन लाग्दैन। ‘‘तपाईंले मेरो फ्रेन्ड रिक्वेस्ट नै एसेप्ट गर्नुभएन’ भनेर कसैलाई चिढाउनुपर्दैन,’ उनले भने, ‘छोराले ग्य्राजुयसन गरेको फोटो हालेर बधाई लिनु पनि छैन। नातिको बर्थडेमा नयाँ कमिज ढल्काएको फोटो हाल्ने सोख पनि मलाई छैन। भेटेकै बेलामा आफू पनि लिन्छु, अरूलाई पनि बधाई दिन्छु।’

चलाउन जाने सोसल मिडियाले मानिसलाई फाइदै गर्छ भन्ने उनलाई लाग्छ। ‘यसका लागि प्रयोगकर्ता सिलेक्टिभ हुनुपर्छ,’ उनले भने, ‘सोसल मिडियाको अस्तित्व र प्रभावलाई इन्कार गर्न सकिँदैन। प्रविधिविरुद्ध जानुभन्दा त्यसको सही सदुपयोग गर्नुपर्छ।’ नेपालमा मात्रै नभएर विश्वमै सोसल मिडिया चिन्ताको विषय बनेको उनले बताए। ‘कतिपय देशहरूले सोसल मिडियाबाट थुप्रै पाइदा लिएका छन्,’ उनले भने, ‘धेरै देशले राम्रा अभ्यास पनि गरेका छन्। यो एउटा अवसर पनि हो। सरकारी निकायका व्यक्तिहरू विदेश भ्रमणमा गएको बेला विदेशीले गरेको अभ्यासलाई अवलोकन गरेर हाम्रोमा प्रयोग गर्न सक्छन्।’

सोसल मिडिया मानिसको जीवनको अभिन्न अंग भइसकेको उनले बताए। ‘कसैलाई बर्थडेमा यसो गरेँ भनेर देखाउन मन लाग्न सक्छ,’ उनले भने, ‘ अरूलाई मन छ भने त्यसमा हामीले आपत्ति जनाउनु हुँदैन। म कालो प्यान्ट लगाउँछु। तर, बजारमा हरिया, नीला, राता प्यान्ट पनि बेच्न राखिएका हुन्छन्। त्यसको मतलब मैले नलगाए पनि अरूलाई त्यसमा रुचि हुन सक्छ।’ सामाजिक सञ्जालको सुविधालाई दिमाग लगाएर प्रयोग गर्नुपर्ने उनले बताए। ‘चक्कु र खुकुरी मान्छे मार्न बनेको हो र?’ उनले भने, ‘त्यसको सदुपयोग गर्ने कि दुरुपयोग, व्यक्तिमा भर पर्ने कुरा हो।’ सामाजिक सञ्जालमा विकृति ल्याउनेहरूलाई कारबाही गर्नुपर्ने उनी बताउँछन्। ‘सामाजिक सञ्जालमा विकृति ल्याउने पनि हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई बाहिर ल्याएर कारबाही गर्नुपर्छ। नत्र यसले समाजिक संवेदनशीलतामा हानि पुर्‍याउँछ।’

स्वभाव, इच्छाअनुसार सामाजिक सञ्जालको रोजाइ फरक हुने बताउँछन्, न्यू मिडियाविद् सुवेदी। ‘कोही फेसबुक बढी चलाउँछन्, कसैले ट्वीटरमा बढी समय दिन्छन्, कसैलाई इन्स्टाग्राम धेरै मन पर्छ,’ उनले भने, ‘सामाजिक अन्तरक्रिया खोज्ने, तर आपत्तिजनक अवस्था नआओस् भन्नेहरूले बढी इन्स्टाग्राम चलाउँछन्। इन्स्टाग्राम कम प्रतिक्रियात्मक छ। फेसबुक र ट्वीटरमा जस्तो इन्स्टाग्रामका पोस्टमा विवाद र आलोचना हुँदैन।’

जसरी फेसनको एउटा ट्रेन्ड हुन्छ, त्यसरी नै सोसल मिडियाको पनि टे«न्ड हुने सुवेदीले बताए। ‘एलिट क्लासले यस्ता कुराहरू सुरु गर्छ,’ उनले भने, ‘पछि मध्यम वर्ग हुँदै निम्न वर्गसम्म पुग्दा यसले बृहत् रूप लिन्छ। व्यवस्थापन गर्न सक्नेले गर्छन्। नसक्नेका समस्याहरू छरपस्ट रूपले बाहिर आउँछन्।’

जो फेसबुकबिना बाँच्न सक्दैनन्

काठमाडौँ, कपनका निरज विश्वकर्मालाई फेसबुक चलाउने बानी बसेको पाँच वर्ष भयो। फेसबुकमा फोटो हालेपछि कसले लभ रियाक्ट गर्‍यो, कसले लाइक गर्‍यो, कसले कमेन्ट गर्‍यो, उनलाई हेरिरहन मन लाग्छ। ‘२४ घण्टामा कहिलेकाहीँ त १२ घण्टा नै फेसबुक चलाएर बस्छु,’ उनले भने, ‘फोनमा चार्ज नसकिएसम्म चलाको चलाई गर्छु। म त फेसबुकबिना बाँच्नै सक्दिनँ।’ 

काठमाडौँ, महाराजगञ्ज बस्ने सरीता खत्री फेसबुकको अम्मली भएको सात वर्ष भयो। ‘मलाई फेसबुकमा साथीहरूको फोटोमा लाइक, कमेन्ट गर्न रमाइलो लाग्छ,’ उनले भनिन्, ‘मेरो धेरैजसो समय फेसबुकमै बित्छ। फेसबुक चलाउँदाचलाउँदै कामै गर्न बिर्सिन्छु। दिनमा आठनौ घण्टा फेसबुकमा बित्छ। फेसबुक नचलाई बस्नै नसकिने भइसकियो।’  

काठमाडौँ, बूढानीलकण्ठका सन्जोग फुयाल (२०) पनि फेसबुकबिना बाँच्न नसक्ने बताउँछन्। ‘मैले फेसबुक चलाउन थालेको छ वर्ष भयो,’ उनले भने, ‘मेरा दुइटा फेसबुक अकाउन्ट छन्। दुवैमा बराबर समय बिताउँछु। फेसबुकबिनाको संसार त मलाई अन्धकार लाग्छ।’

दिनमा कति समय मात्र फेसबुक वा ट्वीटरलाई दिएको ठीक भन्ने कुनै मापदण्ड नभएको सुवेदीले बताए। ‘आफ्नो प्रोफेसन के हो?’ उनले भने, ‘के प्रयोजनका लागि चलाउनुहुन्छ? त्यसबाट कत्तिको उत्पादनमूलक वा उपयोगी चिज लिनुभएको छ? दैनिक जीवनमा त्यसले कत्तिको असर गरिरहेको छ? त्यी कुराले कति समय सामाजिक सञ्जालालाई दिने भन्ने निर्धारण हुन्छ।’ ‘प्लेटफर्म, कन्टेन्ट र एक्टिभिटी’को छनोटअनुसार सामाजिक सञ्जालले नतिजा दिने सुवेदीले बताए। ‘हरेकले सामाजिक सञ्जालाई दिने समय फरक हुन्छ,’ उनले भने, ‘आफ्नो रिसर्चका लागि एक जना विद्यार्थीले पाँचछ घण्टा फेसबुकमा समय बिताउँछ भने त्यसले उसलाई फाइदै गर्छ। सबै प्लेटफर्म सबैका लागि उपयुक्त नहुन सक्छ। उत्तम प्लेटफर्म छनोट गर्ने काम व्यक्तिको हो।’ 


‘सोसल मिडियाको विकल्प बेटर सोसल मिडिया हो’ 

प्रवेश सुवेदी, न्यू मिडियाविद्

‘मानिसहरू सामाजिक सञ्जालदेखि किन भाग्छन्?’ भन्ने विषयमा विदेशीहरूले विभिन्न अनुसन्धान गरेका छन्। सबैले फेसबुक वा सामाजिक सञ्जाल चलाउन छाड्नुको पछाडि एउटै कारण नहुन सक्छ। एक पटक सामाजिक सञ्जालमा आइसकेको मानिस पछि त्यसबाट भाग्छ भने त्यो गम्भीर विषय हो। यो विषयलाई विज्ञहरूले मनोविज्ञानसँग जोडेर हेर्ने गरेका छन्।

पहिला हामीसँग अफलाइन सामाजिक अन्तरक्रियाका माध्यम थिए। चौतारीमा बस्न मन लागेन भने मठ–मन्दिरमा जान सकिन्थ्यो। मठमन्दिरमा जान मन नलागे पँधेरामा गएर बस्न सकिन्थ्यो। अँगेनाको वरिपरि बसेर परिवारका सदस्य गन्थनमन्थन गर्थे। अहिले हामी ती कुराबाट टाढा छौँ। मानिसहरू डिजिटल प्लेटफर्ममा जोडिइसके। पुरानो खालको अन्तरक्रिया समाजमा बाँकी रहेको भए फेसबुकले फरक पार्दैनथ्यो। पुराना मिडियाहरूले छनोट गरेका विषयवस्तु मात्र पस्किन्थे। सूचना प्राप्त गर्ने मानिसले धेरै टाउको दुखाउनु पर्दैनथ्यो। तर, अहिले सूचना प्राप्त गर्ने मानिस आफैँ सचेत भएन र आफ्नो लागि उपयुक्त चिज के हो भन्ने कुरा छुट्याउन सकेन भने समस्या हुन्छ। 

मान्छेहरूको स्वभाव, इच्छा, सामाजिक संरचनाअनुसार सामाजिक सञ्जालको रोजाइ फरक हुन्छ। कोही धेरै फेसबुक चलाउँछन्। कसैले ट्वीटरमा बढी समय बिताउँछन्। कसैलाई इन्स्टाग्राम धेरै मन पर्छ। नेपालको हकमा एकथरी बौद्धिक भनिने वर्ग ट्वीटरमा बढी भेटिन्छ। भर्खरै डिजिटल दुनियाँमा जोडिनेहरूले भने फेसबुक रोज्ने गरेको पाइएको छ। सामाजिक अन्तरक्रिया खोज्ने, तर आपत्तिजनक अवस्था नआओस् भन्नेहरूले बढी इन्स्टाग्राम चलाउँछन्। इन्स्टाग्राम कम प्रतिक्रियात्मक छ। यसमा विवाद र आलोचना खासै हुँदैन।

सामाजिक सञ्जालको सही व्यवस्थापन गर्न नसक्दा समस्या आउँछन्। फेसबुक अनावश्यक लाग्यो भनेर झर्को मानेर चलाउनै बन्द गर्ने धेरै छन्। तर, फेसबुकमा त्यस्ता केही टुल्स छन्, जसबाट आफ्नो फेसबुकलाई व्यवस्थित र सुरक्षित गर्न सकिन्छ। नचाहिने मानिसलाई फलो नगर्ने, जथाभावी गर्नेलाई अनफ्रेन्ड गर्ने र सीमित साथी बनाएर चलायो भने यसले फाइदै गर्छ। 

समाज जुन दिशामा गइहेको छ, त्यसविपरीत जान हामी सक्दैनौं। फेसबुक छाड्नु भनेको गाउँ छाडेर जंगलमा गएर ध्यान गरेर आनन्द लिन्छु भनेजस्तै हो। त्यसले अस्थायी समाधान त गर्छ। तर, सबै मानिस गाउँ छाडेर आनन्द लिन जंगल जान थाले भने के हुन्छ? 

सामाजिक सञ्जालमा समस्या छन्। तर, यसलाई राम्ररी चलाउने जिम्मा हाम्रो पनि हो। लत बस्दैमा कुनै कुरालाई खराब भन्न मिल्दैन। लत त मानिसहरूमा उहिले पनि थियो। घरको काम छोडेर दिनभरि तास खेल्नेमा पनि लत थियो। यस्ता लतका गलत ट्रेन्ड समाजमा कुनै न कुनै रूपमा रहिरहन्छन्। त्यो अहिले सामाजिक सञ्जालसम्म आइपुगेको छ। त्यसलाई हामी आफैँले नियन्त्रण गर्नुपर्छ। यसलाई कसरी नियन्त्रण गर्ने भनेर सामाजिक सञ्जालका प्लेटफर्महरूले आफैँले पनि अनुसन्धान गरिरहेका हुन्छन्। आफ्नो कारणले केही सामाजिक समस्या आउने हो कि भन्ने उनीहरूलाई पनि चिन्ता हुन्छ। त्यसैले बेलाबेला उनीहरूले आफ्नो रणनीति परिवर्तन गरिरहेका हुन्छन्। उनीहरू आफ्नो तर्फबाट जति सचेत छन्, प्रयोगकर्ता पनि उत्तिकै सचेत हुनुपर्‍र्यो। कुनै पनि सामाजिक सञ्जाल मानिसलाई एडिक्ट बनाउन भनेर बनेको हुँदैन। कोही एडिक्ट हुन्छ भने उसको पनि कमजोरी हो। सामाजिक सञ्जाललाई मात्र दोष दिएर हुँदैन। 

हाम्रोमा फेसबुक टाइमपास र मनोरञ्जनको माध्यम मात्र हो। यसको महत्त्व बुझ्नेले यसैबाट व्यपार गर्छन्। फेसबुकबाट व्यवसाय गर्ने, आफ्नो सम्बन्ध विस्तार गर्नेदेखि विभिन्न फाइदाका लागि प्रयोग गर्न सकिन्छ। आफ्नो क्षेत्रसँग सम्बन्धित मानिससँग नेटवर्क बनाएर धेरै कुराको जानकारी लिन सकिन्छ। फेसबुकबाट आफ्नो सामान बेच्न सक्ने जमाना आइसक्यो। फेसबुकबाटै कसैले घरमा बनाएको मःमः र चिया बेच्न सकिने भइसक्यो। फेसबुक आफैँमा गज्जबको बजार हो। नयाँ काम गर्न खोज्नेका लागि राम्रो प्लेटफर्म पनि हो। तर, हामीले फेसबुकलाई अनुत्पादक काममा लगाइरहेका छौं। त्यसले हामीलाई फाइदाभन्दा बढी घाटा गरेको छ। सचेत प्रयोगकर्ताले सोसल मिडिया उत्पादनमूलक बनाउँछ। उत्पादनमूलक काममा सोसल मिडिया प्रयोग भएको छ भने यति समय बित्यो भनेर डराउनुपर्ने देखिँदैन। फेसबुक अथवा सोसल मिडियाको आजको विकल्प सोसल मिडिया नै हो। तर, आफूले प्रयोग गरिरहेको भन्दा बेटर सोसल मिडिया हो। 

(कुराकानीमा आधारित)

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि