कमेडी झाँकी

writer

सम्पूर्ण

बिहिबार, ३० साउन २०७६


राजा राजेन्द्र, स्ट्यान्ड–अप कमेडियन 

बाहिर जुट, भित्र फुटैफुट 

नेपालमा कम्युनिस्टहरू कांग्रेसलाई फलो गर्छन्। अगाडि–अगाडि कांग्रेसीले जे–जे गर्दै जान्छन्, पछाडि–पछाडि कम्युनिस्टले त्यही गर्दै जान्छन्। कांगे्रसले २०१५ सालको चुनावमा दुईतिहाइ ल्यायो। त्यसलाई पछ्याउने क्रममा कम्युनिस्टहरूले पनि अहिले लगभग दुईतिहाइ ल्याए। २०१७ सालमा राजाले ‘कू’ गरे र अहिले ०७७ सालमा पनि ‘कू’ होला कि भन्ने डर बढेर गइरहेको छ। बच्चालाई स्कुल पठाएपछि आमाबुबा जसरी ढुक्क हुन्छन्, अहिले कांग्रेस पनि त्यसरी नै ढुक्क छ। किनभने, न सरकारमा पुगिन्छ भन्ने आश, न त केही बिगारिन्छ कि भन्ने त्रास। अपोजिसनमा बसेर आनन्दले गाली गर्ने यो जत्तिको स्वर्ण मौका कांग्रेसले अहिलेसम्म पाएको थिएन। 

कांग्रेसलाई त शीतल आनन्द। कहिले गोविन्द केसीको तुरुप फाल्यो, कहिले निर्मला प्रकरणलाई कुरूप बनायो, कहिले सिन्डिकेटको हतियार उचाल्यो, कहिले काठमाडौँका गुुठियार उचाल्यो, कहिले इन्काउन्टरको विरोध गर्‍यो, कहिले विधेयक फिर्ता पठायो। एकतिहाइभन्दा सानो कांग्रेसले दुईतिहाइ सरकारको सातो उडायो। नेकपामा समस्या छ, तनाव छ। जितेर मात्रै हुुँदो रहेनछ। यो चुनाव भन्ने खेल हार्दा गाह्रो, जित्दा झनै गाह्रो। जित्न गाह्रो, जितेपछि झनै गाह्रो। 

हाम्री हजुरआमा भन्थिन्, ‘चौतारामा गफ चुट्नुु र भान्छामा छिरेर मकै भुट्नु अलग कुरा हो।’ हो, रहेछ। चौतारामा गफ चुट्दा सुन्ने मानिसले पनि ताली बझाउँछन्। खररर सुनाइदिएपछि मानिसहरूले विश्वास गर्छन्। तर, जब भान्छामा छिरिन्छ, दाउरा बलेन, धुवाँ आयो, धेरै बल्यो, हात पोल्यो, मकै उछिट्टियो, फूल उठेन आदि सबैतिरबाट टेन्सन हुँदो रहेछ। 

त्यसमाथि दारा सिंहका सिङजस्तो बाह्रतिर फर्किएका कम्युनिस्ट नेताहरू ह्रस्व र दीर्घमा लडाइँ गरेर पार्टी फुटाउनेको जात। कम्युनिस्ट शुद्धीकरणमा विश्वास गर्छन्। शुद्धीकरण साइन्टिफिक हुन्छ। साइन्स भनेको विज्ञान। विज्ञानले के भन्छ भने– ‘जति टुक्रिँदै गयो, त्यति शुद्ध हुन्छ।’ जस्तो कि वाग्मतीको पानी। वाग्मतीको पानीमा पानी सँगसँगै अलिकति फोहोर हुन्छ, दिसा हुन्छ, पिसाब हुन्छ। अब छुट्याउँदै जानुस्। फुटाउँदै जानुस्। जति फुटायो, त्यति शुद्ध। वाग्मतीको पानीबाट फोहोर र पानी फुटाइदियो। पानी मात्रै रह्यो शुद्ध। कम्युनिस्ट पनि विज्ञानमा विश्वास गर्छन्। र, शुद्ध हुनका लागि फुटिरहन्छन्। 

यस पटक दुई वटा ठूलठूला भनिएका कम्युनिस्ट मिले। जब एमाले मिल्ने ठाउँमा पुग्यो। एमाले, दोमाले, तिमाले, चौमाले, झालेमाले। माओवादी पनि एकीकरणको प्रक्रियामा अघि बढ्यो। माओवादी, आओवादी, जाओवादी, खाओवादी के–के हो, के–के १ सबै मिसिँदा मिसिएको पानीपुरीको झोलजस्तो भएका छन्।  भित्र हुन्छ अर्कै, बाहिर देखिन्छ अर्कै। सिरकको खोलजस्तो। बाटो विस्तार गर्दै अगाडि बढ्दा ढल्न लागेको बिजुलीको पोलजस्तो। पत्र र तहअनुसार फरक–फरक प्रकृति, फरक–फरक प्रवृत्ति। ठ्याक्कै नरिवलजस्तो। एकातिर हेर्दा नरिवलजस्तो, अर्कोतिर हेर्दा सुन्तलाजस्तो। बाहिर हेर्दा एकजुट, भित्र छिरेर हेर्‍यो गुटैगुट। बाहिर हेर्दा सर्लक्क सिंगो, भित्र हेर्दा केस्रैकेस्रा। त्यही केस्रामा पनि दाना, रेसा र पत्र। पत्रमा पनि रस छैन। हो, त्यही भएर जे गरे पनि केपी ओलीलाई जस छैन। 

नेकपाभित्र थरी–थरी नेताका थरी–थरी ताल। गर्जिने तर नबर्सने गृहमन्त्री बादल। यसो सोचेर ल्याइयो ओसिएको मादल। मादलको कुरा गर्दा जता–जता बज्छ ठूलो–ठूलो मादलको ताल, त्यतैतिर दगुर्ने माधव नेपाल। बिचरा १ वामदेव गौतम क्यारमबोर्डका गोटी। मौका हेरेर चौका मार्न खोज्ने बाजी। हरियो घाँसभित्रको हरियो सर्प मिस्टर नारायणकाजी। पशुपतिनाथ र झलनाथ उस्तै। आपत् पर्दा प्रभु सघाइदेऊ भन्ने, पछि मुन्टो बटारेर हिँड्ने। ओली हेर्‍यो ओलीको मुख कालो, प्रचण्ड हेर्‍यो प्रचण्डको मुख कालो। अब आयो बीचमा आलोपालो। ठ्याक्कै हामीले बच्चामा पिङ खेलेको जस्तो जो पिङमा चढिसक्यो, ऊ छोड्न मान्दैन। जो चढ्न बाँकी छ, उसले अर्कोलाई खेल्न दिँदैन। 

भाइरल होस्, दाइरल नहोस्

मेडिकल्ली, साइन्टिफिकल्ली भाइरल भनेको रोग हो। भाइरल ज्वरो, भाइरल रुघा, भाइरल झाडापखाला। अथवा, जहाँ भाइरसले काम गर्छ। छिटो सर्छ र छिटै मर्न पनि सक्छ। यो हिसाबमा मानिस भाइरल हुनबाट बच्न चाहन्थे, भाइरल हुनबाट जोगिन चाहन्थे। तर, अहिले एउटा यस्तो समय आइपुग्यो, जतिखेर हरेक मान्छेको चाहना हुन्छ, भाइरल भइदियोस्। कुनै चिज भाइरल भएन भने आम मान्छेलाई पनि टेन्सन हुन्छ। सबैभन्दा बढी भाइरल कहाँ हुन चाहन्छन् रु सामाजिक सञ्जालमा। सञ्जालको जञ्जालमा भाइरलको खोजी र अपेक्षा हुने गर्छ। यसमा पनि युट्युब। युट्युबको भाइरल भनेको त्यस्तो भाइरल हो, जसले धेरै अर्थ राख्छ। किनभने, जब युट्युबमा भाइरल हुन्छ, तब डलरको भाइरस रुपैयाँमा सर्छ। 

अलि पहिलासम्म भाइरल हुने चिज फरक थिए। जस्तो कि– ‘ज्योति मगरको अहिलेसम्मकै छाडा गीत’, ‘यतिसम्म छाडा बोल्न सक्छिन् सोनिका रोकाया’, ‘तिर्सना बुढाथोकीले फेसबुक लाइभमा के–के देखाइन्, हेर्नुस्’, ‘सरस्वती रानाले इन्टरभ्यूमै बोलिन् बोल्नै नहुने कुरा’, ‘कतारमा बस्ने केटीको सेक्सी गफ’। यस्ता विषयमा मान्छेको ध्यान हुँदो रहेछ। डिमान्डअनुसारको सप्लाई। ८–१० वटा शीर्षकमाथि एउटै चिज हालिएको हुन्छ। ‘अशोक दर्जी पहिलो पटक प्लेन चढ्दै’। दोस्रोमा आउँछ ‘छोरो प्लेन चढ्न पाउँदा अशोक दर्जीका बुबा यसरी रोए।’ अर्को आउँछ, ‘प्लेन चढ्दा कस्तो लाग्यो अशोक दर्जीलाई’, ‘कसरी खाए र कति खाए अशोक दर्जीले प्लेनको चकलेट’, ‘किन छक्क परे अशोक दर्जी एयरहोस्टेसको मेकअप देखेर’, ‘प्लेनको सिटमा बस्दा सिट बेल्ट लगाउन जानेनन् अशोक दर्जीले’, ‘अशोक दर्जी भन्छन्– प्लेन उडिरहेको बेला प्लेनको ट्वाइलेटमा सुसु नै आएन’। घटना एउटै हो, तर यही एउटै विषयमा पनि १० वटा टाइटलका समाचार आउन सक्छन्। भाइरल बनेपछि हाच्छ्युँ गरेको पनि समाचार आउँछ। खोकेको पनि समाचार आउँछ। अरू त अरू अपानवायु आयो भने पनि समाचार आउँछ। 

कुनै ठाउँमा हुकुमराज भन्ने मानिस मृत भेटियो। टाइटल डरलाग्दो हुन्छ। ‘दह्रो मुटु भएकाले मात्र हेर्नुहोस्’, ‘आयो हुकुम काण्डमा नयाँ ट्वीस्ट’, ‘खुल्यो हुकुम काण्डको रहस्य’। मानाँै कि, अब त्यसपछि खुल्नु पर्दैन। प्रहरी र अदालत दुवै यही हो। तर, रहस्य खोल्ने मानिस को हो रु कसैलाई थाहा हुँदैन। कमेन्ट ठोक्नेले पनि सबै कुरा जाने÷बुझेजसरी कमेन्ट ठोकिरहेका हुन्छन्। यही हो अहिलेको भाइरलको चरित्र। धन्न दाइरल छैन। भाइरल नै यत्तिको भयो भने दाइरल झन् कस्तो हुन्थ्यो होला। भाइरल होस्, दाइरल नहोस्। 

धारा फेरियो, पारा फेरिएन

शिक्षा हेर्‍यो शिक्षामा पनि रमाइलो छ। कति दुःख गरेर विश्वविद्यालय पढियो र पास भइयो। आज आएर बोर भयो। आज त विश्वविद्यालय नै पैसा दिएर सर्टिफिकेट बेच्ने डिपार्टमेन्टल स्टोर भयो। अझै पनि सुुध्रिने सम्भावना देखिँदैन। किनकि, जो आउँछन् ती पनि भ्रष्टचारीका उत्तराधिकारी। भ्रष्टाचारी किन नहून् रु जबकि, भागबण्डामा आउँछन् पदाधिकारी। पढाउने खास जाँगर छैन। मास्टरसापहरूलाई स्वतः स्थायी हुने भोक छ। सरकारी विद्यालयको त झन् बिजोग छ। स्कुल छ, टिचर छैन। टिचर छ, आउँदैन। आउँछ, पढाउँदैन। पढाउन पनि पढाउँछ तर उसलाई केही आउँदै आउँदैन। यताउता जतातता हेर्‍यो, व्यवस्था फेरियो तर अवस्था फेरिएन। कानुनको धारा फेरियो तर काम गर्ने पारा फेरिएन। नारा फेरियो, चपाउने बंगारा फेरिएन। २००७ सालदेखि अहिलेसम्म सरकारी स्कुल, अस्पताल, अड्डा–अदालत जहाँ गयो लाग्छ, राणाशासन अझै बाँकी छ। मात्र साल फेरियो, ताल फेरिएन। 

