कलात्मक फिँजको कफी

writer

मनोज नेपाल

बिहिबार, ०५ भदौ २०७६


काठमाडौँ, कालिकास्थानमा रहेको ‘क्याफे लुवक’ कफीपारखीको गन्तव्य बनेको छ। २०७४ सालमा खुलेको यस कफी केन्द्रका सञ्चालक हुन्, सन्तोष भण्डारी र सुरजकुमार थापा। क्याफेमा गुल्मीबाट आएको अरेबिक जातको अग्र्यानिक काँचो कफीलाई प्रशोधित गरी कफी बनाइन्छ।

‘हाम्रो क्याफेको कफी धेरै ग्राहकले मन पराएका छन्,’ सञ्चालक सन्तोष भण्डारी भन्छन्, ‘ग्राहकलाई पल्काउने गरी कफी खुवाउँछौँ। एक पटक यहाँको कफीको स्वाद चाखिसकेका ग्राहक पटक–पटक आउने गरेका छन्।’ 

क्याफेमा कफीका विभिन्न भेराइटी पाइन्छन्। ‘हट, कोल्ड गरी १५ स्वादमा कफी ग्राहकलाई पस्कने गर्छौं,’ अर्का सञ्चालक सुरजकुमार भन्छन्। चक्लेट मोक, ब्राउन सिनो अर्थात् आइसक्रिम मिक्स गरिएको कफी पनि यहाँ खान पाइन्छ। कफीको विकल्पका रूपमा मिन्ट लेमोनेट, हनी हट लेमन, ग्रिन टी, फ्रेस लेमन सोडा पनि क्याफेमा खान पाइन्छ। 

क्याफेमा अनुभवी कफी मेकरले स्वादिलो कफी तयार पार्ने सञ्चालक भण्डारी बताउँछन्। ‘हामीसँग अनुभवी कफी मेकर छन्,’ उनी भन्छन्, ‘उनीहरूले स्वादिलो कफी तयार पार्छन्। त्यसैले ग्राहक यहाँ कफी खान लोभिन्छन्।’ 

ग्राहकको रोजाइअनुसार कफीको फिँजमा आर्ट डिजाइन गरिने सञ्चालक थापा  बताउँछन्। ‘प्रायः ग्राहक कफीको फिँजमा आर्ट डिजाइन गरिएको रुचाउँछन्,’ उनी भन्छन्, ‘ग्राहकको इच्छाअनुसारको आर्ट डिजाइन गरिदिन्छौँ।’ आजभोलि कफी खानेको संख्या बढेको सञ्चालकद्वय बताउँछन्। ‘पहिलेको तुलनामा अहिले धेरै नेपाली कफीको सोखिन भएका छन्,’ भण्डारी भन्छन्। 

क्याफेले पेय पदार्थसँगै पिज्जा, बर्गरलगायत खानेकुरा पनि पस्किने गर्छ। चिकेन मिक्स पिज्जा, चिकेन पिज्जा, बेकन पिज्जा, भेज पिज्जा, मसरुम पिज्जाको स्वादले ग्राहकको मन लोभ्याउने सञ्चालक बताउँछन्। त्यस्तै, बर्गरमा रोयल बर्गर र ब्रेडेड बर्गर बढी रुचाइएको छ।

‘ब्रेकफास्टमा हास ब्राउन पोटेटो, ससेज अमेरिकानो आदि सर्भ गर्छौं,’ थापा भन्छन्, ‘बेकरी आइटममा मफिन, ब्ल्याक फोरेस्ट यहाँ खान पाइन्छ। फ्रुट सलाद, चिज बल्स पनि ग्राहकको रोजाइमा पर्ने गरेका छन्।’ लस्सीपारखीका लागि क्याफेले बनाना लस्सी, म्यांगो लस्सी, मिल्क लस्सी पनि पस्किने गर्छ। 

क्याफेमा जन्मदिनको पार्टीदेखि ५० जनासम्म जमघट गर्न सकिने स्पेस छ। राम्रो पार्किङ सुविधा रहेको क्याफेको सजावट पनि आकर्षक छ। 

तपाईको कमेन्ट

मुख्य समाचार