लक्ष्मी आर्जेका 'लक्ष्मी’ : जो आफ्नै बुतामा सफल भए

writer

सम्पूर्ण

बिहिबार, २२ कार्तिक २०७५


तिहार लागिसकेको छ। धन र वैभवकी देवी लक्ष्मीको पूजा गरिने यस पर्वका अवसरमा ‘सम्पूर्ण’ले केही नेपाली महिला उद्यमी, व्यवसायी तथा पेशाकर्मीका सफलताका कथा पस्केको छ।


भवानी राणा, व्यवसायी

भवानी राणा उद्योग वाणिज्य महासंघकी पहिलो महिला अध्यक्ष हुन्। उनलाई सानैदेखि व्यापार–व्यवसायमा रुचि थियो। भारतको लखनऊबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनले त्यहीँ एकवर्षे फेसन डिजाइनिङको कोर्स गरिन्। भारतबाट फर्केपछि उनले नेपालका लागि अमेरिकी दूतावासमा पाँच वर्ष काम गरिन्। ‘त्यो जागिर अनुभवका लागि मात्र गरेकी थिएँ,’ उनी भन्छिन्, ‘पाँच वर्ष कामको अनुभव बटुलेँ। पछि आफ्नै काम गर्ने सोच बनाएँ।’

सन् १९८५ मा दिदीसँग मिलेर भवानीले काठमाडौँमा गार्मेन्ट उद्योगमा लगानी गरिन्। तर, त्यसमा खासै सफलता हात पार्न सकिनन्। उनले पर्यटन व्यवसायीसँग लगनगाँठो कसिन्। ‘बिहेपछि व्यवसायिक जीवन झन् राम्ररी अगाडि बढ्यो,’ उनी भन्छिन्, ‘व्यवसायबारे धेरै कुरा सिक्ने मौका पाएँ। अध्ययन गरेर मात्र काममा हात हाल्नुपर्ने रहेछ भन्ने कुरा सिकेँ।’

भवानी महिलाले आर्थिक रूपमा बलियो र सक्षम हुनुपर्छ भन्नेमा जोड दिन्छिन्। ‘महिलामा व्यवस्थापकीय क्षमता एकदमै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘महिलाहरूले घरपरिवार, जागिर, काम सबैलाई एकैचोटि व्यवस्थित गर्दै अगाडि बढाउन सक्छन्।’ नेपाली महिलाको आर्थिक अवस्थामा परिवर्तन आएको उनी बताउँछिन्। ‘नेपाली महिला बिस्तारै उद्योग, व्यवसायमा सक्रिय हुँदै छन्,’ उनी भन्छिन्, ‘उनीहरूले आ–आफ्ना क्षेत्रमा राम्रो काम गरिरहेका छन्।’ महिलाहरू आर्थिक रूपले सक्षम नभएसम्म देश विकास असम्भव रहेको उनको भनाइ छ।

होटल, कृषि, पर्यटन, बैंकिङलगायत विभिन्न क्षेत्रमा भवानीले लगानी गरेकी छिन्। सकारात्मक सोचलाई उनी आफ्नो शक्ति मान्छिन्। ‘व्यवसायमा मेरो आफ्नै फर्मुला छ,’ उनी भन्छिन्, ‘सके नाफामा लैजाने कोसिस गर्छु, नसके घाटामा जान दिन्नँ।’ व्यवसायमा एकैचोटि नाफा खोजेर काम गर्दा माथिबाट तल झर्न बेर नलाग्ने उनको बुझाइ छ। ‘व्यवसाय गर्दा धैर्य राख्नुपर्छ,’ उनी भन्छिन्, ‘एकैचोटि नाफा खोज्नु हुँदैन।’

सफल व्यवसायीको सूचीमा नाम लेखाउन सफल भवानीले लामो समयदेखि नेपाली महिलाको हक र हितका लागि पनि काम गर्दै आएकी छिन्। ‘महिला र पुरुषबीच केही फरक छैन,’ उनी भन्छिन्, ‘पुरुषको तुलनामा महिलाले अगाडि बढ्न निकै चुनौती सामना गर्नुपर्छ।’ चुनौतीबीच पनि सिक्न सक्ने धेरै कुरा र अवसर भएको उनी बताउँछिन्। ‘जुनसुकै काम गर्न पहिला आफूले चाहनुपर्छ,’ उनी भन्छिन्, ‘१५ वर्षसम्म मेहनत नगरेको भए म पनि उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुग्ने थिइनँ।’

लक्ष्मी शर्मा, उद्यमी

लक्ष्मी शर्मा नेपालकै पहिलो महिला ट्याम्पू ड्राइभरका रूपमा चिनिन्छिन्। अहिले उनको परिचय फेरिएको छ। ट्याम्पू ड्राइभरबाट उनी उद्यमी बनेकी छिन्। लक्ष्मीको बाल्यकाल राजपरिवारमा सुसारेको काम गर्दै बित्यो। काठमाडौँ महाराजगञ्जकी लक्ष्मीको १३ वर्षको उमेरमा विवाह भयो। तीन छोरी जन्मिए। श्रीमान्ले साथ नदिएपछि उनले एक्लो जीवन रोजिन्।

स्कुलको नाकमुख देखेकी छैनन्, लक्ष्मीले। ‘जम्मा तीन दिन स्कुलमा टेकेकी छु,’ उनी भन्छिन्। २०३९ सालमा भारतको बनारसमा साढे दुईमहिने ट्याम्पू रिपेयरिङ ट्रेनिङ लिइन्। त्यही सीपको भरमा आफ्नी साइली आमासँग ब्याजमा १० हजार रुपैयाँ मागरे ट्याम्पू किनिन् र चलाउन थालिन्। दुई वर्षमा पाँच वटा ट्याम्पू जोडिन्। ‘पछि छोरीहरूले ट्याम्पू चलाउन छाड्दिनू भनेपछि त्यो काम छाडिदिएँ,’ उनी भन्छिन्।

त्यसपछि उनी विष्णुमती र धोबीघाटमा फ्याँकिएका राँगा–भैँसीका सिङ र हाडखोर जम्मा गरेर टांँकलगायत हस्तकलाका सामान बनाउन थालिन्। त्यसका लागि उनले ‘लक्ष्मी वुड क्राफ्ट’ उद्योग दर्ता गराइन्। एउटा कोठा र तीन जना कर्मचारीबाट सुरु भएको उनको उद्योग पछि तीन–चार सय कर्मचारीलाई काम दिने भयो। अहिले उनी करोडौँको कारोबार गर्ने सफल उद्यमीमा गनिन्छिन्। लक्ष्मी वुड क्राप्टबाट लगभग १५ सय किसिमका हस्तलाका सामग्री उत्पादित हुन्छन्।

क्राप्टबाट उत्पादित सामान विदेश निर्यात गरिने लक्ष्मी बताउँछिन्। ‘धन कमाउन विदेश नै जानुपर्छ भन्ने छैन,’ उनी भन्छिन्, ‘आफ्नै देशको माटो, ढुंगा, डोको, नाम्लो, हिरा, पिरा जे बेचेर पनि पैसा कमाउन सकिन्छ।’

कल्पना योङहाङ लिम्बू, उद्यमी

पाँचथरकी कल्पना योङहाङ लिम्बूले सानोमा घरमा आमा र दिदीले तानमा ढाका बुनिरहेको देख्थिन्। उनको बाल्यकाल आमाले बुनेको कपडा लगाएरै बित्यो। ठूलो भएपछि उनले ढाकाको महत्वबारे अनुसन्धान गर्न थालिन् र नेपालको परम्परागत व्यवसाय ढाकालाई अगाडि बढाउने सोच बनाइन्।

सीटीईभीटीबाट टेक्सटाइल इन्जिनियरिङ पास गरिन् र फेसन डिजाइनिङ कोर्स पनि गरिन्। ‘‘नेपाली ढाकालाई संसारमा चिनाउँछु’ भन्दै लागिपरेँ,’ उनी भन्छिन्, ‘ढाकाभन्दा सस्तोमा विदेशी कपडा पाइन्थ्यो। मान्छेले ढाकाभन्दा अरू लुगा किन्न रुचाउँथे। तर, मैले कोसिस गरिरहेँ। हार खाइनँ।’

