‘न बाटो राम्रो न कमाइ राम्रो’

writer

आशक्ति फुयाल

सोमबार, ०६ असोज २०७६


राजु थापा, चालक, बा २ च ५२५९, छाउनी, काठमाडौँ ।

मेरो घर रामेछाप हो। अहिले काठमाडौँ, छाउनीमा बस्छु। ट्याक्सी चलाउन थालेको २६ वर्ष भइसक्यो। पहिला भारतमा ड्राइभिङ गर्थें। पछि पारिवारिक समस्याले गर्दा काठमाडौँ आएँ। हातमा ड्राइभिङको सीपबाहेक केही थिएन। त्यही काम गर्न थालेँ। ट्याक्सी चलाउन थालेँ। पहिला–पहिला कमाइ राम्रो थियो। अहिलेको तुलनामा बाटो पनि ठीक थियो। अहिले न बाटो राम्रो छ, न कमाइ। जहाँ हेर्‍यो, त्यहीँ खाल्डाखुल्डी छन्। सडक भताभुंग अवस्थामा छ। राम्रो बाटो भएको ठाउँमा जामले गर्दा जान सकिन्न।

ट्याक्सी ड्राइभरहरूको अहिलेको मुख्य समस्या भनेको पार्किङ हो। सरकारले ट्रयाक्सीका लागि उचित पार्किङ व्यवस्था गरिदिए राम्रो हुन्थ्यो। छाउनीदेखि टिप लिएर बौद्ध आइयो भने रित्तै फर्किएर जाँदा फाइदा हुँदैन। प्यासेन्जर कुरेर बस्न पार्किङ छैन। बाटोमा बस्यो ट्राफिकले लखेटिहाल्छन्। प्यासेन्जरको खोजीमा हिँड्नुपर्छ। पार्किङले गर्दा साह्रै दुःख खेपेका छौँ। लोकल गाडीजति सुविधा पनि ट्याक्सीले पाएका छैनन्। हाम्रा लागि निश्चित ठाउँ तोकिदिए सहज हुन्थ्यो। 

टुटल, पठाओले गर्दा हाम्रो पेशा धरापमा परेको छ। प्यासेन्जर पाउन धौधौ छ। ट्याक्सीका रेगुलर प्यासेन्जरसमेत टुटल, पठाओ प्रयोग गर्न थालिसकेका छन्। हामीजस्ता ड्राइभर मर्कामा परेका छौँ। मान्छे उल्टै हामीमाथि ‘ट्याक्सीले लुट्यो’ भन्ने आरोप लगाउँछन्। यदि लुटेको भए काठमाडौँमा हाम्रो महल हुनुपर्ने हो। दिनरात बाटोमा प्यासेन्जरको खोजीमा हिँड्नु पर्दैनथ्यो।

तपाईको कमेन्ट

मुख्य समाचार