युद्धग्रस्त देशबाट फर्किएर जीवन रंगाउँदै

writer

तुलमान गुरुङ

शनिबार, १४ भदौ २०७६


चितवन : शिव गौतम २०६१÷६२ सालतिर प्लस टु पढ्दै थिए। कक्षा १२ को परीक्षा दिएपछि विदेश जाने मोह जाग्यो। यूएई जानका लागि काठमाडौँ हानिए। तर, उनले इराकमा जाँदा राम्रो हुन्छ भन्ने सुने। 

भारत, दिल्लीबाट ७५ जना भारतीयसहित उनी कुवेतका लागि उडे। कुवेतबाट इराकको बग्दाद शहर जान अर्को प्लेन चढे, जुन समूहमा उनी एक्ला नेपाली थिए। बग्दादको विमानस्थलमा प्लेन अवतरण गर्‍यो। प्लेनबाट ओर्लिंदै गर्दा अर्को प्लेनको आधा भाग जलिरहेको देखे। ‘साह्रै भयानक दृश्य थियो त्यो,’ उनी सम्झन्छन्। 

एयरपोर्टमा उनलाई काठमाडौँमा अन्तर्वार्ता लिएकै व्यक्ति लिन आए। उनीसँगै गए। उनले सबैलाई एउटा गाडीमा चढाए। संयोगवश सबै ७५ भारतीय एउटै गाडीमा अटाए, उनी एक्लै परे। त्यसपछि उनलाई सेनाको गाडीमा चढाए। केही बोल्न नपाइने, चुप लागेर यात्रा गरिरहे। बीच बाटोमा पुगेपछि दोहोरो भिडन्त नै भयो। ‘एकदमै डर लाग्यो,’ उनी भन्छन्, ‘एक छिनको फायरिङपछि गाडी अगाडि बढ्यो।’ 

बग्दादबाट सेनाको गाडीले उनलाई डी सेभेन भन्ने ठाउँमा पुर्‍यायो। त्यहाँ दुई दिन क्याम्प खडा गरेर बस्यो। सेनाको जत्थाले जे भन्थे, त्यही गर्थे शिव। तर, जतिबेला पनि गोलाबारी मात्रै। ‘बाहिर भएको बेला साइरन बजेपछि बंकरभित्र पसिहाल्नुपथ्र्यो,’ उनी सम्झन्छन्, ‘एक रात त बंकरभित्रै सुतियो।’ दुई दिनको बसाइपछि डी सिक्स भन्ने ठाउँमा पुगे। त्यहाँको पनि अवस्था त्यस्तै। कतिबेला के हुने हो थाहै नहुने। त्यहाँ पनि करिब एक हप्ता बसाइ भयो। त्यसपछि भने ताजी भन्ने ठाउँमा लगियो, जहाँ उनले किचनमा काम गरे। तीन वर्ष त्यहीँ बिताए, डी सेभेन र डी सिक्सभन्दा शान्त थियो ताजी। महिनामा नेपाली १८–२० हजार रुपैयाँ तलब थियो। कमाइ सोचेजस्तो नभएपछि तीन वर्ष बिताएर स्वदेश फिरेका उनी फेरि फर्किन चाहेनन्।

स्वदेश आएको केही महिनापछि अर्को देशको लागि कदम चाले। द्वन्द्वग्रस्त क्षेत्र गएर आएकालाई बढी प्राथमिकतामा राख्ने कुरा थाहा पाएपछि उनले अफगानिस्तानका लागि पहल गरे। अफगानस्तिान इराकको तुलनामा शान्त थियो। तलब राम्रो थियो। २९ महिना बिताएका उनले मासिक डेढ लाख रुपैयाँ बुझ्थे। 

नेपाल फर्किएको एक वर्षपछि उनी सेल्सम्यानको जागिरमा साउदी अरब हानिए। साउदीको तलब चित्त बुझेन। न त भनेजस्तो काम नै पाए। एक वर्ष बिताएर घर फिरे। द्वन्द्वग्रस्त क्षेत्र र खाडी मुलुकको अनुभव सँगालेका शिवले त्यसपछि स्विट्जरल्यान्ड जान चाहे। तर, काठमाडौँको म्यानपावर कम्पनीको लापर्बाहीका कारण नाम निस्के पनि जान पाएनन्। म्यानपावर कम्पनीलाई बुझाएको १० लाख रुपैयाँ फिर्ता लिएर चितवन फर्किए। त्यसपछि विदेश नजाने निधो गरे। भरतपुर महानगरपालिका–५ का स्थायी बासिन्दा उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नजिकै तेह्रसाल चोकमा रङको डिलर राखेर व्यवसाय थालेका छन्। 

एक वर्षयता एसियन पेन्ट्सको डिलर सञ्चालन गरिरहेका छन्। विदेश जान बुझाएको १० लाख रुपैयाँमा थपथाप गरेर २० लाख रुपैयाँ जुटाए र लगानी गरे। करिब साढे छ वर्षको विदेश बसाइले आफूलाई ऊर्जावान् बनाएको उनी बताउँछन्। ‘विदेशले काम गर्न सिकायो,’ उनी भन्छन्, ‘अहिले धेरैजसो काम आफैँ गर्छु। कर्मचारी राखे पनि उनीहरूले नभ्याउँदा रङको बाल्टी बोकेर आफैँ पोत्न जान्छु।’ विदेश जाँदा लाग्ने पैसा स्वदेशमै लगानी गरे मालिक भइँदो रहेछ भन्ने उनलाई लागेको छ। ‘विदेशमा अरूको काम गरेँ,’ उनी भन्छन्, ‘त्यहाँ कमाएको पैसाले स्वदेशमा अरूलाई काम दिन सक्ने भएँ।’

तपाईको कमेन्ट