‘फ्लप फिल्मप्रति दोब्बर आभारी छु’

writer

सामीप्यराज तिमल्सेना

शुक्रबार, २७ भदौ २०७६


‘मेरो एउटा साथी छ’, ‘मेरो लभस्टोरी’ जस्ता फिल्ममा सानो भूमिकामा देखिएका दयाहाङ राईलाई ‘दासढुंगा’ले प्रतिभाशाली अभिनेताका रूपमा स्थापित गरायो। त्यसपछि आएको ‘लुट’ले उनलाई लोकप्रिय कलाकार बनायो। त्यसको केही वर्षपछि आएको ‘कबड्डी’ उनलाई स्टार बनाउने फिल्म थियो। अहिले यही फिल्मको तेस्रो भाग प्रदर्शनको तयारीमा छ। दया अहिले यो फिल्मको प्रचार त गरिरहेका छन् नै, सँगै ‘सेन्टिभाइरस’को सुटिङ र मण्डलामा चलिरहेको नाटक ‘महाभोज’ पनि एकसाथ अभिनय गरिरहेका छन्। नाटक र सिनेमाका दोभान दयासँग सामीप्यराज तिमल्सेनाले खुलस्त संवाद गरेका छन्। 


 एक साथ तीनतिरको मोर्चा सम्हालिरहनुभएको छ। व्यस्तता अलि बढी नै भएन?

यो पालि त्यस्तै पयो। खासमा ‘सेन्टिभाइरस’को सुटिङ साउनमै गर्ने कुरा थियो। तर, तयारी नपुग्दा भदौबाट सुरु भयो। ‘महाभोज’ त धेरै पहिलादेखि नै सेड्युल भएको नाटक थियो। यो पनि गर्नैपर्‍यो। ‘कबड्डी ३’ को प्राविधिक काम मात्र बाँकी थियो। अभिनेताका रूपमा प्रचारमा हिँड्नेबाहेक अरू काम थिएन। त्यो त दिनभर हिँडेर बेलुका नाटक गर्न भ्याइहालिन्थ्यो। अलि दौडधूप चाहिँ ‘सेन्टिभाइरस’का कारण भयो। अझ पहिले त यसको सुटिङ पनि ललितपुरतिर गर्ने कुरा थियो। आधा घण्टामा मज्जाले आउन÷जान भ्याइन्थ्यो। तर, अहिले काभ्रे पुगेपछि अलि गाह्रो भयो। 

नाटकमा एउटा चरित्र, फिल्ममा अर्कै चरित्र। एकसाथ काम गर्दा नाटक र फिल्म दुवैलाई अन्याय गरेजस्तो लागेको छैन?

सैद्धान्तिक रूपमा हेर्दा यस्तो गर्न नहुने हो। तर, यसले अप्ठ्यारो पारेजस्तो चाहिँ लागेको छैन। नाटकमा मेरो धेरै रोल छैन। अनि, सुटिङमा व्यस्त भएको दिन बुद्धि तामाङ र मैले आलोपालो गर्ने गरेका छौँ। म व्यस्त भएको दिन बुद्धि तामाङले गर्छन् र बुद्धि व्यस्त भएको दिन मैले। 

भनेपछि नाटकको भोक बाँकी छ? 

त्यही नै हो। आजभोलि धेरै समय सिनेमासँग बिताउँछु। नाटकमा जोडिइरहने लोभ हो। 

तपाईं खासमा काठमाडौँ केका लागि आउनुभएको थियो? सिनेमा वा नाटक?

रेडियो नाटक। मैले कहिल्यै पर्दाअगाडि यसरी अभिनय गर्नेबारे सोचेको थिइनँ। अभिनय गर्ने रहर सानो छँदा नै थियो तर पर्दापछाडि मात्र सीमित हुन चाहन्थेँ। रेडियो नाटकमा जस्तो मेरो आवाज सबैले सुनून्, मेरो नाम होस् तर कसैले पनि नदेखून् भन्ने चाहन्थेँ। 

के यो बाल्यकालमा रेडियो सुन्नुको प्रभाव थियो?

