प्रेमगीतले जोगायो ज्यान

writer

सम्पूर्ण

बिहिबार, ०५ भदौ २०७६


चीनको ग्वाङदोङ प्रान्तमा आत्महत्या प्रयास गर्न लागेका एक जना व्यक्तिले प्रेमगीतका कारण आफ्नो घातक विचार त्यागे। गत अगस्ट ७ मा यो घटना भएको थियो। 

छोटा समाचारमूलक भिडियो उत्पादन गर्ने चिनियाँ भिडियो साइट ‘पियर भिडियो’ले सो भिडियो सार्वजनिक गरेको थियो। भिडियोमा सातौँ तलाबाट हाम्फालेर आत्महत्या प्रयास गरिरहेका व्यक्तिले छिमेकीसँग प्रेमगीत गाएको र आत्महत्या गर्ने विचार त्यागेको देखिन्छ। 

नान्फाङ दैनिकका अनुसार फोसान शहरमा एक जना व्यक्ति एउटा अपार्टमेन्टको सातौँ तलाबाट हाम्फाल्ने उद्देश्यले त्यहाँ पुगेका थिए। नाम नखुलाइएका ती अधबैँसे व्यक्तिलाई ठीक त्यतिखेर एक जना छिमेकीले देखे। 

छिमेकीले उनलाई एउटा गीत गाउन बाध्य पारे। उनले प्रसिद्ध क्यान्टोनिज प्रेम गीतको पाश्र्वसंगीत बजाए। त्यसपछि दुवै जना मिलेर गीत गाए। अपार्टमेन्टमुनि चौरमा बचाउ दलका कर्मचारी तयार भएर बसेका थिए। 

छिमेकीले ती व्यक्तिको गायन कलाको प्रशंसा गरे र उनीसँग गीतको अर्थबारे कुराकानी गरे। त्यसपछि ती व्यक्ति शान्त भए र आत्महत्या गर्ने विचार त्याग्दै सातौँ तलाबाट तल ओर्ले। 

चिनियाँ इन्टरनेट प्रयोगकर्ताले ती छिमेकीको रचनात्मक सोचको प्रशंसा गरेका छन्। एक जना प्रयोगकर्ताको टिप्पणी छ, ‘संगीतको शक्ति अद्भुत हुन्छ। यसले कसैको ज्यान बचाउन पनि सक्छ।’

तपाईको कमेन्ट