तेस्रो वर्षमा ‘सम्पूर्ण’

writer

सम्पूर्ण

बुधबार, १८ भदौ २०७६


अन्नपूर्ण मिडिया नेटवर्कको ‘अन्नपूर्ण सम्पूर्ण साप्ताहिक’ तेस्रो वर्षमा प्रवेश गरेको छ। तेस्रो वर्ष प्रवेशको अवसरमा पत्रिकाले नियमित ३२ पृष्ठसहित १६ पृष्ठको विशेषांक प्रकाशित गरेको छ। ‘आफ्नै गाउँ फर्किआएँ’ शीर्षकमा कभरस्टोरीसहित विदेशबाट फर्केर नेपालमै स्वरोजगारमूलक व्यवसायमा आबद्ध नेपालीका कथा समेटिएको १६ पृष्ठको ‘परदेशको पाठ’ विशेष सामग्री ‘सम्पूर्ण’ले प्रकाशित गरेको छ। 

पत्रिका तेस्रो वर्षमा प्रवेशको अवसरमा काठमाडौँ, तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कर्पोरेट टावरमा आयोजित कार्यक्रममा नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले खोजमूलक पत्रकारिताको अभ्यासमा रहेको ‘सम्पूर्ण’ नेपालको ट्याब्लोइड पत्रकारिताको मौलिक उदाहरण भएको बताए। ‘समाजका राम्रा–नराम्रा सबै पक्षमा गहन खोज यसले गरिरहेको छ,’ अध्यक्ष थापाले भने। 

‘सम्पूर्ण’ का सम्पादक राजन नेपालले युवा रिपोर्टरहरूको टिमसहित आफू यात्रामा रहेको बताए। ‘हामी युवा रिपोर्टर लिएर थप राम्रो पत्रकारिता गर्न हिँडेका छौँ,’ नेपालले भने, ‘हामी लामो यात्रामा छौँ। यो टिमले सदा राम्रो गर्न प्रयत्न गर्नेछ।’ वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा सम्पूर्ण टिमलाई सम्मान गरिएको थियो।

अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले सबैभन्दा कान्छो ट्याब्लोइड भए पनि पाठकको विश्वास ‘सम्पूर्ण’ ले जितिसकेको बताए। अन्नपूर्ण पोस्ट डट कमका सम्पादक विष्णु सुवेदीले समाजको नयाँ पुस्ता र उसको मनोविज्ञानसँग पत्रकारितालाई जोड्ने काम पत्रिकाले गरेको बताए। एपीवान टेलिभिजनका सम्पादक टीकाराम यात्रीले हल्काफुल्का मनोरञ्जन र सनसनीबाट टाढै रही यसले गम्भीर पत्रकारिता गरिरहेको बताए। रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर ठाकुर बेलबासेले ‘सम्पूर्ण’ ले मनोरञ्जनात्मक विषयसँगै पाठकको रुचिका सबै विषयमा सामग्री प्रकाशन गरिरहेको बताए। 

कार्यक्रममा ‘सम्पूर्ण’की संवाददाता सिर्जना खड्कालाई ‘बेस्ट इम्प्लोई अफ दी इयर’ पुरस्कार प्रदान गरियो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापाले खड्कालाई पुरस्कार प्रदान गरेका थिए। 

हरेक बिहीबार प्रकाशित हुने ‘सम्पूर्ण’ लाई अनलाइनमा ‘सम्पूर्ण विक्ली डट कम’मा पढ्न सकिन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार