कृषिले कायापलट भएको जिन्दगी

सृजना खड्का
शनिबार, १४ भदौ २०७६
गोरखा, आरुघाटकी शर्मिला अधिकारीले यही असार २९ गते ५० हजार रुपैयाँ नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार’ पाइन्। वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उत्पादन तथा रोजगारमूलक उद्यम व्यवसाय गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई सो पुरस्कार प्रदान गर्यो। ‘यो सम्मान मलाई मात्रै होइन, विदेशबाट फर्किएर नेपालमै केही गरिरहेका उद्यमीलाई गरिएको सम्मान हो,’ शर्मिलाले भनिन्, ‘सम्मान पाउन कर्म गरे पुग्दो रहेछ।’
वैदेशिक रोजगारीका लागि उनका श्रीमान् नीरबहादुर राउत १४ वर्षसम्म विदेशिए। भिजिट भिसामा श्रीमान्लाई भेट्न दुबई गएकी शर्मिला पनि उतै बसेर काम गर्न थालिन्। एक वर्ष हेल्परको काम गरेकी उनले दुई वर्ष त्यहाँको ब्युटिपार्लरमा काम गरिन्। यस बीचमा उनका जुम्ल्याहा छोरा राम–लक्ष्मण जन्मिए। केही वर्ष छोरा स्याहार गर्दै बिते।
एक पटक उनीहरू सपरिवार नेपाल आए। शर्मिला श्रीमान्को घर भोजपुर गइन्। ‘बाँझो खेतमा अलैँचीखेती गरेको देख्यौँ,’ उनले भनिन्, ‘‘मान्छेहरू भाडामा जग्गा लिएर खेती गरिरहेका रहेछन्, हाम्रो त टन्नै जग्गा छ, हामी पनि अब खेती गराँै’ श्रीमान्ले भन्नुभयो,’ उनले सम्झिइन्, ‘भूकम्प गएको २०७२ सालको मंसिरबाट कीर्तिपुर पाँगामा पाँच रोपनी जग्गामा ‘राम–लक्ष्मण अग्र्यानिक एग्रिकल्चर फार्म’ सुरु गर्यौँ।’ छ लाख रुपैयाँ लगानीमा सुरु गरेको फार्म राम्रो हुँदै गयो। त्यहाँ उनीहरूले नौ थरी तरकारी रोप्न थाले। विदेशको भन्दा दोब्बर आम्दानी नेपालमै हुन थाल्यो। यसपछि उनीहरूले सुरु गरे नागार्जुन, रामकोटस्थित ‘मैत्री मंगलम अग्र्यानिक कृषि फार्म।’ साझेदारीमा सञ्चालन गरेको यो फार्म १ सय २७ रोपनी क्षेत्रफलमा फैलिएको छ। जहाँ ४० जनाले रोजगारी पाइरहेका छन्। यसको सफलतापछि उनीहरूले भोजपुरमा ‘राउत एन्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म’ सुरु गरे। १ सय ५० रोपनी जमिनमा उनीहरू अलैँची, कफी, टिम्मुर, कागती, च्याउलगायत उत्पादन गर्छन्। साथै, त्यहाँ कुखुरा र बाख्रापालन पनि गरेका छन्। त्यहाँ पनि १५ जनाले रोजगारी पाइरहेका छन्। ‘श्रीमान् उता हेर्नुहुन्छ,’ शर्मिलाले भनिन्, ‘दुई जना कामदारसहित म चाहिँ कीर्तिपुरको फार्म हेर्छु।’
कृषिमा आधुनिकीकरण र तालिमको व्यवस्था भयो भने नेपाली उत्पादन अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिन सकिने उनको विश्वास छ। ‘कृषिमा सबै जना आ–आफ्नो ठाउँबाट लाग्ने हो भने विदेशी तरकारी आयात गर्नु पर्दैन,’ उनले भनिन्, ‘बरु, हाम्रो तरकारी विदेश निर्यात गर्न सक्छौँ। यसका लागि सरकारले हामीजस्ता कृषकलाई साथ, सहयोग र हौसला दिनुपर्छ।’
अरू २५ जना कृषि उद्यमीसँग मिलेर शर्मिलाले ‘सेभ फुड अलाइन्स’ सुरु गरिरहेकी छिन्। ‘यसले स्वास्थ्यकर तरकारी उत्पादनमा सहयोग पुर्याउँछ,’ उनले भनिन्, ‘यसमा हामीले कसरी स्वास्थ्यकर तरकारी फलाउने भन्नेबारे कृषकलाई जानकारी दिन्छौँ।’
उपभोक्ताका लागि सुरक्षित कृषि वस्तुको उत्पादन गर्न असल कृषि अभ्यास (ग्याप) सरकारले केही समयमा लागू गर्दै छ। ‘विदेशमा निर्यात हुने कृषि सामग्रीमा नेपाल ग्यापको लोगो लागेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ,’ उनले भनिन्, ‘रोप्नेदेखि मलजल, उपचार, ढुवानी भण्डारणदेखि उपभोक्तासम्म कसरी पुर्याउँछ भनेर त्यहाँ हेरिन्छ। त्यो मापदण्ड पूरा भएपछि नेपाल ग्यापको लोगो पाइन्छ। सरकारले हाम्रो तीन वटा फार्मलाई नेपाल ग्यापको लोगो दिने काम सुरु गर्ने भएको छ। त्यसलाई पनि मैले आफ्नो सफलता मानेकी छु।’
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७