कफीसँग फ्युजन्ड फुड

writer

अस्मिता खड्का

सोमबार, ०६ असोज २०७६


‘किप काम एन्ड ड्रिंक कफी।’ 

कफीप्रेमीको मन छुने पंक्ति हो, यो। काठमाडौँ, अनामनगर, हनुमानथानस्थित ‘बेबिन्स कफी एन्ड ब्रन्च’ मा यही पंक्ति लेखिएको छ।

कफीपारखीको जमघट स्थल हो, बेबिन्स। तीन वर्षअघि खुलेको क्याफेमा विभिन्न फ्लेभरका अग्र्यानिक कफीको स्वाद लिन पाइन्छ। क्याफेका सञ्चालक हुन्, रञ्जित यादव। ‘ग्राहकको मागअनुसार कफी तयार पार्छौं,’ उनी भन्छन्। यादव आफँै पनि कफीपारखी भएको बताउँछन्। ‘मलाई कफी असाध्यै मन पर्छ,’ उनी भन्छन्, ‘त्यसैले ग्राहकको स्वाद बुझ्न सक्छु।’ 

आइस अमेरिकानो, मोचा, लातेलगायत कफीसँगै विभिन्न फ्लेभरमा लस्सी, स्मुदी, चकलेट मिल्कसेक, क्यारामेल मिल्कसेक आदि पनि क्याफेमा खान पाइन्छ। ‘आरु, स्याउ, स्ट्रबेरीलगायत विभिन्न फ्लेभरको चिया पनि हामीकहाँ पाइन्छ,’ सञ्चालक यादव भन्छन्, ‘यो कफी केन्द्र मात्र होइन, यहाँ विभिन्न खानेकुराको फ्युजनसमेत गरिन्छ। क्याफे र रेस्टुरेन्टमा पाइने फास्टफुडको फ्युजन गरेर ठोस र पेय पदार्थ पस्किने गरेका छौँ। त्यसैले बेबिन्स ब्रन्च नाम राखेका हौँ।’ 

बेबिन्स कफीपारखीका लागि मात्र नभई सबै खाले ग्राहकका लागि उपयुक्त केन्द्र भएको उनी बताउँछन्। यहाँको ग्रिल्ड चिकेन नुडल्स, बिर्यानी आदि ग्राहकले रुचाउने उनी बताउँछन्। 

क्याफेमा पाक्ने खानेकुरा स्वास्थ्यवद्र्धक र ताजा हुने सञ्चालक बताउँछन्।  ‘हामीले धेरै दिनसम्म फुड स्टोर गरेर राख्दैनौँ,’ उनी भन्छन्, ‘हरेक दिन फ्रेस कफी र खानेकुरा तयार पार्छौं।’ अहिलेसम्म ग्राहकबाट नराम्रो कमेन्ट सुन्नु नपरेको यादवको अनुभव छ। क्याफेको इन्टेरियर डिजाइन सञ्चालक यादव आफैँले गरेका हुन्। यहाँ आउने ग्राहक कफीको स्वादसँगै सजावटले पनि आकर्षित हुने गर्छन्।

यादव चार्टर्ड अकाउन्टेन्ट हुन्। क्याफेमा १२ जना कर्मचारी राखेका छन्। ‘मैले बिहान–बेलुका मात्र समय दिन भ्याउँछु,’ उनी भन्छन्। असोजमा काठमाडौँ, शंखमूलमा बेबिन्सको शाखा विस्तार गर्ने उनी बताउँछन्। ‘शंखमूलमा लाउन्ज र बारसहित लक्जरियस क्याफे एन्ड रेस्टुरेन्ट खोल्नेछौँ,’ उनी सुनाउँछन्, ‘ग्राहकले एक पटकमा चार वटा जति परिकार मगाए भने त्यसबाट हुने मुनाफाबाट आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्नेछौँ।’

तपाईको कमेन्ट

मुख्य समाचार