कमेडी त्रासदी

writer

विनोदविक्रम केसी

शुक्रबार, ३१ साउन २०७६


अक्रम बक्रम

–मुलुक कमेडीमय छ। सर्वत्र कमेडी छ। सडकदेखि संसद्सम्म। 

–वर्तमान कमेडी हो। प्रत्यक्ष छ। इतिहास पनि कमेडी हो। तिथिमितिको कमेडी। 

–जहाँ शासक प्रहसनशिरोमणि हुन्छन्, त्यहाँ प्रहसन देशको दिनचर्या हुन्छ। रेलको प्रहसन, पानीजहाजको प्रहसन...अनवरत चलिरहन्छ प्रहसन। यो बेग्लै कुरा हो, प्रहसनले कसको मनोरञ्जन भइरहेको छ?

–कसैको मनोरञ्जनका खातिर हामी जोकर भएर बाँचिदिनुपर्ने? जोकर हुन अस्वीकार गर्नुभयो भने, सम्भव छ, तपाईं जेलमा जाकिनुहुनेछ। (कवि–लेखकहरू जेल परिरहेका छन्।)     

–उसो त सारा पृथ्वीमा फैलिएको छ, कमेडी त्रासदी। 

–अमेरिकामा ट्रम्पको कमेडी। 

जसका पुर्खाले खुन–पसिना बगाएर अमेरिका बनाए, उनैका सन्तानलाई भनिन्छ– ‘अब फर्क तिमीहरू, आफ्नै देशमा।’ सुप्रिम अमेरिकाकी बेगम साहिबा एल पासो गोलीकाण्डमा आमाबाबु गुमाएको दुई महिनाको बालक बोक्छिन्, चौडा मुस्कानसहित ‘पोज’ दिएर। अनि, अमेरिकालाई पुनः महान् बनाउने महाअभियानमा लिप्त महामहिम ट्रम्प ‘सब ठीकठाक छ’को सांकेतिक बूढी औँला उठाउँछन्। (ट्रम्पको यो तस्बिर कमेडी त्रासदी मापन गर्ने इन्ची–टेप हुन सक्छ।) 

–रुसमा पुटिनको कमेडी। 

आणविक हतियारको रासमाथि बसेर उनी घोषणा गर्छन्– ‘रुस छ र संसार छ। रुस नभएको संसार किन चाहियो?’ उनको चेतावनी छ– रुस रहेन भने संसार रहन्न। (शासकको कमेडीले जगत् रुवाउँछ।)      

–चीनमा जिनपिङको कमेडी। 

जसको बाहुलीबाट ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ प्राप्त भएको छ। र, नयाँ युगका खबरहरू आइरहेका छन्। चिनियाँ धनाढ्यहरूले नयाँ सोख पालेका छन्– आलो सुत्केरीको दूध खाने। नवजात शिशुका आमाहरू आफ्ना दूध बेचिरहेका छन्। अनि, आइफोनको नयाँ संस्करण हासिल गर्न आफ्ना मृगौला बेच्न तयार छन्, युवाहरू। र, यसरी चलिरहेको छ, समाजवादको कमेडी। 

–भारतमा मोदीको कमेडी। 

हिन्दू अतिवाद खुंखार अट्टहास गरिरहेको छ। लोकतन्त्र जय जय श्रीरामको नारामा त्यतैकतै पुरिएको छ। 

–अब देशतिरै फर्किऊँ। (अन्यथा, राष्ट्रवाद कमजोर हुन सक्छ, राष्ट्रवादको कमेडी शुष्क र फिका हुन सक्छ।) 

–देशमा को–को हाँस्न सक्ने हैसियतमा छन्? तस्कर? नेता? मन्त्री? कालाबजारी? बिचौलिया? ठेकेदार? 

–हरेक वर्ष देश पाल्न विदेश गएका आठ सय सन्तान बाकसमा फिरिरहेका छन्। मुलुकभित्र यसरी एउटा ‘बाकसलोक’ नै खडा भइसकेको छ। ‘बाकसलोक’मा प्रवासित दिवंगत नागरिकका असंख्य आफन्त र नातागोताका खातिर राष्ट्रले साँझपख प्रहसनको व्यवस्था गरिदिन्छ। टेलिभिजनहरू सायंकालीन समाचारमा हास्यरसले भरिपूर्ण प्रधानमन्त्रीको रमाइलो भाषणको फुटेज प्रस्तुत गर्छन्। उनी भनिरहेका हुन्छन्, हुनेछन्– ‘देश माथि जान्छ, अवश्य जान्छ।’ अधोगतिको रसातलमा पुगेको नागरिक एक खेप हाँस्छ। यो कमेडी त्रासदीमा अर्थाेक गरोस् पनि के? 

–आजैको बजारभाउ हेर्नुस्। चामल, दाल, आलु, प्याजको सांघातिक हमलामा परेर तपाईं घाइते हुन सक्नुहुन्छ। दैनन्दिनको अभावले तपाईंमाथि धावा बोल्छ। त्यसमाथि समृद्धिको चर्काे प्रहसन ! विक्षिप्त त अवश्य हुनुहुनेछ तपाईं। अनि, विक्षिप्त मान्छे सुर न तालसँग हाँस्छ। हाँस्ने हालत छैन र पनि हाँस्छ। कमेडी त्रासदीमा यस्तै हुन्छ।  

–हामी जोकर भएर त बाँचिरहेका छैनौँ? जोकर भएर बाँच्दाबाँच्दा हामीलाई जोकर हुने लत लाग्यो भने? 

–चीनमा हान वंशको शासनकालमा अपराधीलाई काउकुती लगाएर दण्ड दिइन्थ्यो (विकिपेडियाका अनुसार)। कसै–कसैलाई त काउकुती लगाएरै मृत्युदण्ड दिइन्थ्यो। 

–अहिले देश र संसारभरि नै फैलिएको कमेडी त्रासदीले हामीलाई पनि काउकुती लगाइरहेको छ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट