विदेशको ज्ञानले गाउँमा उद्यम

writer

सम्पूर्ण

शनिबार, १४ भदौ २०७६


शम्भु यादव

सिराहा : लहान नगरपालिका–१४ बस्तीपुर गाउँका ४१ वर्षीय राजेन्द्रप्रसाद यादवले १४ वर्ष वैदेशिक रोजगारीमा बिताए। मलेसिया, साउदी अरेबियामा पटक–पटक गरी वर्षांै कमाउनलाई धाए। गाउँमा थोरबहुत घरजग्गा जोडे। छोराछोरी पढाए। घरखर्च चलाए। आजभोलि उनी विदेशको मोह त्यागेर गाउँमै रोजगारी गर्न थालेका छन्। गत वैशाखदेखि च्याउखेती सुरु गरेका छन्। आफूले उत्पादन गरेको च्याउ दैनिक रूपमा बजार गएर बेच्छन्। च्याउखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। 

घरमै तीन वटा कोठामा च्याउ लगाएका छन्। बिहानै च्याउमा गोडमेल गर्छन्। उत्पादन भएको टिपेर बजारमा लगेर बेच्छन्। फेरि दिनभरि च्याउकै गोडमेलमा लाग्छन्। विदेशभन्दा देशमै राम्रो काम पाएको उनी सुनाउँछन्। ‘विदेशमा टन्टलापुर घाममा घण्टौँ ड्युटी गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘अहिले आफ्नै गाउँमा सानो पुँजीमा काम गर्दा सन्तुष्ट छु। घरखर्च र छोराछोरी पढाउन च्याउकै आम्दानीले पुगेको छ।’ 

पहिलो पटक २०६० सालमा एक लाख रुपैयाँ ऋण लिएर उनी वैदेशिक रोजगारीका लागि मलेसिया उडे। एक वर्षको कमाइले ऋण चुक्ता भयो। नौ वर्ष त्यहीँ काम गरे। त्यसपछि घर फर्किए। २०७० सालमा उनी साउदी अरब गए। पाँच वर्षको साउदी बसाइको क्रममा उनको भेट विराटनगरका पवन नेपालसँग भयो। पवनका बुबा च्याउखेती गर्छन्। २०७५ सालमा गाउँ फर्केका राजेन्द्रलाई पवनले आफ्नो घर लगेर च्याउखेती गर्ने तरिका सिकाए। 

त्यहीँबाट प्रेरित भएका राजेन्द्रले पनि च्याउखेती गर्न थाले। सुरुमा ५० हजार रुपैयाँ लगानी गरेका थिए। ‘बीउ लगाएको २२÷२३ दिनमै च्याउ उत्पादन हुने गर्छ,’ उनी सुनाउँछन्, ‘एकातिर बेच्दै जान्छौँ। अर्कोतिर खेती लगाउँदै जान्छौँ।’ गर्मी मौसममा च्याउ कम उत्पादन हुने उनी बताउँछन्। अहिले उनले दिनको पाँचदेखि १० केजीसम्म च्याउ बेच्छन्।
 
तरकारीखेतीले फेरियो जीवन

लहान नगरपालिका वडा नम्बर–२४ झुटकी गाउँका ४७ वर्षीय शत्रुघन राय कुर्मी पनि वैदेशिक रोजगारीबाट फर्केर गाउँमै रोजगारी गर्न थालेका छन्। २०६७ सालमा एक लाख रुपैयाँ कर्जा लिएर विदेशिएका उनी सात वर्ष विदेशमै बसे। विदेशमा १२ घण्टा काम गरेर जसोतसो २० हजार रुपैयाँ मासिक बचत गर्ने उनी अहिले गाउँमै तरकारीखेतीमा व्यस्त भएका छन्। 
वैदेशिक रोजगारीको कमाइले गाउँमा १२ कट्ठा खेती गर्ने जग्गा किनेको उनी बताउँछन्। अहिले त्यही खेतमा तरकारीखेती गर्दै आएका छन्। ‘परिश्रम गर्न सके स्वदेशमै विदेशभन्दा बढी आम्दानी हुन्छ,’ उनी भन्छन, ‘विदेशमा रूखबाट खजुर टिप्ने, बाख्रा चराउने गर्थें। त्यति मेहनत गरे यहीँ राम्रो हुन्छ।’ 

उनका छिमेकी ३५ वर्षीय नरेशकुमार राय पनि सात वर्षका लागि वैदेशिक रोजगारीमा गएका थिए। अहिले उनी पनि गाउँमै तरकारीखेतीमा रमाउन थालेका छन्। विदेशको कमाइले १४ कट्ठा खेती गर्ने जग्गा जोडेको उनी बताउँछन्। ‘लाखौँ रुपैयाँ कर्जा लिएर विदेशभन्दा यही कुनै काम गर्नु ठीक लाग्यो,’ उनी भन्छन्,  ‘हामी विदेशमा घण्टौँ काम गर्छौं, अल्छी मान्दैनौँ। तर, त्यही मेहनत गाउँमा गर्न चाहदैनौँ। विदेशमा जति मेहनत गाउँमा गरे त्यहाँभन्दा बढी आराम र आम्दानी हुन्छ।’

दुःख गरेर विदेशमा कमाएको पैसा उत्पादक काममा लगाएर देशमै रोजगारी गर्नुपर्ने उनी सुनाउँछन्। ‘वर्षौंसम्म दुःख गरेर आर्जेको कमाइ अनुत्पादक काममा खर्च गरेर सकाउनुभन्दा उत्पादक काममा लगाउनु बेस,’ उनी भन्छन्। 

विदेशमा पढाइ, गाउँमा काम

धनगढीमाई नगरपालिका–९ मुसहर्नियाका सोनाम स्याङ्बो विदेशमा पढेर गाउँमा रोजगारी गरिरहेका छन्। उनले अरू युवालाई पनि रोजगारी दिएका छन्। गाउँमै आँपको जुस, गोलभेँडाको चटनी र आचारलगायत उत्पादन गर्दै आएका छन्। ‘गाउँमै आफू पनि काम गर्छु, अरूलाई पनि काम दिन्छु भन्ने सोचले विदेशमा पढेर गाउँ फर्किएँ,’ उनी भन्छन्। 

सोनाम पढ्न अस्ट्रेलिया गएका थिए। पढ्दापढ्दै कामको अनुभव पनि सँगाले। गत वर्ष आँप पाक्ने महिना जेठमा गाउँ फर्के। त्यसपछि उनलाई फेरि विदेश जाने रहर जागेन। कारण– गाउँमै उत्पादन भएको आँप। गत वर्ष सिराहालगायत मधेशका जिल्लामा आँप अत्यधिक फलेको थियो। बिक्री भइरहेको थिएन। किसान मारमा थिए। बिक्री भए पनि कम दाममा बेच्न बाध्य थिए। आँप फालाफाल थियो। ‘आँप खेर गइरहेको देखेर विदेश जाने जाँगर चलेन,’ उनी भन्छन्, ‘फालाफाल आँप देख्दा किसानका आँशु बगिरहेको जस्तो लाग्यो। त्यसपछि आँपका परिकार बनाएर आफू पनि आम्दानी गर्ने र किसानलाई पनि गराउने योजना बनाएँ।’

गत वर्ष उनले तीन क्विन्टल आँपको गुदी निकाली प्रशोधन गरेर राखेका थिए। अहिले त्यस गुदीको जुस बनाएर बिक्री गर्ने गरेका छन्। बजारमा पाइने जुसभन्दा सस्तोमै बिक्री गरिरहेको उनी सुनाउँछन्। उनले एक क्विन्टल गोलभेँडाको गुदी प्रशोधन गरेर राखेका छन्। जाडो महिनामा चटनी बनाएर बेच्ने उनी बताउँछन्। 

सोनामले खाद्य प्रविधिमा काठमाडौँस्थित क्याफोडेट कलेजबाट बीटेक गरेका छन्। पढाइ पूरा गरेपछि सन् २००९ मा एक चाउचाउ फ्याक्ट्रीमा काम गरे। दुई वर्षजति कोकाकोला कम्पनीमा पनि काम गरे। सन् २०१३ मा उनी अस्ट्रेलिया गए। विदेशमा हप्तामा पाँच दिन काम र दुई दिन पढाइ गर्ने गरेको उनी बताउँछन्।

‘आफूसँग भएको ज्ञान–सीप यहीँ प्रयोग गरी खेर गइरहेको फलफूललाई परिकारमा बदलेर आम्दानी बढाउने सोच आयो,’ उनी भन्छन्, ‘गत वर्ष जम्मा गरेर राखेको आँपको गुदीमा चिनी र पानी घोलेर जुस बनाई अहिले बेचिरहेका छौँ। गुणस्तर चिन्हका लागि कच्चा पदार्थ जाँच्न पनि पठाएका छौँ।’ केमिकल मिलाएर साधारण जारमै आँपको गुदी एक वर्षसम्म राखेको उनी बताउँछन्। गएको वर्ष परीक्षणको लागि पाँच हजार लागतमा राखेको आँपको गुदीबाट ३० हजारको जुस बेचेको उनी सुनाउँछन्। ‘विदेशबाट आएर खेर गइरहेको आँपको गुदी निकालेर जुस बनाउन सकिने कुरा सुनाउँदा गाउँमा धेरैले सुरुसुरुमा विश्वास नै गरेनन्,’ उनी भन्छन्, ‘एक जना सहयोगी र आफू मिलेर आँपको गुदी निकालेर जारमा राख्यौँ।’ 
सोनामले ‘स्याङ्बो फुड्स एन्ड बेभरेज’ उद्योग सञ्चालन गरेका छन्। साथै, उनले  गाउँ–गाउँमा गएर महिलाहरूलाई अचार बनाउने तालिम पनि दिने गरेका छन्। ‘देशमै प्रशस्त काम छ,’ उनी भन्छन्, ‘मान्छेले मेहनत मात्र गर्नुपर्‍यो। काम गर्न लाज मान्नुभएन।’ 

तपाईको कमेन्ट

मुख्य समाचार