‘ममी’सँग रात बिताउने मौका

writer

सम्पूर्ण

मङ्गलबार, १७ भदौ २०७६


संग्रहालयमा तीन हजार वर्ष पुरानो ममी राखिएको छ। त्यसको छेउमै सुतेर रात बिताउन चाहनेलाई संग्रहालयले अवसर दिएको छ। तर, मान्छेसँग हिम्मत चाहिँ हुनुपर्छ। 

चीनको उत्तरपश्चिमी स्वशासित क्षेत्र सिन्जियाङमा रहेको तुर्पान संग्रहालयले अवलोकनकर्तालाई संग्रहालयमा हजारौँ वर्ष पुरानो शवसँग रात बिताउने अवसर दिएको छ। काँचको बाकसमा रहेको ममीको छेउमा केही हरिया टेन्ट लगाइएका छन्। त्यहाँ अवलोकनकर्ताले रात बिताउन सक्छन्। 

संग्रहालयमा तीन हजार वर्ष पुराना दुई ममी छन् भने राजकुमार सियाओहेको चार हजार वर्ष पुरानो ममी छ। यहाँ ममीसँगै डाइनोसरका अवशेष पनि प्रदर्शनमा राखिएका छन्। 

संग्रहालयका सहनिर्देशक देङ योङहोङका अनुसार ‘संग्रहालयमा एक रात’ विशेष योजना हो। शैक्षिक अनुभवका लागि यो योजना ल्याइएको हो। चिनियाँ इतिहास र संस्कृतिमा अभिरुचि राख्ने थुप्रै मान्छेलाई ‘संग्रहालयमा एक रात’ योजनाले आकर्षण गरिरहेको योङहोङ बताउँछन्। 

‘सुरुमा त अलिक डर लाग्यो,’ संग्रहालयमा ममीको छेउमा एक रात बिताएका अवलोकनकर्ता जाओ योङनिङले भने, ‘तर, केही बेरपछि सामान्य लाग्दै गयो।’ 

संग्रहालय सहनिर्देशक योङहोङ विद्यार्थीलाई यो योजना उपयोगी भएको बताउँछन्। सिन्जियाङमा बाह्रै मास सुक्खा मौसम हुन्छ। त्यसैले यहाँ प्राचीन ममीहरूलाई संरक्षण गर्न सकिएको छ। 

तपाईको कमेन्ट