थारू युवतीका नायक कान्हा

writer

कृष्णराज सर्वहारी

बुधबार, १८ भदौ २०७६


पूजा गर्दा थारू युवतीहरूको माग कान्हा (कृष्ण) जस्तो मायालु पति पाऊँ भन्ने हुन्छ। उनीहरूले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ। आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरू तँछाडमछाड गर्छन्।  


कृष्णगाथा थारू समुदायमा चित्र बनाएर, गीत गाएर, नाचेर मनाइन्छ। अष्टिम्की अर्थात् कृष्णजन्माष्टमीमा गीत गाउँदै विभिन्न अनुष्ठानका साथ कान्हाको विशेष पूजा हुन्छ। भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको वर्णन हुन्छ। अष्टिम्की काव्यमा पनि सृष्टिको बर्णन पाइन्छ। 

पहिले टे सिरिजल जलथल ढरटी
सिरिजे टे गइल हो कुश कई डाभ। 

अर्थात्, जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो। त्यसपछि कुश प्रजातिको बिरुवाको उत्पत्ति भयो। त्यही बिरुवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो। अन्य रूखबिरुवा भए, जंगल बन्यो। जसरी हिन्दू परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसै गरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ। सोही सृष्टिकथा पनि अष्टिम्कीमा चित्रित हुन्छ। थारू लोककाव्यअनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो। त्यसैले यो पवित्र मानिन्छ। 

अष्टिम्की काव्यका विशेषता 

अष्टिम्की काव्यमा कान्हाले खेलेको, कुदेको ठाउँको वर्णन यसरी गरिएको छ, मानौँ कान्हा, राधाहरू पनि थारू समुदायका नै हुन्। हलो बनाउने काठ लिन वन गएको, हलो बनाइसकेपछि कान्हाका बाबु इसरु आफैँ गोरु हाँक्दै हलो जोत्न गएको लोकगाथा छ। यहाँ कृष्णकी आमालाई जासु (यशोदा) भनिएको छ। उनी बिहानको खाना (कलवा) बनाउँछिन्। थारूहरूको भोजनमा माछामासु, प्रिय हुन्छ। जासुले बनाएको भोजनबारे अष्टिम्कीमा वर्णन छ। खेती गर्दा खेतमै खाजा खानु थारूहरूको दिनचर्या हुन्छ। डेलवामा राखेर खेतमै खाना पुर्‍याउन जासु गएकी छन्। 

जासु गर्भवती भएपछि इसरु आफैँ डंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ। सुडेनीले जासुको प्रसुति गराउँदा कुशल नर्सझैँ जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई यस धर्तीमा ल्याइएको कथा छ। थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुति गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ। थारू समाजमा आफैँ न्वारान गर्ने चलन भए पनि अष्टिम्कीमा सुडेनीले नाम राख्न जैसी बोलाउन पठाएको प्रसंग छ। जैसीले कृष्णको नाम ‘कन्हैया वीर’ राखेका छन्। 

यस काव्यमा कृष्ण बस्ने घर थारू जातिमा प्रचलित परम्परागत घरजस्तै छ। कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ। ससाना ग्वालाहरू सुरूमा भेडाबाख्रा चराउन जान्छन्। सख्या कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ। 

कृष्णको बाँसुरीको धुनले वनका जीवजन्तु, पशुपक्षीसमेत मोहित हुन्छन् भने बठिन्या (युवती) हरू झन् मोहित नहुने कुरै भएन। कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन्, तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्– 

बसिया र सुननु हो सासु, सुनटी सुहावन री
सखी र ! बसिया बजुइया भैया कौन रूप बा।

अर्थात्, बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने बाँसुरी बजाउनेको रूप झन् कस्तो पो होला ? उनी बाँसुरी बजाउनेको मुहार हेर्न आतुर हुन्छिन्।

अष्टिम्की कला

कृष्णजन्माष्टमीमा थारू समुदायका घर–घरमा अष्टिम्की कला घरको भित्तामा बनाएको पाइन्छ। जसमा सृष्टिकथालाई प्रमुखता दिनुका साथै कृष्ण चरित्रबारेका कलाले ठाउँ पाएका हुन्छन्। चित्रको शीर्ष भागमा कृष्णले बाँसरी बजाउँदै गरेको चित्र हुन्छ। त्यस्तै, चारकुने आकारमा  छुट्टै चित्र हुन्छ। कजरीक् बन्वा भनिने यही वन वृन्दावन हुनुपर्छ। कृष्णले आफ्ना प्रेमिकाहरूलाई दिने प्रेमका प्रतीकका रूपमा फूलको चित्रले स्थान पाएको हुन्छ। सख्या गीतमा जासुले रैनी मछरिया पकाएको प्रसंग आउँछ। सोही कारण यसमा माछाको चित्रले स्थान पाएको देखिन्छ। 

वनमा बाँसुरी बजाउने कृष्णको बाँसुरीको आवाज सुनी गोपिनीहरू मात्रै होइन, पुशपक्षीसमेत लट्ठ हुन्थे। त्यसैले अष्टिम्की कलामा हात्ती, घोडा, सर्प, मयूर, बाँदर लगायतका चित्र बनाइन्छन्। श्रीकृष्णले महाभारतको युद्धमा पाँच पाण्डवलाई सघाएको प्रसंग गीतामा छ। यस चित्रमा पाँच पाण्डवले पनि स्थान पाएका छन्। हुँदाहुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्रकलामा अचम्मलाग्दो गरी स्थान पाएको देखिन्छ। बाह्रटाउके रावणलाई बरमुरुवा भनिन्छ। तर, पूजा गर्दा सिन्दूर टीका रावणको चित्रमा लगाइँदैन। बरमुरुवाकोमा झुक्किएर सिन्दूर टीका लगाइए टीका लगाउने युवतीका छोराछोरी रुञ्चे हुने भनाइ छ। 

यीबाहेक डुंगा, डोली, सूर्य, चन्द्रमा लगायतको चित्र पनि अष्टिम्की कलामा देख्न पाइन्छ। डोलीभित्र बनाइएको एक चित्रमा एक व्यक्तिको टाउको अपूर्ण छोडिएको हुन्छ। बिहान पूजा गर्ने बेला चिचिन्डो काटेर त्यसैलाई अपूर्ण मानव चित्रको टाउको बनाइन्छ। यसले रातभरिमा कृष्णले पूर्ण जीवन पाएको मिथक छ। 

निराहार व्रत बसेका डंगौरा मूलका युवतीहरू बेलुकी अष्टिम्की चित्र बनाएको घरमा पूजा गर्न जाँदा सेतो गुन्यू, रातो चोलो पहिरेका हु्न्छन्। चुल्ठोमा झोबन्ना, रिबन, कसैले घुन्यासरको फूल सिउरेका हुन्छन्। सम्पन्नहरूले निधारमा सुनको टिकुली, कानमा चाँदी वा गिलटको झिमल्या, गर्दनमा सुट्या, माला, गटैया, रातो हरियो पहेँलो पोते, पाखुरामा बाँक, बिजायठ लगाएका हुन्छन्। नाडीमा कसैले लाहाको, कसैले काँचको चुरा, औँलामा एकबिटे या दुईबिटे खप्टाको औँठी, खुट्टामा पायल, खुट्टाको औँलामा भिछिया लगाएका हुन्छन्। यी गहनाको झँकारले नै धेरैलाई लट्ठ पार्छ। 

पूजा गर्दा युवतीहरूको माग कान्हाजस्तो मायालु पति पाऊँ भन्ने हुन्छ। उनीहरूले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ। आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरू तँछाडमछाड गर्छन्। पूजा गर्न लगिएको फलको भेट्नो भने थालमा सुरक्षित राखिदिनुपर्छ।

बिहान नजिकको खोला, नदीमा अष्टिम्कीको पूजा सामग्री सेलाउन गाउँभरिका युवती भेला हुन्छन्। उनीहरूको सामूहिक स्नानले राधा आफ्ना सखीहरूसँग जलविहार गरेको झझल्को दिलाउँछ। तर, उनीहरूको चीरहरण गर्न त्यहाँ कुनै थारू कान्हा प्रकट भने हुँदैन। थारू लोकराधाहरू कान्हाजस्तो पति पाउन व्रत बसे पनि राधाजस्तो पत्नी पाउन थारू लोककान्हा अर्थात् युवाहरू व्रत बसेको पाइँदैन। यसरी थारू लोकसाहित्य, लोकसंगीत र अष्टिम्की लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि