मलेसियाले मेहनती बनायो

writer

सृजना खड्का

शनिबार, १४ भदौ २०७६


काभ्रे, बेथानचोकका उद्धवप्रसाद तिमल्सिनाले चार वर्ष मलेसियामा काम गरे। साथीभाइको लहैलहैमा विदेशिएका थिए। ‘कच्चा उमेर थियो,’ उनले भने, ‘विदेश जान पाए के–के न होलाजस्तो लाग्यो। यहाँबाट जे सोचेर गएको थिएँ, विदेश त्यसको ठीक विपरीत रहेछ।’ 

काम गर्ने बानी थिएन। सुरुमा उनलाई काम गर्नै गाह्रो भयो। ‘जति गरे पनि घडी घुम्दैनथ्यो,’ उनले भने, ‘विदेशमा पैसा यत्तिकै बोटमा फल्ने रहेनछ, मेहनतले फलाउनुपर्दो रहेछ।’ चार वर्ष वैदेशिक रोजगारीको अनुभवले तिमल्सिनाको जीवन परिवर्तन गरिदियो। मलेसियाबाट उनी ‘आफ्नै गाउँठाउँमा केही गर्छु’ भन्दै फर्किए। गाउँमा गएर गाईपालन गर्ने सोच बनाए। १० वटा गाई जम्मा पारेर एउटा फार्म तयार गरे। ‘विदेशबाट आएको मान्छे, के गाई पालेको होला ?’ सुरुमा उनलाई धेरैले यसै भने। तर, उनलाई भने आफ्नै ठाउँमा केही गरेर देखाउनु थियो। 

सुरुमा उत्पादन गरेको दूधले बजार पाएन। कामदार पाउन पनि उत्तिकै गाह्रो भयो। थुप्रै हण्डर खाए पनि उनले हार मानेनन्। बिस्तारै गाईपालनबाट राम्रो आम्दानी हुन थाल्यो। ‘मेरो कामले धेरैलाई विदेशभन्दा यहीँ केही गर्न हौस्यायो,’ उनले भने, ‘व्यक्तिगत प्रयोजनका लागि गाईपालन गर्नेहरू पनि व्यावसायिक तरिकाले काम गर्न थाले।’ 

छोराछोरी पढाउने सिलसिलामा केही वर्षअघि काठमाडौँ आए। काठमाडाँै, सुविधानगरमा ‘कञ्चन दूध डेरी’ सञ्चालन गरे। उता आफ्नो फार्म केही व्यक्तिलाई जिम्मा लगाए। अहिले उनी गाउँमा उत्पादन भएको दूध शहर ल्याउँछन्। ‘गाउँमा भन्दा यता राम्रो भाउ पाइन्छ,’ उनले भने, ‘यातायातको सुविधा भएकाले धेरैले उता उत्पादन गरेको दूध यता पठाउँछन्।’

लाखौँको लगानीमा उनले ‘चिस्यान भ्याट’ किनेका छन्। ‘तापक्रम मिलाएर राखेपछि चिस्यान भ्याटमा आज राखेको दूध भोलिसम्म जस्ताको तस्तै हुन्छ,’ उनले भने, ‘यसरी हाम्रो डेरीले दैनिक तीन सय लिटर दूध बेच्छ। महिनाको एक लाख रुपैयाँ कतै जाँदैन।’ 

सबै कुरा विदेशबाट आयात गरिरहेको अवस्थामा भोलि दूध पनि बाहिरबाटै आयात हुने दिन नआओस् भन्ने लाग्छ उनलाई। ‘अहिले सबै कुरा विदेशबाट भिœयाइन्छ,’ उनले भने, ‘दूधमा मात्रै भए पनि आत्मनिर्भर बन्न सकियोस् भन्ने लाग्छ।’ 

मलेसियामा बाँचेको चार वर्ष आफ्ना लागि फलदायी भएको उनले सुनाए। ‘हामी बिरामी नहुँदा पनि बिरामीको बहाना गरेर काम ठग्छाँै,’ उनले भने, ‘विदेशमा डाक्टरको सिफारिसबिना ‘बिरामी भएँ’ भनेर बस्न पाइँदैनथ्यो। विदेशले मलाई काममा नठग्न र मेहनती हुन सिकायो।’ 

तपाईको कमेन्ट

मुख्य समाचार