स्टाइलिस र स्मार्ट स्कर्ट

writer

आशक्ति फुयाल

शुक्रबार, २० भदौ २०७६


तस्बिरः मनोज नेपाल।

स्कर्ट पहिला पनि फेसनमा थियो। तर, अहिलेका युवतीले फरक किसिमका स्कर्ट रुचाउने गरेका छन्। चेक कपडाका स्कर्ट आजभोलि फेसनमा छन्। हिजोआज बजारमा स्कर्टको माग धेरै भएको काठमाडौँ, कीर्तिपुरमा रहेको ‘फेसन वल्र्ड’ की व्यवसायी लीला महर्जन बताउँछिन्। ‘मैले पसल खोलेको १८ वर्ष भयो,’ उनी भन्छिन्, ‘१८ वर्षमा सबैभन्दा बढी स्कर्ट यसै वर्ष बिक्री भयो।’ उनको पसलमा जिन्स, सादा, चेकलगायत स्कर्टका भेराइटी छन्। ‘सबैभन्दा बढी चेकवाला स्कर्ट बिक्री हुन्छ,’ उनी भन्छिन्, ‘चेक स्कर्ट आएपछि जिन्सको स्कर्टको माग घटेको छ।’

काठमाडौँ, नारायणटार बस्दै आएकी सिन्धुपालचोककी १९ वर्षीया सिन्धु तामाङ आफूलाई स्कर्ट साह्रै मन पर्ने बताउँछिन्। ‘मलाई चेक स्कर्ट साह्रै मन पर्छ,’ उनी भन्छिन्, ‘गाउँमा हुँदा छोटो लुगा लगाउँदा आमाबाले गाली गर्नुहुन्थ्यो। काठमाडौँ आएपछि मात्र स्कर्ट लगाउन पाएँ।’ उनीसँग तीन थरी डिजाइनका स्कर्ट छन्। ‘पहिला जिन्सका स्कर्ट लगाउँथेँ,’ उनी भन्छिन्, ‘अहिले चेक स्कर्ट मन पर्छ।’ 

काठमाडौँ, कीर्तिपुर घर भएकी २२ वर्षीया सुस्मिता नगरकोटी स्कर्ट लगाउँदा आफू फेसनेबल देखिने बताउँछिन्। ‘सबैले लगाएको देख्दा मलाई पनि रहर लाग्यो,’ उनी भन्छिन्, ‘आजभोलि चलेको चेक स्कर्ट खूब मन पर्छ। यो लुगा लगाउन असाध्यै सजिलो छ। प्यान्ट लगाउँदा पसिना आएर हैरान हुन्थेँ, स्कर्ट लगाउँदा सजिलो महसुस हुन्छ।’ साथीहरूसँग घुम्न जाँदा मात्र होइन, सुस्मिताले अफिस जाँदा पनि स्कर्ट लगाउने गरेकी छिन्। ‘स्कर्ट अफिस जाँदा पनि लगाउँछु,’ उनी भन्छिन्, ‘घुँडाभन्दा मुनिसम्मको स्कर्ट अफिसमा लगाउन मिल्छ। सेतो टिसर्टसँग चेक स्कर्ट र हाइहिल लगाएर अफिस जाँदा एकदमै स्मार्ट देखिन्छुजस्तो लाग्छ।’ 

काठमाडौँ, चाबहिलमा रहेको ‘युनिक फेसन कलेक्सन’ का व्यवसायी दिनेश शर्मा पनि अहिले स्कर्टको माग बढेको बताउँछन्। उनले पसल गर्न थालेको पाँच वर्ष भयो। ‘मेरो पसलमा दिनमा १० देखि १५ जना युवती स्कर्ट खोज्दै आउँछन्,’ उनी सुनाउँछन्, ‘सिफन, जिन्स, चेक स्कर्ट खोज्छन्।’ 

बटन भएका, बटन नभएका, लामो, छोटो, बीचमा चिरिएको लगायत थुप्रै डिजाइनमा स्कर्ट पाइने शर्मा बताउँछन्। युवतीहरूले बटन भएको स्कर्ट बढी मन पराउने उनी बताउँछन्। ‘चेक स्कर्ट हेर्दा सिम्पल हुन्छन्, लगाउँदा राम्रो देखिन्छ,’ उनी भन्छन्, ‘गर्मीमा प्यान्टभन्दा स्कर्टले सजिलो हुन्छ। त्यसैले युवतीहरू स्कर्ट मन पराउन थालेका छन्।’ 

गुल्मी घर भई हाल काठमाडौँमा बस्ने २४ वर्षीया मीनकुमारी गुरुङ स्कर्टमा ठाँटिएर हिँड्न मन पराउँछिन्। भन्छिन्, ‘गर्मीमा स्कर्ट लगाउँदा शीतल हुन्छ। गर्मीमा धेरैजसो वानपिस वा स्कर्ट लगाउँछु। आजभोलि स्कर्ट नै बढी लगाउन थालेको छु।’ स्कर्टमा आफू फेसनेबल र स्मार्ट देखिने उनी बताउँछिन्। ‘गर्मीले गर्दा प्यान्ट कतिबेला फुकाल्नुजस्तो हुन्छ,’ उनी भन्छिन्, ‘मलाई त स्कर्ट नै ठीक लाग्छ।’ स्कर्ट लगाउनुका विभिन्न फाइदा भएको उनी बताउँछिन्। ‘जुनै किसिमको रङको जुत्तासँग म्याच हुन्छ,’ उनी भन्छिन्, ‘कन्भर्स, हिल वा फ्ल्याट चप्पल सबैसँग मिल्छ।’ 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि