यूके टू काउमान्डू

writer

युवराज भट्टराई

शनिबार, १४ भदौ २०७६


सुमन पाण्डे (३३) ती युवामध्ये एक हुन्, जसले विदेशको राम्रो कमाइ छाडेर नेपालमा कृषि पेशा अँगाले। स्नातकोत्तर पढ्न बेलायत पुगेका उनले पढाइ सकेपछि दुई वर्षजति त्यहीँका रेस्टुरेन्टमा काम गरे। ‘आफ्नै देशमा केही गर्नुपर्छ’ भन्ने लागेपछि नेपाल फर्किए। ‘फर्किएको एक वर्षपछि गाई फार्म सुरु गरेँ,’ उनी भन्छन्।

पाण्डेको स्थायी घर काभ्रे हो। पछि परिवार काठमाडौँ बसाइँ सर्‍यो। कोटेश्वरको रत्न शिक्षा सदनबाट २०६८ सालमा उनले एसएलसी पास गरे। ललितपुर, बालकुमारीमा रहेको सीसीआरसी कलेजबाट प्लस टू पढे। प्लस टूपछि हस्पिटालिटी क्षेत्रमा केही गर्छु भन्ने सोचेले काठमाडौँ, डिल्लीबजारस्थित आईएसटी कलेजमा बीएचएम पढ्न भर्ना भए। स्नातक तहमा पढ्दै गर्दा उनी इन्टर्न गर्न मलेसिया पुगे। सम्झन्छन्, ‘त्यहाँको एउटा ठूलो रेस्टुरेन्टमा एक वर्ष इन्टर्न गरेँ।’ त्यसपछि मास्टर्स गर्न यूके गए।

त्यहाँ हुँदा मासिक डेढ लाख रुपैयाँ आम्दानी भएको उनी बताउँछन्। ‘एक इन्डियन रेस्टुरेन्टमा काम गर्थें,’ उनी भन्छन्, ‘कमाइदेखि हरेक सेवासुविधा राम्रै थियो। तर, मनमा सन्तुष्टि थिएन।’ यूके हुँदादेखि नै नेपालमा ‘एग्रो हस्पिटालिटी’ क्षेत्रमा केही गर्ने योजना बनाउन थालेका थिए। भन्छन्, ‘चार वर्ष त्यहाँ बसियो। नेपाल आएँ। यहाँको माहौल बुझ्न द्वारिका होटलमा काम गर्न थालेँ।’ द्वारिका होटलमा काम गर्दा उनी सुपरभाइजर थिए। तलब यूकेभन्दा निकै कम थियो। ‘मासिक २० हजार रुपैयाँ पाउँथेँ,’ उनी भन्छन्, ‘तर, हरेक दिन केही न केही सिकिरहेको थिएँ।’

द्वारिकामा काम गर्न थालेको एक वर्षपछि उनले काँडाघारीमा एउटा गाई फार्म किने। त्यसलाई नाम दिए, ‘काउमान्डू।’ १५ लाख रुपैयाँमा किनेको फार्ममा सुरुवातमा १० वटा गाई थिए। उनी बस्थे कोटेश्वर, फार्म थियो काँडाघारी, काम गर्थे गौशालामा। बिहान ६ बजेदेखि होटलमा ड्युटी हुन्थ्यो। भन्छन्, ‘बिहान आएर काम गरेर फर्किंदा ४ बजेको हुन्थ्यो। फार्ममा गएर पनि आफूले हेर्नुपथ्र्यो।’ एक जना कामदारले फार्म सम्हालेका थिए। सुरुमा ५० लिटर दूध उत्पादन हुन्थ्यो। ‘उत्पादन भएको दूध आफन्तमा नै बिक्री गर्थें,’ उनी भन्छन्, ‘बजारमा लगेर बेच्ने उत्पादन थिएन।’

पूरै समय फार्मलाई दिन उनले जागिर छोडे। आफू पनि पूर्ण रूपमा फार्ममा खट्न थालेपछि गाई पनि थपे। ‘यूकेमा हुँदा लगनशील हुन, धैर्य गर्न सिकेको थिएँ,’ उनी भन्छन्, ‘आफ्नो काम गर्दा पनि ती कुरा लागू गरेँ।’ 

‘प्रायः कतिपयले व्यवसाय सुरु गरेलगत्तै लाभ खोज्ने गरेका छन्,’ उनी थप्छन्, ‘तर, मैले कहिल्यै त्यो चाहिनँ। बिस्तारै हुन्छ भन्ने विश्वास थियो। आफूले लगनशील भएर धैर्यसाथ काम गरेँ।’ अहिले फार्ममा २५ वटा गाई छन्। दैनिक तीन सय लिटर दूध उत्पादन हुन्छ। बिहानको दूध बजारमा नै खपत हुने उनी बताउँछन्। भन्छन्, ‘ग्राहकले भनेको ठाउँमा दूध पुर्‍याइदिन्छौँ। बेलुकीको दूधबाट पनिर, घीउ, दहीलगायत दुग्धपदार्थ बनाउँछौँ।’ फार्ममा १५ जनाभन्दा बढीले रोजगारी पाएका छन्। 

काँडाघारीमा रहेको गाई फार्म १० रोपनीमा फैलिएको छ। एक रोपनीमा गाईगोठ छ, दुई रोपनीमा चरन क्षेत्र बनाएका छन्। ‘बाँकी जमिनमा अग्र्यानिक तरकारी, फलफूलखेती सुरु गरेका छौँ,’ उनी भन्छन्। अहिले फार्ममा अन्य चार जना पनि जोडिएका छन्।

अचेल फार्मबाट मासिक १० लाख रुपैयाँ कमाइ हुने पाण्डे बताउँछन्। ‘पाँच लाख रुपैयाँजति गाई र कामदारको तलबमा खर्च हुन्छ,’ उनी भन्छन्, ‘पाँच लाख चोखो आफ्ना लागि बच्छ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार