मुर्दासँग होइन जिउँदासँग डराउने ज्ञानप्रसाद

writer

उर्मिला स्याङ्तान

बिहिबार, ०५ भदौ २०७६


पशुपति आर्यघाटमा घाटे बाहुन हुन्,  ६९ वर्षीय ज्ञानप्रसाद आचार्य। उनले त्यहाँ काम गर्न थालेको ३० वर्षभन्दा बढी भइसक्यो। उनी विद्युतीय शवदाहगृहले आफ्नो गरिखाने बाटोमा धावा बोलेको बताउँछन्।  


आर्यघाट मृत शरीरको अन्तिम संस्कार गरिने ठाउँ हो। त्यहाँ ६९ वर्षीय ज्ञानप्रसाद आचार्यले आफ्ना जीवनका तीन दशक बिताइसके। सबैले उनलाई घाटे बाहुनका रूपमा चिन्छन्। ‘अझै यहाँ कति बस्नु छ, थाहा छैन,’ उनी भन्छन्।

आचार्यको घर काठमाडौँ, थानकोट हो। बाल्यकाल थानकोटमै बित्यो। पढ्ने इच्छा भए पनि पढ्न पाएनन्। ‘घरको आर्थिक अवस्था नाजुक थियो,’ उनी सम्झन्छन्, ‘पढ्ने रहर त थियो तर पढ्न पाइनँ।’ बाल्यावस्थादेखि उनलाई नयाँ–नयाँ कामकुराको अनुभव बटुल्न मन लाग्थ्यो। किशोरावस्थामा केही नयाँ अनुभव गर्ने सोचले उनी एक दिन पशुपति पुगे। पशुपतिनाथको दर्शन गरेपछि केही मानिसले एउटा शव बोकेर ल्याउँदै गरेको देखे। लाशका पछाडि थिए, एक हूल मानिस। मलामीको झुण्डमा आचार्य पनि सामेल भए। भन्छन्, ‘त्यतिबेला नै हो, जीवनमा पहिलो पटक आर्यघाटमा पाइला टेकेको।’

अन्तिम संस्कारका विधि–विधान उनका लागि नितान्त नयाँ थिए। घोत्लिएर सबै हेरे। ‘सबै मलामी गइसक्दा पनि म एक्लै बसिरहेँ,’ उनी भन्छन्, ‘शव जलिरहेको हेरिरहेँ। पटक्कै डर लागेन।’ त्यहाँ उनको भेट एक जना घाटे बाहुनसँग भयो। भेटघाट बाक्लिँदै गयो। उनीहरूबीच मित्रता बढ्यो। उनलाई पनि घाटे बाहुन बन्न मन लाग्यो। ‘पढेको थिइनँ,’ आचार्य सुनाउँछन्, ‘नपढीकन यति काम पाउनु पनि ठूलो कुरा हो भन्ने लाग्यो।’ मित्र बनेका घाटे बाहुनले उनलाई सबै काम सिकाइदिए। केही दिनमै उनी काम जान्ने भए। पहिलो पटक आफैँ शवदाह गरेबापत ६० रुपैयाँ पाएका थिए।

वर्षौंदेखि आर्यघाटमा काम गरिरहेका आचार्य आफूलाई भूतप्रेतजस्ता कुरामा विश्वास नलाग्ने बताउँछन्। ‘मुर्दासँग डर लाग्दैन,’ उनी भन्छन्, ‘बरु, जिउँदो मान्छेसँग डर लाग्छ।’ शवदाह गर्नुलाई पुण्य काम ठान्ने उनी ज्यानले साथ दिएसम्म यही काम गर्ने बताउँछन्। 

समय बदलिएको महसुस गरेका छन् उनले। भन्छन्, ‘हिजोआज मलामी पनि बिहेको जन्ती जसरी आउँछन्। ताल–तालका मलामी आउँछन्। कोही शव उल्टो बोकेर आउँछन् त कोही मृतकलाई चढाएको माला पनि जलाउँछन्।’

घाटे बाहुनको काम गरेर उनले तीन जनाको परिवारको पेट पालिरहेका छन्। ‘घरमा श्रीमती र छोरा छन्,’ उनी भन्छन्, ‘छोरी अन्माइसकेँ।’ छोराले पशुपति घुम्न आउने विदेशीलाई गाइड गर्ने गरेको उनी बताउँछन्। महँगी बढेपछि शवदाह गरेर मात्र घरपरिवार पाल्न गाह्रो भएको आचार्य बताउँछन्। ‘यस कामबाट अब गुजारा चलाउन मुश्किल छ,’ उनी भन्छन्। एउटा शव जलाएबापत उनले एक हजार रुपैयाँ पाउने गरेका छन्। त्यो रकम उनको बैंक खातामा पशुपति विकास कोषले हालिदिने गरेको छ। ‘कहिलेकाहीँ मृतकका आफन्तले पाँच-छ सय रुपैयाँ दिन्छन्,’ उनी भन्छन्, ‘कसैले त्यो पनि दिँदैनन्।’ बस्नका लागि उनलाई कोषले एउटा क्वार्टरको व्यवस्था गरिएको छ। ‘यस काममा न रात भन्न पाइन्छ न दिन,’ उनी सुनाउँछन्, ‘न घाम भन्न पाइयो, न झरी। यति दुःख गर्दा पनि खानलाउन नपुग्ने भइसक्यो।’ 

अहिले कतिपयले विद्युत मेसिनबाट शवदाह गर्ने गरेका छन्। त्यसैले पहिलाको तुलनामा केही फुर्सदिला भएका छन्, आचार्य। ‘हामीले घण्टौँ लगाएर गर्ने कामलाई मेसिनले एकछिनमै गरिदिन्छ,’ उनी भन्छन्, ‘त्यसैले मान्छे त्यतातिर आकर्षित भएका छन्। यसै त घरखर्च टार्न मुश्किल थियो, त्यसमाथि प्रविधि शत्रु भयो।’

आर्यघाटमा घाटे बाहुनका रूपमा २८–२९ जनाले काम गरिरहेका छन्। सबै पशुपति क्षेत्र विकास कोषमा आबद्ध छन्। उनीहरूलाई कोषले नै केही रकम दिने गरेको छ। त्यो रकम न्यूनतम आवश्यकता पूरा गर्न पनि अपुग भएको आचार्य बताउँछन्। ‘यसै काममा जवानी बित्यो,’ उनी भन्छन्, ‘अब बुढेसकालमा के गरिखाने होला भन्ने चिन्ताले सताइरहेको छ।’

तपाईको कमेन्ट

मुख्य समाचार