कफी कर्ममा मग्न

writer

भवानी अधिकारी

शनिबार, १४ भदौ २०७६


स्याङ्जा : पुतलीबजार नगरपालिका, करेन्डाँडामा ‘द रोडसाइड क्याफे’ पाँच वर्षयता सञ्चालनमा छ। क्याफेले कफीपारखीलाई स्वाद–स्वादको कफी खुवाउने गरेको छ। राजमार्गको छेउमा रहेको क्याफे सुन्दर, शान्त छ। यसका सञ्चालक हुन्, कृष्णजंग केसी। अग्लो कद, लामो कपाल भएका उनी प्रायः टिसर्ट र हाफ प्यान्टमा देखिन्छन्। 

उनी आफैँ कफी बनाउँछन्। ग्राहकका टेबल–टेबलमा सर्भ गर्छन्। खाली कप उठाउँछन्। अनि, कप सफा गर्नसमेत आफैँ कसिन्छन्। क्याफेमा कर्मचारीको अभाव भएर यसो गरेका होइनन्। भन्छन्, ‘ग्राहकलाई आफ्नै हातले कफी खुवाउन पाउँदा खुशी लाग्छ।’

चार दाजुभाइमध्ये कान्छा हुन्, उनी। दुई जना दाइ अमेरिका, एक दाइ र बहिनी बेलायतमा बस्छन्। आमाबुबा र परिवारका बाँकी सदस्य अहिले पनि स्याङ्जामै छन्। वैदेशिक रोजगारीका लागि एकताका केसी पनि बेलायत पुगेका थिए। ‘पहिला गाडी सो रुम र गार्मेन्टको काम गर्थें,’ उनी भन्छन्, ‘मोडलिङको पनि सोख थियो। तर, पछि विदेश जाने रहर जाग्यो र बेलायत पुगेँ।’ केही वर्ष त्यहाँ बसेपछि उनी नेपाल फर्किए। व्यवसाय गर्न थाले। 

देशमा जनयुद्ध चर्कियो। उनी फेरि हानिए बेलायततिर। ‘कर्ण शाक्यको किताब ‘सोच’ पढेपछि मन फेरियो,’ ४७ वर्षीय केसी भन्छन्, ‘नेपालमा थुप्रै सम्भावना देखेँ। स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर फर्किएँ।’ सात वर्षअघि उनी नेपाल फर्किए र आफ्नै जन्मथलोमा क्याफे सञ्चालन गरे। ‘यहीँ उत्पादित कफीको प्रवद्र्धन गर्न क्याफे सञ्चालन गरेको हुँ,’ उनी सुनाउँछन्, ‘आफ्नो क्षेत्रको एग्रो टुरिजम बढाउनुपर्‍यो भन्ने लाग्यो।’

सडककिनारमा बसेर सुन्तला पनि बेचेका छन्। ‘ठेकेदारलाई सुन्तला बगैँचा सुम्पने चलन मलाई ठीक लागेन,’ उनी भन्छन्, ‘त्यस्तो हुँदा किसानले पाउनेजति फाइदा पाउन सक्दैनन्। बरु, आफैँ सडककिनारमा बसेर बेचियो भने फाइदा हुन्छ।’ ३५ रोपनी जग्गामा तरकारी तथा फलफूल खेती गरिरहेका छन्। ‘विदेशमा हुँदा आफ्नो गाउँको, ठाउँको साह्रै माया लाग्थ्यो,’ उनी सम्झन्छन्, ‘अब विदेश जान्नँ। आफ्नै माटोमा मेहनत गर्छु, पसिना बगाउँछु।’ बेलायत बस्दा आफूले कामको सम्मान गर्न जानेको उनी बताउँछन्।

आफ्नो कामबाट सन्तुष्ट छन्, केसी। क्याफेमा कफी खान आउनेको धुइरो लाग्छ। ‘स्वदेशी–विदेशी पर्यटक बराबर नै आउने गरेका छन्,’ उनी सुनाउँछन्, ‘अग्र्यानिक कफीको स्वादमा आनन्दको अनुभूति गर्छन्।’ राजमार्गको छेउमा भएकाले पोखरा–लुम्बिनी घुम्न आउने पर्यटक, भारत घुमेर फर्किने पर्यटक, पाल्पा जाने स्वदेशी र विदेशी पर्यटक आदि क्याफेमा आउँछन्। आराम गर्छन्, आनन्दसित कफी खान्छन्। आफ्नै बगैँचामा फलेका कफीलाई प्रशोधन गरी उनी कफी बनाउँछन् र बेच्छन् पनि। कफीसँगै खाना, खाजा, लस्सीलगायत पनि क्याफेले सर्भ गर्ने गरेको छ।

तपाईको कमेन्ट

मुख्य समाचार