टेलिभिजनमा ‘माइला दाइ’ प्रवृत्ति

writer

सुरेश पौडेल

शुक्रबार, २७ भदौ २०७६


कुनै बेला काठमाडौँ, बागबजारमा एक जना माइला दाइ थिए। उनी पत्रपत्रिका वितरण गर्थे। पछि उनले ‘सन्ध्याकालीन’ नामक पत्रिका प्रकाशन गर्न थाले। उनको पत्रिकाको समाचार शीर्षक यस्तो हुने गथ्र्यो– ‘बाबुराम भट्टराईकी छोरीद्वारा आत्महत्या।’ समाचार पढ्दा थाहा हुन्थ्यो, ती बाबुराम भट्टराई नेता नभई अर्कै व्यक्ति हुन्।


कुरा चार वर्षअघिको हो। एक रात एउटा निजी टेलिभिजन च्यानलले न्युज फ्ल्यास गर्‍यो– ‘गंगामाया अधिकारीको निधन’। भोलिपल्ट थाहा भयो, गंगामाया जीवितै छिन्। अनशनकै क्रममा उनका श्रीमान् नन्दप्रसाद अधिकारी बितेको धेरै भएको थिएन (उनको शव अझै पनि त्रिवि शिक्षण अस्पतालमा छ)। त्यसैले गंगामाया बितेको समाचार स्वाभाविकैजस्तो लाग्यो। श्रीमान्को वियोग, त्यसमाथि निरन्तर अनशनमै रहँदा पटक–पटक स्वास्थ्य नाजुक बन्दै गएको थियो। ‘अब पनि उहाँले अनशन नतोड्ने हो भने कुनै पनि बेला जे पनि हुन सक्छ’ भन्ने चिकित्सकहरूको बारम्बारको चेतावनीले पनि हुन सक्छ, उक्त दिन केही बढी बिरामी पर्दा सम्बन्धित च्यानलले गंगामायाको निधन घोषणा गर्न उचित सम्झेछ। अर्थात्, फ्ल्यास चलाउँदाचलाउँदै उनको निधन भइसक्नेछ भन्ने प्रबल अनुमान गरियो। किनकि, दर्शकलाई छिटो सूचित गर्नुछ। तर, ब्रेक वा फ्ल्यास चलाउनुअघि अन्य विभिन्न स्रोतबाट त्यसको पुष्टि गर्न, गराउन आवश्यक ठानिएन। 

वास्तवमा भन्ने हो भने यो ‘माइला दाइ’ प्रवृत्ति हो। कुनै बेला काठमाडौँ, बागबजारमा एक जना माइला दाइ थिए। उनी पत्रपत्रिका वितरण गर्थे। पछि उनले ‘सन्ध्याकालीन’ नामक पत्रिका प्रकाशन गर्न थाले, जुन अपराह्नतिर प्रकाशित हुने गथ्र्यो। माइला दाइको सन्ध्याकालीन पत्रिकाको समाचार शीर्षक यस्तो हुने गथ्र्यो– ‘बाबुराम भट्टराईकी छोरीद्वारा आत्महत्या।’ उनका हकर यही लाइन कराउँदै हिँड्थे। बस चढ्न लागेका मानिस हतार–हतार त्यो पत्रिका किन्थे। समाचार पढ्दा थाहा हुन्थ्यो, आत्महत्या बाबुराम भट्टराईकै छोरीले गरेकी थिइन्, तर काभ्रेका बाबुराम भट्टराई। कहिलेकाहीँ पत्रिकामा छाप्ने सामग्री नपुगेर कर्मचारी उनकोमा पुग्दा उनी स्वयं नै समाचार दिने गर्थे। ‘ल, लेख’ भन्दै उनी आफ्ना कर्मचारीलाई समाचार टिपाउँथे– ‘उत्तरी रोल्पामा भिडन्त, दुई ठहरै तीन घाइते। यसबारे फलानो चौकीका डीएसपी फलानोसँग बुझ्दा आफूसँग कुनै जानकारी नभएको बताए।’ माइला दाइबाट यो समाचार टिपिसकेपछि उनका रिपोर्टरले सम्बन्धित डीएसपीलाई फोन गर्दा डीएसपी पनि आफूसँग यसबारे केही जानकारी नभएको बताउँथे। अनि, समाचार छापिन्थ्यो। मतलब युद्धकालीन त्यो समयमा कुनै ठोस जानकारीबिना युद्धका समाचार छापिन्थे। तात्पर्य, बिहान कतै युद्ध नभए पनि दिउँसो भइहाल्छ, समाचार मिलिहाल्छ भन्ने हुन्थ्यो। मृतकको संख्या तलमाथि हुनु ठूलो कुरै हुँदैनथ्यो। आज माध्यम फरक भए पनि माइला दाइ प्रवृत्ति यथावतै छ, भ्रममा पार्ने काम चलेकै छ।  

भ्रम सिर्जना गर्ने प्रवृत्ति

भ्रममा पार्ने गरी टेलिभिजनहरूले आफ्नो ‘एयर टाइम’ दुरुपयोग गरेका अनेकौँ उदाहरण भेटिन्छन्। विशेष गरी निर्वाचनका बेला। मतगणना चलिराखेको हुन्छ, जति मत उम्मेदवारले पाएका हुँदैनन् ‘एक छिनमा पुगिहाल्छ नि !’ भन्ने माइला दाइ मानसिकता निकै हाबी हुने गर्छ त्यतिबेला। च्यानलहरूले तत् समयको वास्तविकभन्दा बढी मत संख्या उल्लेख गरेर ब्रेकिङ वा फ्ल्यास न्युज चलाउने गर्छन्। त्यसैले एउटै उम्मेदवारबारे विभिन्न च्यानलमा ब्रेकिङ वा फ्ल्यास चलाउँदा प्राप्त मत फरक देखापर्ने गर्छ। तर, कति बढी देखाउने भन्नेमा अक्कल नपुर्‍याउँदा कहिलेकाहीँ उक्त क्षेत्रको वास्तविकभन्दा पनि बढी मतदाता च्यानलले नै बनाइदिने गर्छ। अहिलेका दर्शकसँग समाचार थाहा पाउने अनेकौँ माध्यम छन्। हिजोआजका दर्शक त्यस्ता खालका भ्रममा पर्दैनन् भन्ने कुरा टेलिभिजनहरूले बुझ्नुपर्छ। गलत समाचार दियो भने आफ्नै विश्वसनीयता कुना पस्छ र ‘जोकरनीयता’ हाबी हुन्छ।  

उदेकलाग्दो एयर टाइम

भर्खरै तीज सकियो। नेपाली टेलिभिजनहरूमा तीजका अनेकौँ म्युजिक भिडियो प्रसारण भए। धन्य छन्, नेपाली गायक-गायिका, जसले आफ्नै लगानीमा हरेक वर्ष तीजका नयाँ–नयाँ म्युजिक भिडियो बनाउँछन् र टेलिभिजनलाई प्रसारण गर्न दिन्छन्। भनिरहनु परेन, नेपालमा प्रशस्त योग्य म्युजिक भिडियो निर्देशक, छायांकार र सम्पादक छन्। लिखित वा संकलित शब्दलाई संगीतले सजाएर कलाकारले व्यावसायिक स्टुडियोमा रेकर्ड गरेर आएको ‘फाइनल प्रोडक्ट’ त्यो अडियोलाई भिडियो गीतमा रूपान्तरण गर्न पनि त्यतिकै भाँती पुर्‍याएर निर्देशकले पूरै ‘सिक्वेन्स कोरियोग्राफ’ गरेर छायांकन, सम्पादन गरेपछि बल्ल म्युजिक भिडियो तयार हुन्छ। त्यसरी बनेको भिडियो तीज गीत वा अन्य जे भए पनि टेलिभिजनमार्फत प्रसारण गर्दा सम्बन्धित च्यानलकै प्रसारण स्तरीय देखिन्छ। तर, हाम्रो सरकारी टेलिभिजनले यस्ता कुरामा ध्यान दिँदैन। उसका कुनै–कुनै प्रसारण हेर्दा, ‘यस्तो पनि कसरी प्रसारण गर्न सकेको होला’ भन्ने लाग्छ। कुन सामग्री ‘एयरवर्दी’ हो र कुन होइन भनेर छुट्याउन किन नसकेको होलाजस्तो लाग्छ। आफ्नै ढर्रामा चल्दा बेलामौकामा उसले ‘एयर टाइम’ उदेकलाग्दो पाराले दुरुपयोग गरेको देखिन्छ। त्यसका केही दृष्टान्त यहाँ प्रस्तुत गरिन्छ।  

दृष्टान्त १ 

सरकारी टेलिभिजनको ठूलो स्टुडियोमा तीजको गीत घन्काइन्छ र भएभरका महिला कर्मचारी त्यहाँ भेला हुन्छन्। अनि, टेलिभिजनमा अनुहार देखाउने अख्तियारी पाएकासहित लेखा, प्रशासन, सवारी तथा बगैँचा विभागसम्मका सबै महिला कर्मचारी नाच्न थाल्छन्। त्यो महानृत्यमा कोही एकैछिन नाचेर अलप हुन्छन् भने नाच चलिरहेकै बेला कोही त्यसमा मिसिन आउँछन् र नाचिरहेका कसैको कानमा केही भन्छन्, अनि कुरा सुनेपछि ती नाच्दै गरेकी महिला चटक्कै नाच छोडेर हिँड्छिन्। मतलब, कुनै विवाह घरमा रत्यौली खेलेजस्तो, मन लाग्यो नाचेको छ, मन लागेन छाडेर हिँडेको छ। बिना कुनै नृत्य निर्देशक, भद्रगोल तरिकाले नाचेको तथा छायांकन गरेको उक्त भिडियो दर्शकले किन हेर्नुपर्ने? सरकारी टेलिभिजनलाई भ्रम छ, उसका स्टाफको त्यो एरोबिक्समा दर्शकलाई रुचि छ भनेर। भ्रमबाट मुक्त हुनु राम्रो !

दृष्टान्त २ 

एकताका ‘तरकारीवाली’ अर्थात् कुसुम श्रेष्ठ निकै चर्चामा आइन्। विभिन्न च्यानल र युट्युबर उनको अन्तर्वार्ता लिने प्रयासमा लागे। भएको के थियो भने, डोकोमा तरकारी बोकेकी कुसुमका दुई तस्बिर नेपालीलगायत हिन्दी, पाकिस्तानी तथा बीबीसीसम्मका वेबपोर्टलमा छायो। यतिसम्म कि ह्यासट्याग तरकारीवाली ट्रेन्ड चल्यो। यसै क्रममा सरकारी टेलिभिजनले उनको अन्तर्वार्ता गर्ने बाजी मार्‍यो। कुसुमका बाबुका उमेरका देखिने एक जना पुराना पत्रकारले उनको अन्तर्वार्ता लिन थाले। चुक पहिलो प्रश्नबाटै भयो। प्रश्न थियो– ‘आज एकाएक एउटा महिला, बहिनी, तपार्इं क्याम्पस पढ्नुहुन्छ कसरी चर्चामा आउनुभयो?’ कुसुमका दुई वटा फोटो सामाजिक सञ्जालमा भाइरल भएकै कारण उनलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो। 

अर्को प्रश्न– ‘नसोधी फेसबुकमा एकाएक (तस्बिर) हाल्नुको अर्थ के होला?’ यसको उत्तर कुसुमले कसरी दिने? उनले आफ्नो फोटो अपलोड गरेकी थिइनन्। 

प्रश्न– ‘तपाईंको के देखेर तपाईंलाई राम्री भनेको होला?’ यस्ता अप्ठ्यारा लाग्ने खालका प्रश्न कुसुमलाई पटक–पटक सोधियो। 

‘तपाईंको दाँत राम्रो कि नाक, मुख राम्रो कि कुन चाहिँ पक्ष राम्रो?’ लगायत।

कुसुम लजाएको, अकमक्क परेको, उनलाई असहज लागेको प्रस्टै देखिन्थ्यो। 

त्यस्तै, उनी मुग्लिनको कि फिस्लिङको भन्नेमा प्रश्नकर्ताले निकै बेर वाहियातको गलफती गरिरहे। अर्थात्, शून्य गृहकार्यमा अन्तर्वार्ता लिन ती स्टुडियो छिरेका थिए। त्यसमाथि अन्तर्वार्ता दिने पात्रले नबोलिदिँदा प्रश्नकर्ता नै धेरै बोल्नुपर्ने बाध्यता आइलाग्छ र धेरै बोल्दा चाहिने÷नचाहिने सबै सोधिन्छ। राष्ट्रिय प्रसारणको आधा घण्टाको त्यो समय जसरी भए पनि भर्नुपर्ने भएपछि कुसुमलाई पटक–पटक गीतसमेत गाउन भनियो। उनले गाउन अस्वीकार गरिन्। तर, ‘गीत गाउनैपर्छ’ भनेर प्रश्नकर्ताले निकै बेर अड्डी कसिरहे। अन्त्यमा फेसबुकबाट चर्चित भएकोमा उनलाई ‘धेरै–धेरै धन्यवाद’ दिइन्छ। दिनुपर्ने बधाई हैन र? 

यो अन्तर्वार्ता कुन लक्षित वर्गलाई, के कुरामा शिक्षित गर्न लिइएको थियो, अन्तर्वार्ता लिनेले नै जानून्। आफ्नो बुद्धि तथा पौरखले कुनै उपलब्धि हासिल गरेकाहरूका प्रेरणादायी कथा दर्शकसमक्ष प्रस्तुत गर्न अन्तर्वार्ता लिने गरिन्छ। कुसमको हकमा भने सामाजिक सञ्जालको चर्चाबाहेक दर्शकसम्म पुर्‍याउनलायक कुनै उद्यम उनले गरेकी थिइनन्। सरकारी टेलिभिजनले निकै फितलो तथा सुन्नै अप्ठ्यारो लाग्ने प्रश्न गरेर आफ्नो आधा घण्टाको ‘एयर टाइम’ बर्बाद गरेको थियोे। यो अन्तर्वार्ता युट्युबमा सुरक्षित छ, चाहेमा हेर्न सकिन्छ।

दृष्टान्त ३ 

त्यसताका लक्ष्मण हुमागाईं सरकारी टेलिभिजनका महाप्रबन्धक थिए। खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेका उनीमाथि केही अभियोग आइलागे। उनलाई कार्यालय प्रवेशमा रोक लगाउन उनकै सहकर्मी अघि सरे। यसै क्रममा सरकारी टेलिभिजनको प्राइम टाइम समाचारबाट आफ्नै महाप्रबन्धक निलम्बनमा परेको जानकारी दिइयो। राष्ट्रिय महत्त्वका केही समाचार हटाएर आफ्नै महाप्रबन्धक निलम्बनको समाचार सम्बन्धित समाचारवाचकले निकै गर्वसाथ पढे। त्यसका लागि टेलिभिजनले करिब तीन मिनेट खर्च गर्‍यो। त्यसमा दर्शकलाई के चासो? त्यस्तो समाचारले संस्थाकै विश्वसनीयतामा नकारात्मक असर पार्छ भन्ने सामान्य हेक्का पनि नराखी प्रसारण अनुमति दिनु नै उदेकलाग्दो थियो। एयर टाइम दुरुपयोगको भद्दा उदाहरण थियो, त्यो। सामाजिक सञ्जालमा पनि यसबारे असन्तुष्टि पोखिए। त्यसमध्ये थप अन्य दुई बुँदासहित पत्रकार केदार शर्माले सेयर गरेको पत्रकार गजेन्द्र बुढाथोकीको त्यतिबेलाको फेसबुक पोस्ट निकै सान्दर्भिक छ।

दृष्टान्त ४ 

अर्को पनि एउटा उदेकलाग्दो काम सरकारी टेलिभिजनले धेरै वर्षदेखि गर्दै आएको छ। राजधानीबाट प्रकाशन हुने सबै दैनिक अखबार थुपार्ने र दुई जना प्रस्तोताले स्टुडियोमा बसेर मज्जाले भट्याइदिने। अन्तिम उपभोक्ताकहाँ पुर्‍याउन प्रकाशित गरिएका ती समाचारपत्रलाई टीभीले आफ्नो कन्टेन्टको मूल स्रोत बनाउने काम कत्तिको उचित हुन सक्ला? संसारको कुन चाहिँ टेलिभिजनले त्यस्तो गर्छ? प्रसंगवश कहिलेकाहीँ कुनै समाचारपत्रको सन्दर्भ उठाउनु ठीकै होला तर भएभरको अखबार थुपारेर क्यामराअगाडि बसेर पुराणवाचन गर्नुजत्तिको एयर टाइम बर्बादी अरू केही हुन सक्दैन। जब रचनात्मकता रत्तीभर पनि बाँकी रहँदैन, तब गर्ने यस्तै हो।

टेलिभिजन प्रसारकले प्रसारणको हर सेकेन्ड, हर मिनेट महत्त्वपूर्ण बनाउन सक्नुपर्छ। दर्शकका लागि उपयोगी र आफ्ना लागि फलदायी होस् भन्ने ध्येय हुनुपर्छ। टेलिभिजनको कमाइ पैसामा मात्र होइन, दर्शकमा पनि नापिन्छ। जति स्तरीय कार्यक्रम पस्कन सक्यो, दर्शक त्यति नै धेरै कमाउने हो र त्यति नै बढी अर्थोपार्जनको सम्भावना पनि रहने हो। एउटा ‘इनोभेटिभ’ निर्माताले जहिले पनि दर्शकलाई केही नयाँ दिने सोच राख्छ। ‘कामको पनि प्रशंसा होस्, टेलिभिजन विज्ञानको अध्ययनमा पनि केही इँटा थपियोस्’  भन्ने चाहना राख्नुपर्छ। तर, यी चार दृष्टान्तले काम ठीक विपरीत भइरहेको देखाउँछ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि