कश्मीरमा कफ्र्यू लागेपछि

writer

सम्पूर्ण

शनिबार, १४ भदौ २०७६


स्वतन्त्रता गुमेको थियो र त्यसको प्रतिक्रिया दिन पनि नपाइने अवस्था थियो । हामी स्थिरतामा जेलिएका थियौँ । घर नै एउटा ठूलो प्रतीक्षालयमा फेरिएको थियो । रात परेपछि सडकमा सुत्ने गरेका कुकुर र त्यहाँ आइपुगेका नयाँ सैनिकबीच लडाइँ सुरु हुन थाल्थ्यो ।


निया शहदाद

कश्मीरमा हरेक बर्खा आशा र आशंकाका साथ सुरु हुन्छ । लामो हिउँदपछि घाम लाग्न थाल्छ । जताततै रङ र हल्लाखल्ला फर्किन्छ । बिजुली आउँछ । बगैँचामा फूल फुल्न थाल्छन् । चौरमा क्रिकेट खेल्न थालिन्छ । विवाहहरु हुन्छन् । शहरमा आनन्द छाउँछ । एकछिनका लागि लाग्छ, जीवन यही त हो, बाँच्ने यसरी नै त हो । तर, तत्काल डरलाग्दो प्रश्न हामी सबैका अगाडि तेर्सिन्छः यस पटक आगो केले झोस्ला ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी सरकारले अगस्ट ५ मा एकतर्फी रूपमा कश्मीरको स्वायत्तता समाप्त गर्‍यो । त्यसको एक दिनअघि अगस्ट ४ को मध्यराति भारत नियन्त्रित कश्मीरको सबैभन्दा ठूलो शहर र मेरो घर श्रीनगरसहित अन्य क्षेत्र सेनाले सिलबन्दी गर्न थाल्यो । इन्टरनेट, फोन र टीभी काटियो । एक साताअघिदेखि नै संसारकै सबैभन्दा घना सैनिक तैनाथी रहेको कश्मीरमा भारत सरकारले फेरि हजारौँ सैनिक थपेको थियो । आतंकवादी हमलाको सम्भावना रहेको भन्दै हजारौँ तीर्थयात्री र बाहिरबाट पढ्न आएका विद्यार्थीलाई यहाँबाट निकालिएको थियो । 

सेना तैनाथ भएपछि र कफ्र्यू लाग्नुअघिसम्म ७० लाख कश्मीरी जनताले खाद्यान्न, इन्धन र नगद जम्मा गर्न दौडधूप गरे । केही दिनसम्म अनेकौँ हल्ला चलिरह्यो । मूलतः तीन सम्भावना थिए, कश्मीरको स्वायत्तताको अन्त्य, पाकिस्तानसँग युद्ध वा दुवै ।

सूचनामाथिको नियन्त्रणका साथ कश्मीरमा आतंक फैलाइयो । के कुरा थाहा दिने र के नदिने भन्ने सन्तुलन मिलाइयो । अगस्ट ४ को राति कुनाको कोठामा रहेको पुरानो ल्यान्डलाइन फोनको घण्टी बज्यो । मैले हतारहतार फोन उठाएँ तर त्यहाँ मेरै आवाजको प्रतिध्वनि मात्र सुनियो । हामी केही सुन्न, हेर्न, बोल्न नपाउने अवस्थामा पुगिसकेका थियौँ । म आमासँगै पल्टिएकी थिएँ । बाहिर सडकमा सेनाको ट्रक दौडिरहेको थियो । निद्राबाट बेलाबखत ब्युँझेर आमा भन्नुहुन्थ्यो, ‘अझै केही भा’को छैन ?’

अगस्ट ५ को दिन भारतको संसद्ले हाम्रो स्वायत्तता, राज्यको हैसियत र बसोबासको अधिकार तथा विशेषाधिकार खोस्ने विधेयक पारित गर्‍यो । 

घरमाथि उडिरहेको हेलिकोप्टरको आवाजले म ब्यँुझिएँ र झ्याल खोलेर हेरेँ । तीन वटा काला हेलिकोप्टर नजिकै उडिरहेका थिए । तलामुनि मेरी काकी आसिफा कफ्र्यूको बीचमै जस्केलाबाट भित्र पसिन् । आमा र म तर्सिंदै उठ्यौँ र के भयो भनेर उनलाई सोध्यौँ । तर, उनी चुपचाप जुत्ता फुकाल्न थालिन् । गलैँचामा बसिसकेपछि उनले सतर्क र मधुरो आवाजमा भनिन्, ‘हिजो उहाँलाई लगे ।’ उनका पति, मेरा ६३ वर्षीय काकालाई भारतीय सेनाले पक्राउ गरेछ । उनी व्यापारी र नागरिक समाजका अगुवा थिए ।

त्यो पूरै दिन काकीले आफ्नो पतिको खोजी गर्ने प्रयासमा बिताइन् । उनी घरबाट निस्किन्थिन् तर सडकमा उभिएको सैनिकले उनलाई रोक्थे । फर्केर अर्को दिशातिर जान्थिन्, त्यहाँ पनि उनलाई रोकिन्थ्यो । बाहिरको संसार नौ सय मिटरमा खुम्चेको थियो । मेरी काकी त्यही दूरीमा घरी यता घरी उता गरिरहन्थिन् । उनी नफर्किउञ्जेल हामी घरभित्र छटपटाइरहन्थ्यौँ । उनी जति पटक फर्किन्थिन्, त्यति नै कम बोल्थिन् । 

साँझमा याद आयो, हामीसँग त पुरानो रेडियो पनि छ । मैले रेडियो बैठककोठामा ल्याएँ र बजाएँ । गीत नसकिउञ्जेल चुपचाप सुनिरह्यौँ । त्यसपछि रेडियो कश्मीरले समाचार दियो– मोदी सरकारले संविधानको धारा ३७० अन्तर्गत जम्मू–कश्मीर राज्यलाई दिइएको विशेषाधिकार खारेज गर्ने निर्णय गरेको छ । हाम्रो जमिन र त्यसमा बाँचेको जीवनलाई टुक्य्राइएको थियो । हामीले समाचार सुन्यौँ, मुखामुख गर्‍यौँ र रोयौँ । आँशु पुछेर आमाले कसैप्रति लक्ष्य नगरी भन्नुभयो– ‘कश्मीर सकियो ।’ 

त्यसपछिका दिन शून्यतामा बिते । स्वतन्त्रता गुमेको थियो र त्यसको प्रतिक्रिया दिन पनि नपाइने अवस्था थियो । नयाँ समाचार प्राप्त गर्ने योजनामा समय कट्थ्यो । हामी स्थिरतामा जेलिएका थियौँ । घर नै एउटा ठूलो प्रतीक्षालयमा फेरिएको थियो । रात परेपछि सडकमा सुत्ने गरेका भुस्याहा कुकुर र त्यहाँ आइपुगेका नयाँ सैनिकबीच लडाइँ सुरु हुन थाल्थ्यो । आधा अनुहार छोपेर हतियार बोकी हिँडिरहेका सैनिकतर्फ कुकुरको झुण्ड एक स्वरमा भुक्थ्यो । 

हाम्रो घरबाट केही माइल टाढा भित्री शहरमा ठूला प्रदर्शन हुन थालेका थिए । त्यहाँ दमन पनि चर्को थियो । अश्रुग्यास, पेलेट गन, खुर्सानीको धुलो र हवाई फायरले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरिन्थ्यो । घरघरमा सेना पसेर किशोरवयका केटाहरुलाई टिपेर लैजान्थ्यो । बिहानदेखि बेलुकासम्म झण्डै १० लाख सेनाको नजरअगाडि कश्मीर नग्न अवस्थामा रहन्थ्यो । 

कफ्र्युको चौथो दिन एक स्थानीय पत्रिका घर आइपुग्यो । कश्मीरबारे बाहिरी संसारले के भन्यो, सबै जान्न चाहन्थे । तर, पत्रिकामा त्यसबारे केही थिएन । भोलिपल्ट कश्मीर छोडेपछि मात्रै मलाई थाहा भयो, त्यहाँ जे भएको थियो, त्यसको कुनै रेकर्ड राखिएको रहेनछ । पत्रिका त मौन थियो । 

सैनिकले लखेटेपछि श्रीनगरको एउटा पुलबाट १७ वर्षीय ओसाइब अल्ताफ झेलम नदीमा हाम फालेछन् । उनको मृत्यु भएछ । कम्तीमा दुई हजार जनालाई बिनाकुनै आरोपमा जेलमा कोचिएछ । त्यसैमध्येका एक मेरा काका कश्मीरमा होइन, आगराको जेलमा रहेछन् । केही दिनमै डेढ सयभन्दा बढी मानिस पेलेट गन र अश्रुग्यासले घाइते भएछन् । ६० वर्षीय मोहम्मद अयुब खान सेनाले हानेको अश्रुग्यासले निसास्सिएर मरेको परिवारले चार दिनपछि मात्र थाहा पाएछ । दिल्लीमा रहेका छोरालाई आफ्नो परिवार जिउँदै रहेको थाहा दिन एक जना मान्छे ३४ माइल हिँडेर टेलिफोन भएको ठाउँमा पुगेछन् । फार्मेसीमा औषधि अभाव हुन थालेको रहेछ । एक महिला आफ्नो बुबालाई इन्सुलिन पुर्‍याउन नयाँ दिल्लीबाट विमानमा कश्मीर पुगेपछि पनि ११ माइल हिँडिछन् । तर, पत्रिकामा यी कुनै खबर थिएनन् ।

कश्मीरमा अन्तिम साँझ बिताइरहँदा म बगैँचामा बसेर पत्रिका हेरिरहेकी थिएँ । पानाभरि विवाह रद्द भएका सूचना छापिएका थिए । चाँडै नै शान्त दिन समाप्त हुँदै थियो । रातभरि माइकिङ हुन थालेको थियो । कफ्र्यूको बेला बाहिर निस्किए हुने खतराबारे चेतावनी दिँदै सैनिक जिप ओहोरदोहोर गरिरह्यो– ‘घरबाट बाहिर ननिस्किनुहोला, कारबाही गरिनेछ ।’ बेगाले मनमनै तिनलाई सरापे र मलाई हेरेर कमजोर हाँसो हाँसे । ‘हामीलाई धेरै बेर बाहिर बस्न दिँदैनन्,’ उनले उठेर भित्र पस्दै भने, ‘हिउँद नलागुञ्जेल यस्तै हो ।’

त्यसपछि मात्रै मैले अगस्ट ५ को बिहान टुटेको आफ्नो सपना सम्झिएँ । सपनामा हाम्रै छिमेकको एक जना पागल व्यक्ति हिउँले छोपिएको उपत्यकामा दौडिरहेका थिए र आफ्नो थोतो मुखले भनिरहेका थिए, ‘कश्मीर फिर्ता भयो ! कश्मीर फिर्ता भयो !’ उनी नाचिरहेका थिए । शहरका हरेक घरको ढोका ढकढक्याउँदै बाहिरको चमत्कार हेर्न हामीलाई निम्त्याइरहेका थिए । बाहिर बाक्लो हिउँ परेको थियो र धेरै अघि मेटाइएका कश्मीरको सबै हिस्सा फिर्ता ल्याएको थियो । ती व्यक्ति एक्लै नाचिरहेका थिए ।

( द न्युयोर्क टाइम्सबाट । शहदाद कश्मीरी लेखक हुन् । अनुवादः कवि आचार्य)  

तपाईको कमेन्ट

मुख्य समाचार