उनको ढाका यात्रा एउटा तानबाट सुरु भयो। जसको लागि उनले १५ हजार रुपैयाँ ऋण काढेकी थिइन्। ‘काम सुरु गरेको तीन वर्षसम्म त हम्मे–हम्मे नै पर्‍यो,’ उनी भन्छिन्, ‘तर, एक दिन अवश्य सफल हुन्छु भन्ने सोचले मलाई काम गर्न ऊर्जा दिइरह्यो।’

पछि उनले २०६४ सालमा काठमाडौँ, गोकर्णमा ‘द हाइल्यान्ड आर्ट’ नामक ढाका व्यवसाय सुरु गरिन्। ‘जहाँ जस्तो कार्यक्रम भए पनि ढाका बोकेर हिँड्थेँ,’ उनी भन्छिन्, ‘दिनको १८ घण्टा काम गर्थें।’

कल्पना ढाका कपडा उत्पादन, डिजाइन र त्यसलाई बजारसम्म पुर्‍याउने काम गर्छिन्। उनलाई अहिले दुई सय कर्मचारीले साथ दिइरहेका छन्। जसलाई उनी आफ्नो परिवार भन्न रुचाउँछिन्। कल्पनाले अहिले सय वटा तान जोडेकी छिन्। जसबाट ढाकाका सारी, दौरा–सुरुवाल, सल, टेबल क्लोथ, पर्दा, तन्ना आदि बन्छन्। काठमाडौँ, बौद्धमा ढाका कपडाको स्टक पसल खोलेकी छिन्। ‘अनलाइनबाट पनि व्यापार गर्छौं,’ उनी भन्छिन्, ‘अनलाइनबाट अर्डर लिएर देश–विदेशमा ढाकाका कपडा पठाउने गरेका छौँ।’

उनले ढाकासम्बन्धी तालिम पनि दिने गरेकी छिन्। ‘अहिलेसम्म तीन हजारजति विद्यार्थीलाई तालिम दिइसकेँ,’ उनी भन्छिन्, ‘अहिले मेरोमा फ्रान्सबाट ढाका बुनाइ सिक्न विद्यार्थी आएका छन्।’ ५७ वर्षीया कल्पनाले ढाकाका थुप्रै फेसन सो पनि गरेकी छिन्। ‘अहिलेसम्म ३३ ठाउँमा फेसन सो गरिसकेँ,’ उनी भन्छिन्।

बसुमाया तामाङ, उद्यमी

धादिङकी बसुमाया तामाङले कमजोर आर्थिक अवस्थाका कारण मन हुँदाहुँदै पनि पढ्न पाइनन्। मोजा–टोपी बुन्ने, चर्खामा थागो कात्ने, मैनबत्ती बनाउने, बालुवा चाल्नेदेखि ठेलामा मःमः बेच्नेलगायत कामको अनुभव उनीसँग छ। ‘आमाबुबाको मेलमिलाप थिएन,’ उनी भन्छिन्, ‘जेठी छोरी भएकाले तीन जना भाइको जिम्मेवारी ममाथि थियो। परिवारको जिम्मेवारीले सानैदेखि काम गर्न सिकायो।’

बसुको दाम्पत्य जीवन सुखद रहेन। ‘बिहेपछि श्रीमान्सँग मन मिल्न छाडेपछि चार जना छोराछोरीको जिम्मेवारी पनि मैमाथि आयो,’ उनी भन्छिन्। उनको परिवारमा टिम्मुरको छोप खाने चलन थियो। उनी बेलाबखत टिम्मुरको छोप बनाउँथिन्।

साथीहरूलाई चखाउँथिन्। ‘साथीहरूले मीठो छ भनेर बारम्बार माग्न आइरहन्थेँ,’ उनी सुनाउँछिन्, ‘एक दिन १५ सयको टिम्मुर, खुर्सानी र लसुन ल्याएर एक किलो छोप बनाएँ। छोरीलाई त्यो छोप स–साना प्लास्टिकमा प्याक गरी घरबाहिर नाङ्लोमा राखिदिएँ।’ एक किलो छोप तीन दिनमा सक्कियो। उनले फेरि बनाइन् र बेच्न राखिन्। दुईतीन पटक यसरी नाङ्लोमा राखेपछि छोपको अर्डर आउन थाल्यो। ग्राहकमार्फत उनको छोप विदेशमा समेत पुग्न थाल्यो।

छोपको व्यापार बढ्न थालेपछि उनी अरू काम छोडेर त्यसमै लागिन्। ‘एक दिन भाटभटेनीमा मेरो छोप राखिदिनुस् भन्दै गएँ,’ उनी सम्झिन्छिन्, ‘लेबल, टे«डमार्क, म्यानुफ्याक्चर डेट चाहिन्छ भन्ने नै थाहा थिएन।’ २०६९ सालमा उनले घरेलु तथा साना उद्योगमा ‘नेपाली मन उद्योग’ दर्ता गराइन्। लोगो, मिति सबै हालेर अचार बनाइन्। उनको उद्योगको मेसिन भनेका सिलौटा र ओखल हुन्। धेरै अर्डर आएको दिन उनी रातभरि अचार पिसेर बस्थिन्।

अर्डर पुर्‍याउन आफैँ झोला बोकेर हिँड्थिन्। टिम्मुरको छोप मात्रै बनाउने उनले अहिले टिम्मुर छोप विद फिस, चिकेन, बफ, अकबरे खुर्सानी र अकबरे खुर्सानी पेस्ट अचार बनाउने गरेकी छिन्। टिम्मुरलाई उनी आफ्नो जीवन मान्छिन्। ‘धेरैले मलाई टिम्मुरे दिदी भन्छन्,’ उनी भन्छिन्, ‘यही टिम्मुरले गर्दा थुप्रै अवार्डसमेत पाएकी छु।’

बसुमायाको उद्योगमा ४० जना महिलाले काम पाएका छन्। ‘दुःख पाएका दिदीबहिनीलाई प्राथमिकता दिने गर्छु,’ उनी भन्छिन्। महिनाको २५ देखि ३० लाख रुपैयाँको कारोबार गर्ने उनी बताउँछिन्।

कमला श्रेष्ठ, ब्युटिसियन

विगत चार दशकदेखि सौन्दर्यकर्ममा छिन्, कमला श्रेष्ठ। उनले ब्युटिसियन बन्ने निर्णय गर्दा घरपरिवार, माइती र समाज कसैले उनलाई साथ दिएनन्। ‘बुहारी हजाम पेशामा लागी भनेर ससुरा बोल्दै बोल्नुभएन,’ उनले विगत् सम्झिइन्, ‘यही क्षेत्रमा केही गरेर देखाउँछु भन्ने इख पलायो।’

उनले थाइल्यान्डबाट दुईवर्षे ब्युटिसियन कोर्स गरेर आएकी थिइन्। त्यसलाई कुनै पनि हालतमा खेर जान नदिने उनको उद्देश्य थियो। ब्युटिसियन कोर्स सकेर उनी नेपाल आइन्। तीन हजारको कोठा भाडामा लिइन्। ‘हप्तामा एउटा थ्रेडिङ, महिनामा एउटा कटिङ र छ महिनाको एउटा फेसियल गर्ने मान्छे आउँथे,’ उनले भनिन्, ‘घरपरिवारले के भन्छन् भनेर कोही पनि आउँदैनथे। झिँगा मारेर बस्नुपर्ने अवस्था थियो।’ पहिलो महिना उनले ८० रुपैयाँ कमाएकी थिइन्। ‘मेरो पहिलो कमाइ अहिले पनि थैलीमा सुरक्षित छ,’ उनी भन्छिन्।

उनी अहिले सायाम इन्स्टिच्युट अफ हेयर डिजाइन एन्ड ब्युटी केयरकी संस्थापक हुन्। ललितपुर, कुपण्डोलस्थित आफ्नै निवासबाट उनले सौन्दर्यसम्बन्धी सबै सेवा दिँदै आएकी छिन्। २७ वर्षअघि खोलेको उनको इन्स्टिच्युट नेपालको पहिलो सीटीईभीटी मान्यताप्राप्त इन्स्टिच्युट हो। चार जना विद्यार्थीबाट उनले सुरु गरेकी थिइन्। अहिले हजारौँ विद्यार्थीले त्यहाँबाट टेेनिङ लिइसकेका छन्।

कुनै समय उनी टेलिभिजनमा ब्युटीसम्बन्धी कार्यक्रम चलाउँथिन्। त्यहीँबाट उनलाई धेरैले चिन्न थाले। ‘छोराछोरीलाई होस्टलमा राखेकी थिएँ,’ उनी भन्छिन्, ‘बिदामा घर आउँदा मैले समय दिइनँ भनेर ‘सलोन बन्द’ भनेर मैले थाहा नपाउने गरी टाँसिदिन्थे।’ श्रीमान्ले उनलाई सधैँ सपोर्ट गरे।

आफूले कमाउन थालेपछि श्रीमान्सँग हात थाप्नु नपरेको उनी सुनाउँछिन्। ‘हामीले अंश र दाइजो केही नलिई आफ्नो करिअर सुरु ग¥यौँ,’ उनी भन्छिन्, ‘अहिलेसम्म जेजति कमाएका छौँ, त्यो आफ्नै मेहनतले आर्जेको सम्पत्ति हो।’ ब्युटिसियन पेशाबाटै घरघडेरी जोडेको र छोराछोरीलाई पढाउन मद्दत मिलेको उनी बताउँछिन्। उनकोमा अहिले १० जना कर्मचारी छन्। उनी आफैँ पनि काममा सक्रिय छिन्।

सम्झना बस्नेत, प्रिन्सिपल

सम्झना बस्नेत काठमाडौँ ज्ञानेश्वरस्थित इन्टरनेसनल स्कुल अफ टुरिजम म्यानेजमेन्टकी प्रिन्सिपल हुन्। उनले कलेजको प्रोग्राम म्यानेजरबाट काम सुरु गरेकी थिइन्। पछि कोअर्डिनेटर हुँदै प्रिन्सिपल भएको छ वर्ष भयो। त्यसअघि उनी होटल एसोसिएसन नेपालमा काम गर्थिन्।

‘म सधैँ करिअर ओरिएन्टेड थिएँ,’ उनी भन्छिन्, ‘बिहेपछि सिंगापुरमा होटल म्यानेजमेन्ट पढ्न छात्रवृत्ति पाएँ। दुई वर्षको छोरालाई छाडेर पढ्न गएँ।’ धेरैले आफूलाई ‘यसले सक्दिन, पढाइ बीचमै छाडेर आउँछे’ भनेको उनी सम्झिन्छिन्। उनले पढाइ पूरा मात्र गरिनन्, महिलाहरूमा प्रथम भएर फर्किइन्। ‘त्यहाँको पढाइले मलाई बलियो र आत्मनिर्भर बनायो,’ उनी भन्छिन्, ‘नेपाल फर्किंदा जस्तोसुकै चुनौतीसँग लड्न सक्ने भएँ।’

उनी प्रिन्सिपल भएको कलेज २५ जना विद्यार्थीबाट सुरु भएको थियो। अहिले त्यहाँ छ–सात सय विद्यार्थी छन्। पार्ट टाइम टिचरसमेत गरेर ७० जना कर्मचारी छन्। ‘म यस कलेजमा सुरुदेखि नै आबद्ध छु,’ उनी भन्छिन्, ‘प्रोग्राम म्यानेजरदेखि प्रिन्सिपल पदसम्म पुग्दा मैले कलेजको सफलता नजिकबाट हेरेकी छु।’ आर्थिक रूपमा सक्षम हुँदा एक प्रकारको सन्तुष्टि मिल्ने उनी बताउँछिन्।

‘कसैसँग हात फैलाउन र आश गर्न नपरेपछि आफूभित्रको सिर्जनात्मक क्षमता आफैँ बाहिर निस्कने रहेछ,’ उनी भन्छिन्। कुनै पनि समस्या वा चुनौती आउँदा आत्तिन नहुने उनी बताउँछिन्। ‘चुुनौती आउँदैमा गिभ–अप गर्नु हुँदैन,’ उनी भन्छिन्, ‘चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ।’

निरु रायमाझी खत्री, इन्टेरियर डिजाइनर

निरु रायमाझी खत्री सफल इन्टेरियर डिनाइनर हुन्। पाल्पाकी निरुले भारतमा चार वर्षको इन्टेरियर डिजाइनरको कोर्स गरिन्। नेपाल फर्केर ‘इन्टर्न’ भएर काम गर्न थालिन्। त्यतिखेर उनको पारिश्रमिक थियो, तीन हजार रुपैयाँ। जागिरे भएपछि उनको पारिश्रमिक ५५ सय रुपैयाँ भयो।

उनले काम सुरु गर्दा नेपालमा इन्टेरियर डिजाइन भर्खर भित्रिएको थियो। काम गर्दै गएपछि आफूमा अनुभव र आत्मविश्वास बढेको उनी बताउँछिन्। अरूको काम गर्नुभन्दा आफ्नै काम गर्नु ठीक भन्ने लागेर उनले पाँच लाख रुपैयाँमा काम सुरु गरिन्।

‘इन्टेरियर डिजाइन गरेर पैसा तिर्न मानिसहरू हिचकिचाउने गर्थे,’ उनी सम्झिन्छिन्, ‘सोचेको डिजाइनअनुसार सामान नपाउँदा र क्लाइन्टको गाली खाँदा कहिलेकाहीँ त दिक्क लाग्थ्यो।’ तर, सानैदेखि आर्थिक रूपमा सक्षम हुने सपना देखेकी उनले हार मानिनन्।

‘जस्तोसुकै अप्ठ्यारोमा पनि कहिल्यै काम छाडिनँ,’ उनी भन्छिन्, ‘कमाउन थालेपछि स्वतन्त्र महसुस गरेँ। आफूले कमाएको पैसा आफ्नो मर्जीले चलाउनुजस्तो आनन्द अरू केहीमा हुँदैन।’

सन्तोषी श्रेष्ठ, फेसन डिजाइनर 

आईसी कलेज अफ आर्ट एन्ड फेसनबाट सन्तोषी श्रेष्ठले डिप्लोमा गरिन्। फेसनमा रुचि राख्ने उनले आफ्नो करिअर त्यसैमा बनाउने योजना बनाइन्। पाँच वर्षअघि उनले २५ लाख रुपैयाँ लगानी लगाएर काठमाडौँको केएल टावरमा ‘लेडिज डे बुटिक’ सुरु गरिन्। त्यो बेला उनी २३ वर्षकी थिइन्।

‘पहिला दाइको टोय स्टोरमा काम गर्थें,’ उनी भन्छिन्, ‘कस्टमरसँग कसरी डिल गर्नुपर्छ, मलाई राम्रोसँग थाहा थियो। तर, सानी फुच्ची भनेर कसैले विश्वास गर्दैनथे।’

व्यवसाय सुरु गर्दा ब्रान्डिङका लागि एकदमै दुःख र मेहनत गरेको उनी बताउँछिन्। ‘निरन्तर फेसन सो गरिरहेँ,’ उनी भन्छिन्, ‘बुटिक मलमा भएकाले धेरैले महँगो भन्थे। ग्राहकको चित्त बुझाउनै गाह्रो थियो।’ उनले हरेस खाइनन्। काममा लागिरहिन्।

‘अहिले त ग्राहकले एकचोटिमा विश्वास गर्छन्,’ उनी भन्छिन्, ‘एक पटक आएका ग्राहक फेरि दोहो¥याएर आउँछन्।’ उनको बुटिकमा सात जनाले काम पाएका छन्। ‘बुटिकमा काम गर्न थालेपछि आफ्नो आवश्यकता, इच्छा र चाहनालाई मार्नुपरेको छैन,’ उनी भन्छिन्, ‘ग्राहकले ममाथि गरेको विश्वास नै मेरो लक्ष्मी हो।’

राधा ढकाल, फेसन डिजाइनर

फेसन डिजाइनर राधा ढकालले बुटिक चलाउन सुरु गर्दा थुप्रै अप्ठ्यारा भोग्नुपर्‍यो। ‘आफ्नो परिवारमा कसैले हात नहालेको क्षेत्रमा हात हालेकी थिएँ,’ उनी सम्झिन्छिन्, ‘त्यो व्यापार मात्र थिएन, मेरो सोख पनि थियो।’ २०६७ सालमा उनले न्युरोडमा ‘इगल आइज’ नामको बुटिक खोलिन्।

आफूले बचाएर राखेको पाँच लाख रुपैयाँ त्यसमा हालिन्। बिजनेस सुरु गरेपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन। ‘व्यापारमा म व्यवस्थापनलाई मुख्य मान्छु,’ उनले भनिन्, ‘हिजोका दिनमा उचित व्यवस्थापन गर्न नसकेको भए म यो ठाउँसम्म पुग्ने थिइनँ।’ उनले बुटिकलाई बिस्तारै अनलाइन सपिङबाट पनि अगाडि बढाउँदै लगिन्।

‘बुटिकमा कमाइ राम्रो हुन्छ,’ उनले भनिन्, ‘कमाइअनुसार साँझ–बिहान केही नभनी खट्नुपर्छ।’ खाली हात बसिएन भने जीवन चलाउन खासै गाह्रो नहुने उनी बताउँछिन्। बच्चादेखि वृद्धसम्म फेसनमा सजग हुँदै गएका अहिले आफ्नो व्यवसाय दिनप्रतिदिन फैलिँदै गएको उनको भनाइ छ।

‘ब्युटी पेजेन्ट, म्युजिक भिडियोले हाम्रो व्यापारलाई धेरै सहयोग गरेको छ,’ उनले भनिन्, ‘बाहिर देश जाने धेरैले बुटिककै लुगा लगाउँछन्। यो क्षेत्रमा कामअनुसार दाम छ।’

सुषमा महरा, ब्युटिसियन

फेसियल हाउसकी सञ्चालक सुषमा महरा काठमाडौँमा जन्मेहुर्केकी हुन्। त्यसैले उनले खासै दुःख भोग्नुपरेन। सम्पन्न व्यक्तिसँग विवाह बन्धनमा बाँधिएपछि पैसाका लागि उनले संघर्ष पनि गर्नु परेन। तैपनि, उनी खुशी भने थिइनन्।

फलानो जर्नेलकी बुहारी, फलानाकी श्रीमती भन्दा उनलाई अप्ठ्यारो लाग्थ्यो। उनी आफ्नै नामले चिनिन चाहन्थिन्। त्यसैले उनले समय काट्ने मेसोका रूपमा ब्युटिसियनको काम गर्न थालिन्। २०५५ सालदेखि अहिलेसम्म उनी निरन्तर यही पेशामा छिन्। 

उनले यो काममा हात हाल्दा उनको परिवारले भन्थ्यो, ‘म्यानेजिङ डाइरेक्टर वा बिजनेस वुमन भनेर लेख। तर, ब्युटिसियन नलेख।’ यस्तो धारणा मेटाउन आफू अहिलेसम्म पनि लागिपरेको उनी बताउँछिन्। सुरुमा उनले तीन सय स्क्वायर फिटको कोठामा चार वटा खाट, तीनटा कटिङ चेयर र तीन जना स्टाफको भरमा फेसियल हाउस खोलेकी थिइन्।

अहिले हाउसका छ वटा शाखा छन्, काठमाडौँ मल, सीटीसी मल, बागबजार, चाबहिल र उपत्यकाबाहिर पोखरा र काँकरभिट्टामा। ‘आज यो काम नगरी बस्न र बाँच्न नसक्ने भएकी छु,’ उनले भनिन्, ‘ब्युटिसियन भन्नेबित्तिकै हिजो नाक खुम्च्याउनेहरू नै आज मेरोमा आएर सेवा लिइरहेका छन्।’

बिजनेसमा टिक्न उनले अनेक उपाय गरिन्। सुरुमा ‘सिल्क एन्ड कटन बुटिक’ र ‘वाउ थ्री कलेक्सन’ खोलेर कपडाको पनि व्यापार गरिन्। पछि फेसियल हाउसलाई निरन्तरता दिँदै लगिन्। आज उनी एक सफल ब्युटिसियनका रूपमा चिनिन्छिन्।

‘म काम र सीप भन्ने कुरा ठूलोसानो हुँदैन भन्नेमा विश्वास गर्छु,’ उनले भनिन्, ‘स्टाफ नभएको बेला आफैँ कुचो लिएर बढारिरहेकी हुन्छु।’ मेहनतले कमाएको पैसा हातमा पर्दा उनलाई बेग्लै आनन्द मिल्छ। ‘मलाई नपुग्दो के छ र भनेर बसेको भए अहिले पनि म घरपरिवारसँग हात फैलाइरहेको हुन्थेँ,’ उनले भनिन्, ‘अहिले ६०–७० जनालाई काम दिइरहेकी छु।’

चिनु गुरुङ, ब्युटिसियन

करिब २५ वर्षअघि स्याङ्जाकी चिनु गुरुङले सामान्य सिलाइकटाइको तालिम लिएकी थिइन्। उनको बिहे भारतीय सेनाका लाहुरेसँग भएपछि उनी श्रीमान्सँगै भारत गइन्। त्यहाँ उनले ब्युटिसियन तालिम लिइन् र नेपाल आइन्। ‘पोखरामा बसियो,’ उनले सम्झिइन्, ‘श्रीमान् सेनामा थिए।

हातमा जानेको सीप थियो, त्यसलाई किन खेर फाल्नु भनेर पार्लर चलाउने निधो गरेँ।’ उनले पृथ्वीचोकमा पार्लर खोलिन्। ‘हप्तादिनसम्म कोही आएनन्,’ उनले सम्झिइन्।

हप्तादिन बोहनी भएन, चिनुको नयाँ पार्लरमा। त्यतिबेला ३० हजार खर्च गरेर खोलेको पार्लर सजिलै बन्द गरेर उनलाई फेरि भारत पस्नु थिएन। त्यसैले धैर्य गरिन्। ‘पछिपछि फाट्टफुट्ट ग्राहक आउन थाले,’ उनले सुनाइन्, ‘अब त केही हुन्छ कि भन्ने लाग्यो।’ केही महिनापछि पार्लरले बिस्तारै आफ्नो बाटो समाउन थाल्यो। तर, काम गर्ने जनशक्तिको अभाव खट्कियो।

त्यसपछि चिनुले सुरु गरिन्, गुरुङ ब्युटी पार्लर एन्ड टे«निड सेन्टर। ‘व्यवसायका साथै मैले इन्डियामा सिकेको सीप पनि सिकाउन थालेँ र सिकेकालाई रोजगारी दिन थालेँ,’ उनले भनिन्। पछि उनको सेन्टर यति चल्यो कि अहिले पोखराका ९० प्रतिशतभन्दा बढी सौन्दर्यकर्मी आफ्नै उत्पादन भएको उनको दाबी छ।

अहिले उनको पार्लरमा ५० जनाभन्दा बढी सौन्दर्यकर्मीले काम पाएका छन्। ‘अरूले मेरो पार्लरलाई पोखराको नम्बर एक पार्लर भन्दा गर्व लाग्छ,’ उनले भनिन्। चिनुको ब्युटिपार्लरको पोखरामा मात्रै पाँच वटा शाखा छन्। तनहुँमा एउटा शाखा छ। ‘बेलैमा बुद्धि पुर्‍याएकाले मलाई लक्ष्मीले साथ दिइन्,’ उनले भनिन्।

सीता बराल, बुटिक सञ्चालक

सीता बरालको पोखरा न्युरोडमा बुटिक पसल खोलेको १० वर्ष भयो। उनले उद्यम यात्रामा धेरै उतारचढाव भोगिन्। ‘महिला व्यवसायी भएका कारण धेरै दुःख पाइयो,’ उनले भनिन्, ‘व्यवसायमा महिला हुनु र पुरुष हुनुमा धेरै फरक छ। महिला व्यवसायी हुनु भनेको ठूलो चुनौती सामना गर्न तयार हुनु हो।’

बुटिकले सीतालाई व्यवसायको नयाँ बाटो मात्रै देखाएन, उनलाई लक्ष्मीको नयाँ अनुहार पनि देखाइदियो। उनको बुटिक ‘करिज्मा’ खूब चल्यो।

पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भइन् उनी। ‘साधारण सदस्यबाट प्रवेश गरेँ सुरुमा,’ उनले भनिन्, ‘पछि निर्वाचित हुँदै संघको महिला विभागको संयोजकको भूमिकामा दुई वर्ष रहेँ।’ अहिले उनी उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य छिन्।

सीताको बुटिकले अहिले १२ जनालाई रोजगारी दिएको छ। ‘म सफल व्यवसायी होइन,’ उनले भनिन्, ‘असल व्यवसायी पक्का हुँ।’

महिला भएर व्ययसाय, उद्यममा आउन गाह्रो भए पनि चुनौती र अवसरलाई सन्तुलन गर्नसके सफल भइने सीताको तर्क छ। ‘चुलोचौकामा सीमित नभएर त्यस दुनियाँभन्दा बाहिर आउनसके महिलाले धेरै प्रगति गर्न सक्छन्,’ उनले भनिन्।

तपाईको कमेन्ट