लोकस्टार निर्णायक भन्छन्,‘असली लोकगीत अब जुर्मुराउँछ’

writer

सम्पूर्ण

बुधबार, ०१ असोज २०७६


लोकगीतको रियालिटी सो ‘नेपाल लोकस्टार’ उत्कृष्ट आठसम्म पुगेको छ। प्रदेशस्तरीय अडिसनबाट मेगा अडिसन हुँदै अहिले आठ जना सहभागी बाँकी छन्। दर्शकको भोटिङमार्फत ८० प्रतिशत र निर्णायकबाट २० प्रतिशत गरी प्रतियोगी छानिएका हुन्। जयनन्द लामा, रामजी खाँड, बीबी अनुरागी, सुनीता दुलाल निर्णायक रहेका छन्। उनीहरूले आफ्नो लोकस्टार अनुभव ‘सम्पूर्ण’ सँग साटेका छन्ः


जयनन्द लामा, लोकगायक

लोकस्टारमा युवा पुस्ताको राम्रो उपस्थिति देखिएको छ। तर, उनीहरूले बुझ्ने लोकगीत–संगीत फरक रहेछ। युवायुवतीले हिजोका गीत–संगीतबारे ज्ञान पाउन सकेका छैनन्। हाम्रो परम्पराअनुसार हुनुपर्ने लोकगीतलाई डिस्को, डीजे र विद्युतीय बाजाबाट गाइएको छ। त्यही सुनेको भरमा विकास भइरहेको छ, आजको लोकगीत–संगीत। युवा पुस्ताको उपस्थितिले लोकगीतप्रति उनीहरूको माया देखाएको छ। तर, उनीहरूलाई लोकसंगीतको शिक्षा भने दिन नसकिएको प्रस्ट हुन्छ। विभिन्न कारणले उनीहरू लोकसंगीतको आधारभूत ज्ञानबाट वञ्चित भएका छन्। 

लोकगीत–संगीतलाई प्रवद्र्धन, संवद्र्धन गर्न विभिन्न संस्थाले काम गर्नुपर्छ। लोकस्टारमा निर्णायकको रूपमा आबद्ध छु। भोटिङ सिस्टमका कारण कतिपय राम्रा कलाकार पनि बाहिरिएका छन्। लोकस्टारका कारण धेरै नेपालीमा लोकगीत सुन्नुपर्छ भन्ने चेतको विकास भएको छजस्तो लाग्छ। यस्ता कामले लोकगीत–संगीतलाई फाइदा पुर्‍याउँछ। लोकस्टारमा आबद्ध भएपछि लोकगीतबारे आफूले जानेका कुरा प्रतियोगीलाई सिकाउन पाएको छु। कार्यक्रमका माध्यमले नयाँ पुस्तामा गीत–संगीतको के कस्तो बुझाइ छ भनेर बुझ्ने मौका पाएको छु। 

लोकस्टारको स्टेजमा पुराना, मान्छेले बिर्सिन थालेका गीत पनि बजाइएको छ। कतिपय गीतलाई फेरि सम्झाउन लोकस्टारले मद्दत गरेको छ। 

रामजी खाँण, लोकगायक

लोकस्टारजस्तो कार्यक्रम हुनु नै लोकगीतको सम्मानको लागि उत्कृष्ट काम हो। यस्ता कार्यक्रम आवश्यक छन्। हाम्रो पुस्ता जसोतसो लोकगीत–संगीतमा लागेर यहाँसम्म आइपुगेको छ। पहिला चिनिनका लागि पैसा खर्च गरेर एल्बम निकाल्नुपर्ने अवस्था थियो। क्षमता भएर पनि आर्थिक रूपमा सबल नहुँदा थुप्रै प्रतिभा बिलाए। लोकगीत–संगीतलाई प्रवद्र्धन गर्ने लोकस्टारको प्रयास सराहनीय छ। विभिन्न ठाउँका प्रतिभा कार्यक्रममा देखिएका छन्। 

सातै प्रदेशमा जाँदा लोकगीतप्रति युवा पुस्तामा मोह देखियो। शास्त्रीय संगीतमा वर्षौं साधना गरेका कलाकार पनि लोकस्टारको अडिसनमा आएका थिए। दर्शकको उपस्थिति पनि उत्साहजनक छ। आफूमा भएको प्रतिभा देखाउने राम्रो प्लेटफर्म युवाले पाएका छन्। लोकस्टारबाट चिनिएपछि उनीहरू लोकगीतमा लागिरहून् भन्ने हाम्रो चाहना छ। जसले गर्दा नयाँ आउने पुस्ताले पनि लोकगीत–संगीत सुन्ने, सिक्ने मौका पाओस्। लोकस्टारपछि अब असली लोकगीत जुर्मुराउँछ। 

सातै प्रदेशबाट सुरु भएको लोकस्टारको यात्रा उत्कृष्ट आठसम्म आइपुगेको छ। कार्यक्रम अघि बढ्दै गयो, प्रतिस्पर्धी र निर्णायकबीचको दूरी घट्दै गयो। हजारौँबाट सयौँ, सयौँबाट अझै कम हुँदै गएपछि आफ्ना मान्छे छुटेको महसुस हुन थाल्यो। परिवारजस्तै बनेका छौँ। भोटिङ सिस्टमका थुप्रै प्रतिभाशाली गायक छुट्नुभयो। छिट्टै नेपाली लोकगीत–संगीतमा एउटा स्टारको जन्म हुनेछ। लोकगीतमा लाग्नेलाई यस्ता प्रतियोगिताले प्रोत्साहन गर्नेछन्। 

सुनीता दुलाल, लोकगायिका

लोकस्टारमा फरक–फरक खालका प्रतिभा देख्ने मौका पायौँ। लोकगीत–संगीतमा निकै पोख्त पनि भेट्यौँ। तर, निश्चित मान्छेलाई मात्र ल्याउन मिल्ने भएकाले त्यहाँबाट सबैलाई ल्याउन सकिएन। अडिसनमा देखिएको उपस्थितिले भने लोकगीत–संगीतलाई मन पराउनेहरू धेरै रहेछन् भन्ने बुझियो। काठमाडौँ आएपछि हामी प्रतिस्पर्धीहरूसँग प्रत्यक्ष रूपमा जोडियौँ। मेगा अडिसनबाट हामीले प्रतियोगीको निर्णायक बस्न सुरु गरेका थियौँ भने टप ट्वान्टी फाइभबाट उनीहरूसँग हामी अझै नजिक भयौँ। प्रतियोगितामा कोही न कोही त बाहिरिनु नै पर्छ। राम्रा प्रतिभा बाहिरिँदा नराम्रो लाग्थ्यो। अहिले उत्कृष्ट आठमा पनि सबै जना एकसे एक छन्। खारिएर आएका छन्। हिजोका कालजयी गीत–संगीत लोकस्टारको मञ्चमा सुन्ने अवसर पाएका छौँ। 

लोकगीत पहिला समाजको ऐनाको रूपमा आउँथे। अहिले भने केही फरक तरिकाका आइरहेका छन्। व्यावसायिक भइरहेको छ, लोकसंगीतको क्षेत्र। हामीले गायन सुरु गर्दा स्थान पाउन गाह्रो थियो। तर, अहिले प्रतिभा हुनेलाई धेरै अवसर छन्। लोकस्टारले युवालाई पनि भोलि लोकगीत–संगीत क्षेत्रमा लाग्न बाटो खुलाइदिएको छ। 

बीबी अनुरागी, संगीतकार

लोकस्टारमा जानुअगाडि मैले धेरै सोचेँ। सबैभन्दा पहिला ‘के म संगीतलाई मूल्यांकन गर्न सक्षम छु ?’ भन्ने प्रश्न आफैँलाई सोधेको थिएँ। तैपनि, एक पटक के कस्तो हुन्छ भन्दै अनुभव गर्न यहाँ आएँ। अडिसनका लागि सातै प्रदेशमा पुगियो। मान्छेहरूमा लोकगीत–संगीतप्रति राम्रो उत्साह पाएँ। लोकस्टारकै कारण त्यो देख्ने मौका पाएँ। अडिसनअघि ‘लोकगीत अहिलेको पुस्ताले सुन्दैन’ जस्तो लाग्थ्यो। तर, त्यो होइन रहेछ। लोकगीतमा बालबालिकादेखि बूढाबूढीको समेत झुकाव देखियो। त्यसपछि सार्थक कार्यक्रम भइरहेको छ भन्ने महसुस भयो। 

कार्यक्रमको सुरुवातमै प्रतिस्पर्धीको मूल्यांकन निष्पक्ष र स्पष्ट हुनुपर्छ भनेको थिएँ। त्यही काम भइरहेको पनि छ। प्रतिस्पर्धी छान्न निर्णायक मात्रै नभएर जनताको भोटको पनि आवश्यक छ। २० प्रतिशत हाम्रो र ८० प्रतिशत जनताको भोटिङको मूल्यांकन गरिएको छ। त्यसकारण पनि कतिपय हामीलाई मन परेका प्रतिस्पर्धी बाहिरिए। प्रतिस्पर्धाको नियम नै यस्तै हो।

लोकस्टारका सबै प्रतियोगीका आ–आफ्नै खुबी छन्। उनीहरूमा आफ्नै किसिमको गायकी छ। यहाँसम्म आइपुग्दा सबैले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरिरहेका छन्। लोकस्टारमार्फत लोकसंगीतमा भोलि एउटा ‘स्टार’ उत्पादन त हुन्छ नै, त्यसबाहेक लोकसंगीतको प्रवद्र्धनका लागि पनि यसले काम गर्नेछ। 
प्रस्तुतिः युवराज भट्टराई

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि