संसार फराकिलो पार्ने डेटिङ एप

writer

सम्पूर्ण

सोमबार, ०२ भदौ २०७६


आज विश्वभर प्रतिमहिना कम्तीमा २० करोड मानिसले डिजिटल डेटिङ सेवा प्रयोग गर्छन्। यसैले बताउँछ, अनलाइनबाट जोडी बाँध्ने चलन कति सामान्य भइसक्यो। स्मार्टफोनले मानिसको खल्तीमा संसार अटाइदिएको छ। 


‘‘हाम्रो बिहे भएको चार वर्ष पुगेको थियो। सँगै बस्न थालेको नौ वर्ष भइसकेको थियो। अचानक एक रात उनी मलाई छोडेर हिँडे। मैले साह्रै एक्लो महसुस गरेँ। म ३० नाघिसकेकी थिएँ। मेरो फेसबुकसमेत थिएन। अनलाइन डेटिङबारे सोच्दा मात्रै पनि भयभीत हुन्थेँ। 

म घरमै बसेर काम गर्ने लेखक थिएँ। मेरा साथीहरू सबै विवाहित र बच्चाबच्चीसहित थिए। त्यसैले मलाई सुहाउँदो मान्छे भेट्ने सम्भावना पनि कम थियो। चार महिना एक्लो रहेपछि मैले ओकेक्युपेड नामक डेटिङ एपमा अकाउन्ट खोल्ने हिम्मत गरेँ। लगत्तै पिट नामक व्यक्तिको प्रोफाइल मन पराएँ र ऊसँग डेट गएँ। 

त्यसयता तीन वर्ष बितिसकेको छ। मैले पनि सात वटा डेटिङ एपको अनुभव लिइसकेको छु। योबीचमा म ८६ जना पुरुषसँग डेट गएँ। हिन्ज र बम्बलमार्फत म जर्मन कवि र भारतीय बैंकरसँग डेट गएँ। अस्ट्रेलियाली ठेकेदार र ब्राजिली वेटर, संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञ र मलाई मन पर्ने अभिनेतृका पूर्वपतिलाई पनि भेटेँ। या, त मैले मन पराइनँ वा उनीहरूले मलाई मन पराएनन्। त्यसैले जोडी जमेन, डेटिङको क्रम चलिरह्यो। इन्टरनेटको माध्यमबाट मैले साँचो माया पाउँछु कि पाउँदिनँ, मलाई थाहा छैन। तर, अनलाइन डेटिङ भनेको पार्टनर खोज्ने ठाउँ मात्रै हो भन्ने मलाई लाग्दैन। बरु यो त पार्टनरबाट अलग हुँदै गर्दा व्यक्तिले आफूलाई पुनर्निर्माण गर्ने माध्यम हो। 

यति धेरै डेटिङपछि म तपाईंलाई अनेकौँ कथा सुनाउन सक्छु। गरिबी र सम्पन्नताको कथा, सम्बन्धविच्छेद र विश्वासघातका कथा। बुबा हुँदाको खुशी, कसैलाई माफी दिँदाको सुख, दर्शन पढ्दाको दुःख, म सबै बताउन सक्छु। हो, अनलाइन डेटिङले नराम्ररी हतोत्साहित बनाउन सक्छ। यसमा अनेक खतरा छन्। तर, मैले अनलाइन डेटिङमा जे जति गुमाएँ, त्यो भन्दा कैयौँ गुणा बढी पाएँ। यसले मेरो संसार फराकिलो बनाइदियो।’’

यी शब्द हुन्, क्याथरिन स्मिथका। न्युयोर्क टाइम्समा उनले आफ्नो अनलाइन डेटिङको अनुभव लेखेकी छिन्। हो, इन्टरनेटले काम र सञ्चार तरिकामा मात्र क्रान्ति ल्याएको छैन। यसले त मानिसको सबैभन्दा ठूलो निर्णय अर्थात् जीवनसाथी रोज्ने तरिकामा पनि ठूलो परिवर्तन ल्याइदिएको छ। 

सन् १९९० को दशकको सुरुवातमा अनलाइनमार्फत जीवनसाथी फेला पार्ने विचार सुन्दै अपत्यारिलो लाग्थ्यो। आज विश्वभर प्रतिमहिना कम्तीमा २० करोड मानिसले डिजिटल डेटिङ सेवा प्रयोग गर्छन्। यो सानो संख्या होइन। यसैले बताउँछ, अनलाइनबाट जोडी बाँध्ने चलन कति सामान्य भइसक्यो। स्मार्टफोनले मानिसको खल्तीमा संसार अटाइदिएको छ। यसकै सहायतामा मानिसहरू सामाजिक र भौगोलिक बन्धनलाई तोडेर एकअर्काको नजिक हुन सक्छन्। 

सन् १९९३ मा म्याच डटकम खुल्यो। यसले अनलाइन डेटिङको आविष्कार गर्‍यो। तर, त्यसबेला मानिसहरू एपमार्फत डेटिङ गर्न डराउँथे। तर, आज डेटिङको संसार नै अलग भइसकेको छ। दर्जनौँ डेटिङ एप हातहातको स्मार्टफोनमा आइसकेका छन्। यसप्रति रहेको नकारात्मक सोच पनि गायब भइसकेको छ। बम्बल २ करोड ७० लाख पटक डाउनलोड भएको छ भने सबैभन्दा प्रचलित टिन्डर पाँच करोड। हिन्ज, कफी मिट्स बेगल, ई हार्मोनी, म्याच डटकम, जुस्क, बाडू, ओकेक्युपेड, मिटमी, ह्यापेन, ग्रिन्डर, क्विपजस्ता अनेकौँ एप्स सञ्चालनमा छन्। सफल र करोडपतिबीच मात्र जोडी बाँध्ने मिलियनियर म्याच नामक एप पनि आएको छ। यो एपका सदस्य भेरिफाइड हुन्छन्, तिनको रिभ्यू गरिएको हुन्छ। र, अर्को सदस्यसँग कुराकानी गर्न उनीहरूले कम्तीमा ६६ डलर तिनुपर्ने हुन्छ। केही प्रयोगकर्ता यसलाई सरासर ठगी भन्छन्। केहीको नजरमा यो ‘धनी जोडा फेला पार्ने सबैभन्दा उत्तम तरिका’ हो। 

किसानका लागि छुट्टै र सैनिकका लागि मिलिटरी क्युपेडजस्ता डेटिङ एप छन्। अझ धर्म, यौनिकता, शरीरको किसिम, जाति, राष्ट्रियताका आधारमा पनि डेटिङ गर्न पाइने एप छन्। सम्बन्धविच्छेद गरेका, एकल अभिभावकका लागि खास एप छन् भने सुगर ड्याडी÷मम्मी, काउब्वाईसम्मका आफ्नै एप छन्। 

सबै डेटिङ एपको उद्देश्य र काम एउटै हो, जोडी फेला पार्नु। तर, हरेक एपले अलगअलग तरिकाले काम गर्छन्। बम्बल सबैभन्दा प्रगतिशील र महिलामैत्री मानिन्छ। यसमा महिलाले पहिले कुरा सुरु गर्नुपर्छ। कसैको प्रोफाइल मन परे दायाँतिर स्वाइप गर्ने, मन नपरे बायाँतिर। दायाँतिर स्वाइप गरेको २४ घण्टाभित्र महिलाले के गर्ने भन्ने निर्णय गर्नुपर्छ। टिन्डरमा चाँडोचाँडो जोडी फेरिने गर्छ। हिन्जको सफलता दर उच्च छ। यसमा पहिलो डेट गर्नेमध्ये ७५ प्रतिशतले दोस्रो डेट गर्छन्। 

अमेरिकामा जति विवाह हुन्छन्, तीमध्ये एकतिहाइको परिचय अनलाइनबाट सुरु हुन्छ। त्यस्तै, सबैभन्दा बढी जोडी भेट हुने दोस्रो स्थान हो, इन्टरनेट। विवाहितमध्ये अझै पनि ‘साथीका साथी’ मार्फत भेटिएकाहरू बढी छन्। तर, चाँडै नै यसलाई इन्टरनेटले उछिन्नेछ। डिजिटल डेटिङ विशाल सामाजिक प्रयोग पनि हो। मानव समाजकै सबैभन्दा अन्तरंग र महŒवपूर्ण जोडी बाँध्ने प्रक्रियामा यसको उपयोग भइरहेको छ। र, यसको असर भर्खर देखिन सुरु हुँदैछ।

