आफ्नै गाउँ फर्किआएँ...

writer

सृजना खड्का

मङ्गलबार, १७ भदौ २०७६


नेपाली जनजीवनको अहम् हिस्सा भइसकेको छ, वैदेशिक रोजगारी।विदेशीभूमिमा, विभिन्न क्षेत्रमालामो अनुभव सँगालेर थुप्रै नेपाली देश फर्किएका छन्। जो आफ्नो माटो सम्झिएर, आफूभित्र भएको क्षमता पहिचान गरेर र आफ्नै ठाउँमा केही अवसर देखेर स्वदेश फिरेका छन्। उनीहरूमध्ये धेरैले परदेशको पाठ, सीप र ज्ञानलाई नेपालमा उपयोग गरेर उद्यम गरिरहेका छन्। होटल, रेस्टुरेन्ट, पर्यटन, कृषि र पशुपालनमा आजभोलि उनीहरूको सक्रियता देखिन्छ। 

आफ्नै देशमा केही गर्ने प्रेरणा बोकेर नेपाल फर्केकी थिइन्, गोरखा, आरुघाटकी शर्मिला अधिकारी। उनले गत असार २९ गते ५० हजार रुपैयाँ नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार’ पाइन्। वैदेशिक रोजगारीबाट फर्की नेपालमा उत्पादन तथा रोजगारमूलक उद्यम व्यवसाय गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई सो पुरस्कार प्रदान गर्‍यो। ‘यो सम्मान मलाई मात्रै होइन, विदेशबाट फर्किएर नेपालमै केही उद्यम गरिरहेका हामीजस्ता उद्यमीलाई गरिएको सम्मान हो,’ लामो समय यूएई, दुबईमा वैदेशिक रोजगारी गरेर आएकी शर्मिलाले भनिन् ‘कर्म गरे सम्मान पाइँदो रहेछ।’ अहिले उनी सयौँ रोपनी जग्गाामा तीनटा कृषिफार्म सञ्चालन गरिरहेकी छिन्। अहिले आफूले विदेशको भन्दा दोब्बर आम्दानी गरिरहेको उनको दाबी छ। 

स्वदेशमा कृषिकर्म

धवलागिरी गाउँपालिका–७, ताकमका ४१ वर्षीय धनबहादुर पौडेलल नौ वर्षदेखि जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाटै भाडामा लिएको जग्गा उनी आफ्नो बनाउने तयारीमा छन् उनी।रोजगारीका लागि चार वर्ष साउदी अरेबिया र तीन महिना बहराइन बसेका उनी विदेशले आफ्नो माटो चिन्न सिकाएको बताउँछन्। 

हेटौँडा–१४ का सानु मोक्तानसाढे पाँच लाख रुपैयाँ खर्चेर वैदेशिक रोजगारीमा गए। इजरायलको जमिन पाँच वर्ष खोस्रिए। उनलाई घरको बाँझो जमिनको झझल्को आयो। त्यसैले घर फर्किएँ।उनले बाँझो बारीमा १ सय ५० बोट अंगुर र १ सय ५० बोट कागती रोपे। आधुनिक प्रविधिबाट खेती सुरु गरेकै वर्ष उनले चार लाख रुपैयाँभन्दा बढी आम्दानीगरे। अहिले उनी दंग छन्। ‘गर्नसके आफ्नै बारीमा पैसा फल्दो रहेछ,’ उनले भने। 

कामको खोजीमा भौँतारिएका पूर्वी चितवन, जयमंगलाका विष्णुहरि पन्तको कथा पनि उस्तै छ। एक दशकअघि इजरायल पुगका उनले त्यहाँ कृषि फार्ममापाँच वर्ष काम गरे। नेपाल फर्किएर उनले अहिले त्यही सीप सदुपयोग गरिरहेका छन्। उनले ३५ बिघा जमिनमा व्यावसायिक केराखेती गरेका छन्। ‘विदेशको कामले मेहनत गर्न सिकायो,’ उनले भने, ‘त्यहाँ मेहनत गर्न सिकेँ, यहाँ आएर मेहनत गरेँ।’ उनी वार्षिक करिब डेढ करोड रुपैयाँको कारोबार गर्छन्। जिल्लामा उत्कृष्ट कृषकको सम्मानसमेत पाइसकेका छन्। केराखेतीको आम्दानीले उनले घर बनाए, गाडी किने, भरतपुरमा घडेरी जोडे। उनी आजभोलि आफू मात्रै होइन, अरूलाई पनि केराखेती गर्न सिकाउँछन्। 

रेस्टुरेन्टको रहर

भक्तपुर दुवाकोटका सञ्जय न्यौपाने १८ वर्षको हुँदा दुबई गए। साढे छ वर्ष उतै बिताए। दुई वर्षअगाडि उनले नयाँ बानेश्वरमा ‘मुड अन कफी एन्ड क्याफे’ खोलेका छन्। ७५ लाख रुपैयाँको लगानीमा खोलिएको क्याफेले अहिले १३ जनालाई रोजगारी दिइरहेको छ। रेस्टुरेन्ट व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने उनको सोच छ। ‘मैले विदेशमा काम गरेको होटलका विश्वमा ६०–६५ वटा ब्रान्च छन्,’ उनले भने, ‘होटलमालिकले आफ्नो होटललाई आफ्नो ठाउँमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै  चिनाइसके।’ कामदारबाट कति र कसरी काम लिने भन्ने कुरा विदेशीले राम्ररी जानेको हुने उनले बताए। ‘विदेशीहरू कोबाट कसरी काम लिने भन्ने कुरामा खप्पिस हुन्छन्,’ उनले भने, ‘यो कुरा मैले पनि सिकेर आएँ। अहिले त्यहीअनुसार आफ्ना कर्मचारीलाई काम लगाउँदै आएको छु। विदेशले यहाँसम्म आउन मलाई आत्मविश्वास दिलायो।’

स्याङ्जा, पुतलीबजार नगरपालिका, करेन्डाँडामा ‘द रोडसाइड क्याफे’ पाँच वर्षयता सञ्चालनमा छ। यसका सञ्चालक हुन्, वैदेशिक रोजगारीका लागि एकताका बेलायत पुगेका कृष्णजंग केसी।क्याफेले कफीपारखीलाई स्वाद–स्वादका कफी खुवाउने गरेका छन्। उनी आफैँ कफी बनाउँछन्। ग्राहकका टेबल–टेबलमा सर्भ गर्छन्। खाली कप उठाउँछन्।भाँडासमेत आफैँ माझ्छन्। ‘विदेशबाट मैले काम सानो–ठूलो हँुदैन भन्नेकुरा सिकेँ,’ उनले भने, ‘उताबाट फर्किएपछि जस्तोसुकै काम गर्न पनि लाज लाग्दैन।’

बेलायतको पाँचतारे होटलको आकर्षक तलब छाडेर नेपालमा आउने दुई युवा हुन्, गोविन्द पौडेल र अर्जुन पौडेल।विदेशको मासिक २ लाख ५० हजार रूपैयाँको तलब त्यागेर रूपन्देहीका यी दुई युवा बुटवलमा होटल व्यवसायमा जमेका छन्। उनीहरूले ‘द स्पाइस लाउन्ज’ सञ्चालनमा ल्याएका छन्।जसमा २६ जनाले रोजगारी पाएका छन्। हालै लाउन्जभन्दा पाँच सय मिटर तल नेपाली स्वाद पाइने ‘चौतारी रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्। त्यस्तै, उनीहरूले होटल–रेस्टुरेन्टका लागि आवश्यक पर्ने सम्पूर्ण सामान पाइने ‘सेफ लाइन हस्पिटालिटी’ पनि सञ्चालनमा ल्याएका छन्। देशमै असीम सम्भावना भएको उनीहरूको तर्क छ। 

त्यस्तै,दाङ, तुलसीपुरमा दाजुभाइ नन्दप्रसाद डाँगी र भूपेन्द्र डाँगीले ‘जुस बार एन्ड रेस्टुरेन्ट’ सञ्चालन गरेका छन्। लामो समय भारतमा काम गरेको उनीहरूले चार महिनाअघि आफ्नै घरमा रेस्टुरेन्ट खोले। डाँगी दाजुभाइ भारतका होटलमा काम गर्थे। घरमै रेस्टुरेन्ट खोल्न भनेर त्यहाँको काम छाडेर घर फर्किएको उनीहरूले बताए।

भारतीय परिकार डोसा पनि कोदाकै बनाउँछन्, उनीहरू। रैथानै खाद्यान्नलाई आकर्षक ढंगले पस्किँदा उनीहरूको रेस्टुरेन्ट चर्चित भएको छ। टुसा उम्रेको मुँगी र चनाको दाल, सिस्नोको परिकार, उसिनेको मकै पनि उनको रेस्टुरेन्टले खुवाउने गरेको छ। भारतमा आठ वर्ष काम गरेको अनुभवलाई उनीहरूले यहाँ उपयोग गरेका छन्। कुनैबेला रोजगारीको लागि भौँतारिदै विदेशिएका उनीहरूले अहिले १० जनालाई रोजगारी दिएका छन्।

सर्लाहीका बालकृष्ण खड्काको काठमाडौँ, बालुवाटारमा ‘बिरयानी हाउस’ छ। अरबी देशहरूमा लोकप्रिय बिरयानी यहाँ पस्किने गरिन्छ। बिरयानी हाउसमा खड्काले १६ जनालाई रोजगारी दिएका छन्। बिरयानी बनाउने सबै सेफ उनले विदेशबाटै ल्याएका हुन्। तर, ती विदेशी नभएर नेपाली हुन्। ‘विदेशमा बसेर बिरयानी बनाउँदै आएका दाजुभाइ यहाँ बिरयानी बनाउने काम गर्छन्,’ उनले भने, ‘उनीहरूले उता गएर सिकेको सीप मैले यता प्रयोग गर्न खोजेको छु। स्वदेशमै विदेशमा सिकेको सीप उपयोग गर्न पाउँदा उहाँहरू दंग हुनुहुन्छ।’

सुदूरपश्चिम, कञ्चनपुरका बहादुर सायर दुई वर्षअघि वैदेशिक रोजगारीबाट फर्किए। भारतको मद्रास हुँदै अफगानिस्तान पुगेका उनले त्यहाँ सात वर्ष काम गरे। नेपाल फर्किएपछि उनले कञ्चनपुरको डोकेबजारमा ‘बोर्डर कटेज क्याफे एन्ड रेस्टुरेन्ट’ सञ्चालन गरे। त्यहाँ उनले सात जनालाई रोजगारी दिएका छन्। विदेशको भोगाइले आफूलाई धैर्य गर्न सिकाएको सायर बताउँछन्। ‘युद्धग्रस्त देश अफगानिस्तानको बसाइले अप्ठ्यारो समयमा पनि नआत्तिएर धैर्य गर्न सिकायो,’ उनले भने, ‘आज म जे छु, वैदेशिक रोजगारीकै कारण छु।’

पशुपालनतिर 

छथरजोरपाटी गाउँपालिका, हात्तीखर्कका विनय बुढाथोकी २० वर्ष नटेक्दै दुबई गएका थिए। त्यहाँ उनी दैनिक १८ घण्टाभन्दा बढी समय खट्थे। चार वर्षको दुबई बसाइपछि उनी नेपाल फर्किए। बाख्रापालन सुरु गरे। विनयको बाख्रा फार्ममा ५० भन्दा बढी बोयरलगायत उन्नत जातका खसीबोका छन्। पाँच लाख रुपैयाँ लगानी गरेर आधुनिक खोर बनाएका छन्। बाख्रापालनका लागि भनेर १४ रोपनी जग्गा किनेर उन्नत जातको घाँस खेती गरेका छन्। ‘फार्ममा म आफैँ खटिन्छु,’ उनले भने, ‘विदेशले मलाई आफ्नै गाउँठाउँमा केही गर्ने ऊर्जा दियो।’

घरमा कृषि र बस्तुभाउको कामले दिक्क भएर इजरायल गएका थिए, गोरखाका परशुराम बस्नेत। त्यहाँ पनि उनी कुखुरा फार्मको काममा परे। नेपाल हुँदा उनलाई कृषिले जीवन उकास्न सकिँदैन भन्ने लाग्थ्यो। त्यसैले तीन लाख रुपैयाँ ऋण लिएर इजरायल गए। ‘कृषि पेशाबाट कसरी उँभो लाग्न सकिन्छ’ भन्ने कुरा उनले इजरायल गएर बुझे। नेपाल आएर उनले ‘बस्नेत पोल्ट्री फार्म’ दर्ता गरे। खोरमा तीन हजारजति ब्रोइलर कुखुराका चल्ला हाले। पछि त्योभन्दा ठूलो १० हजार कुखुरा पाल्न मिल्ने खोर बनाए। आठ वर्षमा चार वटा फार्म सञ्चालनमा ल्याए। हालै उनले अर्को पनि ठूलो फार्म सुरु गरेका छन्। ४५ वर्षका परशुराम अहिले पाँच वटा फार्मका मालिक बनेका छन् र आफ्नो गाउँठाउँका केहीलाई रोजगारी दिएका छन्। 

दुग्ध व्यवसायमा सक्रिय

सुमन पाण्डे (३३) त्यस्ता युवा हुन्, जसले विदेशमा भएको राम्रो कमाइ छोडेर नेपाल आएरकृषि पेशा अँगाले। मास्टर्स पढ्न बेलायत गएका उनले दुई वर्ष उतैको रेस्टुरेन्टमा काम गरे। उताबाट फर्किएर उनले एउटा गाईफार्म किने। गाईफार्मलाई नाम दिए, ‘काउमान्डू’। १० रोपनी जग्गामा रहेको काउमान्डूमा अहिले २५ वटा गाई छन्। यहाँबाट दैनिक तीन सय लिटर दूध उत्पादन हुन्छ।उनको फार्मले १५ जनाभन्दा बढीलाई रोजगारी दिएको छ।‘फार्मबाट मासिक१० लाख हाराहारीमा कमाइ हुन्छ,’ पाण्डेले  भने, ‘पाँच लाख गाईको दानापानी र कामदारलाई दिने तलबमा खर्च हुन्छ। पाँच लाख आफूलाई बच्छ। यति भएपछि किन जाने विदेश ?’

काभ्रे, बेथानचोकका उद्धवप्रसाद तिमल्सिना चार वर्ष मलेसिया बसेर फर्किए। ‘कच्चा उमेर थियो,’ उनले भने, ‘विदेश जान पाए के–के न हुन्थ्योजस्तो लाग्यो। विदेशमा अनेक हन्डर खाएपछि आफ्नै देश फर्किएँ।’ काभे्रमा उत्पादन भएको दूध उनी काठमाडौँ ल्याएर बिक्री गर्छन्। महिनामा लाख रुपैयाँ नेपालमै बसेर सुविस्तासित कमाइ गरिरहेको उनले बताए। भर्खरै प्लस टू सकेर बसेका तिमल्सिनाका छोरा विदेशिने सुरमा थिए। तर, उनले आफ्नो कथा सुनाएर छोरालाई रोकेर राखेका छन्। ‘मेरो छोराजस्ता देशका लाखौँ युवाले आफ्नै ठाउँमा केही गरून् भन्ने मेरो चाहना छ,’ उनले भने।

पर्वत सदरमुकाम, कुश्मा बजारमा १० वर्षसम्म कोरिया बसेका ईश्वर केसी, आठ वर्ष कोरियामा बसेका लक्ष्मण पौडेल, लामो समय खाडी मुलुकमा बसेका प्रेम गुरुङ र स्थानीय समाजसेवी किशोर भण्डारीको ‘च्वाइस डेरी उद्योग’ छ। २५-२५ प्रतिशतको दरले साढे तीन करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधि प्रयोग गरी उनीहरूले डेरी सञ्चालन गरेका हुन्। डेरीमा दही, पनिर, घीउ, नौनीलगायत दुग्धपदार्थ तयार पारिने गरिएको छ। उद्योगमा अहिले स्थानीय १५ जना युवाले रोजगारी पाएका छन्। उद्योगबाट उत्पादित वस्तु पर्वतका मुख्य बजार, छिमेकी जिल्ला म्याग्दी र बागलुङका बजारमा समेत बिक्री हुन्छन्। मिलीजुली काम गर्दा सानो कामलाई पनि व्यावसायिक रूप दिन सकिन्छ भन्ने उदाहरण उनीहरूले प्रस्तुत गरेका छन्। 

विदेशबाट फर्केर व्यवसाय थालनी 

भक्तपुर, सल्लाघारीमा रामभोले ड्राइभिङ स्कुल खोलेर बसेका छन्, रामेछापका रमेश खड्का र विदुर खड्का। उनीहरू पाँच वर्ष कोरिया बसेका थिए। ‘हातमा सीप भयो भने कोही पनि भोको मर्दैन भन्ने लागेर हामीले ड्राइभिङ स्कुल खोल्यौँ,’ विदुरले भने, ‘दिनको सयजना गाडी, बाइक र स्कुटर सिक्ने हुन्छन्। अहिलेसम्म हाम्रोमा ड्राइभिङ सिकेर हजारौँले लाइसेन्स निकालिसके।’ ड्राइभिङ स्कुलमा उनीहरूको ४५ लाख रुपैयाँको लगानी छ। यहाँ उनीहरूले आठजनालाई रोजगारी दिएका छन्। ‘गाउँबाट विदेश जान्छु भनेर जोसिएर आएकालाई हामीले यहाँ रोकेर राखेका छौँ,’ विदुरले भने, ‘हातमा पासपोर्ट बोकेर आउने कतिलाई गाडी सिकाउने काममा लगाइदिएका छौं।’ विदेशिएकोमा यी दुवैलाई ‘गर्व’ छ। ‘नविदेशिएको भए आज हामी कि कुनै चियापसलमा गफ चुटेर बसेको हुन्थ्यौँ कि कुनै पार्कमा टहलिएर बसिरहेका हुन्थ्यौं,’ उनले भने, ‘विदेशले हामीलाई काम गर्ने ऊर्जा र शक्ति दिलायो।’

चितवनका शिव गौतम अफगानिस्तान, इरान र साउदी अरबजस्ता देशमा थुप्रै हन्डर खाएका व्यक्ति हुन्। पछिल्लो समय स्विट्जरल्यान्ड जान ठीक पारेको १० लाख रुपैयाँ फिर्ता लिएर गौतम घर फर्किए। उनले अहिले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालनजिकै तेह्रसाल चोकमा रङको डिलर राखेका छन्। एक वर्षयता एसियन पेन्ट्सको डिलर सञ्चालन गरिरहेका छन्। करिब साढे छ वर्षको विदेश बसाइले आफूलाई ऊर्जावान् बनाएको उनी बताउँछन्। ‘विदेशले काम गर्न सिकायो,’ उनी भन्छन्, ‘अहिले धेरैजसो काम आफैँ गर्छु। कर्मचारी राखे पनि उनीहरूले नभ्याउँदा रङको बाल्टी बोकेर आफैँ काम गर्छु।’ 

वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०६५-६६ देखि २०७३-७४ सम्मको तथ्यांकले ४३ लाख ६५ हजार ४ सय १५ जना विदेश जाने नेपालीको संख्या देखाउँछ। जसमध्ये ९४.७४ प्रतिशत पुरुष र ५.२६ प्रतिशत महिला रहेका छन्। विदेशबाट फर्किएर नेपाल आउनेहरूको भने यकिन तथ्यांक छैन। ‘३० हजार जना जति अहिले हाम्रो सम्पर्कमा छन्,’ रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले भने, ‘योबाहेक सरकारसँग उनीहरूको अन्य तथ्यांक छैन।’वेदैशिक रोजगारीबाट फर्किएका नेपाली सबैभन्दा बढी सम्भावना बोकेको समूह भएको अधिकारीले बताए। ‘यो समूहसँग पैसा, सीप, अनुभव, जाँगर, उत्साह सबै हुन्छ,’ उनले भने, ‘उनीहरूले विदेशमा सिकेका सीप, कमाएको धन र हासिल गरेको अनुभवले देश विकासमा टेवा पुर्‍याउँछ। त्यसका लागि राज्यले उनीहरूलाई सहयोग गर्नुपर्छ।’


‘विदेशले काम, समय र पैसाको महत्त्व बुझायो’

गोपाल संग्रौला
 

मसँग आठ वर्ष वैदेशिक रोजगारीका लागि कोरिया बसेको अनुभव छ। त्यहाँबाट  रित्तो हात फर्किनुपरेन। फर्किंदा काम, समय र पैसाको महत्त्व बुझेर फर्किएँ। कुनै पनि काम मेहनतसाथ नियमित रूपमा गर्‍यो भने अवश्य सफल भइन्छ। यो कुरा विदेशिएका हरेक नेपालीले बुझेर फर्किन्छन्। कुनै पनि काम गर्न लाज मान्नु हुँदैन भन्ने कुरा पनि विदेशले सिकाउँछ।

कामलाई पहिलो प्राथमिकता दिनुपर्छ। अरूको काम पनि आफ्नो जसरी गर्नुपर्छ। काम जति गर्‍यो, मानिसमा भएको अल्छीपना यत्तिकै हटेर जान्छ। कामले मानिसलाई फुर्तिलो बनाउँछ। कामको सम्मान गर्नुपर्छ। काम भनेको सानो–ठूलो हुँदैन। विदेशले यस्तै–यस्तै कुरा सिकाउँछ। 

त्यहाँ सफासुग्घरभन्दा काम गरेर धुलोमैलो भएर आएका मानिसको बढी सम्मान गरिन्छ। काम नगर्ने मानिसको त्यहाँ अपमान हुन्छ। उसको अलिकति पनि इज्जत हुँदैन। तर, हाम्रोमा त्यस्तो छैन। यहाँ काम नगरी बस्नेलाई सम्मान गरिन्छ। दिनभरि मजदुरी गर्नेलाई हामी हेप्ने र चेप्ने गर्छाैं। 

विदेशीहरू काममा एकदमै दत्तचित्त हुन्छन्। काम गर्ने समयमा काम मात्रै गर्छन्। त्यो समयमा मोबाइल चलाउने, इन्टरनेटमा भुल्नेजस्ता काम गर्दैनन्। हाम्रोजस्तो काम गर्दागर्दै साथीलाई भेट्न गएर चिया खाएर बस्ने बानी उनीहरूमा हुँदैन। हाम्रोमा विदेशीको जस्तो काम गर्ने संस्कार छैन। रोजगारीका क्षेत्र पनि थोरै छन्। 

विदेशमा चियापसल र पार्कमा टहलिएका मानिस कमै मात्र देखिन्छ। मानिस कति व्यस्त छन् भन्ने कुरा उनीहरू बाटोमा फटाफट हिँडेका देखेरै चाल पाइन्छ। यहाँ हामी दिनको १० पटकसम्म एकअर्कालाई भेट गरेर चिया खाएर बस्छौँ। त्यहाँ महिनौँसम्म साथीभाइ र आफन्तलाई नभेटी मानिसहरू काम गरिरहेका हुन्छन्। त्यहाँ कोही पनि यत्तिकै बस्दैनन्। सय जनामा ९८ जना मानिस काम गरिरहेकै हुन्छन्। हाम्रोमा सय जनामा ४० जना पनि काम गर्ने मानिस भेट्न मुस्किल छ। 

विदेश जाने जो कोही पनि मेहनती भएर फर्किन्छन्। उनीहरूमा काम गर्ने बानीको विकास हुन्छ। विदेशबाट फर्किएर आउँदा कसैले पनि पछुताउनुपर्ने अवस्था आउँदैन। किनभने, विदेशले मानिसलाई केही न केही सिकाएर पठाउँछ। सामान्य तरिकाले गर्ने काम पनि फरक ढंगले गर्ने बनाएर पठाउँछ। काम सानोबाटै ठूलो हुँदै जान्छ भनेर सिकाउँछ। हामी यहाँ टेबल–कुर्सीमा बसेर गर्ने काम खोज्छौँ। शारीरिक श्रम गर्ने काम धेरैले मन पराउँदैनन्। तर, त्यस्तै शारीरिक श्रम गर्ने काम स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ। जुनसुकै काम जानी राख्दा घाटा हुँदैन। काम जान्नाले मानिसको सेवा–सुविधा बढ्छ। कामले कामदारको हैसियत बढाउँछ। उसको इज्जत बढाउँछ। यस्ता कुरा विदेश गएर आएको प्रत्येक नेपालीले बुझेको हुन्छ। त्यही बुझाइ नेपालमा आएर सदुपयोग गरे विदेशजस्तै नेपाल पनि विकसित बन्न सक्छ। 

(आठ वर्ष दक्षिण कोरिया बसेर आएका संग्रौला ‘कारोबार’ दैनिकमा कार्यरत छन्।)


‘फर्केका नेपालीको सीप ठूलो पुँजी हो’ 

उत्तम अधिकारी ,अध्यक्ष, रिटर्नी माइग्रेन्ट नेपाल

म आफैँ पनि १३ वर्ष दुबई बसेर आएको रिर्टनी माइग्रेन्ट हुँ। मजस्ता हजारौँ नेपाली हाम्रो संस्थामा आबद्ध छन्। सरकारसँग भने हामीजस्ता रिर्टनी माइग्रेन्टको यकिन तथ्यांक छैन। विदेशबाट आर्जेको सीप, ज्ञान र पुँजी स्वदेशमा लगानी गर्न यस संस्थाले उत्प्रेरित गर्छ।

वेदैशिक रोजगारीबाट फर्किएका नेपाली सबैभन्दा बढी सम्भावना र सबैभन्दा बढी अलमलमा परेको समूह हो। उनीहरूसँग पैसा, सीप, अनुभव, जाँगर, उत्साह सबै हुन्छ। उनीहरूले विदेशमा सिकेको सीप, कमाएको धन र आर्जन गरेको अनुभवले देश विकासमा टेवा पुर्‍याउन सक्छ। 

नेपालीहरू विदेश जाँदा परिवार र समाजसँग मात्र टाढिँदैनन्। यहाँको नियम, कानुन, बजार र वातावरणसँग पनि टाढिन्छन्। उताबाट फर्किएर आउने कतिपयले बजारको अवस्था नबुझी लगानी गर्दा डुबेर फेरि विदेशिनुपरेको छ। विदेशबाट आइसकेपछि उनीहरू एक पटक अलमलमा पर्छन्। विदेशबाट फर्किएका नेपालीको सबैभन्दा ठूलो समस्या सामाजिक रूपमा पुनःस्थापित हुन नसक्नु हो। 

वैदेशिक रोजगारीबाट फर्किएको जनशक्ति देशका निम्ति ठूलो सम्भावना हो। उनीहरूलाई उचित अवसर दिएर राज्य प्रणालीमा जोड्नुपर्छ। अहिलेको अवस्थामा पैसा ठूलो पुँजी होइन। मानिसहरूले अन्तर्राष्ट्रिय स्तरमा गएर सिकेको सीप सबैभन्दा ठूलो पुँजी हो। 

हाम्रो संस्थामा आबद्ध त्यस्ता धेरै नेपाली छन्, जो विदेशबाट फर्किएर नेपालमा  राम्रा काम गरिरहेका छन्। उनीहरूमध्ये आईटी, कृषि, पशुपालन, रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रमा धेरैले राम्रो काम गरिरहेका छन्। उनीहरू सबै विदेशबाट काम गरेर आएका हुनाले अनुभवी दक्ष जनशक्ति हुन्। तर, राज्यले त्यस्तो जनशक्तिको पहिचान गर्न सकेको छैन। राज्यसँग उनीहरूले ‘देशमै केही काम गर्छु’ भन्दै कर्जा माग्दा राज्य चाहिँ ‘विदेशमा कति समय काम गर्‍यौ, त्यसको प्रमाणपत्र पेश गर’ भन्छ। विदेशमा गएर काम गर्ने सबै नेपालीसँग त्यो प्रमाणपत्र हुन्छ भन्ने छैन। यसरी उनीहरूको सीप र क्षमता खेर जान्छ। 

परिवारसँग बिछोडिएर दुःख र हन्डर खाएर आएको एउटा नेपाली स्वदेश फर्किएपछि जे काम गर्न पनि तयार हुन्छ। अहिलेको अवस्था ‘एक घर, एक वैदेशिक रोजगार’ भइसक्यो। लाखौँको संख्यामा विदेशिएका नेपालीमाथि करोडौँ जनता आश्रित छन्। विदेशिएर फर्किएका नेपाली सबैभन्दा शक्तिशाली जनशक्ति हुन्। अनुभवले खारिएका यो जनशक्तिलाई उपयोग गरेर राज्यले ठूलो लाभ लिन सक्छ। 

तपाईको कमेन्ट