‘न्युयोर्कमा टावर ध्वस्त लन्डनमा म अलपत्र’

writer

सम्पूर्ण

शुक्रबार, ३१ साउन २०७६


नेपालमा माओवादी द्वन्द्व चरम सीमामा थियो। दिनदिनै भिडन्तका समाचार आइरहन्थे। त्यसमाथि एक दिन कान्छो छोराले माओवादी बन्ने धम्की दिएपछि मैले अमेरिका भासिने निर्णय गरेँ। 

दिन थियो, सन् २००१ को सेप्टेम्बर ११। 

मलाई अमेरिका पुर्‍याउने जहाज थियो, युनाइटेड एयरलाइन्स। लन्डनबाट अमेरिका उड्दै गर्दा चालक दलका सदस्यले अमेरिकाको ट्वीन टावरमा आक्रमण भएकाले जहाज अमेरिका नगई लन्डन नै फर्कने सूचना दिए। सबको सातो गयो। मलाई चाहिँ देशमा दिनदिनै मृत्युको समाचार सुन्ने बानी परेर होला, खास लागेन। यतैको जस्तो सानोतिनो आक्रमण होला भन्ने ठानेँ। मबाहेक सब भयभीत थिए। अघिसम्म रमाइरहेका यात्रु शोकमग्न अवस्थामा थिए। कतिसम्म भने कोही चल्यो, चटपटायो भने पनि तर्सने ! अझ उठेर ट्वालेट जाने यात्रुलाई त यसरी हेर्थे, मानौँ आतंकवादी यही हो। गडबड त के भएछ भने जुन प्लेन हाइज्याक गरेर ओसामाका आतंकवादीले ट्वीन टावरमा तीर हानेका थिए, त्यही कम्पनीको जहाज चढेका रहेछौँ। अनि त सातो जाने नै भयो। फेरि पाँच घन्टा लाएर प्लेन जहाँबाट उडेको थियो, त्यहीँ फक्र्यो। जहाजले त्यो दिन मज्जाको होटलमा राख्यो। यतिबेलासम्म पनि मलाई घटनाको गम्भीरता थाहा थिएन। जब होटल पुगेर टीभी खोलेँ, त्यसपछि पो थाहा भयो, अमेरिकाको कन्तबिजोग। 

भोलिपल्ट बिहान रुम खोल्दा ढोकामा एयरलाइन्सको खाममा चिठी थियो। चिठीमा आइन्दा आफ्नो व्यवस्था आफैँ गर्नुपर्ने सन्देश थियो। समय अनुकूल भएपछि अमेरिका लैजाने प्रतिबद्धता पनि थियो। यतिबेला चाहिँ आफैँ ट्वीन टावर भएजस्तो लाग्यो। थोरै पैसा बोकेर डलर कमाउन गाको, हप्ता दिन त्यो खर्चले लन्डनमा कहाँ टिक्नु? लन्डनमा भएका नेपाली सम्झन थालेँ। कोही याद आएन।

नेपालबाट हिँड्दा फोन डायरी पनि हालेको थिएँ, केही काम लाग्ला कि भनेर। त्यो सम्झिएर नम्बर खोज्न थालेँ। नभन्दै बीबीसीमा काम गर्ने खगेन्द्र नेपालीको नम्बर रहेछ। फोन गरेँ। तर, फोन उठेन। भ्वाइस म्यासेज गरेँ। आफू राजाराम पौडेल भएको र होटलको नम्बरमा फोन गर्न आग्रह गरेँ। करिब २० मिनेटपछि फोन आयो। उहाँलाई आफू लन्डनमा यो–यो कारणले अलपत्र परेँ भनेर सुनाएँ। तर, पत्रकार न पर्नुभो। उहाँले ‘लिन आउन त पाँच घण्टा लाग्छ, बरु अन्तर्वार्ता दिनुस्’ भन्नुभयो। अन्तर्वार्ता दिएँ। अन्तर्वार्ता दिएपछि बल्ल घरमा थाहा पाएछन्।

यता म के गर्ने अझैं टुंगो लागेको छैन। लन्डनमा नै धु्रव केसी भन्ने हुनुहुन्थ्यो। रेस्टुरेन्ट थियो उहाँको। उहाँलाई फोन गरेँ। उहाँले पनि ‘चारपाँच घण्टै लाग्छ, तपाईं ट्रेन चढेर आउनुस्’ भन्नुभयो। दुइटा सुटकेस र एउटा ह्यान्ड क्यारी ब्याग थियो। सकी नसकी तान्दैतान्दै स्टेसन गएँ। बताएझैँ ट्रेन चढेँ र उत्रिएँ। लन्डनको डाउनटाउन वा यस्तै कुनै ठाउँमा आउनू भन्नुभएको थियो। त्यहाँ पुगेपछि ‘फोन गर्नू, लिन आउँछु’ भन्नुभएको थियो। लगेज एकातिर राखेर फोन गर्न गएँ तर फर्केर आउँछु त सब जना मेरो सामानलाई घुरेर हेरिरहेका !

अलपत्र सामान देखेर, बमको शंका गरेछन्। पुलिसलाई फोन गर्न ठिक्क परेका। मेरो समान हो भन्दा पनि कति बेर पत्याएनन्। हो रहेछ भन्ने भएपछि बल्ल दायाँबायाँ लागे। केही बेर कुरेपछि धु्रवजी लिन आउनुभयो, अनि उहाँको रेस्टुरेन्टमा गएँ। रेस्टुरेन्टमाथि उहाँले सानो गेस्टहाउसजस्तो बनाउनुभएको रहेछ। हप्ता दिनसम्म त्यहीँ बसेँ। त्यसपछि एयरलाइन्सले बोलायो र अमेरिका गएँ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट