सस्तो–मीठो मुसाको रोस्ट

writer

सम्पूर्ण

मङ्गलबार, १७ भदौ २०७६


‘स्वादिष्ट !’

कोइलामा पोलेको मुसाको खुट्टा चपाउँदै यित सारिनले भने। 

कम्बोडियाको बाताम्बाङ प्रान्तको ग्रामीण क्षेत्रमा रहेको एउटा फुटपाथ पसलमा मुसाको रोस्ट खाइरहेका भेटिन्छन्, सारिनजस्ता थुप्रै मान्छे। पोलेको वा तेलमा भुटेको सिंगो मुसाको मूल्य २५ देखि १ सय २५ रुपैयाँसम्म पर्छ। श्रमजीवी जनताका लागि अहिले मुसाको रोस्ट मज्जाको खाजा भएको छ। किसान र मजदुरबीच लोकप्रिय भइरहेको मुसाको रोस्टको स्वादलाई लिएर भने भिन्न–भिन्न मत जाहेर भएका छन्। एकथरीको भनाइमा पोलेको मुसाको कुखुरा वा गाईको मासुको जस्तो हुन्छ भने अर्काथरीको भनाइमा यो बंगुरको मासु खाएजस्तै हो। 

सन् १९७० तिर कम्बोडियामा मुसा खानु सामान्य प्रचलन थियो। उग्रपन्थी माओवादी खमेर रुजके शासनताका मुसा मात्र होइन, भ्यागुता, माकुरा, बाँदर, सर्प आदि पनि खाइन्थ्यो। जे खाएर बाँच्न सकिन्छ, खानुपर्छ भन्ने उनीहरूको मत थियो। खमेर रुजको शासन सकिएपछि मुसालगायत अन्य स–साना जीवन पनि खान छाडियो। 

हाल भने मुसा खाने चलन व्यापक भएको छ। बातामबाङ नगरका फुटपाथमा थुप्रै रेस्टुरेन्ट छन्, जहाँ मुसालाई कोइलामा ग्रिल गरिरहेको भेटिन्छ। स्थानीय बासिन्दा र पर्यटक सबैले मुसाको स्वाद लिइरहेका हुन्छन्। मरिच, खुर्सानी र कागतीको रस मिसाएर बनाइएको सससँग मुसा खानेको भीड देख्न सकिन्छ। 

मा लिस नामक फुटपाथ पसलले एक दशकअघि नै मुसा पोलेर बेच्न थालेकी थिइन्। ‘तर, त्यतिखेर दिनमा एक किलो मुसा बेच्न पनि मुश्किल थियो,’ उनी भन्छिन्, ‘अहिले त मुसाको रोस्ट लोकप्रिय खाजा भएको छ। दिनमै २० किलो मुसा बेच्छु। व्यापार असाध्यै फस्टाएको छ। ग्राहकलाई खुवाएर भ्याइँदैन। चाडबाडमा त झन् व्यस्त हुन्छु। एकैदिन १ सय ८० वटा ठूला मुसा ग्रिल गरेर बेचेकी छु।’ 

खेतबाट समातिएर ल्याइएका मुसा बेचिने उनी बताउँछिन्। ‘मुसा खाँदा स्वास्थ्यलाई कुनै हानि हुँदैन,’ लिस भन्छिन्, ‘कुखुरा र बंगुरको मासुभन्दा स्वास्थ्यकर हुन्छ, मुसाको मासु। सस्तो पनि, मीठो पनि !’ 

तपाईको कमेन्ट