अब जनताको रगतबाट बिजुली निकाल्ने?

‘संविधान के हो रु’ भन्ने प्रश्नमा एक जनाले भन्नुभएको थियो– ‘संविधान नरिवल हो।’ नेपालको संविधान धेरै पटक बन्यो तर किन टिक्न सकेन रु उहाँले भन्नुभयो– ‘सही हातमा परेन।’ मतलब रु मतलबको जवाफमा उहाँले भन्नुभयो– ‘०७ सालको प्रजातन्त्र ०१७ सालमा गयो। बाँदरको हातमा नरिवल भयो। ०४६ सालसम्म पञ्चायत चल्यो। त्यसपछि आयो बहुदल। बहुदल बाँदरको हातमा नरिवल भयो। फेरि ०५९ साल आयो। त्यहाँ पनि बाँदरको हातमा नरिवल नै भयो। ०६३ सालपछि गणतन्त्र आयो। र, त्यो पनि बाँदरको हातमा नरिवल नै भयो।’

गाली गर्नेहरू नराम्रो भन्नेलाई ‘हनुमान’ भन्छन्। गाली गर्ने, नराम्रो देखाउने र बुझाउनेका लागि हनुमान भन्छन्। तर, खासमा हनुमान के हो र कसलाई भन्छन्, हामीले बुझ्न सकेनौँ। साँच्चै, हामी कहिल्यै पनि बाँदरभन्दा माथि उठ्न सकेनौँ।

भन्न त कसैले जनतालाई भेडा भने, कसैले टेढा भने। कसैले नचपाई निल्ने फलफूलको गेडा भने। कसैले बरमझियाको पेडा भने। हामी जनता पनि उस्तै। अरू बेला फेसबुक र ट्वीटरमा ठोक्नु ठोक्ने, चुनाव आएपछि फेरि जुरुक्क बोक्ने। सोची ल्याउँदा यो देश सतीले सरापेको होइन, आफ्नै

मतिले सरापेको पो हो कि ?

तर, जनता जान्न चाहन्छन्। ओली बा सीधा बताइदिनुस्, यो डेढ दुई वर्षमा के नाप्नुभयो रु दुईतिहाइ जनताको आशीर्वादले नपुगेर किन जिससकी छोरीको आशीर्वाद थाप्नुभयो ? र, जनता बुझ्दै छन् अचेल, शेरबहादुर दाइ, रामचन्द्र देख्दै डराउनुहुन्छ। थाहा छैन खै, कसलाई मन पराउनुहुन्छ। प्रश्न सोध्यो, पत्रकारलाई नै कराउनुहुन्छ। राम्रो झाँक्री कतै भए सातो फुक्न पठाइदिनुस् बूढानीलकण्ठतिर। शेरबहादुर दाइ वामपन्थी भूतले सताएर निद्रामै पनि बर्बराउनुहुन्छ।

अनि, विप्लप दाइ १ १७ हजार त फस्ट लटमै ढालिसकियो, अझै कति ढाल्ने हो ? जनताको गाँस कटाएर कति युद्ध सरदार पाल्ने हो ? खोलैखोला पानी बगेको बगेकै छ। के अब जनताको रगतबाट बिजुली निकाल्ने हो ?

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि