इन्डोनेसिया टू अस्ट्रेलिया : तन्नेरीलाई तस्करको ट्रयाप

writer

सृजना खड्का

शुक्रबार, २७ भदौ २०७६


झापाका गणेशप्रसाद रिजालको एउटै सपना थियो– ‘जसरी हुन्छ अस्ट्रेलिया जाने।’ 

अस्ट्रेलिया जानका लागि उनले कुनै कसर बाँकी राखेनन्। थुप्रै चोटि कोसिस गरे। तर, पटक–पटक भिसा अस्वीकार भइरह्यो। अस्ट्रेलिया जान असफल भएपछि चार महिनाअघि यूएई, दुबई जाने तरखरमा थिए। काठमाडौँ, सामाखुशीस्थित एउटा कन्सल्ट्यान्सीमा त्यसबारे बुझ्न गएका थिए।

दुबई जाने मानसिकता बलियो बनिसकेको थियो। तर, अस्ट्रेलिया जाने आशा पनि मनमा जीवितै थियो। कन्सल्ट्यान्सीमा दुबईबारे बुुझिसकेपछि उनले आफ्नो मोबाइलको डाटा खोले। फेसबुक चलाए। फेसबुकमा एउटा पेज देखे– ‘जर्नी टू अस्ट्रेलिया।’ 

के रहेछ भनेर बुझ्नका लागि उनले उक्त पेज खोलेर हेरे।

‘शतप्रतिशत ग्यारेन्टीका साथ अस्ट्रेलिया पुर्‍याइन्छ।’ 

‘हामी १० देखि २० दिनभित्र अस्ट्रेलियाको वर्क पर्मिट दिलाउँछौं।’

‘घण्टाको १६ डलर तलब।’ 

त्यो पेजमा यस्तै–यस्तै कुरा लेखिएका थिए। यति देखेपछि दुबई जाने तरखर गरिरहेका गणेशको अस्ट्रेलिया जाने सपना पुनः ब्युँतियो। त्यहाँ उनले ह्वाट्सएप नम्बर देखे। तुरुन्तै फोन लगाए। फोनमा बोल्ने व्यक्तिले भने, ‘मैले अहिलेसम्म आधा दर्जनभन्दा बढीलाई अस्ट्रेलिया उडाइसकेँ। तर, त्यसका लागि पहिला भिजिट भिसामा इन्डोनेसिया आउनुपर्छ। १८ लाख लाग्छ। नौ लाख इन्डोनेसिया आएपछि दिनू। बाँकी नौ लाख अस्ट्रेलिया पुगेपछि दिए हुन्छ।’

गणेशले सोधे, ‘तपाईंहरूको अफिस कहाँ छ ? मैले केको आधारमा विश्वास गरेर त्यहाँसम्म आउने ?’

उताबाट जवाफ आयो, ‘मैले भनेपछि फरक पर्दैन। इन्डोनेसियामा मलाई नेपालीहरू ‘अस्ट्रेलिया पठाइदिनुपर्‍यो’ भन्दै खोजी–खोजी आउँछन्। धेरैलाई पठाइसकेँ। विश्वास लागे आउनू, नलागे नआउनू।’ 

ह्वाट्सएपमार्फत सम्पर्क भएका ती व्यक्तिको बोलीमा गजबको आत्मविश्वास थियो। गणेश उनको विश्वासमा परिहाले। उताबाट काठमाडौँ, गोंगबु बस्ने डोलेन्द्र कार्की नामक व्यक्तिलाई सम्पर्क गर्नू भनियो। 

‘डोलेन्द्रलाई भेटेँ, उसले पनि त्यो व्यक्तिले भनेजस्तै कुरा गर्‍यो,’ गणेशले भने, ‘उनले ‘हामीले अहिलेसम्म धेरैलाई पठाइसक्यौँ, विश्वास लाग्छ जाऊ, लाग्दैन नजाऊ’ भनेपछि मैले विश्वास गरेँ। भिसा आएपछि मात्र पैसा दिनु भनेकाले इन्डोनेसिया हुँदै अस्ट्रेलिया जाने विचार गरेँ।’

इन्डोनेसिया बसेर अस्ट्रेलियाको धक्कु 

गणेशसँगै भक्तपुर, नगरकोटका विजय लामा पनि थिए। उनलाई पनि डोलेन्द्रले अस्ट्रेलिया पुर्‍याउने बहानामा इन्डोनेसिया पठाउन खोजेका थिए। डोलेन्द्रले भनेअनुसारको एउटा ट्राभल एजेन्सीबाट दुवैले इन्डोनेसियाको टिकट काटे। सन् २०१९ अप्रिल २६ मा गणेश र विजय इन्डोनेसिया उडे। ‘टिकट र एयरपोर्ट सेटिङ गरेर १ लाख ६७ हजार खर्च भयो,’ गणेशले भने, ‘एयरपोर्टमा उनीहरूले सेटिङ मिलाएका रहेछन्। पासपोर्ट स्क्यान नगरी एउटा छाप हानेर हामी भित्र छिर्‍यौँ।’ अस्ट्रेलिया जाने भनेर उनले खानेकुरादेखि आफूलाई चाहिने लत्ताकपडा सबै बोकेर हिँडेका थिए। 

फोनमा अस्ट्रेलिया पठाउँछु भन्दै इन्डोनेसिया बोलाउने व्यक्ति थिए, पर्वत, दुर्लुङका शिव शर्मा। उनले गणेश र विजयलाई इन्डोनेसियाको जाकर्ता इन्टरनेसनल एयरपोर्टमा लिन आउँछु भनेका थिए। तर, उता पुगेपछि एयरपोर्टमा उनी लिन आएनन्। ‘एयरपोर्टमा ऊ लिन आएन,’ गणेशले भने, ‘नयाँ ठाउँ कता जानु, के गर्नु भयो। उसले बोर्नियोको कालीबाटा सिटी अपार्टमेन्ट बस्छु भनेको थियो। त्यही अपार्टमेन्टको फोटो एउटा ट्याक्सीवालालाई देखाएर पुर्‍याउन लगायौँ।’ बल्लतल्ल उनीहरूको भेट शिवसँग भयो।

उता पुगेपछि गणेश चकित भए। त्यहाँ शिव एक्ला थिएनन्। काठमाडौँ, जोरपाटीका पूजन सापकोटा, पूजनका साथी विमल गौतम, म्याग्दीकी मुना केसी, सिन्धुलीका अमृत बराल र शिवकी प्रेमिका भनेर चिनिने काभ्रेकी अस्मिरा चौलागाईंसहितको जम्बो टोली थियो। उनीहरू सबै जना एउटै अपार्टमेन्टमा बस्थे। ‘सबैलाई अस्ट्रेलिया लैजाने भन्दै अलपत्र पारेर राखिएको रहेछ,’ उनले भने, ‘मुना, अमृत, अर्जुन त्यहाँ बसेको चार-पाँच महिना भइसकेको रहेछ। विमल र पूजनलाई अस्मिराले एक हप्ताअगाडि मात्रै बोलाएकी रहिछ। पछि हामी गएपछि विमलकी श्रीमती यमुनालाई पनि पक्का अस्ट्रेलिया पठाइदिन्छौ भन्दै शिव र अस्मिराले बोलाए।’ शिवका अनुसार अस्मिरा र शिव प्रेमी–प्रेमिका थिए। उनीहरूले सेटिङ मिलाएका थिए। ‘अस्मिरा जसले फोन गर्दा पनि अस्ट्रेलियाको पर्थमा छु भन्थी,’ गणेशले भने, ‘अस्ट्रेलिया कहिल्यै नदेखेकी मान्छेले यो कामको यति डलर, त्यो कामको त्यति डलर भन्दै मानिसहरूलाई फोन गरेर बोलाउँथी।’

इन्डोनेसिया पुगेका गणेशले आफू अस्ट्रेलिया पुगेको भन्दै घरमा झुट बोले। ‘त्यहाँ हुने अरूले पनि ‘अस्ट्रेलिया छुु’ भन्थे,’ उनले भने, ‘किनभने, हामी सबैलाई त्यस्तै भन्न लगाइएको थियो। घरमा टेन्सन हुन्छ भनेर हामी पनि त्यस्तै भन्थ्यौँ।’ 

पुगेको तीन दिनपछि नै गणेशसँग पैसा माग्न थालियो। ‘‘१०–१५ दिनमा भिसा आउँछ, घरमा भनेर पैसाको बन्दोबस्त गर’ भन्न थाले,’ गणेशले भने, ‘हामीलाई इन्डोनेसिया उडाउने डोलेन्द्र कार्कीमार्फत पैसा इन्डोनेसिया आउँछ भनिएको थियो। मैले बुबालाई ‘डोलेन्द्रलाई छ लाख दिनू’ भनेँ।’ यता डोलेन्द्रले छ लाखले पुग्दैन १० लाख चाहिन्छ भनेर बुबासँग मागेको गणेशले बताए। ‘हुन्डी गरिदिन्छु भनेको १० लाख रुपैयाँ डोलेन्द्रले हिनामिना गर्‍यो,’ उनले भने, ‘इन्डोनेसियामा एक रुपैयाँ पनि आएन। सबैतिरका दलालहरू मिलेर मर्नु न बाँच्नुको स्थितिमा पुर्‍याए।’ 

यति भइसक्दा पनि शिव शर्मा उनीहरूलाई भन्ने गर्थे– ‘पासपोर्ट, भिसा केही पनि चाहिँदैन। पैसा ल्याओ। म तिमीहरूलाई सेटिङमा उडाउँछु।’ 

गणेशका अनुसार अमृत, अर्जुन र शिवसँग विभिन्न देशका नक्कली पासपोर्ट थिए। ‘शिवभन्दा माथि परषोत्तम लाल नाम गरेको एक जना भारतीय नागरिक थियो,’ गणेशले भने, ‘ऊ इन्डोनेसियन युवतीसँग बिहे गरेर उतै बसेको थियो। परषोत्तम ‘मेरी श्रीमतीका आफन्तहरू इमिग्रेसनमा छन्’ भन्थ्यो। उसकै सहयोगमा शिव र अस्मिरा मानव तस्करी र ठगी गर्थे। परषोत्तमले नै डुप्लिकेट पासपोर्ट बनाइदिन्थ्यो।’ 

इन्डानेसियाको भिसा एक महिनाको हुन्थ्यो। भिसा सकिएपछि अस्ट्रेलिया जाने सपना बोकेर आएकाहरू भन्थे, ‘बरु हामी नेपालै फर्किन्छौँ।’

‘तर, शिव हामीलाई ‘यहाँसम्म आएकाहरू अहिलेसम्म कोही फर्किएका छैनन्, तिमीहरू फर्किने कुरा गर्दै नगर’ भन्थ्यो,’ गणेशले भने। 

काभ्रे, बनेपाका अर्जुन कार्कीसँग इन्डोनेसियाको नक्कली पासपोर्ट थियो। तर, उनीसँग नेपाली पासपोर्ट थिएन। ‘‘डोलेन्द्रसँग तिम्रो र मेरो दुवैको पैसा उठाउँछु, मेरो पनि नयाँ पासपोर्ट बनाएर आउँछु’ भनेर अर्जुन मेरो पासपोर्ट लिएर नेपाल आयो,’ गणेशले भने, ‘मेरो पनि एक महिनाको भिसा थपेर ल्याइदिन्छु भनेकाले विश्वास गरेर पासपोर्ट दिएँ। एक हप्ताको लागि भनेर गएको मानिस एक महिना बित्दा पनि आएन। उल्टै मेरो घरमा गएर बुबासँग छ लाख रुपैयाँ पठाइदिन्छु भनेर ठगेछ।’ 

गणशेसँग न पासपोर्ट थियो, न पैसा, न त भिसा नै। विमल, पूजन र यमुना भिसा सकिनेबित्तिकै शिव र अस्मिराको विश्वास नगरेर नेपाल फर्किए। उनीहरूले आफू इन्डोनेसियामा आएर फसेको कुरा परिवारलाई भनिसकेका थिए। ‘अस्मिरा ‘म कम्पनीबाट छुट्टीमा आएको हुँ, उता तिमीहरूको राम्रो काम हुन्छ’ भन्दै उनीहरूलाई नेपालबाट पैसा पठाउन लगाओ भन्दै फकाउँथी,’ गणेशले भने, ‘उनीहरू नमानेर फर्किए। पछि, अभिषेक र तिलक भन्ने दुई जना इन्डोनेसिया आएका थिए। उनीहरूसँग शिवले चार हजार डलर लिएको रहेछ। मलाई चाहिँ ‘पैसा ले, तँलाई जहाजमा अस्ट्रेलिया पठाइदिन्छु’ भनेर जहाजको डकुमेन्ट देखाउँथ्यो। जबकि ऊ आफैँले त्यो बेलासम्म अस्ट्रेलियाको भिसा देखेको थिएन।’

कतैबाट पैसा आउने छाँटकाँट नदेखेपछि भारतीय एजेन्ट परषोत्तमले आफूलाई लगातार छ–सात घण्टा कुटेको गणेशले बताए। ‘टोकेका डामहरू अझै छन्,’ उनले भने, ‘मेडिकल रिपोर्टले यो सबै कुरा प्रमाणित गरिसक्यो। मुनाले पनि थुप्रै यातना भोगेकी छिन्।’ 

परषोत्तम र शिवको पैसाको कुरामा खटपट पर्‍यो। ‘पैसामा कुरा नमिलेपछि शिव र अस्मिरासँग उसको सम्बन्ध राम्रो भएन,’ गणेशले भने, ‘मलाई कुटेको केही दिनपछि इमिग्रेसनमा सेटिङ मिलाएर शिव र अस्मिरासहित हामी सबैलाई परषोत्तमले जेल हाल्यो।’ सुतिरहेको ठाउँमा प्रहरीले उनीहरूलाई समातेर लग्यो। उनीहरूमध्ये कसैसँग पासपोर्ट थिएन, कसैसँग भिसा। ‘जेल हालेर हामीसँग पैसा निकाल्ने परषोत्तमको दाउ थियो,’ उनले भने, ‘तर, कसैले एक रुपैयाँ निकालेनन्। हामी त्यहाँ लगभग दुई महिना जेल पर्‍यौँ। जेलमा हुँदा पनि शिवले झुट बोल्न छाडेन। इन्डोनेसियाको जेलमा बसेर अस्ट्रेलिया छु भन्दै हामीजस्ता अरू युवालाई फसाउन खोज्थ्यो।’ जेलमा बसेर पनि शिवले अरू धेरै नेपालीलाई फसाउन खोजेको गणेशको आरोप छ। ‘शिवको बोली नै मन्त्रमुग्ध बनाउने खालको थियो,’ उनले भने, ‘बोलीकै भरमा अरूलाई लट्ठ बनाउँथ्यो। धेरै जना उसको चिप्लो कुरा सुनेर इन्डोनेसिया जान ठीक परिसकेका थिए। आफ्नो क्लाइन्ट उता पुगेपछि त्यही क्लाइन्टलाई नै एजेन्ट बनाएर अरू मान्छे बोलाउन बाध्य पाथ्र्यो।’ 

जेल भित्रबाटै गणेशले बुबालाई खबर गरे। उनका बुबाले मानव बेचबिखन अनुसन्धान ब्युरोमा शिव, डोलेन्द्र र अर्जुनविरुद्ध जाहेरी दिए। त्यसपछि नेपाल प्रहरीले पीडित र पीडक सबैलाई नेपाल झिकायो। 

पासपोर्ट र छ लाख रुपैयाँ लिएर बेपत्ता भएका अर्जुनलाई केही दिनअघि मात्र जेलमा भेट्न गएका थिए, गणेश। ‘मैले मेरो पासपोर्ट र छ लाख रुपैयाँ खोइ भनेको त ‘तँसँग के प्रमाण छ ?’ भन्छ,’ गणेशले भने, ‘‘जेलबाट बाहिर निस्केपछि तँलाई जानेको छु, बचेर हिँडेस्’ भनेर धम्कायो। मेरो नागरिकता, जन्मदर्ताको प्रमाणपत्र र अरू केही कागजात इन्डोनेसियामै छ। उता १६ लाखको बिटा गयो, यता ज्यान मार्ने धम्की खेप्नुपरेको छ।’

एक जोडीसहित छ जना पक्राउ

इन्डोनेसिया बसी अस्ट्रेलिया वा क्यानडा पठाउँछौँ भन्दै मानव तस्करी र ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ। जसमा पर्वतका शिव शर्मा र उनकी प्रेमिका भनेर चिनिने काभ्रेकी अस्मिरा चौलागाईंसहित भारतीय नागरिक परषोत्तम लाल, पोखराका डोलेन्द्र कार्की, दोलखाका शशीकुमार तामाङ र काभ्रेका अर्जुन कार्की छन्। अस्ट्रेलिया पठाइदिन्छु भन्दै दुई जना नेपाली लिन नेपाल आएको बेला परषोत्तमलाई भदौ ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो। बाँकी पीडित र पीडकलाई पीडितका आफन्तले प्रहरीमा उजुरी गरेपछि उताबाट झिकाइएको प्रहरीले बताएको छ। शिव र अस्मिरामाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान थालिसकेको छ। 

के भन्छन् शिव–अस्मिरा ?

शिव शर्मा र अस्मिरा चौलागाईं अनुसन्धानका क्रममा शुक्रबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा भेटिए। 

‘एक वर्षअघि म, डोलेन्द्र र अस्मिराले अस्ट्रेलिया अप्लाई गरेका थियौँ,’ २८ वर्षीय शिवले भने, ‘हामी सबैको भिसा आइसकेको थियो। डोलेन्द्रले ‘मेरो एउटा छोरी छ, उसलाई पनि लैजानुपर्‍यो’ भन्यो। त्यही बेला मुना केसीसँग सम्पर्क भयो।’ मुना केसीलाई अस्ट्रेलिया पठाउने डकुमेन्ट बनाउन आफू इन्डियाबाट इन्डोनेसिया गएको उनले बताए। ‘डोलेन्द्रले गत वर्ष डिसेम्बर १२ मा मुनालाई पठायो,’ उनले भने, ‘परषोत्तम लाललाई मैले चिनेको थिएँ। उता पुगेर मुनाले एक रुपैयाँ पैसा निकालिन। उसको खाने–बस्ने खर्च मैले नै बेहोरेँ।’ त्यही समयमा आफूले अरू पनि क्लाइन्ट बनाएको उनले स्विकारे। ‘गएको जनवरीमा अस्मिरालाई बोलाएँ,’ उनले भने, ‘पछि अरू पनि आए। परषोत्तमले अस्ट्रेलिया पठाउने काम गथ्र्यो। तर, कसैसँग पासपोर्ट थिएन, कसैसँग पैसा। त्यसैले जान पाएनन्। त्यहाँको इमिगे्रसनले समात्यो।’ 

आफूले कसैलाई कर गरेर इन्डानेसिया नबोलाएको उनले बताए। ‘मैले कसैलाई कर गरेर आऊ–आऊ भनेको होइन,’ उनले भने, ‘उनीहरू आफ्नै खुशीले गएका हुन्। मुना र डोलेन्द्रले गर्दा म यो स्थितिमा आइपुगेँ। अभिषेक र तिलकको पैसाले मुना र गणेशको प्रोसेस गरिदिएको थिएँ। एउटाको प्रोसेस गर्न अर्कोसँग पैसा लिँदा फसियो।’

फेसबुक पेज ‘जर्नी टू अस्ट्रेलिया’बारे शिवले भने, ‘त्यो पेज मैले यत्तिकै खोल्देको हुँ। अस्ट्रेलियामा काम गर्ने एउटा एजेन्टले घण्टाको १६ डलर कमाइन्छ भनेको थियो। मैले त अस्ट्रेलिया देखेको पनि छैन।’

शिव जहाजको डकुमेन्ट पनि बनाउने गर्थे। ‘इन्डोनेसियामा जहाजबाट अस्ट्रेलिया पठाउन मिल्छ,’ उनले भने, ‘सात दिनमा अस्ट्रेलिया पुगिन्छ भन्ने सुनेको छु। तालिमको लागि भनेर सेटिङ मिलाएर डकुमेन्ट बनाउने गर्थें।’

उनले अझै पनि आफूले नेपालीलाई इन्डोनेसियाबाट अस्ट्रेलिया पठाउन सक्ने बताए। ‘पैसा निकाल्न सक्नुहुन्छ भने अहिले हिँड्नुस्, अहिले उडाएर आउँछु,’ उनले भने, ‘मेरो ठाउँमा मान्छे छन्। अब छ महिना केस चल्छ, इन्डोनेसिया जान पाइँदैन। त्यसपछि फेरि अस्ट्रेलियाकै लागि काम गर्ने हो। मैले कसैलाई बेचेको पनि छैन। कसैको एक रुपैयाँ खाएको पनि छैन।’ उनको अनुहारमा पश्चात्ताप वा अपराधबोधको कुनै भावना थिएन। 

मानव बेचबिखन अनुसन्धान ब्युरोमै भेटिएकी अस्मिरा चौलागाईंले शिवले बोलाएर आफू इन्डोनेसिया गएको बताइन्। ‘मलाई शिवले बोलाएर गएको थिएँ,’ २२ वर्षीया उनले भनिन्, ‘शिव र मुनालाई नेपाल हुँदा नै चिनेकी थिएँ। मुनाले पनि ‘तिमी र म साथी हुन्छौँ, अस्ट्रेलिया जान पाइन्छ, यहाँ राम्रो छ’ भनेपछि गएकी हुँ।’ त्यति बेला अस्मिरा बीबीएस पहिलो वर्षमा पढ्दै थिइन्। ‘डोलेन्द्रले पैसा अस्ट्रेलिया पुगेपछि पठाए नि हुन्छ भनेकाले पढाइ बीचमै छाडेर इन्डोेनेसिया गएँ,’ उनले सुनाइन्। 

आफूहरूलाई भारतीय दलाल परषोत्तम लालले फसाएको उनले बताइन्। ‘उता गएपछि मेरो पासपोर्ट खोसियो, न नेपाल आउन पाइयो, न अस्ट्रेलिया जान पाइयो,’ उनले भनिन्, ‘पैसा छैन भन्दा परषोत्तमले यातना दिन्थ्यो। अपशब्द बोल्ने, पिट्ने, कुट्ने गथ्र्यो। कहिलेकाहीँ त बलात्कार गर्न खोज्थ्यो।’ 

परषोत्तमले आफूलाई नराम्रो नजरले हेर्न थालेपछि शिवले उनलाई ‘मेरी गर्लफ्रेन्ड हो’ भन्न थालेको अस्मिराले बताइन्। ‘शिवले मेरो गर्लफ्रेन्ड हो भनेपछि परषोत्तम मलाई ‘शर्मालाई छोड्, मसँग एक रात बिता, तँलाई सित्तैमा अस्ट्रेलिया पठाइदिन्छु’ भन्थ्यो,’ उनले भनिन्, ‘एकदमै यातना दिन्थ्यो। ‘‘अस्ट्रेलियामा छु भनेर मानिसहरू बोला’ भन्थ्यो। मार्ने धम्की दिन्थ्यो। दिनदिनै रक्सी खाएर आएर कुट्थ्यो। ठूलो अपार्टमेन्टको बार्दलीमा लगेर ‘खसाल्दिन्छु’ भनेपछि मैले ज्यान जोगाउन पनि नेपालबाट मान्छेहरू बोलाएँ।’ आफूले एजेन्ट भएर कहिल्यै पनि काम नगरेको उनको भनाइ छ। ‘मैले कहिल्यै एजेन्ट भएर काम गरिनँ,’ उनले भनिन्, ‘ज्यानको मायाले परषोत्तमले जे–जे भन्न लगायो, त्यही–त्यही भनेकी हुँ। मैले अस्ट्रेलिया छु भनेकी हुँ। तर, अस्ट्रेलिया पठाइदिन्छु भनेर कसैलाई भनेकी छैन।’

विमल, पूजन र यमुनालाई पनि परषोत्तमले बोलाउन लगाएर आफूले बोलाएको अस्मिराले बताइन् । ‘‘क्लाइन्ट बोला, तिनीहरूको पैसामा तँलाई उडाइदिन्छु’ भन्थ्यो,’ उनले भनिन्, ‘कहिले बेल्टले हान्थ्यो, कहिले रोटी बेल्ने बेल्नाले। एकछिन कोठाबाट बाहिर निस्कियो भने भाग्यो भनेर खोज्न हिँड्थ्यो। हामी आफैँ बन्धक बनेर बसेका थियाँै।’

पीडित नै पीडक 

अस्ट्रेलिया जाने लोभमा इन्डोनेसिया पुगेका थिए, अमृत बराल। उनको वास्तविक नाम भने गुणहरि बराल हो। तर, त्यहाँ आफू ठगिएको थाहा पाएपछि उनले अरूलाई ठग्न थालेका थिए। ‘क्यानडा पठाइदिन्छु’ भन्दै अमृतले अरूलाई फसाएको प्रहरीले बतायो। उनले नेपालमा दलाली गर्दा नेपाली र इन्डोनेसियामा दलाली गर्दा इन्डोनेसियन पासपोर्ट देखाउने गरेको पाइएको छ। ‘उनीसँग दुइटा पासपोर्ट थियो,’ मानव बेचबिखन अनुसन्धान ब्युरो, मुद्दा शाखाका इन्स्पेक्टर नानीकाजी थापाले भने, ‘नेपाल बस्दा नेपालकै पासपोर्टबाट काम गर्दा रहेछन्। इन्डोनेसिया गएपछि उतैको पासपोर्ट देखाएर ठगी गरेको देखियो।’ 

अमृतले एक जना नेपालीलाई क्यानडा पठाउने आश्वासनमा भारतको, नयाँ दिल्ली पुर्‍याएर लुटपाट गरेको पाइएको छ। ‘म्याग्दीका देवेन्द्र रोकालाई क्यानडा लैजान्छु भनेर नयाँ दिल्ली पुर्‍याई २४ हजार अमेरिकी डलर लुटेका थिए,’ इन्स्पेक्टर थापाले भने, ‘उनीसँगै हामीले योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराईलाई पनि पक्राउ गरी मुद्दा चलाएका छौँ ।’ अमृतसँग अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ। धरौटी बुझाउन नसकेपछि उनलाई अहिले जेल चलान गरिएको छ।  

इन्डोनेसियाः मानव तस्करीको ट्रान्जिट

नेपालीको आकर्षक घुमघाम गन्तव्य हो, इन्डोनेसिया। त्यहाँको बाली प्रायद्वीप नेपालीले बिदा मनाउन रुचाउने स्थान हो। त्यहाँ हनिमुनका लागि थुप्रै नेपाली पुग्ने गरेका छन्। 

तर, इन्डोनेसिया हिजोआज मानव तस्करीको ट्रान्जिट बन्न थालेको छ ।  वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अस्ट्रेलिया पुर्‍याउने प्रलोभन देखाउँदै इन्डोनेसिया लगी बन्धक बनाएर तस्कर र ठगहरूले पैसा लुट्ने घटना बढ्दै गएको प्रहरी बताउँछ। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले इन्डोनेसिया बसी मानव तस्करी र ठगी धन्दा चलाउने एक जोडीसहित छ जनालाई पक्राउ गरेको बताए। ‘उनीहरूले अस्ट्रेलिया पुर्‍याउने भन्दै इन्डोनेसिया लगेर बन्धक बनाउने र लुट्ने गरिएको देखिएको छ,’ थपलियाले भने, ‘यसका मुख्य नाइके पर्वतका शर्मा र भारतीय नागरिक परषोत्तम लाल हुन्।’ 

इन्स्पेक्टर नानीकाजी थापाले अनुसन्धान भइरहेको बताए। ‘अस्मिराले अस्ट्रेलियामा छु भन्ने र शिवले यहाँबाट मानिसहरू बोलाउने गरेका रहेछन्,’ उनले भने, ‘उनीहरू इन्डोनेसियामा हुन्थे तर एउटा एपको सहायताले उनीहरू अस्ट्रेलियामा भएको भ्रम पार्थे।’ 

भारतीय नागरिक परषोत्तम लाल सन् २०१४ देखि इन्डोनेसियामा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। ‘शिव र परषोत्तम मिलेर अस्ट्रेलिया पठाउँछु भन्दै बोलाएका मानिसको पैसा हिनामिना गर्ने रहेछन्,’ इन्स्पेक्टर थापाले भने, ‘त्यसपछि शिव र परषोत्तमले पीडितलाई नै ‘तेरो कोही छ भने बोला, उसको पैसामा तँलाई अस्ट्रेलिया पठाइदिन्छु’ भनेर एजेन्ट बनाउने गरेको पाइएको छ।’ 

अमृत आफैँ पीडित हुन्। तर, अभियुक्त भएकाले शिव र परषोत्तमविरुद्ध जाहेरी दिएका छैनन्। ‘अमृत अभियुक्तसँगै पीडित पनि हुन्,’ इन्स्पेक्टर थापाले भने, ‘उनलाई फसाउनेहरू ‘त्यो तेरो आफ्नै व्यवहार हो’ भनेर पन्छिएका छन्। तर, उनले उनीहरूकै दबाबमा त्यो काम गरेको हुन सक्छ।’

अनुसन्धानमा कठिनाइ

मानव बेचबिखन ऐनले फकाएर, प्रलोभनमा पारेर, झुक्याएर, करकापमा पारेर वा जबर्जस्ती शरीर बन्धक राखेर लगेकोलाई मानव बेचबिखन भनी परिभाषित गरेको छ। ‘पीडितहरू यहाँबाट जाँदा आफैँ भिजिट भिसामा डलर साटेर घुम्न गएका छन्,’ इन्स्पेक्टर थापाले भने, ‘यतिबेला हामीलाई अनुसन्धान अगाडि बढाउन गाह्रो पर्छ। पहिलो कुरा त उनीहरूलाई जबर्जस्ती गर्‍यो भन्ने कुरा स्थापित गर्नै गाह्रो हुन्छ।’ पीडित र पीडकबीच अधिकांश कुराकानी मोबाइलको माध्यमबाट हुने उनले बताए। ‘उनीहरूबीच भएको कुराकानीको रेकर्ड मोबाइलमा हुन्छ,’ उनले भने, ‘मोबाइल र च्याटमा भएका कुराहरू डिलिट गर्नेबित्तिकै रिकभर गर्न गाह्रो हुन्छ। त्यस्तै, अधिकांश कारोबार हुन्डीबाट हुने भएकाले पनि अनुसन्धान गर्न गाह्रो छ। दिनेले दिएको हो भन्छ। केही प्रमाण नहुने भएकाले लिनेको मुखबाट ‘लिएको हो’ भन्ने शब्द निस्किँदैन।’ 

यस्ता केसमा अनुसन्धानमा विभिन्न बाधा आइपर्ने इन्स्पेक्टर थापाले बताए। ‘पीडितको बोलीको आधारमा अनुसन्धान गर्नुपर्छ,’ उनले भने, ‘घटना भएको ठाउँमा गएर प्रतिवादी भेट्न गाह्रो छ। पीडितले एउटा कुरा गर्छ, पीडकले अर्को। धोकापूर्ण तरिकाले लगिएको हो भनेर पनि प्रमाणित गर्न गाह्रो भए पनि हामी विभिन्न उपाय लगाएर अपराधीलाई कानुनको कठघरामा ल्याउँछौँ।’ 


‘अस्ट्रेलियाको आशले इन्डोनेसियामा बिचल्ली’ 

प्रहरी उपरीक्षक गोविन्द थपलिया, प्रवक्ता, मानव बेचबिखन अनुसन्धान ब्युरो

आजभोलि धेरै नेपाली इन्डोनेसिया घुम्न जान्छन्। तर, यो देश अहिले मानव तस्करी गिरोहको ट्रान्जिट बन्न थालेको छ । अस्ट्रेलिया पुर्‍याउने भन्दै इन्डोनेसिया लगेर धेरैलाई बन्धक बनाउने र लुट्ने गरेको पाइएको छ। त्यहाँ पुगेर अलपत्र परेका, लुटिएका र बन्धक बनेका धेरैलाई हामीले उद्धार गरेका छौँ। पीडित र पीडक गरेर अहिले एक दर्जनजति मानिस फेला परेका छन्। 

अहिलेका युवामा अस्ट्रेलिया जाने होडबाजी चलेको छ। अस्ट्रेलियाको प्रलोभन देखाउने दलालहरू पनि बढेका छन्। एकै जनाबाट २०–२५ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। अस्ट्रेलियाको आशले इन्डोनेसियामा थुप्रै नेपालीको बिचल्ली भएको छ। 

पीडितको अधिकांश पैसा हुन्डीबाट गएको छ। बैंकिङ च्यालनलबाट कारोबार भएको देखिँदैन। यसमा मानिस किनेको वा बेचेको प्रमाण देखाउन मिल्दैन। नमिल्नेबित्तिकै यस्ता केसले कानुनलाई मानव बेचबिखन तथा तस्करीमा समेटको छैन। यसकारण अदालतसम्म पुग्दा यस्ता केस कमजोर हुन्छन् र पीडकहरू सामान्य धरौटीमा छुट्छन्। 

तर, वैदेशिक रोजगारीका नाममा अलपत्र बनाउनेलाई मानव बेचबिखनमा राख्नुपर्छ। देशका धेरै सोझासाझा युवा यसै गरी ठगिँदै आएका छन्। विदेश लगेर अलपत्र पार्नु र शर्तबमोजिमको काममा नलगाउनु पनि मानव बेचबिखन नै हो। 


‘प्रलोभनमा फस्नु नै गल्ती हो’ 

भोलानाथ गुरागाईं, निर्देशक ,वैदेशिक रोजगार विभाग 

पैसा बोकेर घुम्न गएका व्यक्तिहरू वैदेशिक रोजगारीभित्र पर्दैनन्। हामी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ–दिदीबहिनीको समस्या हेर्छौं। उनीहरूको श्रम–सम्झौताबमोजिम काम भए-नभएको, कुनै दुर्घटना भएको, भनेअनुसार सेवा–सुविधा वा तलब पाए-नपाएको पनि हेर्छाैं। त्यसबाहेक भिजिट, स्टुडेन्ड, बिजनेस वा अन्य कुनै बहानामा कुनै देश गएर त्यहाँको चंगुलमा फस्नेहरूको हकमा हामीलाई केही पनि गर्ने अधिकार छैन। त्यसका लागि अहिले प्रहरीले ‘मानव तस्कर युनिट’ बनाएको छ। त्यही युनिटले हेर्छ। उद्धारको काम कन्सुलर सेवा विभागले गर्छ। त्यस्तै, यसको जिम्मेवारी विदेशस्थित नेपालको कूटनीतिक नियोगले लिएको हुन्छ। नेपालको कुनै पनि सरकारी-गैरसरकारी माध्यमबाट यी संस्थासम्म सूचना पुगेर सम्पर्क भयो भने पीडितलाई सहयोग मिल्न सक्छ। वैधानिक च्यानलबाट जानेको हकमा ती संस्थाले जति सजिलै समन्वय गर्छन्, अवैध तरिकाले जानेका हकमा त्यसो गर्न सम्भव हुँदैन। 

आफूखुशी, अरूले भनेको भरमा गएर ‘भनेको जस्तो काम पाइनँ, दुःख पाइयो’ भन्नेको कुनै औषधि छैन। प्रलोभनमा फस्नु नै गल्ती हो। वैदेशिक रोजगार विभागमा पनि कहिलेकाहीँ यस्ता केस आउँछन्। तर, वैधानिक च्यानलबाट नआएको भएर हामीले केही गर्न सक्दैनौँ। मानव बेचबिखन अनुसन्धान ब्युरोसँग मिलेर हामीले पाएको सूचना उहाँहरूलाई दिएर सहयोग गरेका छौँ। हामीले गर्न सक्ने यत्ति हो। 

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० वटा देश खुला गरेको छ। व्यक्तिलाई पठाउने इजाजत दिएको छैन। व्यक्तिको भर परेर कोही पनि विदेश जानु हुँदैन। संस्थामार्फत जानुपर्छ। नेपाल सरकारले कानुन बनाएको छ। कानुनको पालना गर्नु प्रत्येक नेपालीको कर्तव्य हो। नेपाल सरकारको कानुन चाहिँ फलो नगर्ने, अनि अप्ठ्यारो परेको बेला गुहारेर न्याय पाइँदैन। नबुझीकन विदेशिनेहरूको यसमा गल्ती छ। पीडितहरू बकाइदा स्वेच्छाले गएको देखिन्छ। एयरपोर्टमा इमिग्रेसनले सोध्दा ‘घुम्न हिँडेको’ भनेर विदेश जानेलाई ‘ह्याभ ए नाइस जर्नी’ बाहेक के भन्न सकिन्छ र ?

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि