'लुगा होइन मान्छेको सोच छोटो हो'

writer

मेनुका कोइराला

शनिबार, ३२ साउन २०७६


काठमाडौँ, साँखुस्थित साक्वो कलेजको क्यान्टिनमा भावना थापा, सुनीता दंगाल, सुनगाभा सुवेदी, प्रतीक्षा थापा, विवेक आचार्य, सजिन श्रेष्ठ चिया खाँदै गफिएका   थिए। उनीहरू सबै कक्षा १२, व्यवस्थापन संकायका विद्यार्थी हुन्। 


भावनाः आज खाजा के खाने, साथीहरू? 

सुनीताः समोसा खाऊँ न। 

विवेकः कति खानु समोसा? वाक्क भइसकेँ म त। पकौडा–तरकारी खाऊँ है?

सुनगाभाः बिहानबिहानै चिल्लो, भो म त खान्नँ। तिमीहरू खाने भए खाऊ। 

सजिनः ल, आज चिया मात्रै खाम् सबैले। 

प्रतीक्षाः म दिदीलाई चिया बनाइदिनुस् भन्छु। 

भावनाः तिमीहरूको मेहदी कस्तो भयो, देखाऊ त। 

सुनगाभाः मेरो त कस्तो गाढा बस्या छ, हेर। प्रतीक्षा, तिमीले लगाएनौ?

सुनीताः किन नलगाउनु? उसको त झन् खत्रा गाढा बस्या छ। भोलिपर्सि बूढाले खूब माया गर्ने होला नि। 

सजिनः  तिमीहरूको मेहदीको कुरा अझै सकिएको छ। साउनभरि मेहदीकै कुरा मात्र गर्छौजस्तो छ।

भावनाः मेहदीको कुरा त्यस्तै हो, हिजो मैले ममीबाट क्या गाली खाको नि।

सजिनः किन गाली गर्नुभयो?

भावनाः किन हुनु, त्यही नराम्रो संगत नगर भनेर। 

सुनीताः नराम्रो संगत ! हामीलाई नराम्रो भन्नुभएको हो तिम्रो ममीले?

भावनाः होइन, हिजो मेरो एक जना साथी घर आएकी थिई। उसल छोटो वानपिस लगाएकी थिई। ऊ गएपछि ममीले ‘भोलिदेखि त्योसँग नहिँड्’ भन्नुभयो। छोटा लुगा लगाउने केटीहरूको संगत गर्नु हुन्न भन्ने लाग्दो रहेछ ममी–बाबालाई।

प्रतीक्षाः हाम्रो समाज नै यस्तै छ, छोटो लुगा लगाउनेलाई नराम्रो सोच्छ। लुगा होइन, मान्छेको सोच छोटो हो। 

सुनीताः अशिक्षित धेरै भएकाले होला, हाम्रो समाज समयअनुसार चल्न सकेको छैन। 

प्रतीक्षाः अशिक्षित मात्र हैन, धनी र गरिबबीच भिन्नता पनि त छ। त्यही लुगा धनीका छोरीले लगाए कसैले केही भन्न सक्दैन तर हामीले लगाए गाली खाइन्छ।

विवेकः समाज बिस्तारै परिवर्तन भइरहेको छ। पहिला हाम्रै ममीहरूले पढ्न पाउनुभएको थिएन, अहिलेका छोरीचेलीले पढ्न पाएका छन्। यो परिवर्तन हैन र? 

सजिनः सबै कुरा छिटो खोजेर पनि कहाँ हुन्छ? परिवर्तन बिस्तारै हुन्छ।  

सुनीताः कछुवाको चालमा हिँडेर कहिले अगाडि बढ्न सकिन्छ?

विवेकः अनि, समाज परिवर्तन तिम्रो मुडजस्तो हो त? एकैछिनमा बदलिने।

सुनीताः मलाई कति हेप्छ यो विवेकले। पछि यसले आफ्नो श्रीमतीलाई घरबाट निस्केर हिँड्न दिँदैनजस्तो छ। 

प्रतीक्षाः केटाहरूलाई जे कुरामा पनि सजिलो छ। त्यसैले उनीहरू यस्तो कुरा गर्छन्। केटी भएर सोच न, बल्ल थाहा हुन्छ। 

सजिनः हो नि केटाहरूलाई त धेरै सजिलो छ। तिमीहरूलाई तुलना गर्न मात्र आउँछ है, तिमीहरूले पनि केटाको ठाउँमा रहेर सोच्नुप¥यो नि ! 

विवेकः समस्या खासमा केटीहरूमै छ। तिमीहरू बराबरीका हिसाबले सोच्नुको सट्टा तुलना गर्छौ। जिम्मेवारी लिने काममा महिला–पुरुष बराबर छन्। 

सुनगाभाः ठीक भन्यो विवेकले, तुलना गर्नु नै खराब हो। तुलना गरेर त्यही कुरामा सधैँ अल्झिएर बस्नुभन्दा सत्यलाई आत्मसात् गरेर अगाडि बढ्यो भने समाज छिट्टै परिर्वतन गर्न सकिन्छ। 

भावनाः समाज परिवर्तनमा मुख्य भूमिका हामी युवाको हुन्छ। हामीले समाजलाई नयाँ कुरा बुझाउन सक्नुपर्छ। समाजमा परिवर्तन ल्याउन सक्नुपर्छ।

विवकः हो, हामी युवाले नै परिवर्तनको जिम्मा लिनुपर्छ।

तपाईको कमेन्ट