उमेर पुगेर पनि महिनावारी किन हुँदैन ?

writer

डा. सुमनराज ताम्राकार

बिहिबार, १९ भदौ २०७६


उमेर पुगेर पनि महिनावारी किन हुँदैन ? के यो गम्भीर समस्या हो ? 

जिज्ञासा : एम, नेपालगञ्ज

बालिकाबाट किशोरी भएपछि नियमित रूपमा महिनावारी हुनका लागि महिलाको वंशाणुअंश, टाउको भित्रको हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थि एवं डिम्बाशयको काम गराइ, पाठेघरको भित्री तह, पाठेघरको मुख, योनिमार्गको बनावट एवं महिनावारी हुने कार्यलाई सघाउने थाइरोइड तथा एड्रिनल ग्रन्थिको काम गराइ सामान्य हुनुपर्छ। 

त्यसो त महिनावारी सुरु हुनु बालिकाबाट किशोरी अवस्थामा प्रवेशको प्रमुख संकेत होे। तर, कतिपय किशोरीमा ढिलासम्म पनि महिनावारी सुरु भएको हुँदैन। चिकित्सकीय भाषामा एमेनोरिया भनिने यस अवस्थाले किशोरी एवं सम्पूर्ण परिवारजनलाई चिन्तित तुल्याउँछ। किशोरी अवस्थाअघि, गर्भवती हुँदा, सुत्केरीपछि बच्चालाई राम्ररी स्तनपान गराइरहेको अवधि, कतिपय परिवार नियोजन साधन अपनाइरहँदा एवं रजनोवृत्तिपछि महिनावारी नहुनु प्राकृतिक नै हो।

महिनावारी हुँदै नहुनेभन्दा अलि फरक क्रिप्टोमेनोरिया नामक समस्यामा मासिक स्राव भए पनि बाहिर देखिँदैन। यदि किशोरावस्थामा योनिद्वारको झिल्ली रहिरहेमा, योनिद्वारमा तेर्सो गरी बाक्लो झिल्ली रहेमा वा योनिमार्गको माथिल्लो भाग वा पाठेघरको मुख साँघुरिँदा क्रिप्टोमेनोरियाको समस्या निम्तिन्छ। यस्तो समस्याले ग्रस्त किशोरीमा मासिक रूपमा महिनावारी भएताका तल्लो पेट अत्यधिक दुख्ने हुन्छ। साधारण शल्यक्रियाले पनि समाधान हुने यस समस्याका लागि सम्बन्धित चिकित्सकको सहयोग चाहिन्छ।

किशोरी तथा महिलामा महिनावारी नहुने समस्यालाई प्राइमरी र सेकेन्डरी गरी बाँडिएको हुन्छ। एमेनोरियाको कारण तथा यसको उपचारका दृष्टिले सेकेन्डरी प्रकारको एमेनोरिया तुलनात्मक रूपमा कम जटिल हुन्छ। 

प्राइमरी प्रकारको एमेनोरियामा कुनै पनि किशोरी १६ वर्ष पुगेपछि, स्तन र यौनांग राम्ररी विकसित भएपछि, यौनांगवरिपरि र काखीमा रौँ पलाएपछि पनि महिनावारी सुरु भएको हुँदैन। यौनांग विकास, अन्य परिवर्तन नभएको अवस्थामा १४ वर्षको उमेरसम्ममा महिनावारी सुरु नहुनु राम्रो लक्षण होइन। प्रभावित किशोरीको शारीरिक जाँचबाट कारक तŒव अनुमान लगाउन सकिन्छ। 

हाइपोथालामसदेखि डिम्बाशयसम्मको काम गराइ, महिलामा हुनुपर्ने वंशाणुअंशमा गडबडी, योनिमार्ग तथा जननेन्द्रियको माथिल्लो भागको बनावटमा जन्मजात खराबी, थाइरोइड तथा एड्रिनल ग्रन्थिको काम गराइमा खराबीका साथै जननेन्द्रियको क्षयरोग, कुपोषण, अधिक दुब्लोपन, रक्तअल्पताले गर्दा पनि महिनावारी सुरु नहुन सक्छ।

सामान्य तरिकाले महिनावारी भइसकेका किशोरी-महिलामा कारणवश छ महिना वा सोभन्दा बढी समय महिनावारी नहुने अवस्थालाई सेकेन्डरी एमेनोरिया भनिन्छ। क्रिप्टोमेनोरिया वा कतिपय प्राकृतिक कारण (गर्भावस्था-स्तनपान गराइरहँदा) पनि केही समयका लागि सेकेन्डरी खालको महिनावारी रोकिन सक्छ।

किशोरी वा महिलाको पाठेघरको भित्री तह टाँसियो, क्षयरोग भयो, पटक–पटक पाठेघरको भित्री तह खुर्कियो (क्युरेट गरियो), स–साना तर धेरै अपरिपक्व अण्डा बढ्ने समस्या भयो, समयअगावै (४० वर्ष अगावै) डिम्बाशयले काम गर्न छोड्यो, भने सेकेन्डरी प्रकारको महिनावारी रोकिने हुन सक्छ। महिलाको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा चाहिनेभन्दा कम भयो, हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थिमा सुत्केरी बेला बढ्ता रक्तस्राव भयो वा कुनै खराबी भयो भने पनि महिनावारीमा गडबडी हुन सक्छ। मानसिक तनाव, कुपोषण, मधुमेह, अधिक मोटोपन वा दुब्लोपनका कारण पनि यस्तो समस्या हुन सक्छ। कतिपय औषधिको सेवन, थाइरोइड ग्रन्थिको कम काम गराइबाट सेकेन्डरी प्रकारको महिनावारी रोकिने हुन सक्छ। 

सेकेन्डरी खालको एमेनोरियाको कारण खुट्याउनुअघि कतै ती किशोरी वा महिला गर्भवती त छैन भनी छुट्याउनुपर्छ। भिडियो एक्सरे (अल्ट्रासाउन्ड), रगतमा हर्मोनको मात्रा, ल्याप्रोस्कोपीबाट सेकेन्डरी प्रकारको एमेनोरियाको अधिकांश कारण पत्ता लगाउन सकिन्छ। कतिपय बेला वंशाणुअंश (क्रोमोजोम), टाउकोको एक्सरे, ग्रन्थिरससम्बन्धी रगत जाँच, टाउकोको सीटी स्क्यान गर्न आवश्यक पर्न सक्छ। 

महिनावारी नहुने समस्याको सुरुवात बिस्तारै भयो कि एक्कासि, मानसिक तनाव हुने खालको कुनै घटना भयो कि, शारीरिक तौलमा एक्कासि कुनै परिवर्तन भयो कि जस्ता विषयमा सोधपुछ गरेर सेकेन्डरी प्रकारको एमेनोरियाको कारण पत्ता लगाउन सकिन्छ। महिनावारी रोकिनुका साथै अनुहारमा डन्डीफोर, रौँ बढी पलाउने, स्वरमा कुनै परिवर्तन, स्तनबाट असामान्य स्राव, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या भएका थिए कि भनेर पनि सोध्ने गरिन्छ। साथै, पटक–पटक पाठेघर सफा गरिएको, सुत्केरी बेथाका बेला बढ्ता रगत बगे-नबगेको सोधपुछ गरेर सेकेन्डरी प्रकारको एमेनोरियाको कारण पत्ता लगाउन सकिन्छ। 

प्रभावित किशोरी वा महिलाको उपचार चरणबद्ध रूपमा गर्नुपर्छ। सामान्य जाँचपछि कुनै गम्भीर समस्या नभएको ठहर भएमा सुरुमा इस्ट्रोजेन, त्यसपछि इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनयुक्त औषधि सुरु गरी रोकिएको बेला महिनावारी खुल्छ-खुल्दैन हेर्नुपर्छ। यति गरेर पनि महिनावारी खुलेन भने समस्या गम्भीर खालको हुन सक्छ। यस क्रममा मानसिक तनाव हटाउन परामर्श आवश्यक पर्न सक्छ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि