मायालुको बीचमा बेस्टू

writer

युवराज भट्टराई-मेनुका कोइराला

शनिबार, २१ भदौ २०७६


‘बेस्टू’ अर्थात् बेस्ट फ्रेन्ड, जो प्रेमी वा प्रेमिका हुँदैन तर जोसँग शारीरिक सम्बन्ध पनि कायम हुन सक्छ। 

सन् २०१७ देखि यो शब्द संसारभरि प्रचलनमा आएको थियो। 

नयाँ पुस्ताका प्रेमी–प्रेमिकाको बीचमा एक जना बेस्टू हुन्छ। 

बेस्टूसँग प्रेम हुँदैन तर निकट सम्बन्ध हुन्छ। कहिलेकाहीँ त प्रेमी वा प्रेमिकाले बेस्टूसँग अन्तरंग र ‘फिजिकल’ सम्बन्ध पनि बनाउँछन्। 

शहरमा अचेल यस्तो त्रिकोणात्मक सम्बन्ध र बेस्टूका प्रसंग बाक्लै सुनिइन थालेका छन्।  

०००

२४ वर्षीय सुनीता चौलागाईं (नाम परिवर्तन) पेशाले शिक्षक हुन्। काठमाडौँ, बसुन्धरास्थित एक स्कुलमा पढाइरहेकी उनी सहकर्मी विनोद काफ्ले (नाम परिवर्तन) सँग सम्बन्धमा छिन्। उनी भन्छिन्, ‘ऊ विवाहित हो। तर, पनि ऊ र म दुई वर्षदेखि नजिक छौँ। ऊ मेरो बेस्टू हो।’

सुनीताका प्रेमी छन्। क्यानडामा बस्दै आएका प्रतीक (नाम परिवर्तन)सँग उनी चार  वर्षयता  प्रेम सम्बन्धमा छिन्। दुवैबीच दिनदिनै कुरा हुन्छ र सम्बन्ध पनि सौहार्द छ। यति हुँदाहुँदै पनि उनले विनोदलाई आफ्नो नजिक आउनबाट रोक्न सकिनन्। दिनदिनैको भेटले दुवैलाई नजिक्यायो।  ‘हामी बिस्तारै साथी भयौँ,’ सुनीता भन्छिन्, ‘अहिले एकअर्कासँग सबै कुरा सेयर गर्ने अवस्थामा पुगिसकेका छौँ। ऊ श्रीमतीसँग झगडा हुँदा, मनमुटाव हुँदा मसँग समय बिताउन आउँछ। म पनि आफ्नो प्रेमीको यादले सताउँदा ऊसँग समय बिताउँछु।’

सुनीताले विनोदकी श्रीमतीलाई पनि भेटेकी छिन्। भन्छिन्, ‘उसले मलाई साथी हो भनेर चिनाएको थियो। कहिलेकाहीँ उनीसँग कुरा हुन्छ। दिदी भन्ने गरेकी छु।’ सुनीता विनोद र आफ्नो सम्बन्धलाई बेस्ट फ्रेन्ड अर्थात् बेस्टूको सम्बन्धका रूपमा अथ्र्याउँछिन्। 

तर, सुनीताले विनोदसँगको सम्बन्धलाई धेरै गहिरिएर सोचेकी छैनन्। प्रेमीसँग झगडा हुँदा, भेट्न मन भएर पनि भेट्न नसक्दा, याद आउँदा भने विनोदको साथमा रमाउने गरेकी छिन्। सुनीताको बुझाइ छ, ‘मैले उसलाई प्रेम गरेकी छैन, उसले पनि मलाई प्रेम गरेको छैन। हामीले एकअर्काका आवश्यकता मात्रै पूरा गरेका छौँ।’

एक जनासँग ‘कमिटेड’ हुँदाहुँदै पनि आजभोलि बाहिर सम्बन्ध राख्ने प्रचलन बढिरहेको छ। प्रेमी–प्रमिका हुन् वा विवाहित, नजिकका साथीसँग आवश्यकताबमोजिम सम्बन्ध बनाइरहेका देखिन्छन्। समाजशास्त्रीहरू यसलाई सामाजिक परिवर्तनले निम्त्याएको व्यक्तिगत स्वतन्त्रताको लक्षण मान्छन्। समाजशास्त्री निर्मला ढकाल भन्छिन्, ‘अहिलेको समाज हिजोको जस्तो सम्बन्धको मामलामा दबाब दिने खालको छैन। मानिसले व्यक्तिगत खुशीका निम्ति प्रेमी–प्रेमिका वा श्रीमान्–श्रीमतीबाहेकसँग पनि सम्बन्ध स्थापित गरेको देखिन्छ।’

उता, समाजशास्त्री डा. विश्वकल्याण पराजुली यस्ता सम्बन्धलाई समाज जटिलतातर्फ उन्मुख हुँदाको परिणाम ठान्छन्। भन्छन्, ‘समाज सरलताबाट जटिलतातर्फ उन्मुख भइरहेको हुन्छ। जटिलतातर्फ जाने क्रममा यस्ता घटना र परिवर्तन देखापर्छन्। समाज परिवर्तनका क्रममा आएका यस्ता सन्दर्भ नेपाली सामाजिक संरचनाभन्दा फरक भएका कारण हामीलाई नौला लाग्छन्।’ 

दूरीले निम्त्याएको त्रिकोण

काठमाडौँ, मूलपानी बस्ने २५ वर्षीय दीपेश कार्की ( नाम परिवर्तन) अहिले अर्थशास्त्रमा मास्टर्स डिग्री गरिरहेका छन्। विगत तीन वर्षदेखि उनी प्रेम सम्बन्धमा छन्। उनकी प्रेमिका सरकारी जागिरे हुन्। नेपालगञ्जमा कार्यरत छिन्। दीपेश भन्छन्, ‘प्रेमिकासँग मेरो सम्बन्ध राम्रो छ। ऊबाहेक मेरा अन्य केही महिला बेस्ट फ्रेन्ड छन्।’

आफ्नो संगत केटीहरूसँग बढी भएको उनी बताउँछन्। ‘मेरो साथी–सर्कल नै केटीहरूको छ,’ उनी भन्छन्, ‘प्रेमिकासँग महिनादिनमा एक पटकजसो भेट हुन्छ। कहिलेकाहीँ दुई महिनामा हुन्छ। त्यसैले अरू केटीसँग पनि मेरो सम्बन्ध छ।’ प्रेमिकासँगको सम्बन्ध राम्रो भए पनि दूरीको कारणले अन्य केटीसँग नजिकिनुपरेको उनी बताउँछन्। ‘मसँग नजिक भएका केटीहरूलाई उसले पनि चिन्छे,’ उनी भन्छन्, ‘मैले उनीहरूलाई आफ्नो बेस्ट फ्रेन्ड भनेर चिनाउँछु। उनीहरूसँग म इमोसनल छैन। उनीहरू पनि छैनन्। मात्र फिजिकल निड पूरा गर्छौं। सधैँ प्रेमिकाकै यादमा मात्रै बस्नुपर्छ भन्ने छैन। मनमा त ऊ छँदै छे नि। अरूसँग त बात र रात मात्रै हो।’

काठमाडौँ, चाबहिलकी २५ वषीया रुबिना श्रेष्ठ (नाम परवर्तन) छ वर्षयता प्रेम सम्बन्धमा छिन्। उनी प्लस टू पढ्दादेखि सन्दीप (नाम परिवर्तन) सँग प्रेममा परेकी हुन्। सँगै पढेका उनका प्रेमी हाल अध्ययनको सिलसिलामा अस्ट्रेलियामा छन्। उनी भन्छिन्, ‘ऊ विदेश गएको दुई वर्ष भयो। डिपेन्डेन्टमा म पनि जान खोजेकी थिएँ, तर मिलेन।’ नेपालमा हुँदासम्म राम्रै चलेको थियो, रुबिनाको प्रेम सम्बन्ध। तर, प्रेमी बाहिर गएपछि भने खटपट सुरु भयो। ‘बेला–बेला बिनाकारण सन्दीप रिसाउन थाल्यो,’ उनी भन्छिन्, ‘मलाई अश्लील गालीसम्म गर्न थाल्यो। यही बेला भेट भएको सुबोध (नाम परिवर्तन) सँग म नजिक हुन थालेँ।’ 

सन्दीप अस्ट्रेलिया गएकै वर्ष रुबिनाले सुबोधलाई भेटेकी थिइन्। काठमाडौँ, पुतलीसडकस्थित एक कन्सल्ट्यान्सीकी एकाउन्टेन्ट रुबिनाले सुबोधलाई त्यहीँ भेटेकी थिइन्। ‘मैले काम गर्ने ठाउँमा ऊ पनि काम गर्छ,’ उनी भन्छिन्, ‘सँगै काम गर्ने भएर हामी साथी भएका थियौँ। दिनदिनैको भेट र संगतले सम्बन्ध अर्कै तहमा पुग्यो।’ प्रेमीसँग झगडा हुँदा सुबोधसँग कुरा गरेर रुबिना मन हलुका बनाउने गर्थिन्। ‘मैले उसलाई सबै कुरा भन्न थालेकी थिएँ,’ उनी भन्छिन्, ‘उसले पनि मलाई सम्झाइबुझाइ गथ्र्यो।’

चिनजान भएको छ महिनापछि सुबोधले फेसबुकमार्फत रुबिनालाई प्रेम प्रस्ताव राखे। तर, उनले आफ्नो प्रेमी भएको कारण प्रस्ताव अस्वीकार गरिन्। ‘सन्दीपसँग झगडा हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर, यही एउटा कारणले उसलाई छाड्न सक्दिनथेँ। त्यसैले सुबोधलाई स्विकारिँन।’ तर, प्रेमीसँग खटपट हुँदा भने उनलाई सरक्क सुबोधको प्रस्ताव मानुँजस्तो लाग्थ्यो। उनी आफैँ सुबोधको नजिक जान्थिन्। ‘ब्वाइफ्रेन्डसँग झगडा हुन्थ्यो,’ रुबिना सम्झन्छिन्, ‘तर, टाढा भएको कारण त्यस्तो भएको लाग्थ्यो। उसले पनि मलाई छोड्ने कुरा गरेको थिएन। मैले पनि उसलाई त्यागेर सुबोधलाई आफ्नो बनाउने कहिल्यै सोचिनँ। उसलाई बेस्ट फ्रेन्ड बनाएँ।’

प्रेम सम्बन्धमा नबाँधिए पनि रुबिना सुबोधसँग भावनात्मक र शारीरिक रूपमा  नजिकिँदै गएकी थिइन्। भन्छिन्, ‘उसको प्रस्ताव अस्वीकार गरे पनि हाम्रो मित्रता भने झन्–झन् बलियो हुँदै गएको थियो। यो अर्कै खालको सम्बन्ध थियो। सुबोध र म धुलिखेल र नगरकोट गएर रात बिताउन थाल्यौँ।’ 

रुबिना आफ्नो प्रेम सम्बन्धमा अहिले पनि बेला–बेला दरार हुने गरेको बताउँछिन्। त्यस्तो बेला उनी सुबोधसँग समय बिताउँछिन्। भन्छिन्, ‘ब्वाइफ्रेन्डसँग झगडा हुन्छ। त्यस्तो बेला सुबोधले मलाई सम्हाल्छ।’ 

विभिन्न कारणले एकअर्काको साथमा हुन नपाउँदा भावनात्मक आवश्यकता र शारीरिक सुखका लागि नजिकका मानिससँग सम्बन्ध बन्ने गरेको देखिन्छ। दूरीका कारण प्रेमी–प्रेमिका वा श्रीमान्–श्रीमतीबीच मनमुटाव र असमझदारी हुँदा पनि आफ्नो साथीसँग नजिकिने गरेको थुप्रै उदाहरण भेटिएका छन्। यस्ता सम्बन्ध स्थापित हुनुमा प्रविधिसँगै हाम्रो समाजमा परेको पश्चिमा प्रभावको मुख्य भूमिका रहेको समाजशास्त्री ढकाल बताउँछिन्। भन्छिन्, ‘आजको पुस्ताले यौनलाई संकुचित रूपमा लिँदैन। यसलाई आफ्नो स्वतन्त्रता ठान्छ। शारीरिक सुखका निम्ति उनीहरू सहजै आफ्ना प्रेमी–प्रेमिकाबाहेक अरूसँग पनि सम्बन्ध बनाउँछन्।’ यस्तो अवस्था सिर्जना हुनुमा हामीले हेर्ने फिल्म, सुन्ने गीतदेखि पढ्ने किताबसम्मको प्रभाव जिम्मेवार रहेको उनी बताउँछिन्। ढकाल भन्छिन्, ‘आफ्नो मान्छे नजिक नहुँदा आफ्नो साथीसँग नजिकिएर खुशी लिन्छन्। आफ्नो शरीरमाथिको अधिकार उपभोग गर्छन्।’

‘कति एउटैसँग बस्नु ?’

बैतडीका २६ वर्षीय सुशील (नाम परिवर्तन) एक वर्षअघि जागिरको सिलसिलामा काठमाडौँ आएका थिए। लगत्तै उनको राधिका (नाम परिवर्तन) सँग भेट भएको थियो। त्यसपछि एकअर्कासँग फेसबुकको माध्यमबाट उनीहरू नजिकिन थाले। विवाहित सुशीलको त्यसअघि पनि अरू केटीसँग सम्बन्ध थियो। उनी भन्छन्, ‘अगाडि नै पनि म श्रीमतीको आँखा छलेर अरूसँग सम्बन्धमा थिएँ। अहिले राधिकासँग सम्बन्धमा छु।’

सुशीलको विवाह भएको तीन वर्ष भइसकेको छ। ‘श्रीमतीले अरूसँगको सम्बन्ध थाहा पाए मलाई छाडेर जाने पक्का छ,’ उनले भने, ‘तर, म उसको आँखा छलेर राधिकासँग समय बिताउँछु।’ एक जनासँग मात्र बस्दाबस्दा दिक्क लागेकाले अरूसँग पनि सम्बन्ध बनाएको सुशील बताउँछन्। ‘मेरो प्रेम विवाह भएको हो,’ उनी भन्छन्, ‘दुई वर्षको प्रेमपछि ऊसँग विवाह भयो। अहिले ऊसँग बस्न दिक्क लाग्छ। सधैँ एउटै अनुहार कति हेर्नुजस्तो लाग्छ। त्यसैले केटीलाई बेस्ट फ्रेन्ड बनाउने गरेको छु।’ तर, बेस्ट फ्रेन्डसँग प्रेम नभएको बताउँछन्। भन्छन्, ‘ऊ त मेरो बेस्टू मात्रै हो। मन र तन मिल्ने साथी !’

काठमाडौँ, सरस्वतीनगर बस्ने २५ वर्षीया सरीता तुलाधर (नाम परिवर्तन) विगत चार वर्षदेखि प्रेम सम्बन्धमा छिन्। उनका प्रेमी दुई वर्षयता यूएई, दुबईमा छन्। परिवारमा पनि सबैलाई उनीहरूको प्रेम सम्बन्धबारे थाहा छ। प्रेमी दुबई गएको केही महिनापछि भने उनी आफ्नो छिमेकी दाइसँग नजिकिएको बताउँछिन्। उनी भन्छिन्, ‘उमेरले दाइ भए पनि उहाँ मेरो साथीजस्तै हुनुहुन्छ। उहाँसँग मेरो सम्बन्ध बेस्ट फ्रेन्डको हो।’ बिस्तारै नजिकिँदै गएका उनीहरू आजभोलि भने सबै कुरा साटासाट गर्ने मोडमा पुगिसकेका छन्। तर, सरीतालाई यसमा कुनै पछुतो छैन।  भन्छिन्, ‘ब्वाइफ्रेन्डसँग त विवाह नै गर्ने हो। तर, अहिले भने बेस्टूसँग रमाइलो गर्नुपर्छ।’ सरीताले आफ्नो बेस्टूसँग ‘शारीरिक रमाइलो’ पनि गर्ने गरेकी छिन्।  ‘अब ब्वाइफ्रेन्ड एक वर्षपछि नेपाल आउँछु भनेको छ,’ उनी भन्छिन्, ‘ऊ आएपछि विवाह गर्ने हो। त्यतिञ्जेल बेस्टूसँग समय बिताउँछु। सधैँ ब्वाइफ्रेन्डलाई मात्रै सम्झिएर कहाँ पुग्छ र ?’ 

भक्तपुर, सूर्यविनायक बस्ने १९ वर्षीय विनिता श्रेष्ठ (नाम परिवर्तन) कक्षा १२ मा अध्ययनरत छिन्। बालकुमारीस्थित एक कलेजमा पढिरहेकी उनको आफ्नै कक्षामा पढ्ने प्रेमी छन्। भन्छिन्, ‘मैले उसलाई कलेज पढ्न सुरु गरेपछि चिनेकी हुँ। डेढ वर्ष भयो हाम्रो सम्बन्ध भएको।’

प्रेमीबाहेक विनिताका एक बेस्ट फ्रेन्ड पनि छन्। उनको बेस्टू बाल्यकालका साथी पनि हुन्। भन्छिन्, ‘ब्वाइफ्रेन्डसँग भएको सबै कुरा उसलाई सुनाउँछु। ऊसँग मेरो हरेक कुरा सेयर हुन्छ।’

प्रेम सम्बन्धमा बाँधिएको केही समयपछि नै विनिता र प्रेमीबीच शारीरिक सम्बन्ध  भयो। ‘मैले घरमा कोही नहुँदा उसलाई बोलाएको थिएँ,’ उनी सम्झन्छिन्, ‘त्यही मौकामा पहिलो पल्ट ऊसँग सेक्स भयो। तर, केही समयपछि बेस्ट फ्रेन्डसँग पनि सेक्स भयो। मैले ब्वाइफ्रेन्डसँग सेक्स भएको कुरा बेस्टूलाई पनि भनेकी थिएँ।’ 

