‘मलाई कार्टुन बन्नु छैन’

writer

अस्मिता खड्का

बिहिबार, ३० साउन २०७६


हास्य कलाकार शिवहरि पौडेलको ‘प्वाक्क मुखाँ हान्नुजस्तो’ थेगो चर्चित छ। हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’ बाट लोकप्रिय भएका उनीसँग अस्मिता खड्काले हास्य संवाद गरेकी छिन्।


टेलिसिरियलमा काम गरिरहँदा कसैलाई ‘प्वाक्क मुखाँ हान्नुजस्तो’ लागेको थियो?
रिलमा होस् वा रियलमा, भरसक कसैलाई पनि त्यसरी मुखमा हान्न चाहन्नँ। यसो गर्नु भनेको उसको अधिकार हनन गर्नु हो।

शरीरको कुनै एकको अंगको ठाउँमा अर्को राख्नुपर्‍यो भने कुन अंगलाई ‘रिप्लेस’ गर्नुहुन्थ्यो? 
जन्मदाताले जता–जता जे–जे चाहिन्छ सबै जोडेर पठाइदिएकै छन्। किन यताको उता, उताको यता गर्नु। त्यसो गरेर मलाई कार्टुन बन्नु छैन।

भगवान् शिवको जस्तै तपाईंको पनि त्रिनेत्र भयो भने के गर्नुहुन्छ?
यी दुई आँखाले वर्तमानमा आफ्ना वरिपरि भइरहेका घटना मात्र देख्छन्। तेस्रो आँखाले म संसारभरि भइरहेका रमाइला÷नरमाइला घटना हेर्थें। भूत र भविष्य पनि हेर्थें।

भान्छामा काम गर्नुभएको छ कि? 
मेरो ९० प्रतिशत समय भान्छामै बित्छ। 

भान्छामा भएको कुनै घटना?
एक पटक जिम्बु र लसुनले दाल झानिरहेको थिएँ, घिउ धपक्कै बल्यो। फुकेर निभाउन खोज्दा तेल उछिट्टिएर अनुहारभरि घाउ भएको थियो।  

‘गाईजात्रा’को सट्टा ‘भेडाजात्रा’ नाम राखिएको भए के हुन्थ्यो होला? 
गाईको हिन्दूहरूले पूजा गर्छन्। बितेका आफन्तको सम्झनामा गाईजात्रा नाम दिइएको हो। गाई पवित्र भएकाले गाईजात्रा राखियो। यदि भेडाजात्रा वा सुंगुर-बंगुरजात्रा नाम दिइन्थ्यो भने कसैले पनि धुमधामसँग यो जात्रा मनाउँदैनथे।

अहिले त दर्शकलाई खूब हँसाउनुहुन्छ। बाल्यकालमा पनि हँसाउनुहुन्थ्यो कि?
सानोमा हँसाउने होइन, रुवाउने गर्थें। छिमेकीको मकैबारीमा बोडी चोरेर उनीहरूलाई धुरुक्क रुवाउँथेँ।

लुकाउनै परे के कुरा लुकाउनुहुन्छ?
घरका कुरा लुकाउँछु। कसैलाई भन्दिनँ। 

आफूबाट के कुरा हटाउन चाहनुहुन्छ?
दुनियाँले मलाई हास्य कलाकारका रूपमा चिने पनि कहिलेकाहीँ झनक्क रिसाउँछु। रिसलाई आफूबाट टाढा गर्न चाहन्छु। 

सबैलाई हँसाउने मान्छेले गरेको क्रूर काम के हो? 
बाल्यवस्थामा गुलेलीले हानेर चरा मार्थें। पछि त्यसलाई पोलेर खान्थेँ। आफूले गरेको यो काम क्रूर लाग्छ।

कसैको फेसबुक अकाउन्ट ह्याक गर्ने मौका पाउनुभयो भने कसको गर्नुहुन्छ?
दीपाश्री निरौलाको गर्थें। उनको फेसबुकमा भएका सबै केटा साथीलाई आई लभ यू लेखेर पठाइदिन्थेँ।

कमेडियन नभएको भए के हुनुहुन्थ्यो?
‘जिरे खुर्सानी’ मा काम गर्नुअघि गम्भीर भूमिका गरिरहेको थिएँ। कमेडी सिरियलमा काम गर्दा दर्शकले मन पराए। ‘प्वाक्क मुखाँ हान्नुजस्तो’ लाई दर्शकले रुचाएपछि कमेडियन बनेँ। कमेडी सिरियलमा काम गर्ने मौका नपाएको भए अहिले पनि सिरियस रोल गरिरहन्थेँ होला। 

तपाईको कमेन्ट