हो। भोजपुरको खावा भन्ने गाउँमा जन्मिएको हुँ म। भोजपुरको सदरमुकामबाट तीन घण्टामा पुगिन्छ त्यहाँ। मनोरञ्जन वा सूचना दुवैको एक मात्र स्रोत रेडियो नेपाल थियो। तर, बाल्यकालमा मेरो ध्यान रेडियो नाटकले तान्यो। जीतेन्द्र महत ‘अभिलाषी’, मदनदास श्रेष्ठ आदिको आवाजमा नाटक आउँथ्यो। मेरो सपना उहाँहरूले जस्तै रेडियो नाटक खेल्ने थियो। 

फिल्मबारे उत्सुकता थिएन? 

सिनेमासँग पनि मलाई रेडियोले नै परिचित गराएको हो। त्यो चाहिँ गीतमार्फत। म रेडियो असाध्यै सुन्ने। यसमा अरू गीतसँगै सिनेमाका गीत पनि बज्थे। यो शब्दसँग यसरी नै परिचित भएँ। तर, सिनेमा हेरेको चाहिँ अलि पछाडि नै हो। 

पहिलोपल्ट कुन सिनेमा हेर्नुभएको थियो? 

राजेश हमालको ‘कसम’ । घरबाट बजूकोमा सदरमुकाम आएको थिएँ। उहाँले हामी सबै भुरालाई लिएर जानुुभएको थियो। 

कस्तो थियो अनुभव?

फिल्म त याद छैन, तर फिल्म हेर्नुअघि पर्दाले तान्यो। त्यो हाइभिजन हल थियो। भित्र बसेपछि अगाडिको सेतो पर्दामा केही घुमिरहेको थियो। म त फिल्म नै यही होला भन्ने सोचिरहेको थिएँ। तर, केही बेरपछि चाल पाएँ, पर्दामा देखिएको चित्र त घुमिरहेको पंखाको रहेछ। तर, जब फिल्म सुरु भयो, अगाडि पर्दामा भन्दा मेरो ध्यान पछाडि थियो। ठ्याक्कै टाउको माथिबाट रेजहरू गइरहेका थिए र पर्दामा विलीन भइरहेका थिए। मलाई त फिल्मले भन्दा यसले कौतूहल जगायो। ती रेज कसरी पर्दामा ठोक्किएपछि चित्रमा रूपान्तरण भइरहेका छन्, बसुञ्जेल मेरो ध्यान त्यता मात्र थियो। पछि मैले घर गएर पनि टर्चमा के–के गरेर त्यस्ता रेज निकाल्ने प्रयास गरेँ। धेरै समयसम्म पनि हलमा जाँदा मेरो ध्यान प्रोजेक्टर रुम र यिनै रेजमा हुन्थ्यो। यही उत्सुकताले फिल्म हेर्ने लत बस्यो। एसएलसी सकेर कलेज पढ्न सदरमुकाम बस्दा खूब फिल्म हेरियो। हिन्दीमा चाहिँ ‘लाडला’ भन्ने फिल्म हेरेको याद छ। ‘टाइटानिक’ पनि मैले यतिबेलै हेरेको हुँ। पछि हल बन्द भएपछि भने डेक भाडामा लिएर पनि फिल्म हेरियो। 

यति धेरै फिल्म हेरिसकेपछि चाहिँ हिरो बन्न मन लाग्यो? 

एक मनमा पनि हिरो बन्छु भन्ने थिएन। मलाई त अभिनय गर्न सक्छु भन्ने विश्वासै थिएन। अलि–अलि विश्वास थियो भने पनि राजेश दाइको एउटा फिल्मको सुटिङ हेरेपछि टुट्यो। २०५८ सालतिर होला दमकमा ‘ठूल्दाइ’ भन्ने फिल्मको गीतको सुटिङ हेरेको थिएँ। पछि म बुद्धनगर बस्थें, राजेश दाइकै ‘यस्तै रहेछ जिन्दगी’ शीर्षकको फिल्मको सुटिङ रहेछ। नजिकबाट हेरेँ। मान्छे–मान्छे थिए। राजेश दाइले बिहेमा बहिनी अन्माउने सिन थियो। ओके हुन धेरै समय लाग्यो। एक त सिनेमा खेल्ने सपना थिएन। यदि थियो भने पनि त्यो दिनको सुटिङ देखेपछि त्यो सपना सदाका लागि मर्‍यो। मेरा लागि नाटक नै ठीक छ भन्ने लाग्यो।

तर, घुमिफिरी सिनेमामै आउनुभयो? 

आएँ। अब त्यस्तै जुरेको रैछ। नाटकमा केही समय बिताएपछि यसले मलाई आत्मविश्वासी बनायो। 

नाट्य यात्रा चाहिँ सजिलै थियो? 

नाटक पनि सजिलो थिएन। भोजपुरबाट काठमाडौँ आउँदासम्म पनि मैले नाट्य क्षेत्रको कोही पनि चिनेको थिइनँ। त्यसैले कहाँ जाने, के गर्ने, केही थाहा थिएन। एक दिन राष्ट्रिय नाचघरमा नाटक हुन्छ भन्ने थाहा पाएँ। पढाइ हुन्छ भन्ने पनि थाहा भयो। तर, म पुग्दा कोटा पुगिसकेको रहेछ। अर्को पल्ट कहिले खुल्छ भनेर राम्ररी सोधेर आएँ।  

अनि?

केही समयपछि फेरि नाचघर गएँ। तर, यो पटकको आवेदन सिकारुका लागि हैन, एउटा–दुइटा काम गरिसकेका अनुभवीका लागि वर्कसप रहेछ। नाटकको नाममा ‘न’ पनि नगरेको मेरो चान्स थिएन। तर, फेरि अर्को पटक आवेदन खुल्ने मसँग धैर्य थिए। एक दिन जीएमसँगै कुरा गर्छु भनेर उहाँको कोठा गएँ। हरिहर शर्मा जीएम हुनुहुन्थ्यो। उहाँलाई छोटकरीमा आफ्नो रुचि सुनाएँ। उहाँले कड्केर सोध्नुभयो, ‘नाटक गर्न आउँछ?’ मैले सानो स्वरमा भने, ‘मौका पाए सिक्थेँ, सर।’ उहाँले फेरि सोध्नुभयो, ‘सिकेर के गर्छौ?’ फ्याट्ट मुखबाट निस्कियो, ‘भोजपुर गएर नाटकघर खोल्छु, सर।’ उहाँ मुसुक्क हाँस्नुभयो। ‘ल पर्सि लिस्ट हेर्नू,’ यसो भन्दै उहाँले मलाई बिदा गर्नुभयो। नभन्दै वर्कसपमा सहभागी हुनेहरूको लिस्टमा मेरो पनि नाम रहेछ। यही वर्कसपले हो आजको दया बनाएको।

के भयो वर्कसपमा त्यस्तो? 

खासमा यो वर्कसप थिएटरमा काम गरिसकेका कलाकारका लागि थियो। कलाकार प्रकाश घिमिरे, खगेन्द्र लामिछाने र निर्देशक सुदर्शन थापा पनि वर्कसप लिन आएका तर सबै पहिला नाटक गरिसकेका थिए। मैले मात्र केही गरेको थिइनँ। अनुप बराल सरले पढाउनुहुन्थ्यो। एक दिन अनुप सरले इम्प्रोभाइजेसनको क्लास लिइरहनुभएको थियो। सबैले केही न केही गर्नुभयो। मेरो अगाडि साइनपेन थियो। मैले त्यो साइनपेनलाई चुरोट बनाएर चुरोट खाएको अभिनय गरेँ। अनुप सर पनि खुशी हुनुभयो। तर, पछि भन्नुभो, ‘चुरोट त मज्जाले तान्यौ, तर खै सल्काएको?’ ‘धत् हो त !’ यो घटनाले मलाई ठूलो आत्मज्ञान प्राप्त भयो। नाटकमा ‘डिटेलिङ’को भूमिका थाहा भयो। वर्कसप सकिँदासम्म बिलकुलै काँचो दया, ढाँचामा ढल्न हिम्मत जुटाउने भइसकेको थियो। यो समयमा प्रकाश घिमिरे दाइले पनि खुब हेल्प गर्नुभयो। 

फिल्म गर्ने आत्मविश्वास चाहिँ कहिले आयो? 

त्यसको पनि माथिको जस्तै घटना छ। वर्कसपपछि सुदर्शन थापा र म नजिक भयौँ। उसबेला भिडियो फिल्मको जमाना थियो। एक दिन सुदर्शनले आफू हिरो भएको भिडियो फिल्ममा उसको साथीको रोलमा रिकमन्ड गरे। प्रदर्शनीमार्गको तरकारी बजारमा सुटिङ थियो। त्यहाँ बस्नेलाई प्रश्न सोध्ने मेरो सिन थियो। पहिलो पल्ट क्यामरा फेस गरेको, कहाँ के गर्ने, केही थाहा थिएन। प्रश्न त सोधेछु, त्यसपछि नबिसाई क्यामरातिर हेर्न थालेछु। ‘मोक्ष’ नामको त्यो फिल्म पछि पूरा त बनेन तर निर्देशक तेजेन्द्र शेरचनले अभिनयमा ‘होल्ड’को मतलब र क्यामरासँगको सम्बन्धका बारेमा सम्झाउनुभयो। यसपछि हो, मलाई ‘अभिनय पनि गर्न सक्छु हौ, गाँठे’ भन्ने भएको। यही आत्मविश्वासले पछि मैले ‘दलन’ टेलिसिरियल, ‘दासढुंगा’, ‘अनागरिक’ आदि फिल्ममा काम गरंँ। 

जति फिल्ममा काम गरे पनि ‘कबड्डी’को काजी तपाईंको पहिचानसँग जोडिएको चरित्र हो। यो कसरी जन्मियो?

यो लेखक निर्देशक रामबाबु गुरुङले जन्माएको पात्र हो। हामीले गरेको एउटा मोबाइल थिएटरको भिडियो एडिट गर्ने सिलसिलामा रामले यो स्क्रिप्ट सुनाए। हाम्रो पहिलो सहकार्य ‘अनागरिक’ च्यारिटी सोमा मात्र सीमित भएको थियो। त्यसैले राम यो पटक अलि व्यावसायिक फिल्म बनाउन चाहन्थे। तर, यसको कथा अलिक युनिक भएको हुनाले म फेस्टिभलतिर पनि पठाउन सकिन्छ कि भन्ने ध्याउन्नमा थिएँ। मैले एक समय अस्कर कलेजका पास आउट विद्यार्थीका लागि थुप्रै फिल्ममा काम गरिदिएको थिएँ। यसमा मीन भामको फिल्म पनि थियो। मीनसँग दिनदिनै भेट हुन्थ्यो र उनको सुरुदेखिकै ध्याउन्न फेस्टिभलमा थियो। हामीले स्क्रिप्टका लागि मीनको सहयोग लिने निर्णय गर्‍यौँ। मिनलाई पनि कन्सेप्ट मन पर्‍यो र काम गर्ने सहमति भयो। तर, यसको केही समयपछि नै मीन व्यस्त भए। लगभग एक वर्ष हामी कुरेको कुरै भयौँ। यही छटपटीमा राम चारपाँच दिन बेपत्ता भए। फोन–सोन केही लागेन। पाँचौँ दिन मण्डलामा भेट्ने म्यासेज आयो। निश्चल बस्नेतसहित हामी सबै जना मण्डलामा भेला भयौँ। रामले स्क्रिप्ट पछार्दै भने, ‘यो फेस्टिभलको पछि लाग्न सक्दिनँ म। बनाउने भए यसमा फिल्म बनाऊँ, नत्र भयो।’ जुन ‘कबड्डी’ बजारमा आयो, त्यसैको स्क्रिप्ट थियो यो।

यो फिल्ममा तपाईंहरू सबैले सेयरमा काम गर्नुभएको थियो। यो रहर थियो कि बाध्यता? 

बाध्यता। निश्चलको ‘लुट’ सुपरहिट भएको थियो तर जति पैसा आउला भन्ने उनले सोचेका थिए, त्यति पैसा आएन। रामसँग १५÷२० लाख थियो। यतिले मात्र सुटिङ गर्न पुग्थेन। त्यसपछि हामीले जसरी पनि फिल्म बनाइछाड्ने निधो गरेर सबैले लगानी गर्‍यौँ। २८ लाखजतिमा सुटिङ सकिएको थियो। रिलिज भएपछि फिल्मले नाफै कमायो। सबैको पैसा कटाएर एडिटिङ डेस्क जोडेका थियौँ। 

‘कबड्डी’ पछि यसको सिक्वेल बनाउनुभयो र अहिले फेरि अर्को भाग प्रदर्शनको तयारीमा छ। तर, हरेक शृंखलामा त्यही कथा दोहोरिएको छ। यस्तो माइलस्टोन फिल्मको सिक्वेल नबनाएको भए हुन्थ्यो भन्ने पनि धेरैको प्रतिक्रिया थियो। तपाईंहरूसम्म यो कुरा आइपुगेन? 

कुरा आइपुगेको हो। तर, फिल्म बनाउँदै कलासँगै अर्थको पनि ख्याल राख्नुपर्ने रहेछ। नढाँटी भन्दा पैसाको लोभले नै दोस्रो र तेस्रो बनाएको हो। तर, यसबाट कमाएको पैसा हामी अर्को ठाउँमा लगानी गर्दैनौं। अरू पनि थुप्रै ‘कबड्डी’ जस्ता कथा भन्न बाँकी नै छन्, जुन भन्नलाई भोलि कसैसँग सम्झौता गर्न नपरोस्। यही कारण सबै कुरा थाहा हुँदाहुँदै पनि ‘कबड्डी’को शृंखला बनेको हो। 

तपाईंलाई के कारणले ‘कबड्डी’ दर्शकले यतिविघ्न रुचाएजस्तो लाग्छ?

व्यक्तिगत रूपमा मलाई काजी र मैयाँको चरित्र चित्रण यसको सबल पाटो होजस्तो लाग्छ। काजीले पुरुष साइकोलोजीको प्रतिनिधित्व गर्छ, अनि मैयाँले महिलाको स्वतन्त्रताको प्रतिनिधित्व गर्छे। दुवैले आफ्नो अस्तित्व रक्षाका लागि लाइन क्रस गर्छन्। ‘कबड्डी’ सारमा आफ्नो लाइन क्रस गरेर अर्काको लाइनमा गएर खेल्ने खेल हो। फिल्ममा पनि काजीले बारम्बार त्यो लाइन क्रस गर्छ। यही खेल नै दर्शकलाई मन परेको हो भन्ने लाग्छ मलाई। 

यो पालि चाहिँ काजीले मैयाँ पाउँछ?

त्यो सस्पेन्स नै छाड्दिऊँ। 

राम्रा फिल्मको पैरवी गर्दागर्दै पनि तपाईं आफैँले चाहिँ पैसाको लोभमा झुर फिल्म खेल्नुभयो भन्ने धेरैको गुनासो छ। कुरा सही हो? 

पैसाका लागि गरिनँ भनेर आदर्शवादी कुरा गर्दिनँ म। हो, केही फिल्म पैसाका लागि पनि गरेँ। केही फिल्म स्क्रिप्टमा सुन्दर हुन्छन्। राम्रो बन्ला भन्ने आशमा गरेँ, कालान्तरमा ती राम्रा भएनन्। केहीसँग एक लट संगत गरिहेरौँ न भनेर पनि गरेँ। कतिलाई नगर्ने मनसायले महँगो पैसा भनेँ तर उनीहरूले मागेजति पैसा दिएर फिल्ममा काम गराए। यस्ता फिल्म पैसाका लागि मात्र गरेँजस्तो भयो। तर, झुर भनिएका फिल्ममा पनि काम गर्दा मलाई एउटा फाइदा नै भयो। मैले जमिन छाड्न पाइनँ। नत्र सबै फिल्म राम्रो मात्र गरेको भए म मात्तिन्थेँ कि? त्यसैले हिट फिल्मप्रति त आभारी छु, नै फ्लप फिल्मप्रति झन् दोब्बर आभारी छु। 

कवि सङ्गीतले तपाईंको दुविधामाथि कविता नै लेखेका छन्। कविताको भावमाथि कत्तिको सहमत हुनुहुन्छ? 

शतप्रतिशत सहमत छु। (हाँस्दै) दयाहाङ राईलाई दुवैतिरबाट खतरा छ। (बक्समा हेर्नुस् कविता )

हेर्दाहेर्दै तपाईं हिरोइनसँग छमछमी नाच्ने पनि हुनुभयो? 

अब नआउनु मैदानमा आएपछि सबै दाउपेच सिक्नैपर्‍यो। यी (पेट देखाउँदै) ! हिरोइनसँग नाच्दानाच्दै मेरो पेट साइजमा आइसक्यो। नाच्दा फिल्म र ज्यान दुवैलाई फाइदा भइरहेको छ। 

अलि अघिसम्म पनि बाहुन–क्षत्री समुदायका हिरो बाहेकले यो लेभलको सफलता कल्पना गर्न गाह्रो थियो? तपाईंले कोर्स नै चेन्ज गरिदिनुभयो।

समाज परिवर्तनको सबैभन्दा ठूलो उदाहरण हो यो। तर, यसको जस मैले मात्र लिन मिल्दैन। म प्रतिनिधि मात्र हो। यसले सिनेमा वा साहित्यले आम मानिसका कथा खोजिरहेका छन् भन्ने संकेत गर्छ। म निमित्त मात्र हो। सर्जकका हिसाबले मलाई यस कुरामा खुशी छ कि यो परिवर्तनले आम मानिसका कथा बाहिर आउने वातावरण बनेको छ। यसले सिनेमा, साहित्य, नाटक सबैलाई पोषिलो बनाउँछ। 

तपाईंले फिल्म निर्देशन गर्ने गाइँगुइँ चलेको लामो समय भइसक्यो। दर्शकले तपाईंले निर्देशन गरेको फिल्म कहिले हेर्न पाउलान्? 

फिल्म निर्देशन गर्ने हो। तर, कहिले गर्ने टुंगो छैन। आन्तरिक तयारी गरिरहेको छु। जति बेला पनि हुन सक्छ। 

अब कुन फिल्म गर्दै हुनुहुन्छ? 

दशैँपछि कवि तथा कथाकार उपेन्द्र सुब्बाले निर्देशन गर्ने फिल्ममा काम गर्छु। निर्देशक दीपेन्द्र लामासँग फेरि काम गर्ने सहमति छ। अनि दीपक रौनियारको फिल्म छ। त्यसको सुटिङ सुरु हुन समय लाग्ला। त्यसपछि साइन गरिसकेका दुइटा फिल्म छन्।  


दयाहाङ राईलाई दुवैतिर खतरा

 

सङ्गीत 

पछाडि हेर अलिकति
पिशाचजस्तो एउटा क्यामेरा
ताकिरहेछ तिम्रै कठालो
अगाडि हेर अलिकति
किन्नरीजस्तो सेक्सी क्यामेरा
पछ्याइहेछ तिम्रै पदचिन्ह

तिमीलाई खतरा छ दुवैतिरबाट
दयाहाङ राई !
के तिमीले हेरिरहेका छौ
दायाँ–बायाँ दुवैतिरका दृश्य?

देखाउँदै तिमीलाई चोर औँलाले
सोधिरहेछ एउटा क्यामेरा मसिनो आवाजमा–
‘यो हो कि होइन कुनै बाबुसाहेबको नाति? 
किन पालिरहेको छैन यसले लामो–लामो कपाल?
यसले दिन्छ कि दिन्न अङ्ग्रेजी साहित्यको गफ?
किन छैन यसको नाक लामो र ज्यान अग्लो?
किन भेटिन्छ यो सडक किनाराका चियापसलमा पनि
र किन हाँस्छ खित्का छाड्दै कविहरूका जोक्स सुनेर?’

तिमीलाई खतरा छ यो फुसफुस आवाजबाट
दयाहाङ राई !
के तिमीले सुनिरहेका छौ
यो स–सानो स्वरभित्र लुकेको ठूल्ठूलो रहस्य?

बोलाउँदै तिमीलाई दाहिने हातले
प्रशंसा गरिरहेछ अर्को क्यामेरा हाँसी–हाँसी
र मस्की–मस्की तिमीलाई दिइरहेछ रातो गुलाब
आँखाको शानले गरिरहेको छ सान्निध्यको आह्वान
दैहिक भङ्गिमाले गरिरहेको छ प्रेमालापको आमन्त्रण
बजाइरहेछ सुस्त–सुस्त कालिदासको कविता
र गरिरहेछ लयात्मक इशारा मायावी मुम्बईतिर

तिमीलाई खतरा छ यो मीठो मुस्कानबाट
दयाहाङ राई !
के तिमीले महसुस गरिरहेका छौ
यो मायाभित्रको मायाजाल?

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि