कोरियाले सिकायो–काम नै पूजा हो

writer

सृजना खड्का

शनिबार, १४ भदौ २०७६


रामेछापका दुई दाजुभाइ विदुर खड्का र रमेश खड्का वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्ष कोरिया बसे। गाडीको सामान बनाउनलाई आल्मुनियम पगाल्नुपर्ने उनीहरूको काम थियो। ‘सात÷आठ सयको तापक्रममा आल्मुनियम पगाल्नुपथ्र्यो,’ रमेशले भने, ‘काम गर्दा धेरै तातो भएर फलामको बेल्चा नै टुक्रिन्थ्यो। विदेशमा लगातार ४८ घण्टासम्म ‘थ्री डी’ अर्थात् ‘डेन्जर’, ‘डर्टी’ र ‘डिफिकल्ट’ काम गरियो।’ 

बाध्यताले विदेशिएको बताउने उनीहरूले हाल भक्तपुर, सल्लाघारीमा ‘रामभोले ड्राइभिङ स्कुल’ खोलेका छन्। कोरिया गएर आफूहरूले सीपभन्दा ठूलो अरू केही रहेनछ भन्ने सिकेका उनीहरू बताउँछन्। ‘हातमा सीप भयो भने कोही पनि भोको मर्दैन भन्ने लागेर ड्राइभिङ स्कुल खोल्यौँ,’ विदुरले भने, ‘दिनको सय जना गाडी, बाइक र स्कुटर सिक्न आउँछन्। हाम्रोमा ड्राइभिङ सिकेर हजारौँले ड्राइभिङ लाइसेन्स निकालिसके।’ ड्राइभिङ स्कुलमा उनीहरूको ४५ लाख रुपैयाँको लगानी छ। यहाँ उनीहरूले आठ जनालाई रोजगारी दिएका छन्। ‘गाउँबाट विदेश जान्छु भनेर जोसिएर आएकालाई हामीले यहाँ रोकेर राखेका छौँ,’ विदुरले भने, ‘हातमा पासपोर्ट बोकेर आउने कतिलाई गाडी सिकाउने काममा लगाइदिएका छाँै। खुशीसाथ उनीहरू यहाँ काम गरिरहेका छन्।’ उनीहरूकहाँबाट ड्राइभिङ सिकेका कोही ड्राइभर भएका छन् भने कोही ड्राइभिङ सिकाउने गुरु। 

विदेशले आफूलाई गरिखान सिकाएको बताउँछन्, रमेश। ‘नेपालमा कतिपय काम लाज मानेर गरिँदैनथ्यो,’ उनले भने, ‘कोरिया गएपछि कुनै पनि काम गर्न लाज मान्न नहुने रहेछ भन्ने बुझेँ। विदेशले मलाई गरिखान सिकायो।’ रमेश र विदुरलाई आजभोलि जस्तोसुकै काम गर्न पनि लाज लाग्दैन। ‘काम भनेको सानो–ठूलो हुँदैन भन्नेकुरा विदेशमा सिकियो,’ विदुरले भने, ‘यो काम सानो, त्यो काम ठूलो भन्ने मानिस जीवनमा सधैँ पछि पर्ने रहेछ। कोरियाले काम नै पूजा हो भन्ने कुरा सिकायो।’ 

विदुरले ड्राइभिङ स्कुलसँगै भविष्यमा गाउँ गएर आधुनिक कृषि व्यवसाय गर्ने सोच बनाएका छन्। ‘गाउँका धेरै जग्गाजमिन बाँझो छाडेर मानिस शहर पसेका छन्,’ उनले भने, ‘त्यही जग्गालाई उपयोग गरेर हामी दाजुभाइले केही गर्ने सोच बनाएका छौँ। त्यसमा असफल भइएछ भने पनि बरु अरू क्षेत्रमा हात हालौँला। तर, कुनै पनि हालतमा विदेशिदैनौँ।’ विदेशिएकोमा दुवैलाई गुनासोभन्दा गर्व छ। ‘नविदेशिएको भए आज हामी कि कुनै चियापसलमा गफ चुटेर बसेका हुन्थ्यौँ कि कुनै पार्कमा टहलिएर बसिरहेका हुन्थ्यौं,’ विदुरले भने, ‘विदेशले हामीलाई काम गर्ने ऊर्जा दियो। जसलाई हामीले भरपूर सदुपयोग गर्ने कोसिस गरेका छौं।’

तपाईको कमेन्ट

मुख्य समाचार