अनलाइन डेटिङका नाफा–नोक्सान

प्रत्यक्ष भेटेर सुरु भएको सम्बन्धभन्दा अनलाइन डेटिङमार्फत सुरु भएको सम्बन्ध सहज र प्रभावकारी हुन्छ। किनभने, यो दुवैको सहमतिबाट सुरु हुन्छ। रोज्न र छाड्न पाइने हुनाले कसैकसैका लागि भने यो अभिशापबराबर हुन्छ। कतिपय पुरुषले त कहिल्यै जोडी फेला पार्दैनन्। चिनियाँ डेटिङ एप टनटनमा पुरुषले आफूले देखेका ६० प्रतिशत महिलाप्रति चासो राख्छन्। तर, महिला चाहिँ एपमा आफूले देखेका पुरुषमध्ये छ प्रतिशतसँग मात्रै आकर्षित हुन्छन्। यसको अर्थ हो, पाँच प्रतिशत पुरुषले कहिल्यै पनि जोडी फेला पार्न सक्दैनन्। तर, प्रत्यक्ष भेटेर गरिने डेटिङमा चाहिँ रोज्न पाइने पुरुषको संख्या कम हुन्छ। जसका कारण अनलाइनमा मौका नपाउने पुरुष पनि महिलाहरूको रोजाइमा पर्ने सम्भावना बढी हुन्छ।

धेरैजसोलाई डिजिटल डेटिङले फाइदै गरेको छ। अनुसन्धानबाट देखिएअनुसार अनलाइनमा भेटिएर विवाह गर्नेहरूको सम्बन्ध बढी टिक्ने गरेको छ। अनलाइनमा सम्बन्ध निर्माणको मौका बढी हुनाले परपुरुष÷स्त्रीगमन बढेको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण छैन। अमेरिकामा इन्टरनेटको आविष्कार अगाडिसम्म सम्बन्धविच्छेदको दर बढिरहेको थियो, त्यसयता यो दर घटेको छ।

खास आवश्यकता भएकालाई अनलाइन डेटिङ वरदान साबित भएको छ। उदाहरणका लागि, जेडेट नामक एपले यहुदी धर्म मान्न नचाहनेको प्रोफाइल फिल्टर गरिदिन्छ। त्यस्तै, समलिंगीहरूलाई पनि यसले ठूलो राहत दिएको छ। अमेरिकामा ७० प्रतिशत समलिंगीले आफ्नो जीवनसाथी अनलाइनमा फेला पार्छन ्।

तथापि, प्रेमको यो आधुनिक तरिकामा केही समस्या भने छन्। डेटिङ एपका कारण तनाव र डिप्रेसन बढेको गुनासो सुनिन्छ। इन्टरनेटको युगअघि पनि कसैको शरीरको आकृति हेरेर नकारात्मक टिप्पणी गर्ने चलन थियो तर इन्टरनेटका कारण यो समस्या अझ गम्भीर भएको छ। अपरिचितले तस्बिर हेरेकै भरमा को कति आकर्षक भनेर तुरुन्तै मूल्यांकन गर्छ। अन्य प्लेटफर्मजस्तै डेटिङ साइटमा पनि करिब १० प्रतिशत अकाउन्ट नक्कली हुन्छन्।

यसले केही नसोचेको असर पनि निम्त्याइरहेको छ। इन्टरनेटले अन्तरजातीय विवाह बढाएको देखिन्छ। यसले सजातीय सामाजिक समूहका अवरोधलाई पार गर्न सघाएको छ। तर, सँगसँगै आफूजस्तै जीवनसाथी खोज्ने प्रवृत्ति पनि बढेको छ। उत्तिकै शैक्षिक योग्यता र बराबरी कमाइ भएकाबीच जोडी बाँध्ने प्रवृत्तिका कारण समाजमा असमानता अझ बढेको आरोप लाग्ने गरेको छ। अहिले डेटिङ प्रोफाइलमा शैक्षिक योग्यतालाई विशेष प्राथमिकता दिइने गरिन्छ। भविष्यमा डेटिङ सेवामा वंशाणु अपलोड गर्ने र त्यसले सुझाएका आधारमा जोडी खोज्ने दृश्य देख्न सकिने अनुमान सहजै गर्न सकिन्छ। 

चिन्ता गर्नुपर्ने अर्को विषय के हो भने अनलाइन डेटिङमाथि मुठीभर कम्पनीको एकछत्र प्रभुत्व छ। डेटिङ एप्सको नाफा कमाउने तरिका अन्य प्लेटफर्मको जस्तो हुँदैन। कुनै व्यक्तिको साथी सोही डेटिङ साइटमा हुनुपर्छ भन्ने छैन। तथापि यसमा थुप्रै कमजोरी पनि छन्। अब त २.२ अर्ब प्रयोगकर्ता भएको फेसबुकले डेटिङ एप सुरु गर्दै छ। 

थरी–थरी एप, थरी–थरी सेवा

करिब पाँच वर्षअघि न्युयोर्क, ब्रोंक्सका सफाइ कर्मचारी जो रागुसाले शहरबाहिर बसाइँ सर्ने निर्णय गरे। व्यस्त ट्राफिकका कारण उनी दिक्क भएका थिए। उनले टाढाको एउटा गाउँमा घर किने र गर्लफ्रेन्डसँगै त्यहाँ बसाइँ सरे। तर, उनकी केटीसाथीलाई यो मन परेन। उनीहरूको ब्रेकअप भयो। 

रागुसा अहिले ३६ वर्ष पुगे। एक घण्टा हिँडेर उनी फोहोर उठाउने ठाउँसम्म पुग्छन्। प्रायः बिहान ४ बजे नै उठेर काम गर्छन्। बार, भीडभाड हुने ठाउँमा जान उनलाई मन पर्दैन। त्यसैले कुनै महिलासँग उनको भेट हुने सम्भावना स्वतः कम हुने नै भयो। उनले टिन्डर, बम्बलजस्ता डेटिङ एपमा पनि साथी फेला पार्ने प्रयास नगरेका होइनन्। तर, उनले सफलता हात पारेनन्।

उनलाई सहयोग चाहिएको थियो। त्यसैले अनलाइन सर्च गरे र ‘स्टाइल माई प्रोफाइल’ नामक कम्पनी फेला पनि पारे। यो फेसन स्टाइलिस्ट एलिसा दिनिनले सुरु गरेको कम्पनी थियो। दुई सन्तानकी आमा ४१ वर्षीया दिनिन सम्बन्धविच्छेद गरेकी महिला हुन्। तर, उनले आफ्नो सम्बन्धविच्छेदको तीतो अनुभवलाई करिअरमा बदलेकी छन्। अहिले उनी अरूलाई नयाँ सम्बन्ध सुरु गर्न सहयोग गर्छिन्।

यसरी मानिसको सम्बन्धलाई सुधार्न सघाउने अनेकौँ एप छन्। जसमध्ये एक हो ‘लभ एमी’। ४९ वर्षीया एमी नोबाइलले २० वर्षको दाम्पत्य जीवन समाप्त भएपछि गत वर्ष यो एप खोलेकी हुन्। यो एपमार्फत उनी आफ्नो डेटलाई मनको कुरा सही ढंगले भन्न नसक्ने ग्राहकको तर्फबाट मेसेज लेखिदिन्छन्। 

लिजा ड्रेयरले सुरु गरेको व्यवसायको नाम हो, ‘द डिभोर्स माइन्डर।’ सम्बन्धविच्छेद गरेका पुरुषका लागि घर व्यवस्थापन गर्ने जिम्मा लिन्छिन् ड्रेयर। अपार्टमेन्ट खोज्ने, तयार गर्ने, सरसफाइ, किनमेल गर्ने, पूर्वपत्नीसँग मिलेर डिजिटल क्यालेन्डर व्यवस्थित गर्ने, जन्मदिनका उपहार किनिदिने, छुट्टीका योजना बनाउने र केटाकेटीको हेरचाहका लागि धाईको व्यवस्था गर्ने कामसमेत यसले गर्छ। 

भर्खरै सम्बन्धविच्छेद गरेका महिलाका लागि पनि आवश्यक सहयोग र सल्लाह दिन लिजा क्लाडवेलले ‘एसएएस फर वुमन’ नामक सेवा दिइरहेकी छन्। जसले सम्बन्धविच्छेदको प्रक्रियामा समेत महिलालाई सल्लाह दिन्छ। 

(‘द न्युयोर्क टाइम्स’ र ‘दी इकोनोमिस्ट’को रिपोर्टमा आधारित। अनुवादः कवि आचार्य) 

तपाईको कमेन्ट