जुम्ल्याहा उत्सवमा १५ सय सहभागी

writer

सम्पूर्ण

बिहिबार, ०५ भदौ २०७६


गत शुक्रबार फ्रान्सको ब्रिटानी सांस्कृतिक क्षेत्रमा पर्ने प्लुकादुख शहरमा जुम्ल्याहा उत्सव मनाइयो। जुम्ल्याहा, तिम्ल्याहा र चौम्ल्याहाहरूको विराट सम्मेलन थियो, त्यो। जुम्ल्याहाहरू एकै खालको पोशाक लगाएर उत्सवमा सहभागी भएका थिए।  कोही–कोहीको त कपाल पनि उस्तै थियो। उत्सवमा करिब १५ सय जनाको सहभागिता थियो।  

उस्तै अनुहार भएका थुप्रै जुम्ल्याहालाई यसरी देख्न पाउँदा प्लुकादुख शहरका बासिन्दा छक्क परेका थिए। उत्सवमा फ्रान्सका साथै अमेरिका र अन्य देशका जुम्ल्याहा पनि सहभागी भएका थिए। उनीहरूले परेड निकाले, विभिन्न खेल खेले र खानपिनको मज्जा लिए। केहीले त उत्सवलाई जोडी खोज्ने अवसरका रूपमा पनि लिए। 

प्लुकादुखमा जुम्ल्याहा उत्सव हुन थालेको २५ वर्ष भयो। सन् १९९४ मा तत्कालीन मेयर एलेन लाउनेले आफ्ना जुम्ल्याहा छोरीहरू सेसिल र औरेलीको सम्मानमा यो उत्सव सुरु गरेका थिए। हाल क्यानडा, आयरल्यान्ड, ब्रिटेन, घानालगायत देशमा पनि जुम्ल्याहा उत्सव मनाइन्छ।

तपाईको कमेन्ट