चिप्लेर लड्दा ४० लाख कमाइ

writer

सम्पूर्ण

मङ्गलबार, १७ भदौ २०७६


कोही चिप्लेर लड्छ र झन्डै ४० लाख रुपैयाँ कमाउँछ भनियो भने हावादारी गफजस्तो लाग्न सक्छ। तर, यो सत्य कुरा हो। 

हालसालै ब्रिटेनको रेल प्रणाली व्यवस्थापन गर्ने सरकारी निकाय ‘नेटवर्क रेल’ले एक जना यात्रुलाई चिप्लेर लडेको कारण २८ हजार पाउन्ड क्षतिपूर्ति दिएको छ। समाचार संस्था बीबीसीका अनुसार नाम नखुलाइएका ती व्यक्ति लन्डनस्थित प्याडिङ्टन स्टेसनमा ‘सम्भवतः परेवाको बिष्टामा टेकेर चिप्लिएका थिए।’ उनको खुट्टामा चोट लागेको थियो। चोट सामान्य भए पनि उनलाई नेटवर्क रेलले शानदार क्षतिपूर्ति दिएको छ। 

नेटवर्क रेलले इंग्ल्यान्ड र स्कटल्यान्डमा गरी २० वटा स्टेसनको व्यवस्थापन गर्छ। विगत पाँच वर्षमा उसले २ सय ९० जनालाई चिप्लेर लडेका कारण ९ लाख ५० हजार पाउन्डभन्दा बढी रकम क्षतिपूर्तिबापत तिरिसकेको छ। क्षतिपूर्ति दाबी गर्नेको कानुनी खर्च पनि उसले बेहोरिदिने गरेको छ। 

नेटवर्क रेलका बीमा–दाबी तथा बीमा विभागका प्रमुख फिलिप थ्रोअरले कुनै पनि यात्रुको दुर्घटना र चोटपटकलाई आफ्नो निकायले गम्भीरतापूर्वक लिने बताए। ‘हामी विशाल कम्पनी हौँ,’ उनले भने, ‘हामी गम्भीरतापूर्वक जिम्मेवारी पूरा गर्छाैं। दिनमा लाखौँ यात्रुले हाम्रा स्टेसनबाट यात्रा गर्छन्। उनीहरूको सुरक्षाको सम्पूर्ण दायित्व हाम्रो हो। कथम्कदाचित कसैको दुर्घटना भयो भने क्षतिपूर्ति दिनु हाम्रो कर्तव्य हो।’ उनले अहिलेसम्म एउटै व्यक्तिलाई नेटवर्क रेलले सबैभन्दा बढी ४० हजार पाउन्ड क्षतिपूर्ति दिएको जानकारी दिए। 

तपाईको कमेन्ट