अभय श्रेष्ठका पाँच कविता

सम्पूर्ण
बिहिबार, १९ भदौ २०७६
सन्देह
यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर
पानीका सुन्दर तालमा देखिने
विविध रङको अस्तित्व
र बादलका टुक्राझैँ
तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर।
अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार
र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर।
तिम्रा सम्मानित गुरुले
मीठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर।
पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर।
सुकरात, माक्र्स र गान्धी
डार्विन, फ्रायड र आइन्सटाइन हुन् तिम्रा सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपदेश, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर।
आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर।
म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेकपटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्बीजको परीक्षा।
जरुरी कुरा
मानिसहरूका वाणीबाट
निस्कने फोहोरजस्तै यो देशमा
धेरैधेरै छन् फजुल कुराहरू।
प्राचीन शहरमा
स्मार्ट सिटीको सपना,
राष्ट्रिय शोकमा
प्रधानमन्त्रीको राजकीय भ्रमण
र, स्वतन्त्र प्रेसको मायाजाल
सबभन्दा खतरनाक कुरा हुन्।
हिलारी क्लिन्टनमाथि
कविहरूको विरुदावलीभन्दा
मननीय कुरा हो पोर्नस्टारको कन्फेसन।
हावाको तरङ्गमा फर्फराउने झण्डाको
छैन कुनै प्रयोजन
शालिकमा चढाइने फूलमाला,
कृष्णभीरलाई सुनाइने कविता
र मानिसहरूका जन्मोत्सव
सबभन्दा व्यर्थ कुरा हुन्।
आशुकविको रोदनभन्दा
श्रुतिमधुर ध्वनि हो बादलको गर्जन।
भोकको महामारीमा
राष्ट्रवादी चिन्तनको छैन कुनै अर्थ।
ढोँगी बाबाको उपदेश
प्रेमीको चेपारो
र, आँशुको व्यापार
सबभन्दा दण्डनीय कुरा हुन्।
वकिलको बोली
सूदखोरको दया
र भारदारको राष्ट्रचिन्ता
सबभन्दा सन्देहास्पद कुरा हुन्।
भलाद्मीको मौनभन्दा
मननीय सूत्र हो पागलको गीत।
साहूजीको दानधर्म
बिचौलियाको वाचा
र, अपराधीको अभयदान
उस्तैउस्तै कुरा हुन्।
कुर्सीमा भृत्यतन्त्रको नाकभन्दा
विदूषकको नाच दर्शनीय कुरा हो।
एक मुठी स्वच्छ हावामा
मानिसलाई सोच्न दिनु
सबभन्दा जरुरी कुरा हो।
पण्डितसँग नगरबधू
कपासजस्तै नरम स्पर्शले
मलाई नर्कमा धकेल्ने उही
मेरो शरीरको रौरव नर्कमा डुब्ने उही
मायाको बतासले बेरेझैँ गरेर
तिरस्कारको कात्रोले मलाई बाँध्ने उही
अनि त त्यही निष्ठुर सत्ताको नाभीमा प्रहार गर्न
हाकाहाकी मैले आफूलाई
घोषणा गरेकी हुँ नगरबधू।
उही वृक्षका उस्तै हाँगाझैँ
तिमी र म कसरी भयौँ आकाश र पाताल?
उस्तै रगत र मासुका उस्तै मान्छे
कसरी भए अर्जुन र एकलव्य?
कसले बुन्यो
जाली नक्साझैँ भाग्यरेखाको यो जाली रुमाल?
पण्डितजी, तिम्रै नियतिशास्त्रमा बाँधिएर
हिँडिरहेछ यो देश अझै मध्ययुगतिर।
पट्टी बाँधेर चेतनामा
गर्नु छैन फेरि अर्को अन्धविश्वास
तर्नु छैन मलाई वैतरणी
पुग्नु छैन कतै नभएको स्वर्ग।
मेरो जिन्दगी नर्क नै सही !
पण्डितजी, मलाई नसिकाऊ
धर्म–अधर्मका गीतहरू !
निर्बल थोपा मानेर
बनाएका हौ मलाई तिमीले मेरै आँशुको बन्दी
यिनै थोपाहरूले आगो सल्काएको दिन
तिम्रा शास्त्रका ठेलीहरूलाई
जाली प्रेमपत्रझैँ पारिदिन्छु खरानी
मलाई गरगहनाझैँ पासामा थाप्ने
दोस्रो दर्जाको सामानझैँ
तुच्छ आइमाई बनाउने
र, प्यारमा मुस्काइरहेका पियारीहरूलाई
कात्रोमा बाँध्न लगाउने
जुन कुनै शास्त्र र सत्तालाई पारेर धुस्नो
नकच्चराहरूको अभिमानको पुच्छरमा
अनि झोसिदिन्छु आगो।
तब नै हुनेछु म पनि मुक्त
मेरो भागमा पनि हुनेछ सत्ताको एक अंश आकाश
हरेक साँझ चराहरू गुँड फर्केझैँ
आफ्नै छानामुनि म पनि फर्कन पाउनेछु निःशर्त
त्यसपछि नै मलाई सहयात्री बनाउन
लालायित हुनेछन् पुरुषहरू।
मलाई थाहा छ,
मुश्किल, अति मुश्किल छ मेरो मुक्ति
गर्नु छ मैले अब त्यही काम
तर्नु छ फेरि उर्लंदो खोला।
तिम्रै वर्जनाहरूमा अझै बन्दी छ यो देश
पण्डितजी, मलाई नसुनाऊ
जाली मुक्तिका ऋचाहरू !
सत्यलाई साक्षी
अब सत्यलाई पनि
सत्य साबित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
र, आकाशलाई आकाश हुन साक्षी चाहिएको छ।
दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको हरियालीको खोजीमा
हिँडिरहेका छन् कति मानिसहरू
तर, छैन कोही तिनका अवदानको साक्षी।
अब कविताले मात्र
कविलाई कवि साबित गर्न सक्दैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ।
थाहा छ– साक्षीले धेरै पल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरै पल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरै पल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रुमाल भएको छ।
हतियार
निर्लज्जताविरुद्ध
नग्नता पनि सशक्त हतियार हो
जसरी पाखण्डविरुद्ध
वेश्यावृत्ति पनि मुनासिब कारोबार हो।
बादशाहको जस्तै महँगा र शानदार लुगा लगाएका मानिसहरू नै
जब नाङ्गा मानिसभन्दा हुन्छन् करोडौँ गुणा अश्लील
भ्रष्ट संसारविरूद्ध
नग्नता पनि बलियो आधार हो।
जब अफगानी निर्दोष नागरिक बस्तीमा
मानवीय संहिताविरूद्ध भइरहेको थियो भारी बम वर्षा
नाङ्गिएर प्रदर्शन गर्दै कालो झण्डा
क्रोएसियाली एक किशोरीले बेलायती राजकुमारलाई सोधिन्–
नाङ्गी आइमाई र तिम्रो देशमा को बढी नाङ्गो छ राजकुमार?
अमेरिकी युद्धविरोधी युवायुवतीले
बीच सडकमा प्रदर्शन गर्दै नाङ्गो जुलुस
राष्ट्रपतिलाई सोधे–
नाङ्गोपनको सीमान्त के हो, बुस महोदय?
निर्लज्जहरूलाई नंग्याउन
संसारमा थुप्रै पटक भएका छन् नाङ्गा जुलुस प्रदर्शनहरू
र, नाङ्गिएका छन् धेरै–धरै निर्लज्जहरू
भोका–नाङ्गाहरू जब जुलुसमा उत्रन्छन्
बलात्कृत आइमाईहरू, अकाल पति गुमाएका विधवाहरू
र, हेपिएका, लुटिएका वेश्याहरू
जब विरोधमा उठ्छन्
त्यसैत्यसै तिनले सरकारलाई नङ्ग्याइरहेका हुन्छन्।
न्यायका पण्डितहरू नै जब बन्छन् न्यायका हत्यारा
न्यायबाट वञ्चित मानिसहरूका लागि
नग्नता पनि सशक्त हतियार हो
जसरी अत्याचारविरुद्ध
आत्मदाह पनि विद्रोहको हुङ्कार हो।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७