चित्र, संगीत र स्वाद

writer

सम्पूर्ण

शुक्रबार, २७ भदौ २०७६


मनोज नेपाल

ललितपुर, पुल्चोकस्थित साझा पेट्रोल पम्पको अपोजिटतिर छ, ‘विकल्प आर्ट क्याफे’। धेरेको लन्च स्टेसन बनेको छ, यो रेस्टुरेन्ट। पाँच वर्षअघि खुलेको विकल्पका सञ्चालक हुन्, सरोज महतो। कोरियाबाट भिडियो एन्ड फाइन आर्टमा मास्टर्स गरी फर्किएका उनी फिल्म मेकर पनि हुन्। आर्टमा निकै रुचि राख्छन्। ‘पृष्ठभूमि आर्ट भएकाले क्याफेको नाम विकल्प आर्ट क्याफे राखेँ,’ उनी भन्छन्। ग्राहकलाई अनौठो स्वाद दिन सोमबारदेखि शुक्रबारसम्म ह्याप्पी लन्च आवर राखेको महतो बताउँछन्। ‘१२ देखी ३ बजेसम्म ह्याप्पी लन्च खुवाउँछौँ,’ उनी भन्छन्, ‘१ सय ५० रुपैयाँमै फ्राइड राइस, मःमःलगायत परिकार ग्राहकले खान पाउँछन्।’ 

रेस्टुरेन्टले बढीजसो कन्टिनेन्टल परिकार पस्कने गर्छ। भेज-ननभेज ग्रिल्ड आइटम ग्राहकले बढी रुचाउने महतो बताउँछन्। ‘ग्राहकले यहाँ लाइभ म्युजिकको मजा पनि लिने गर्छन्,’ उनी भन्छन्, ‘शुक्रबार लेडिज नाइट भएकाले लेडिजलाई विशेष प्राथमिकता दिइन्छ। शनिबार पनि ग्राहकलाई फरक–फरक थिममा लाइभ म्युजिकको रमाइलो दिने प्रयास गर्छौं।’ 

विकल्पमा हरेक महिना कला प्रदर्शनी पनि हुने गर्छ। ‘हरेक हप्ता विभिन्न कल्चरल डकुमेन्ट्रीका साथमा ताजा र स्वच्छ खानाको स्वाद लिन सकिन्छ,’ उनी भन्छन्, ‘१५ प्रतिशत छुटसहितको प्रिभिलेज कार्डको व्यवस्था पनि छ।’ 

रेस्टुरेन्टका सेफ हुन्, मधु चौधरी। रेस्टुरेन्ट क्षेत्रमा उनको १५ वर्षको अनुभव छ। ‘हामीकहाँ कुकिङ अइलमा ओलिभ र भुटेको तोरीको तेल प्रयोग गरिन्छ,’ उनी भन्छन्, ‘एक पटक फ्राई गरेको तेलमा अर्को पटक खानेकुरा फ्राई गरिँदैन।’ ग्राहकको स्वास्थ्यलाई ख्याल गरी स्वास्थ्यवद्र्धक खानेकुरा बनाउने उनी बताउँछन्।

‘ताजा र राम्रो सागतरकारी प्रयोग गर्छौं,’ सेफ चौधरी भन्छन्, ‘सडेगलेका सामान प्रयोग गर्दैनौँ।’ सिलेन्ट्रो लाइम चिकेन, ओभन बेक्ड, स्पाइसी विङ्स, क्रिस्पी फिङलगायत यहाँ खान पाइन्छ। त्यस्तै, मेक्सिकन डिसमा भेज तथा ननभेजमा टकोज, टोर्टिल्ला, टोस्टाडाजस्ता स्वादिष्ट परिकार चाख्न पाइन्छ। मेन कोर्समा रोजमेरी गार्लिक चिकेन, रोजमेरी पोर्क चप, चिकेन साल्टिमबोका आदि छन्। सय जनाभन्दा बढी मानिस अटाउने हल रेस्टुरेन्टमा छ।

तपाईको कमेन्ट

मुख्य समाचार