आफूलाई प्रेमीको असाध्यै माया लाग्ने विनिता बताउँछिन्। भन्छिन्, ‘मलाई ब्वाइफ्रेन्डको धेरै माया लाग्छ। तर, बेस्टूलाई पनि छाड्न सक्दिनँ।’ विनिताले प्रेमीसँग बेस्ट फ्रेन्डको कुरा गर्ने गरे पनि शारीरिक सम्बन्ध नै भइसकेको भने बताएकी छैनन्। ‘मलाई ब्वाइफ्रेन्डसँगभन्दा बढी बेस्टूसँग सेक्स गर्दा मज्जा लाग्छ,’ उनी भन्छिन्, ‘तर, ऊसँग विवाह गरूँजस्तो चाहिँ लाग्दैन। ऊ त साथी मात्रै हो।  माया त ब्वाइफ्रेन्डकै लाग्छ।’

नयाँ पुस्ता प्रेमी–प्रेमिकाबाहेक अरूसँग पनि सम्बन्ध राख्नुलाई सामान्य रूपमा लिन्छ। उनीहरूको तर्क हुन्छ– ‘आफ्नो शरीरमाथि आफ्नो अधिकार हुनुपर्छ। कोसँग शारीरिक सम्बन्ध राख्ने, कोसँग नराख्ने, त्यो हाम्रो निर्णयमा भर पर्छ।’ आवश्यकता पूर्तिका लागि मात्रै यस्ता सम्बन्ध राख्ने गरेको उनीहरूको मत छ। 

परम्परागत रूपमा सामाजिक अपराधको संज्ञा दिइएको यस्तो सम्बन्धलाई हेर्ने दृष्टिकोण बिस्तारै परिवर्तन भएको बताउँछिन्, समाजशास्त्री ढकाल। भन्छिन्, ‘आफ्नो सुखका लागि उनीहरू अरूसँग पनि सम्बन्ध बनाउँछन्। परम्परागत रूपमा यसलाई सामाजिक अपराध भनिए पनि अहिलेको अवस्थामा यसलाई व्यक्तिगत स्वतन्त्रताका रूपमा लिइएको छ।’ अचेल मान्छेले आफ्नो व्यक्तिगत इच्छालाई बढी महŒव दिन थालेको ढकाल बताउँछिन्। ‘मान्छेहरू आफ्नो इच्छाअनुसार सम्बन्ध बनाइरहेका छन्,’ उनी भन्छिन्, ‘समाजका हिजोका मान्यता र परम्परा तोडेर अगाडि जान खोजिरहेका छन्।’

बेस्टूको कारण टुटेको प्रेम

नवलपरासीका २९ वर्षीय नरेश (नाम परिवर्तन) सात वर्ष दुबई बसेर आए। हाल काठमाडौँ, बालुवाटारमा क्याफे सञ्चालन गरिरहेका उनको एलिसा (नाम परिवर्तन)सँग फेसबुकमार्फत भेट भएको थियो। भन्छन्, ‘मलाई दुबईमा हुँदा फ्रेन्ड रिक्वेस्ट आएको थियो। बिस्तारै कुरा हुँदै जाँदा हामी नजिकियौँ।’

नरेश र एलिसा घण्टौँ कुराकानी गर्थे। सबै कुरा सेयर गर्थे। २०७१ सालमा नरेश छुट्टी लिएर नेपाल आउँदा एलिसासँग भेटे। छुट्टी सकेर दुबई फर्किएपछि उनले एलिसालाई प्रेम प्रस्ताव राखे। ‘दुई वर्षदेखि हामी परिचित थियौँ,’ उनी भन्छन्, ‘मेरो लागि ऊ नै सही मान्छे ठानेर प्रेम प्रस्ताव राखेँ। उसले स्विकारी।’ उनीहरूको सम्बन्ध झन्–झन् गाढा हुँदै गयो। नरेश एलिसालाई महिना-दुई महिनामा उपहार पठाउँथे। 

प्रेम सम्बन्ध सुरु भएको एक वर्षपछि भने एलिसाले नरेशसँग पहिलाजस्तो कुराकानी गर्न छाडिन्। नरेशले कुरा गर्न खोज्दा उनी केही न केही बहाना बनाउन थालिन्। ‘मसँग कुरा गर्न खोज्दिन थिई,’ नरेश भन्छन्, ‘मैले सोचेँ, केही समस्या भएको होला। तर, कारण अर्कै रहेछ।’ नरेशले केही समयपछि चाल पाए,  एलिसा उनीसँगभन्दा बढी आफ्नो बेस्टूसँग रत्तिन थालिछन्। भन्छन्, ‘उसको एक जना साथी थियो। बेस्ट फ्रेन्ड भन्थी। ऊसँग साह्रै निकट हुन थालेकी रहिछ।’ बिस्तारै नरेशले एलिसासँग उनको बेस्टूबारे सोध्न थाले। ‘मैले उसको साथीबारे सोधीखोजी गर्न थालेँ,’ उनी भन्छन्, ‘मलाई त ऊसँगै जीवन बिताउनु थियो। घरपरिवार सबैतिरबाट स्वीकृति पाएको थिएँ।’

नरेश २०७४ सालमा दुबईबाट फर्के। बालुवाटारमा क्याफे खोले। ‘म नेपाल आएपछि सम्बन्ध सुध्रेको थियो,’ उनी सुनाउँछन्, ‘तर, बेस्टूसँग पनि उसको भेटघाट पातलिएन। म क्याफेमा व्यस्त हुन्थेँ। भर्खर सुरु गरेको व्यवसाय थियो। ऊ भने हरेक दिन बेस्ट फ्रेन्डसँग घुम्न जान्थी। ऊसँगै हुन्थी।’

नरेश नेपाल आएको केही महिनापछि एलिसाले नै उनलाई बिहेको प्रस्ताव राखिन्। ‘मैले केही समय पर्ख भनेँ,’ उनी भन्छन्, ‘तर, उसले ढिपी गरिरहेकी थिई।’ आफू वैदेशिक रोजगारीमा हुँदा एलिसा बेस्टूसँग नजिकिएको थाहा पाएका उनलाई अर्काे वज्रपात पर्‍यो। भन्छन्, ‘ऊ त गर्भवती रहिछ। त्यसैले बिहेको जिद्दी गरेकी रहिछ।’ 

आफू दुबईमा हुँदा एलिसाको मामिलामा केही न केही गडबड भएको नरेशलाई लागेको थियो। ‘नजिक छे भन्ने थाहा थियो तर यति धेरै नजिक भइसकेको होला भन्ने लागेको थिएन,’ उनी भन्छन्, ‘ऊ त मसँग लभ गर्ने अनि साथीसँग ‘सब’ गर्ने खालकी रहिछ।’ नरेश आफूले बुनेका सपनाहरू प्रेमिकाको बेस्टूका कारण चकनाचुर भएको बताउँछन्। भन्छन्, ‘मैले ऊसँग थुप्रै सपना सजाएको थिएँ। तर,  बेस्टू भन्नेले सबथोक भताभुंग पारिदियो।’ 

कञ्चनपुरकी २३ वर्षीया रोजिना खड्का (नाम परिवर्तन) पढाइको सिलसिलामा काठमाडौँमा रहँदा उनको भेट काठमाडौँ, माछापोखरीका नितेश महर्जन (नाम परिवर्तन) सँग भयो। साथीको बर्थडे पार्टीमा दुवैको भेट भएको थियो। एक वर्षपछि यी दुई प्रेम सम्बन्धमा बाँधिए। ‘उसको बानी राम्रो थियो,’ रोजिना सुनाउँछिन्, ‘उसले प्रेम प्रस्ताव राखेपछि मैले स्वीकार गरेँ।’ 

ठीकठाक चलिरहेको उनीहरूको सम्बन्धमा एक दिन नितेशकी एक साथी ‘भिलेन’ बनेर आइन्। ‘दुई वर्षसम्म जसलाई नितेशले बेस्ट फ्रेन्ड भनिरहेको थियो, ऊ त ‘बेड फ्रेन्ड’ पनि रहिछे,’ रोजिना भन्छिन्, ‘मैले त साथी नै होला भनेर विश्वास गरेकी थिएँ, तर पछि फेसबुकमा अश्लील म्यासेज देखेपछि झसँग भएँ। मेरा लागि ऊसँग समय हुँदैनथ्यो। सधैँ उसको बेस्टूसँग मात्रै बिजी हुन्थ्यो।’ केही समयपछि आफूले प्रेमीको फेसबुक चेक गर्दा उसकी बेस्टूसँगका अश्लील म्यासेज देखेको बताउँछिन्, रोजिना। भन्छिन्, ‘मैले उसको फेसबुक हेर्दा त्यो केटीसँगको कुराकानी देखेँ। उनीहरूले कैयौँ रात सँगै बिताएका रहेछन्।’ त्यसपछि उनले नितेशसँग सम्बन्ध टुटाइन्। 

बेस्टूसँगको सम्बन्धका कारण टुटेका प्रेम सम्बन्ध थुप्रै छन्। फेसबुकमा निकै चर्चित रहेको पेज ‘नेपलिज टिनएजर्स कन्फेसन’मा दिनहुुँ यस्ता आत्मस्वीकृति आउने गर्छन्। समाजशास्त्री डा. पराजुली आफ्नो प्रेमी वा प्रेमिकाबाहेकसँग स्थापित भएका यस्ता सम्बन्धलाई सामाजिक समस्याका रूपमा लिन्छन्। भन्छन्, ‘अहिले समाज परिवर्तनले यस्ता विकृति ल्याइरहेका छन्। यिनीहरूलाई नयाँ सामाजिक समस्याका रूपमा लिनु आवश्यक छ।’ यस्ता सम्बन्धले समाजमा नकारात्मक तरंग ल्याउने उनको तर्क छ। ‘यस्ता सम्बन्ध कानुनी रूपमा स्वीकृत छैनन्,’ उनी भन्छन्, ‘यिनले समाजमा नकारात्मक असर पुर्‍याइरहेका छन्।’ 

‘अपराधको रूप लिन सक्ने’

समाज परिवर्तनका कारण यस्ता सम्बन्ध निर्माण भएको बताउँछिन्, समाजशास्त्री निर्मला ढकाल। भन्छिन्, ‘प्रेमी–प्रेमिका वा श्रीमान्–श्रीमती हुँदाहुँदै पनि कसैले अन्यसँग राखेका यस्ता सम्बन्धलाई कुन रूपमा हेर्ने भन्ने प्रश्न छ। धार्मिक, नैतिक तथा सामाजिक रूपमा हेर्दा यो नकारात्मक देखिए पनि यसलाई व्यक्तिको स्वतन्त्रताका रूपमा लिनुपर्छ।’ व्यक्तिको इच्छासँग जोडिएर हेर्दा यस्ता सम्बन्धलाई विकासोन्मुख समाजले ल्याएको परिवर्तन भन्न सकिने उनी बताउँछिन्। ‘नयाँ पुस्ताको सोच नयाँ नै हुन्छ,’ उनी भन्छिन्, ‘आफ्नो शरीरमाथि आफ्नो अधिकार हुन्छ भन्ने सोचका साथ उनीहरू हुर्किरहेका छन्। त्यसैले उनीहरू यस्ता सम्बन्धलाई सामान्य ठान्छन्।’ समाज पनि यस्ता परिवर्तनलाई लिएर नकारात्मक हुनुपर्ने अवस्था नरहेको उनी बताउँछिन्। भन्छिन्, ‘यस्तो सम्बन्धलाई विकसित तथा शहरी समाजमा सहजै लिन सकिए पनि ग्रामीण वा विकट क्षेत्रमा भने यसलाई असामान्य मानिन्छ। तर, समग्रमा यस्तो सम्बन्धलाई व्यक्तिले आफूमाथिको अधिकार उपयोग गरेको रूपमा लिनुपर्छ।’ 

तर, समाजशास्त्री डा. विष्णुकल्याण पराजुली भने यसलाई व्यक्तिगत स्वतन्त्रता नभई सामाजिक समस्याका रूपमा लिनुपर्ने बताउँछन्। ‘यी सम्बन्ध नेपाली समाजका लागि नयाँ हुन्,’ उनको विश्लेषण छ, ‘यिनले समाजमा केही न केही नकारात्मक असर पुर्‍याउँछन् नै।’ उनका अनुसार यस्ता सम्बन्धले पूर्वसम्बन्धमा दरार त ल्याउँछन् नै, यिनकै कारण अपराधसम्म हुन सक्ने खतरा पनि रहन्छ।  ‘यस्ता सम्बन्ध समस्या हुन्,’ डा. पराजुली भन्छन्, ‘यहाँ व्यक्तिगत स्वतन्त्रताको कुरा आउँदैन। यी सम्बन्धले भोलि अपराधका रूप लिन पनि सक्छन्।’ 


‘सम्बन्ध व्यक्तिगत स्वतन्त्रताको कुरा हो’   

निर्मला ढकाल

हिजो शारीरिक सम्बन्ध एक जनासँग मात्रै हुनुपर्छ भन्ने सोच थियो। एक जनाबाहेक अरूसँग पनि भए त्यसलाई सामाजिक अपराधकै रूपमा हेर्ने चलन थियो। परिवारको संरचना सामूहिक थियो। छिटो विवाह हुन्थ्यो। छिटो विवाह भएपछि, परिवार एकैठाउँमा भएपछि यौनका कुरालाई निकै गम्भीर रूपमा हेर्ने गरिन्थ्यो। धार्मिक रूपमा पनि यी कुरा महत्त्वपूर्ण थिए। शारीरिक सम्बन्ध केवल एक जनासँग हुनुपर्छ भन्ने सिकाइन्थ्यो। 

तर, अहिले समय र समाज परिवर्तन भइरहेको छ। मानिसको आर्थिकसँगै सामाजिक स्वतन्त्रताको दायरा पनि फराकिलो हुँदै गएको छ। हिजो समाजले जे कुरा सिकाएको थियो, आज त्योभन्दा माथि उठेर मान्छेले आफ्नो व्यक्तिगत इच्छाबारे सोच्न थाल्यो। आफ्नो इच्छालाई बढी प्राथमिकता दिन थाल्यो। जुन मान्यता र परम्परा समाजमा विद्यमान थिए, मान्छे तिनलाई भत्काएर अगाडि जान खोज्यो। यौनलाई व्यक्तिगत खुशी र स्वतन्त्रताका रूपमा हेर्न थाल्यो। 

प्रेमी–प्रेमिका वा श्रीमान्–श्रीमती हुँदाहुँदै पनि मान्छेले अन्यसँग कायम गर्ने यस्तो सम्बन्धलाई कसरी हेर्ने भन्ने प्रश्न छ। धार्मिक, नैतिक तथा सामाजिक रूपमा यो नकरात्मक देखिए पनि यसलाई व्यक्तिको स्वतन्त्रताका रूपमा लिनुपर्छ। व्यक्तिको इच्छासँग जोडेर हेर्दा यसलाई समाजको विकसित स्वरूपले ल्याएको परवर्तन मान्नुपर्छ। 

अर्कातिर, समाजको गतिशीलताले पनि सम्बन्धहरूमा प्रभाव पारिरहेको हुन्छ। हिजो एक जनासँग मात्र सम्बन्ध हुनुमा आजको जस्तो प्रविधि, स्रोत र साधनको अनुपस्थिति एउटा कारण थियो। सामाजिक संरचनाबाहेक यी कुराले पनि प्रभाव पारिरहेका थिए। तर, आज मान्छेका हातहातमा प्रविधि छ, स्रोत र साधन छन्। उसले व्यक्तिगत खुशीका लागि सम्बन्धमा भएको मान्छेबाहेकसँग पनि सम्बन्ध कायम गर्ने गरेको छ। सुरक्षाका हिसाबले पनि (परिवार नियोजनका साधनको उपलब्धता) ले बेस्ट फ्रेन्डसँगको शारीरिक सम्बन्ध कम जोखिमपूर्ण भएको छ। यस्तो सम्बन्धलाई केहीले आवश्यकताका रूपमा लिइरहेका छन्। समाज विभिन्न कुराले प्रभावित भइरहेको छ। हामीले हेर्ने फिल्म, सुन्ने गीत र पढ्ने किताबले पनि समाजलाई विश्वव्यापीकरणतर्फ धकेलिरहेको छ। ‘मल्टिपल रिलेसनसिप’ खास गरी पश्चिमा समाजमा व्याप्त छ। त्यसको प्रभाव हामीकहाँ पनि पर्ने भइहाल्यो।

यस्तो सम्बन्ध अविवाहित र विवाहित दुवैले स्थापित गरेको पाइन्छ। लुकेर वा खुला रूपमा मान्छेहरू बहुसम्बन्धमा रहेका छन्।

सम्बन्धहरू परिवर्तन हुँदै जान्छन्। हिजो बिहे नगरी सँगै बस्ने कुरा सोच्न पनि सकिँदैनथ्यो। तर, आज लिभिङ टुगेदर शहरतिर सामान्य हुन थालेको छ। हिजो सम्बन्ध विच्छेदलाई भयानक कुरो ठानिन्थ्यो, आज साधारण कुरो भएको छ। 

अहिले त आमाबाबुले नै छोराछोरीको प्रेम सम्बन्धलाई सहज रूपमा लिन थालिसकेका छन्। नेपाली समाजको परम्परागत संरचनाअनुसार यस्तो अवस्था सहजै स्विकारिने होइन। तर, अहिलेको सामाजिक परिवर्तनसँगै मान्छेमा आएको आर्थिक तथा सामाजिक स्वतन्त्रताले यी प्रभाव देखिएका छन्। 

अहिले नै यस्ता सम्बन्धलाई नकारात्मक वा सकरात्मक भनेर छुट्याउन सकिँदैन। यौनमा विकास भएको व्यक्तिको स्वतन्त्रताका रूपमा यसलाई लिनुपर्छ। एउटै मान्छेसँग जिन्दगी काट्नुपर्छ वा प्रेमी–प्रेमिकासँग मात्रै शारीरिक सम्बन्ध राख्नुपर्छ भन्ने सोच अहिलेको पुस्तामा छैन।

यस्तो सम्बन्ध स्थापित हुँदा प्रेमी–प्रेमिका बीचको सम्बन्ध भने बिग्रने देखिन्छ। तर, आफ्नो खुशीले आवश्कताअनुसार सम्बन्ध बनाउनेले प्रेमी वा प्रेमिकासँग कुरा नमिल्दा अर्को बाटो अपनाउन सक्छ। यस्तो सम्बन्धलाई स्विकार्न नसक्नेले पनि आफूअनुकूल मान्छे खोजेर नयाँ सम्बन्ध सिर्जना गर्न सक्छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि