आधुनिक दासताको जगमा खाडीको विकास

writer

सम्पूर्ण

मङ्गलबार, १७ भदौ २०७६


साउदी अरब, कुवेत, यूएई, कतार, बहराइन र ओमानको कुल श्रमशक्तिको ७० प्रतिशत आप्रवासी कामदार छन्। लगभग यी सबै कामदार दक्षिण एसियाका हुन्। यहाँ बालुवामाथि चम्किला गगनचुम्बी भवन ठड्याउन, विशाल रंगशाला र विश्वस्तरीय विमानस्थल बनाउन ती कामदारले रगतपसिना बगाएका छन्।


दक्षिण भारतकी लक्ष्मी सेन्थिलनाथन ३५ वर्ष पुगिन्। घरमा उनका दुई किशोरी छोरी छन्। तर, उनले आफ्नो जीवनको एकतिहाइ अवधि ओमानको राजधानी मस्कटमा घरेलु कामदारका रूपमा बिताउनुपरेको छ। जँड्याहा पतिका कारणे छोरी र आमाबुबाको लालनपालन उनले मात्रै गर्दै आएकी छन्। मस्कटमा घरेलु कामदारका रूपमा अनेकौँ पटक यौन तथा शारीरिक हिंसा बेहोर्नुपरेको उनको अनुभव छ। ‘तर, यस्तो दुःख सम्झेर म बसिराख्दिनँ,’ उनी भन्छिन्, ‘बरु मैले यहाँ काम गरेकै कारण मेरो परिवारमा पैसाको खाँचो परेको छैन र मेरा छोरीले पढ्न पाएका छन् भनेर चित्त बुझाउँछु।’ ठूली छोरी डाक्टर र सानी छोरी खेलाडी बन्न चाहने उनी गर्वसाथ सुनाउँछिन्। 

खाडी मुलुकमा करिब २५ लाख घरेलु कामदार छन्। तीमध्ये धेरैजसो महिला छन्। जो अफ्रिका र एसियाबाट कामको खोजीमा यहाँ आइपुगेका हुन्। परिचित घरेलु कामदारहरू एक ठाउँमा भेला हुँदा उनीहरूको गफको विषय नै आफूले सहनुपरेको दुव्र्यवहार हुने गर्छ। 

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार सन् २०१७ सम्ममा संसारभर झण्डै साढे १६ करोड आप्रवासी कामदार थिए। सन् २०१३ मा यो संख्या १५ करोड थियो। जसमध्ये ९ करोड ६० लाख पुरुष थिए भने ६ करोड ८० लाख महिला। आप्रवासी कामदारमध्ये ८७ प्रतिशत काम गर्ने उमेरका अर्थात् २५ देखि ६४ वर्षभित्रका थिए। यसको अर्थ हो, यी कामदार जहाँ जन्मेका थिए, त्यो देशले आफ्नो श्रमशक्तिको सबैभन्दा उत्पादनशील हिस्सा गुमाएको छ। जसले उनीहरूको अर्थतन्त्रमा नकारात्मक असर पुर्‍याइरहेको छ। 

उच्च आय हुने देशमा कुल श्रमशक्तिको १८.५ प्रतिशत हिस्सा आप्रवासी कामदारले ओगट्ने तथ्यांक छ। गरिब देशमा भने तिनको संख्या १.४ देखि २.२ प्रतिशतसम्म मात्र छ। लभगग ६१ प्रतिशत आप्रवासी कामदार तीन क्षेत्रमा केन्द्रित छन् ः २३ प्रतिशत उत्तर अमेरिकामा, २४ प्रतिशत युरोपमा र १४ प्रतिशत अरब मुलुकमा। 

पछिल्लो समय हरेक देशको अर्थतन्त्रलाई चलायमान बनाउन आप्रवासी कामदारको भूमिका बढ्दै गएको छ। तर, तिनका लागि रोजगारीको गन्तव्य रहेका मुलुक सुरक्षित छैनन्। खाडी क्षेत्रमा उनीहरूमाथि चरम अमानवीय व्यवहार हुन्छ भने पश्चिमा मुलुकमा पनि उनीहरू घृणाको शिकार हुने गरेका छन्।

एसियाको श्रम संकट

चीनको सांघाई शहर चम्किलो छ। तर, यहाँ कतिपय कुरा अँध्यारोमा छन्। त्यसमध्ये एक हो, मानवतस्करी। चीनमा मध्यमवर्गीय परिवारको संख्या बढिरहेको छ। तिनलाई घरेलु कामदारको ठूलो खाँचो छ। खास गरी, फिलिपिनीहरूको माग बढी छ। ‘फिलिपिनीहरू जे भन्यो, त्यही मान्छन्,’ एक एजेन्ट भन्छन्, ‘यहाँकाहरू त रोजी र छाडी गर्छन्।’ करिब दुई लाख फिलिपिनीहरू कागजातबिनै चीनमा काम गरिरहेका छन्। उनीहरू महिनाका ७ सय ३० डलर कमाउँछन्। कोही पक्राउ परेर घर फर्काइए उसको ठाउँ अर्को फिलिपिनीले लिन्छ।

फिलिपिन्समा रोजगार अभाव छ, चीनमा घरेलु कामदारको। यसले एसियाको दुई जनसांख्यिक प्रवृत्तिलाई दर्शाउँछ। गरिबीले ग्रस्त, युवा जनसंख्या बहुल दक्षिण एसिया र दक्षिण पूर्वी एसियामा ज्याला कम छ, रोजगारी पर्याप्त छैन भने धनी, जनसंख्याको उमेर बढ्दै गएका मुलुकमा अर्थतन्त्र धान्न पनि जनशक्तिको अभाव हुँदै गएको छ। सैद्धान्तिक रूपमा यो समस्याको आफ्नै समाधान छ। बेरोजगारहरू श्रमिकको अभाव भएको देशमा जाने। तिनको श्रमबाट ती मुलुकलाई पनि फाइदा हुन्छ र रेमिट्यान्सबाट श्रमिकको आफ्नो देशलाई पनि। यद्यपि, व्यवहारमा लागू गर्दा अनेकौँ जटिलता देखापर्छन्। 

विश्वका आधा मान्छे एसियामा बस्छन्। तर, यो महादेशले आप्रवासीमध्ये मात्र १७ प्रतिशतलाई स्वागत गर्छ। यहाँ अर्को क्षेत्रमा जाने प्रचलन कम छ। दुईतिहाइ एसियाली आप्रवासी आफ्नै क्षेत्रमा बस्छन्। अर्थात्, दक्षिण एसियालीहरू दक्षिण एसियाकै अर्को मुलुकमा बढी जान्छन्, पूर्वी एसियाका मान्छे पूर्वी एसियामै रहन्छन्। 

यो क्षेत्रमा आप्रवासी श्रमिक नीति अनियमित छ। उदाहरणका लागि, थाइल्यान्डमा करिब ५० लाख आप्रवासी कामदार छन्। ती लगभग सबै छिमेकी मुलुक म्यानमार, कम्बोडिया र लाओसका हुन्। थुप्रैको भिसा छैन। सेवामूलक र निर्माण क्षेत्रमा काम गर्नेमा यो समस्या छ। केही वर्षअघि अवैध कामदारलाई सरकारले समात्ने हल्ला फैलियो। करिब दुई लाख कम्बोडियाली नागरिकको भागाभाग भयो। यसले निर्माण उद्योग नै ठप्प हुन पुग्यो। लगत्तै सरकारले यो कदम रोक्यो र भिसाविहीन कामदारलाई पनि अस्थायी अनुमति दियो। तैपनि, कतिपय कामदारले कागजपत्र मिलाउने प्रक्रिया झन्झटिलो र महँगो भएको भन्दै यसमा रुचि देखाएनन्। अझै लाखौँ मान्छे थाइल्यान्डमा अवैध रूपमा काम गरिरहेका छन्। 

चीनले लामो समय आफ्नै गाउँको जनसंख्यालाई शहरमा सारेर श्रमिकको कमी पूरा गर्दै आएको छ। गएको ३० वर्षमा १५ करोड चिनियाँहरू गाउँ छोडेर कारखानामा काम गर्न, रेस्टुरेन्टमा वेटर बन्न र घर सफा गर्न शहर पसेका छन्। तर, जनसंख्या बुढो हुँदै जाँदा कामदार अभाव हुन थालेको छ। यसलाई विदेशी कामदारले पूर्ति गर्न थालेका छन्। हरेक वसन्तमा करिब ५० हजार भियतनामी कामदार अवैध रूपमा सीमा पार गरेर दक्षिणी प्रान्त ग्वाङ्सी प्रवेश गर्छन् र त्यहाँ उखु रोप्न सघाउँछन्। सन् २०१५ देखि त प्रान्तीय सरकारले भियतनामी कामदारलाई भिœयाउने कार्यक्रम नै सुरु गरेको छ।

समग्र हिसाब गर्दा चीन श्रमिक निर्यातकर्ता नै हो। यहाँ आउने विदेशी कामदारभन्दा बाहिर जाने कामदार बढी छन्। यद्यपि, यो सन्तुलनमा छिटोछिटो परिवर्तन भइरहेको छ। आगामी ३० वर्षमा चीनको काम गर्न सक्ने जनसंख्या १८ करोडले कम हुनेछ। यो कमीलाई चीनले कसरी पूरा गर्ला भन्ने विषयले एसियाको आप्रवासन ढाँचा र अर्थतन्त्रलाई नै बदलिदिनेछ। उत्पादनमुखी उद्योगहरूले कलकारखाना कामदार बढी भएका ठाउँमा सार्लान्। अथवा, स्वचालन प्रविधिको विकास गर्लान्। तर, अन्य खालका उद्योगका लागि भने यो विकल्प हुनेछैन। अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमानअनुसार चीनमा दुई करोड घरेलु कामदारको अभाव हुनेछ।

यो चीनको मात्रै समस्या होइन। काम गर्ने जनसंख्या स्थिर राख्न सन् २०३० सम्ममा पूर्वी एसियाले १५ देखि ६४ वर्षभित्रका २८ करोड मानिस आयात गर्नुपर्नेछ। दक्षिणपूर्वी एसियाले पनि ६० लाख मानिस भिœयाउनुपर्नेछ। खास गरी, सिंगापुर, मलेसिया, भियतनाम र थाइल्यान्डमा कामदार अभाव छ भने म्यानमार, इन्डोनेसिया र फिलिपिन्समा भरपूर श्रमशक्ति छ। दक्षिण एसियाबाट साढे १३ करोड मानिस रोजगारीमा बाहिर जानसक्ने अवस्था छ। भारतले मात्रै आठ करोड कामदार निर्यात गर्न सक्छ। 

एसियाका केही देशले भने आप्रवासी कामदारका विषयमा लचिलो नीति अपनाएका छन्। सिंगापुरको श्रमशक्तिमा विदेशीको हिस्सा ४० प्रतिशत छ। तीमध्ये झण्डै आधा त घरेलु काम र निर्माण क्षेत्रमा कार्यरत छन्। विदेशी कामदारका कारण ज्याला घट्न नदिन रोजगारदाताले प्रत्येक विदेशी कामदार लिएबापत सरकारलाई लेबी तिर्नुपर्छ। 

दक्षिण कोरियामा पनि जनसंख्या संकट छ। दक्षिण कोरियाको प्रजनन दर संसारकै न्यून छ। प्रतिमहिला एक बच्चा मात्र जन्मिरहेका छन्। प्रतिव्यक्ति आयु भने बढिरहेको छ। त्यसैले संसारका विकसित देशमध्ये दक्षिण कोरिया तीव्र गतिमा बुढ्यौलीको शिकार भइरहेको छ। विद्यार्थी अभावमा हजारौँ स्कुल बन्द भएका छन्। 

श्रमिक अभावको सबैभन्दा सजिलो उत्तर बनेका छन्, आप्रवासी कामदार। कामदार अभाव पूर्ति गर्न दक्षिण कोरियाले इम्प्लोयमेन्ट पर्मिट सिस्टम (ईपीएस) सुरु गरेको छ। ईपीएसअन्तर्गत उसले पाँच वर्षमा २ लाख ७५ हजार विदेशी कामदार भिœयाउँछ। यसै वर्ष ५६ हजार विदेशी कामदार भित्र्याउँदै छ। 

जापान पनि धेरै पहिलेदेखि नै पुँजी निर्यात र श्रमिक आयात गरिरहेको देश हो। जापानी बहुराष्ट्रिय कम्पनीहरूले दक्षिणपूर्वी एसियाका अनेकौँ देशमा उद्योग खोलेका छन् र त्यहाँ विदेशीलाई काममा लगाएका छन्। तर, यस खाले रोजगारीको केही सीमितता छन्। बुढ्यौलीले गाँजेको जापानजस्तो मुलुकमा नर्सिङ, हेरचाहजस्ता काममा यो खालको रोजगारी उपयोग हुन्न। हङकङले पनि विदेशी नर्स, धाईहरूलाई स्वागत गरेको छ। अहिले झण्डै चार लाख घरेलु कामदार त्यहाँ कार्यरत छन्। जसमध्ये आधाभन्दा बढी फिलिपिन्सबाट, ४४ प्रतिशत इन्डोनेसियाबाट आउँछन्। 

आधुनिक दासताको जगमा खाडीको विकास 

नेपाल, बंगलादेश, भारतजस्ता मुलुकमा रोजगारीको अभाव छ। ज्याला अत्यन्त कम छ। थुप्रैले मासिक एक सय डलरभन्दा कम आयमा गुजारा चलाउनुपर्छ। तिनका लागि मध्यपूर्व आकर्षक गन्तव्य हो, जहाँ मासिक पाँच सय डलरभन्दा बढी तलब हुने गर्छ।  

त्यसैले दक्षिण एसियाली कामदार तेल अर्थतन्त्रका रूपमा परिचित खाडीमा ओइरिएका छन्। यद्यपि, उनीहरूले यसको चर्को मूल्य तिनुपर्ने हुन्छ। सबैभन्दा पहिले रोजगारी दिलाइदिने एजेन्ट-मेनपावर कम्पनीलाई उनीहरूले दुई लाख रुपैयाँसम्म तिनुपर्ने हुन्छ। खाडी पुगिसकेपछि पहिले दिने भनिएभन्दा निकै कम तलबमा कामदारलाई सम्झौता हस्ताक्षर गर्न लगाइन्छ। थुप्रै कामदारको पासपोर्ट मालिकको कब्जामा रहने, शारीरिक यातना दिइनेजस्ता शोषण पनि हुन्छ। अर्थात्, मानव तस्करी, ऋण, बाल श्रम, जबर्जस्ती विवाहजस्ता अभ्यास यहाँ हुने गर्छ। यो दासताको आधुनिक रूपबाहेक अरू केही होइन। 

गल्फ कोअपरेसन काउन्सिलका सदस्य मुलुक साउदी अरब, कुवेत, यूएई, कतार, बहराइन र ओमानको कुल श्रमशक्तिको ७० प्रतिशत आप्रवासी कामदार छन्। लगभग यी सबै कामदार दक्षिण एसियाका हुन्। यहाँ बालुवामाथि चम्किला गगनचुम्बी भवन ठड्याउन, विशाल रंगशाला र विश्वस्तरीय विमानस्थल बनाउन ती कामदारले रगतपसिना बगाएका छन्। खाडीमा हरेक दिन दर्जनौँ विदेशी कामदार मारिन्छन्। कामदारमाथि सबैभन्दा बढी हिंसा हुने क्षेत्र यही नै हो र नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य पनि।

एजेन्सीको सहयोगमा कवि आचार्य।

तपाईको कमेन्ट