स्वप्‍निल स्मृतिका पाँच कविता

writer

सम्पूर्ण

बुधबार, ०१ असोज २०७६


परिवर्तन

हिउँदे दिन
राजमार्गका नाङ्गा रूखहरू पढेर
ती हरूले भने–
हावा मरिसक्यो।

नाङ्गा रूखमा चराका
पुराना गुँडहरू औँल्याएर
ती हरू चिच्याए–
गीतको मृत्यु भयो।

रूखमा अल्झिएका चङ्गाहरू हेरेर
ती हरूले खित्का छाडे–
बस्तीमा केटाकेटीहरू मरिसके।

नाङ्गा रूखहरूमा फूल नदेख्दा
ती हरूको ठहर थियो–
सबै तन्नेरीहरू बुढा भइसके।

तर एक दिन–
रूखमा रङ्गिन पातहरू पलाए
पातहरूमा हुरीले नाच्यो नूतन नृत्य
चराहरूले बनाए नयाँ गुँड
र गुन्गुनाए–
स्वतन्त्रताको मञ्जुल गीत
आकाशमा उडे–
असरल्ल बेलुन र चङ्गाहरू
दौडिरह्यो राजमार्ग–
वेगवान् पहाडी नदीझैँ
तन्नेरीहरू छालझैँ सलबलाए।

त्यतिखेर ती हरू मरिसकेका थिए।


‘गुड बाई’

तिमीलाई बिदा गर्न
कुनै रोमान्टिक कविको कविताले नै काम चल्ने हो
दुर्भाग्य !
म फरक तरिकाले सोच्छु जुन मेरो आदत हो।

कुनै डाँकु होस् या सन्त
उसको अन्तिम सहारा कविता हो
बिदाइको यो शून्य घडीमा
म कविता लेखिरहेछु
मलाई प्रेम गर्नुमा बारबार अपराध बोध हुन्छ
क्वाँक्वाँ रुन नसकेर यो ‘कन्फेसन’ लेखिरहेछु
च्यात्दै सेन्डोभेस्ट सडकमा चिच्याउँदै निस्कन नसकेर
कुनै बौलाही आमाले झैँ
आफ्नै नाबालाक छोराको घाँटी थिच्न नसकेर
म पूरै सत्य लेखिरहेछु।

तिम्रो नाममा यो अन्तिम तर पहिलो कविता हो
प्रथम रजस्वलाको रगतजस्तो
बिल्कुल काँचो कविता हो यो,
म यसलाई एकै पटक संशोधन गर्नेछैन
म यसमा कुनै फूलबुट्टा भर्नेछैन
म यो कविता कुनै समालोचकलाई छुन दिनेछैन।

आज साह्रै रिस उठेको छ र म लेखिरहेछु कविता
यो कुनै क्रान्तिकारी कविले धार्नी—बिसौलीमा
विम्ब जोखीजोखी लेखेको जार्गन होइन
यो कुनै कृष्णभक्तिधाराको कविले
बिहानै गङ्गास्नानपछि
पलेँटी मारेर सोचेको बासी मन्त्र पनि होइन
यो मध्यरातमा सर्वाङ्ग नाङ्गो भएर लेखिएको कविता हो
यो लड्दै छट्पटाउँदै उठ्दै मर्दै बाँच्दै लेखिएको
यो समयकै जिउँदो कविता हो
मैले लेखिरहँदा यो कविता
निद्रामा मस्त मेरो बच्चासमेत दुई पटक हाँस्यो।

म जे लेख्दै छु साँचो–सही–सलामत लेख्दै छु
हुन त यावत् व्यहोरा नलेखे पनि हुने थियो तर, लेखँे–
यति लामो कवितामा मैले भन्नुपर्ने त एउटा सरल वाक्य न हो
जुन संसारकै जटिल भाषा हो, त्यो अब म लेख्छु–
‘‘म तिमीलाई प्रेम गर्छु !’’
म यसलाई हजारौँ पटक लेख्न चाहन्छु
तर, जिन्दगीमा यति यथेष्ट ‘टाइम’ र ‘स्पेस’ हुन्न
बस, एकैखेप दोहो¥याउँछु 
‘‘म तिमीलाई प्रेम गर्छु !’’
यो कविता मेरो एकतर्फी प्रेमको चिहान हो
अब म तिमीलाई चक्कु हान्छु !


जङ्गबहादुरहरू

त्यसो त दरबारमा
धेरै पटक मरिसकेका हुन्छन् जङ्गबहादुरहरू।

जङ्गबहादुरहरू
अस्पतालमा मर्छन् एकपटक
बाँचुलाझैँ गर्छन् मृत्यु शय्याहरूसमेत
फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू।

जङ्गबहादुरहरू
अखबारमा मर्छन् दोस्रो पटक
आयु थपिएझैँ चम्चमाउँछन् पाठकका आँखाहरू।

जङ्गबहादुरहरू
इतिहासमा मर्छन् अन्तिम पटक
विद्यार्थीहरू पढ्दापढ्दै बन्द गर्छन् इतिहासको पुस्तक

तर पनि—
किन जन्मिरहन्छन् अझै नयाँ—नयाँ जङ्गबहादुरहरू, हँ ?


एक मिनेट मौनधारण

संसारको सबैभन्दा सरल काम
ज्ञात-ज्ञात शहीदप्रति
एक मिनेट मौनधारण हो
सभा, सेमिनार या पोलिट्ब्युरोमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्यारा 
मौनधारण गरिरहेछ। 

तस्करले बर्थडेमा थमाएको उपहार
हिरा–घडीमा उफ्रिरहेको सेकेन्ड काँटासँगै 
गद्दार सरकार
एक मिनेट कला प्रदर्शन गरिरहेछ।
शहीदका रगत लत्पत राष्ट्रिय ध्वजा उचालेर
शहीदका आस्था–समाधि टेकेर सख्त
उभिरहेछन् राष्ट्रसेवक मौन–मौन, गम्भीर !
संसारको सबैभन्दा कठोर काम
ज्ञात÷अज्ञात शहीदप्रति 
एक मिनेट मौनधारण हो।

सार्वजनिक शौचालय
या शहर, सडक, गाउँ–गल्ली, देउराली
दुई हातले थिचेर गानो
खर्बौं खर्ब मिनेट मेरो देश उभिरहेछ। 

जब कि–
एक मिनेटमा 
शहीद–स्वप्नले धर्ती विचरण गरिसक्छ।
एक मिनेट भुइँचालो आयो कि सृष्टि अदलबदल हुन्छ।
ठण्डा दिमागले
एक मिनेट सोचेका भए शासकले 
इतिहास यस्तो हुँदैनथ्यो।
हत्या गरिनुअघि शहीदलाई
एक सेकेन्ड बाँच्ने फुर्सद दिइएन।
गडबड हुँदा एक सेकेन्ड
भुर्कुट भए योद्धाहरू, 
सृष्टिकालदेखि मौनधारण गरिरहेछ मेरोे हिमाल
त एक मिनेट मौनधारणले के हुन्छ ?
हर एक मिनेट मौनधारणमा
आधा मिनेट मलाई हाँस उठ्छ
आधा मिनेट मेरो मन रुन्छ।

संसारको सबैभन्दा उत्कृष्ट नाटक 
ज्ञात÷अज्ञात शहीदप्रति
एक मिनेट मौनधारण हो।


शालिग्राम

कालो
मधेशीभन्दा नि का...लो...
कालो छु म !

उहिले–उहिलेको मेरो कथा सुन–
त्यतिखेरकी म रातीपिरी
बाइसी-चौबीसी दरबारमा
धपधप बल्ने ज्योति थिएँ
कुनै युद्ध सरदारको तप्तप् रगत चुहिरहेको तरबारमा
चम्चमी टल्कने मोती थिएँ !

मुलुक खाने अहंको घोडामा सवार
एक भुरेटाकुरे महाराजले मलाई
जसै काठमाडौँ जितिल्यायो
ईष्र्याले आफैँ फुट्न नसकेका त्यसका आँखा
एक दिन शत्रुका गुलेलीका मट्याङ्ग्रासँग साटियो
मौका न पर्‍यो–
आखिर त्यसलाई आफ्नै प्रिय भारदारले
वृन्दावनको गाईको गहुँतमा
सुमेरु पर्वतको सर्पको दूध पिलाइछाड्यो–
त मेरो सौन्दर्यको सारा ऐश्वर्य
त्यसकै नपुंसक आँखाभित्र सेलायो !

भँवरा घुम्दा पनि फूल झर्ने याम थियो
दरबारको एउटा आदिवासी माली
फूलहरूको अत्तरले मात्तिएर बगैँचामा निदाइरहन्थ्यो
मेरो गर्भमा उसले एउटा सुन्दर फूल फुलाएको थियो,
त्यही फूल लुकाएर
‘आर्य’घाटमा हाजिर थिएँ म
कि चितामा पट्पटी पड्किरहेको महाराजको लाशमा
मलाई हाम्फाल्न लगाइयो
मानिन, भागेँ म, वागमती नदीसँगै
तर, ढुङ्गैढुङ्गाले हानेर आधासास पारिएँ
चिताग्निमाथि जिउँदै फालिएँ !

विभेदको भुङ्ग्रोमा जल्दा–जल्दा
प्रेमले भरिएका मेरो आँखा उडेर मेघबिजुलीमा मिल्यो
सृष्टिले भरिएको मेरो योनि
खङ्ग्रङ्ग सुकेर शङ्खमा रूपान्तरण भयो
आत्मरक्षामा सङ्घर्ष गर्दा–गर्दा
जल्नै सकेन मातृत्वले भरिएको मेरो स्तन
र कालो, चिल्लो शालिग्राम भयो।

कालो
मधेशीभन्दा नि का...लो...
कालो छु म !

वागमतीले बगाउँदै... खेलाउँदै... मधेश पुगेको मलाई
कुनै विद्रोहीले राज्यलाई हिर्काइपठाउँदा 
थुरिएको छु राजधानीको संसद् भवनमा,
उहिले–उहिलेकी एक गर्भवती आमा म
अब एउटा नयाँ युग जन्माउन चाहन्छु
एक–एक थोपा दूध सबैलाई भागशान्ति दिन चाहन्छु !

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि