किन मान्छे आफ्नै ज्यानको दुश्मन बन्छ?

writer

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक

सोमबार, ०६ असोज २०७६


पछिल्लो दशकमा विश्वका सबै देशमा बालबालिका र किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढ्दो छ। पहिला ४५ वर्ष माथिकालाई आत्महत्याको उच्च जोखिमको उमेर मानिन्थ्यो। अहिले यो ३० वर्षभन्दा मुनि झरेको छ।


आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं सामाजिक दुर्घटना हो। चिकित्सा विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज र आत्महत्याको सोच तथा प्रयासलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संवेदनशील चिकित्सकीय विपद्का रूपमा हेरिन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बर्सेनि करिब १० लाख मानिस आत्महत्या गर्छन्। हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ। यो संख्या समस्त प्राकृतिक तथा मानवनिर्मित प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरभन्दा पनि बढी हो। प्रायः महिला पुरुषभन्दा बढी आत्महत्या गर्ने प्रयास गर्छन्। तर, खतरनाक तरिका अपनाउने हुनाले पुरुष नै बढी मर्ने गरेको पाइन्छ।

जोखिममा बालबालिका र किशोरकिशोरी 

पछिल्लो दशकमा विश्वका सबै देशमा बालबालिका तथा किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढ्दो छ। पहिला ४५ वर्ष माथिकालाई आत्महत्याको उच्च जोखिमको उमेर मानिन्थ्यो। अहिले यो ३० वर्षभन्दा मुनि झरेको छ। ८-१० वर्षका बच्चाले समेत आत्महत्या प्रयास गरेका केस अस्पतालसम्म आइपुग्न थालेका छन्। कतिपय अवस्थामा मृत्युसमेत भएको घटना पनि छ। ‘चाइल्डहुड डिप्रेसन’ बढेसँगै कम उमेरकाले आत्महत्या गर्ने दर पनि बढेको देखिन्छ। कम उमेरकाको आत्महत्या दर के.के कारणले बढिरहेको छ भन्ने विस्तृत अध्ययन हुन बाँकी छ। 

किशोरकिशोरी तथा युवायुवतीको आत्महत्या दर पनि बढी छ। परिवारमा कसैले आत्महत्या गरेको छ भने त्यही परिवारभित्र अरू कसैले आत्महत्या गर्ने जोखिम हुन्छ। बाबु वा आमाले आत्महत्या गरेका छन् भने छोराछोरीले पनि आत्महत्या प्रयास गरेको र कतिपय अवस्थामा आत्महत्या नै गरेका घटना प्रशस्त पाइन्छन्। आत्महत्यालाई लुकाउने प्रवृत्तिका कारण पनि यसबारे विस्तृत अध्ययन गर्न कठिन छ। आत्महत्याबाट मृत्यु भइसकेपछि ‘साइकोलोजिकल अटप्सी’ गर्ने चलन नै हामीकहाँ छैन। विशेषज्ञ मनोचिकित्सकले मात्र गर्न सक्ने साइकोलोजिकल अटप्सी गर्ने हो भने कुनै व्यक्तिले आत्महत्या के कारणले गरेको भन्ने तथ्य पत्ता लगाउन मद्दत पुग्छ। ‘मान्छे मरी त सक्यो, अब अध्ययन.अनुसन्धान गरेर के फाइदा छ?’ भन्ने धारणाका कारण र विशेषज्ञ जनशक्तिको अभावमा साइकोलोजिक अटप्सी हुने गरेको छैन। सामान्य अवस्थामा देखिने मानिसमा पनि गम्भीर खालको डिप्रेसन भएको हुन सक्छ। जुन कुरा विशेषज्ञ चिकित्सकबाहेक अरू कसैलाई थाहा हुँदैन। ९९ प्रतिशत मानसिक रोगको समस्या सर्वसाधारण मानिसले चिन्न सक्दैनन्। मानसिक रूपमा विक्षिप्त भएका, जो सडकमा डुलिरहेका हुन्छन्, उनीहरूलाई मात्र सर्वसाधारणले मानसिक रोगीका रूपमा पहिचान गर्न सक्छन्। हिजोसम्म हाँसखेल गरिरहेको थियो, नियमित काम गरिरहेको थियो आदि भनेर आत्महत्या गर्नेको बारेमा सामान्य जानकारी लिएर मात्र आत्महत्याको कारणसम्म पुग्न सकिँदैन। 

नेपालमा विभिन्न कारण, जस्तैः थोरै अनुसन्धान, कमजोर रेकर्डिङ प्रणाली, आत्महत्या लुकाउने प्रवृत्ति आदिले गर्दा आधिकारिक तथ्यांकको कमी छ। नेपाल प्रहरीको उपलब्ध तथ्यांकअनुसार प्रतिवर्ष ३ दशमलव ७ देखि १० दशमलव ३ प्रति एक लाखमा आत्महत्या भएको पाइन्छ। आत्महत्याको दर गृहिणी, विद्यार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ। कुल मातृ मृत्युदरमध्येमा १६ प्रतिशत आत्महत्याले हुने गरेको पाइन्छ। मानव मृत्युको प्रमुख कारण आत्महत्या पनि भएकाले यसको रोकथाम हरेक समुदाय र अन्य सम्बद्ध सबै निकायको पनि दायित्व हो। 

किन गर्छन् आत्महत्या? 

कुनै पनि मानव व्यवहारलाई एक मात्र स्पष्ट कारणबाट व्याख्या गर्न गाह्रो हुन्छ। आत्महत्यालाई पनि हालसम्मका विभिन्न वैज्ञानिक सिद्धान्तअनुरूप व्याख्या गरिएका छन्। तर, कुनै पनि सिद्धान्त पूर्ण भने छैन। थुप्रै तत्त्व (जैविक, वंशाणुगत, सामाजिक तथा मनोवैज्ञानिक पक्ष) को भूमिका हुने गरेको पाइएको छ। आत्महत्या प्रयास गर्नेमध्ये ९५ प्रतिशत मानसिक रोगले ग्रस्त भएको विश्वव्यापी तथ्यांक छ। मानसिक रोग भन्नाले पूरै विक्षिप्त, जथाभावी गरेर हिँड्ने मात्र नभई शारीरिक रूपमा पूरै स्वस्थ तर आफू र वरिपरिको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पीडितलाई पनि जनाउँछ। तीमध्ये अस्वाभाविक रूपको उदासी, डिप्रेसन आत्महत्याको प्रमुख कारण ८० प्रतिशत मानिन्छ। त्यस्तै, सिजोफ्रेनिया, डिमेन्सिया, रक्सी तथा लागुपदार्थ दुव्र्यसन, व्यक्तित्वको गडबडी, बोर्डरलाइन पर्सनालिटी डिसअर्डर आदि मुख्य कारण हुन्। डिप्रेसन अहिले विश्वको दोस्रो नम्बरमा रहेको स्वास्थ्य समस्या हो। सन् २०३० सम्ममा यो पहिलो नम्बरमा पुग्ने आकलन विश्व स्वास्थ्य संगठनले गरिसकेको छ। डिप्रेसनको समस्या भएकाले आत्महत्या बढी गर्ने भएकाले आगामी दशकमा आत्महत्या दर अझै बढ्ने अनुमान गरिएको छ। 

आत्महत्यासम्बन्धी भ्रम 

भ्रमः साँच्चै आत्महत्या गर्नेले त्यसको कुरा गर्दैनन्। 
सत्यः हरेक प्रयासअघि केही संकेत कुनै न कुनै रूपमा व्यक्त गर्छन्।
 
भ्रमः  दृढ संकल्प गरिसकेकालाई आत्महत्याबाट कसैले रोक्न सक्दैन। 
सत्यः उचित ध्यान पुर्‍याएर उपचार गरेमा अधिकांश आत्महत्या रोक्न सकिन्छ। 

भ्रमः आत्महत्यासम्बन्धी कुराकानी सोधपुछ गर्दा आत्महत्या गर्ने सोच बढाउँछ। 
सत्यः कुराकानी, सोधपुछ र उचित मनोविमर्शले स्थिति बुझ्न र रोकथामको बाटो पहिल्याउन मद्दत गर्छ। 

उच्च जोखिम समूह 

.किशोरकिशोरी  
.अविवाहित 
.बेरोजगार 
.उच्च घरानाका सदस्य  
.सम्बन्ध गडबड भएका, हालसालै सम्बन्ध विच्छेद भएका 
.दीर्घ रोगी 
.लागुपदार्थ दुव्र्यसनी 
.परिवारका अन्य सदस्यले आत्महत्या गरेको भएमा
.आत्महत्यासम्बन्धी विस्तृत योजना बनाएको 
.विगतमा आत्महत्याको प्रयास गरिसकेको 
.निरन्तरको असफलता, आफ्नो समाजबाट अलग्गिएको, असाधारण तनावबाट गुज्रेको व्यक्ति। 

आत्महत्याको जोखिमका चिन्ह 

.आत्महत्याबारे कुराकानी, इच्छा व्यक्त गर्नु, योजना बनाउनु 
.सधैँ मृत्युबारे सोचिरहनु, मर्ने उपायबारे जानकारी खोज्नु वा कुराकानी गरिरहनु 
.मृत्युको इच्छा राख्नु वा मृत्यु हुन सक्ने खालका काममा अकारण जोखिम उठाउनु 
.आफू बेकार, असहाय वा निराश भएको व्यक्त गर्नु 
.आफ्ना साथीभाइसँग नबुझिँदो गरी बिदाइ माग्नु, माफी माग्नु
.‘म नजन्मेको भए राम्रो हुन्थ्यो’, ‘म मरेपछि तिमीहरू पछुताउँछौ’, ‘अब कुनै उपाय नै छैन’ जस्ता भाव व्यक्त गर्नु 
.अत्यन्त दुःखी भइरहेको मान्छे अचानक शान्त वा खुशी हुनु  
.पहिलेका रुचि हराउनु 
.आफ्ना कामकाज, हिसाबकिताब फस्र्यौट गर्नु 
०००

हरेक आत्महत्या प्रयासलाई चिकित्सकीय एवं मनोवैज्ञानिक विपद् ठानी अस्पतालको इमर्जेन्सी विभागमा तुरुन्त लैजानुपर्छ। लाज, डर, संकोच र आवेग मानेर वा हल्का ठानेर हेलचेक्य्राइँ गर्दा बचाउन सकिने मानवजीवन पनि गुम्न सक्छ। अस्पतालको इमर्जेन्सी विभागमा शारीरिक संकटको उपचारपछि तत्काल मानसिक रोग विशेषज्ञको परामर्श लिनुपर्छ। मानसिक रोग भए÷नभएको, आत्महत्याको भविष्यमा खतरा भए-नभएको निर्धारण गरी सकेसम्म मानसिक रोगको सेवा पाइने अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्छ। 

आत्महत्याको रोकथाम 

.‘आत्महत्या कसैले रोकेर रोकिन्न’ भन्ने भ्रम हो। समयमा उचित सजगता, कदम, उपचार अपनाएमा यस्ता दुर्घटनालाई रोक्न सकिन्छ।
.अधिकांश ९५ प्रतिशत आत्महत्या मानसिक रोगको प्रतिफल हुने हुँदा सर्वप्रथम मानसिक स्वास्थ्यको उपचारतिर लाग्नुपर्छ। आत्महत्या र मानसिक रोगको अन्तरसम्बन्धबारे जनचेतना फैलाउनुपर्छ।
.मानसिक रोग एवं आत्महत्यालाई कलंक मान्नु हुँदैन। 
.जोखिमका संकेत देख्नासाथ उचित उपाय अवलम्बन गर्नु नै आत्महत्या रोकथामको प्रमुख कडी हो। 
.सञ्चारमाध्यममा आत्महत्यालाई संवेदनशीलताका साथ प्रकाशन तथा प्रसारण गर्नुपर्छ। आत्महत्या गर्नेलाई नायकका रूपमा चित्रण गर्नु हुँदैन। 

 
 

तपाईको कमेन्ट