‘मरेपछि मात्र अभिनयबाट रिटायर्ड हुन्छु’

writer

सम्पूर्ण

बिहिबार, ३० साउन २०७६


साढे तीन दशक लामो अभिनय यात्रा तय गरिसकेका छन्, अभिनेता राजाराम पौडेलले। २०३९ सालमा प्रज्ञा प्रतिष्ठानमा भएको गाईजात्रा कार्यक्रम उनको कलाकारिताको पहिलो खुड्किलो थियो। ‘अंशबण्डा’  उनले अभिनय गरेको पहिलो नाटक थियो, जसमा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी (मह) सँग काम गरेका थिए। मह सञ्चारकै ‘सन्तति’बाट टेलिभिजनमा डेब्यू गरेका पौडेललाई फिल्ममा भने नीर शाहले भित्र्याका थिए। उनले सबैभन्दा पहिला अभिनय गरेको फिल्म ‘वासुदेव’ थियो। नाटक, प्रहसन, टेलिफिल्म र फिल्म गरी कलाका सबै विधामा उनको दमदार उपस्थिति छ। पौडेलसँग ‘अन्नपूर्ण सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेना खुलस्त संवाद गरेका छन्। 


यसपालिको गाईजात्रामा के गर्दै हुनुहुन्छ? 

त्यस्तो विशेष केही पनि छैन। ‘सेन्टी भाइरस’ भन्ने फिल्मको वर्कसप चलिरहेको छ। स्क्रिप्ट रिडिङ आदि चलिरहेको छ। यसमै व्यस्त छु।

भनेपछि यो पालिको गाईजात्रा सुटिङमा मनाउनुहुन्छ?

हैन, फिल्मको सुटिङ त एकदुई महिनापछि छ। हुनलाई यतै हुन्छु तर मनाउन त के मनाउनु? अब गाईजात्रा मनाउने भनेकै कार्यक्रम गर्ने हो। आजभोलि गाईजात्रा हुनै छाडे। पुराना दिन सम्झियो, बस्यो।

तपाईंको करिअर नै गाईजात्राबाट सुरु भएको थियो। मीठो–नमीठो कस्तो सम्झना आउँछ?

नमीठो आउने त कारणै छैन। किनकि, आज राजाराम पौडेल जे छ, यही गाईजात्राको परम्पराकै कारणले छ। जति छन्, सबै मीठा सम्झना छन्। 

उतिबेलाको गाईजात्राको के कुरा खूब सम्झनुहुन्छ? 

धेरै कुरा छन्। त्यतिबेला हाम्रा लागि गाईजात्रा भनेको दशैँभन्दा ठूलो चाड हुन्थ्यो। अझ मैले पहिलो पल्ट गाईजात्रामा प्रहसन गर्दा नेपाल टेलिभिजन पनि स्थापना भएको थिएन। मनोरञ्जनको नाममा त्यही एउटा गाईजात्रा हुुन्थ्यो। अरू त अरू, राजा पनि हाम्रो कार्यक्रम हेर्न आउँथे। गाईजात्रामा प्रहसन गर्ने कलाकारको जुनी सफल मानिन्थ्यो। 

२०३९ सालको गाईजात्रामा कसरी मौका पाउनुभयो? 

त्यतिबेला गाईजात्राका लागि बकाइदा निवेदन मागिन्थ्यो। स्क्रिप्ट बुझाउनुपथ्र्यो। एकेडेमीका ठूलठूला कवि–साहित्यकारले स्क्रिप्ट जाँचबुझ गर्नुपथ्र्यो। पास भएपछि बल्ल गाईजात्रामा मौका पाइन्थ्यो। म त्यतिबेला वीर अस्पतालमा काम गर्थें। एक दिन खाजा खान जेरी–स्वारी पसलमा बसिरहेको थिएँ। हकरले फुत्त गोरखापत्र मिल्कायो। खानेकुरा आउञ्जेल यसो पल्टाएको, गाईजात्रामा स्क्रिप्ट बुझाउने सूचना देखेँ। जेनतेन गरेर स्क्रिप्ट बुझाएँ। स्क्रिप्ट छानियो। 

पहिला पनि कोसिस गर्नुभएको थियो होला नि?

गरेको थिइँन। खासमा म पछिसम्म पनि गायक बन्छु भनेर हिँडेको थिएँ। गायक प्रकाश श्रेष्ठसँग रेडियो नेपालमा गीत पनि गाइयो। तर, एक दिन भोकल कर्डमा समस्या देखियो। गीत गाउनै सकिनँ। खाली गाईजात्राको चर्चा सुनेको थिएँ। लोभ थियो तर बाटो थाहा थिएन। तर, गोरखापत्रको त्यही सूचनाले सबै काम गर्‍यो।

गाईजात्रामा के देखाउनुभयो?

पुल्चोक मन्त्री क्वार्टरमा भाडा खोज्दै आउने मानिस र मन्त्रीबीचको वार्ता राखेको थिएँ। यतिबेला आजभोलि जस्तो स्ट्यान्ड–अप कमेडीको जमाना थिएन। जोडी चाहिन्थ्यो। मन्त्री र डेरावालको संवाद लेखेर पठाएको थिएँ। केही दिनपछि स्क्रिप्ट पास भएको खबर आयो। तर, पछि साँच्चै देखाउने बेलामा भने झण्डै आपत पर्‍यो। लेख्ने बेलामा दुई जनालाई कल्पना गरेर लेखेको थिएँ। एउटा त आफैँ छँदै थिएँ तर अर्को को खोज्ने दिमागमा आइरहेको थिएन। पछि कोही नभेटेपछि मनोज आचार्यलाई भनेँ। मनोज पनि वीर अस्पतालमा नै काम गर्थे। रिहर्सल गर्ने ठाउँ थिएन। त्यतिबेला हरिवंश आचार्य दिदीसँग बस्थे। दिदी र उनी दुवै जना दिँउसो काम गर्न जान्थे। हरिवंशको कोठाको चाबी मागेँ र त्यहीँ रिहर्सल गर्‍यौँ। 

हरिवंश आचार्यसँगको चिनजान पुरानो रहेछ।

हरि र म पद्योदय स्कुलमा सँगै पढेका हौँ। मेरा बाजे र उनका बुबा साथी–साथी हुनुहुन्थ्यो। 

पहिलो गाईजात्रा राम्रै भयो? 

एकदमै राम्रो भयो। त्यतिबेला सालाखाला १५ दिन, एक महिना गाईजात्रा चल्थ्यो। त्यसमा पनि एक साता किङ सो चल्थ्यो। किङ सो मतलब राजा हेर्न आउने सो। अनि, यसको फाइदा के थियो भने किङ सोमा परेको प्रहसन अरू दिन पनि चल्थ्यो। तर, किङ सोमा नपर्ने प्रहसन पछिपछिका दिनमा नदेखाउने सम्भावना पनि हुन्थ्यो। मेरो प्रहसन किङ सोमै छानियो। पछि अडियो सुन्दा चाहिँ मलाई आफ्नो काम झुरै लाग्यो। गाग्राबाट पानी खन्याएजस्तो बोलेको बोलै भइएछ। 

त्यसपछि तपाईं मह सञ्चारसँग जोडिनुभयो? 

मैले मेडिकल एसोसिएसनको दोस्रो वार्षिकोत्सवमा एक्लै कार्यक्रम गरेँ। तेस्रोदेखि हो, मह सञ्चारसँग जोडिएको। ‘अंशबण्डा’ नामको नाटक थियो। यो मैले महसँग मिलेर गरेको पहिलो नाटक थियो। त्यसपछि त महसँग टाँसिएको टाँसियै भइयो। 

महको नामै तपाईंले जुराउनुभएको होइन? 

 हो। 

कसरी फुर्‍यो यो नाम?

राष्ट्रिय नाटकघरमा ‘विज्ञापन’ नामक नाटक चलिरहेको थियो। एकेडेमीमा १४ सो गरेपछि खै के भएर हो नाटक राष्ट्रिय नाटकघरमा सरेको थियो। नाटक सुरु गर्नुअघि  एमसी गर्ने चलन थियो। राजु भुजुले यो काम गर्थे। बोल्दाबोल्दै एक दिन उनको स्वर बस्यो। भोलिपल्टबाट खाँचै पर्‍यो। कसले गर्ने भन्दा हरिवंशले नै ‘दाइ, तपाईंले गर्नुपर्‍यो’ भने। जिन्दगीमा कहिल्यै एमसी गरेको थिइनँ। गर्दिनँ भन्दा पनि धर पाइनँ। केही फरक गरौँ भन्ने पनि थियो। रातभर के भन्ने भनेर तर्कना गरेँ। भोलि सो सुरु हुनुअघि भूमिका बाँध्दै ‘जसरी मह गुलियो हुन्छ, त्यसरी नै मदनकृष्ण श्रेष्ठ र हरिवंशको जोडी पनि उस्तै मीठो छ’ भनेर दुवैलाई स्टेजमा बोलाएँ। मह भनेको सबलाई मन परेछ। भोलिपल्ट नै मह सञ्चार दर्ता भयो।  जोडीको नाम पनि महका रूपमा प्रसिद्ध भयो। 

मदन दाइ र हरि दाइको त त्यति मीठो नाम जुराउनुभयो, अनि किरण केसी र आफ्नो नामको चाहिँ किरा? 

यो चाहिँ मैले जुराएको हैन। अरूले नै जुराएको हो। मह नामपछि हरेक जोडीको नामको पहिलो अक्षर जोडेर दुई जनालाई बोलाउने गरिन्थ्यो। किरण केसी र म जोडी बनेर खेल्थ्यौँ। पोखरामा एउटा कार्यक्रममा गएका थियौँ। त्यहाँको उद्घोषकले महसँगै किरण र मलाई किरा भनेर बोलाइदिए। त्यहीँबाट यो जोडी फेमस भयो। तर, किरा भन्न मुखै नलाग्ने। 

किरण केसीसँग जोडी कसरी बन्यो? 

टेलिसिरियल ‘१५ गते’को सुटिङको बेला भेट भएको हो। थारू युवाको भूमिका गर्ने मान्छे चाहिएको थियो। जसलाई टुंगो गरिएको थियो, त्यो कता के भएर नभ्याउने भयो। कहीँबाट किरण सम्पर्कमा आए। उनीसँग आफ्नो गाडी पनि थियो। हामीले दायाँबायाँ नहेरी उनलाई सिरियलमा लियौँ। पछि उनलाई र मलाई हेरेर स्क्रिप्ट लेखिन थाल्यो। हामी किरा जोडी भयौँ। 

हरिवंश आचार्यको संस्मरणात्मक किताब ‘चिना हराएको मान्छे’मा तपाईंले गरेका धेरै बदमासीको चर्चा छ। एकचोटि त तपाईंले किरण केसीको डायरियाको उपचार गर्न पशु अस्पताल लैजानुभएको थियो भन्ने उल्लेख छ। साँच्चिकै लानुभएको थियो कि गफ मात्रै हो?

साँच्चिकै लगेको थिएँ। कार्यक्रमको सिलसिलमा हामी धनगढी थियौँ। बीच बाटोदेखि नै किरणले डायरियाले च्याप्यो भने। म सधैँ आफूसँग फस्ट एड बोकेर हिँड्थेँ।  उनलाई दबाइ दिएँ। तर, काम गरेनछ। धनगढीमा प्रकाश श्रेष्ठ र म ब्याड्मिन्टन खेल्दै थियौँ। किरण हस्पिटल जानुपर्‍यो भन्दै आए। मैले चासै दिइनँ। मदन दाइकहाँ पुगेछ। मदन दाइले आफैँ आएर ‘राजाराम, किरणलाई हस्पिटल लगिदेऊ’ भन्नुभयो। खेल्न छाडेर गएँ। अस्पतालको गेटमै कर्मचारीसँग भेट भयो। मलाई देखेर नमस्कार गर्‍यो। अनि, उसले कता जान लाग्नुभयो भनेर सोध्यो। मैले केही थाहा नपाएजस्तो गर्दै ‘किरणलाई डायरिया भएछ, डाक्टर साहबलाई देखाउन ल्याएको’ भनेँ। उसले भन्यो, ‘ए राजाराम दाइ, तपाईं त गलत हस्पिटल पो आउनुभएछ त। यो त कहाँ डायरियाको इलाज गर्ने हस्पिटल हो त? यो त पशु अस्पताल पो हो।’ म केही थाहा नपाएजस्तो ‘ज्या है’ भन्दै थिएँ, कता–कता हाँसो फुत्किहाल्यो। किरणले मैले जानी–जानी पशु अस्पताल ल्याएको थाहा पाएपछि यसरी लखेटे कि उनको डायरिया कुद्दाकुद्दै चैट भयो। 

तपाईं अचानक सारा कुरा छाडेर अमेरिका पलायन हुनुभयो। त्यस्तो के आइपर्‍यो? 

अँ, अचानक नै गएँ। किनकि, कान्छो छोराले मलाई एक दिन तर्सायो। त्यतिबेला मलाई कामको खाँचो त थिएन। दिनमै तीनटा फिल्मको सुटिङ गरिरहेको थिएँ। हस्पिटलबाट आउने पैसा छँदै थियो। तर, एक दिन सानो छोरालाई के कुरामा हो गाली गरेका थिएँ, त्यसले उल्टै मलाई नराम्ररी थर्कायो। भन्दाभन्दै उसले ‘माओवादीमा लाग्दिन्छु’ पनि भन्यो। सानो छोराको यो कुराले म रातभर निदाउन सकिँन। यिनै छोराका लागि दिनरात नभनी काम गरिरहेको छु तर छोराको दिमागमा त अर्कै कुरा भरिइरहेको रहेछ। हैट, यतिबेलै यिनीहरूको बारेमा सोचिनँ भने त बर्बाद हुन्छ भन्ने निष्कर्षमा पुगेँ। काकाको छोरा नासामा काम गथ्र्यो। ऊसँग सल्लाह गरेँ। उसले ग्रिनकार्ड बनाएर छोराहरूलाई छाडेर फर्कने सल्लाह दियो। एकडेढ वर्ष बसेर फर्कन्छु भनेर गएको वकिलको एउटा गल्तीका कारण सात वर्ष बस्नुपर्‍यो। 

के गल्ती भएछ?

गएको छ महिनाभित्र ग्रिन कार्डका लागि डकुमेन्ट फाइल गर्नुपर्ने थियो। तर, ६ महिना ३ दिन भएपछि बल्ल फाइल भएछ। नियमअनुसार मेरो बसाइ अवैधानिक भइहाल्यो। आज मिल्ला भन्यो, भोलि मिल्ला भन्यो, आश गरेर बस्दाबस्दै सात वर्ष बित्यो। यतिञ्जेलसम्ममा जेठो छोराले नेपालमा ‘पढाइ सक्किसक्यो, अस्ट्रेलिया ट्राइ गरूँ कि?’ भन्यो। आफ्नो के हुने, टुंगो थिएन। हुन्छ भनेँ। नभन्दै उसको अस्ट्रेलियाको भिसा लाग्यो। त्यसपछि त मलाई एक सेकेन्ड पनि अमेरिका बस्न मन लागेन। त्यसको दुई महिनापछि म आफैँ अमेरिकाबाट फर्कें। जसका लागि भनेर गएको थिएँ, उसलाई नै नचाहिएपछि मलाई किन चाहियो? अमेरिकाको ग्रिन कार्ड?

तर, तपाईंले त जाँदाजाँदै प्लेनमै शुभ संकेत पाउनुभएको थिएन? 

हो नि। म अमेरिका पुग्ने दिन नै ओसामा बिन लादेनले अमेरिकाका ट्वीन टावर हान्ने ‘साइत’ हेरेका रहेछन्। लन्डनबाट कनेक्टिङ फ्लाइट थियो। आठ घण्टा जतिमा अमेरिका पुगिन्थ्यो। पाँच घण्टाजति यात्रा भइसकेको थियो। यही बीचमा लादेनका आतंकवादीले उता ट्वीन टावर हान्न भ्याइसकेछन्।  प्लेन फेरि लन्डन फर्कियो। लन्डनमा हप्ता दिन बसेपछि बल्ल अमेरिका गइयो। (हे. बक्समा)

पलायन भएपछि फर्केर आएर कलाकारितामा जम्न गाह्रो हुन्छ। तर, तपाईंमा यो कुरा लागू भएको देखिन्न। पहिलेजस्तै व्यस्त हुनुहुन्छ। केही रहस्य छ कि? 

केही रहस्य छैन। सब दर्शकको माया हो। मैले अमेरिकाबाट फर्केपछि सबैभन्दा पहिला ‘जिरे खुर्सानी’मा काम गरेँ। फिल्ममा चाहिँ ‘दी युगदेखि युग’सम्म थियो। तर, खासमा मलाई व्यस्त बनाको चाहिँ ‘म यस्तो गीत गाउँछु’ ले हो। यो फिल्म पछि त एक दिन पनि फुर्सदले बस्न पाको छैन। यही भदौमा मात्र चारपाँच वटा फिल्म छन्। कुन गर्नु, कुन नगर्नु, दोधार छ। 

त्यही भएर रेट ह्वात्तै बढाउनुभएको भन्ने चर्चा छ बजारमा। 

अस्ति आएका हिरो–हिरोइनले रेट राख्न हुने, अनि मैले चाहिँ आफ्नो पारिश्रमिकको रेट राख्न नहुने? राखेको छु। सक्नेले तिर्नुहुन्छ, नसक्नेले आफ्नो बजेटमा फिट हुने कलाकार खोज्नुहुन्छ।

तपाईंका साथीसंगी, भाइबहिनी सबै निर्देशक बनिसके। तपाईं चाहिँ निर्देशन नगर्ने?

एउटा फिल्म सक्न एकदेखि डेढ वर्ष लाग्छ। यो समयमा त म १० वटा सिनेमा खेल्न भ्याउँछु। घाटाको व्यापार किन गरूँ? 

अभिनयबाट रिटायर्ड नहुने?

मरेपछि मात्र अभिनयबाट रिटायर्ड हुन्छु।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट